Wednesday, September 20, 2017

प्रगतिशील लेखक सङ्घ, नेपालको ६५ औं वार्षिकोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपालको ६५ औं वार्षिकोत्सव यही २०७४ साल असोज ५ गते १२:३० बजे नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा सम्पन्न भयो  । कार्यक्रमका प्रमुख अतिथि मार्क्सवादी चिन्तक एवम् वरिष्ठ समालोचक मोहन बैध्य 'चैतन्य' ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको पहिलो चरणमा  मार्क्सवादी चिन्तक  मोहन बैध्य 'चैतन्य' को यस वर्षको 'प्रलेस प्रतिभा पुरस्कार- २०७३  कवि केशव शिलवाललाई प्रदान गर्नुभयो  । पुरस्कृत स्रस्टा  केशव शिलवालको व्यक्तित्व र कृतित्वका  बारेमा प्रलेस महिला उपाध्यक्ष डा. विन्दु शर्माले प्रकाश पार्नुभएको थियो । 

कार्यक्रमको दोस्रो चरणमा  प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व अध्यक्ष एवम् प्राज्ञ डा. अमर गिरीले 'प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति' विषयक कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो  । कार्यपत्रमाथि कवि एवम् उपन्यासकार आहुति, नेपाली लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ श्रवण मुकारुङ् र समालोचक गोविन्द आचार्यले टिप्पणी गर्नुभएको थियो  ।  कार्यक्रममा प्रलेसका सल्लाहकारहरू आनन्ददेव भट्ट, निनु चापागाईं , हेमनाथ पौडेल, इश्वरचन्द्र ज्ञवाली, राम विनय, लोकनारायण सुवेदीको पनि उपस्थिति थियो । 


प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव आर.एम.डंगोलले गर्नुभएको थियो।   कार्यक्रममा  केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले  स्वागत मन्तव्य राख्नुभएको थियो । 

====================================

विभिन्न संचारमाध्यमबाट -


प्रलेस पुरस्कार सिलवाललाई

काठमाडौँ, ५ असोज २०७४ (रासस) : प्रगतिशील लेखक संघले साहित्यकार केशव सिलवाललाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरेको छ ।
प्रलेसको ६५ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सिलवाललाई रु १० हजारसहित पुरस्कृत गरियो । सो अवसरमा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष एवं साहित्यकार मोहन वैद्य चैतन्यले नेपालको रुपान्तरणका लागि साहित्यकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्राज्ञ डा अमर गिरीले ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयको कार्यपत्र प्रस्तुत गर्दै जनमुखी कामका लागि दिइने लिइने पुरस्कारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सो कार्यपत्रमाथि नेपाली लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार आहुति, गोविन्द आचार्यलगायतले टिप्पणी गर्नुभएको थियो ।
प्रलेसका अध्यक्ष मातृका पोखरेलले कम्युनिस्ट पार्टीको विभाजनसँगै प्रगतिशील लेखकहरुसमेत विभाजन हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । पुरस्कृत व्यक्तित्वबारे डा विन्दु शर्माले जानकारी दिनुभएको थियो । सो पुरस्कार सङ्घका पूर्वाध्यक्ष आनन्ददेव भट्टले रु एक लाख अक्षय कोष स्थापना गरी सो पुरस्कार खडा गरिएको हो । विसं २००९ मा श्यामप्रसाद शर्मा नेतृत्वमा प्रलेसको जन्म भएको हो । 

==================================

प्रलेसको ६५ औं वार्षिकोत्सव समारोह
बहस : पुरस्कार लिनुहुन्छ ! लिनुहुन्न !


२०७४ असोज ५ गते विहीवार आयोजित प्रगतिशील लेखक संघ (प्रलेस) को ६५ औं वार्षिकोत्सव समारोहको मुख्य कार्यक्रम ‘पुरस्कार र सम्मानको संस्कृति’ बारेमा बहस छलफल रह्यो । प्रगतिशीलहरुले पुरस्कार र सम्मान थाप्न हुन्छ या हुन्न भन्ने विषयमा तर्क वितर्क भयो ।

प्रगतिशील सांस्कृतिक चिन्तकको आइकोन बनाएका समालोचक चैतन्य (मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीका अध्यक्ष) को प्रमुख आतिथ्यमा संचालित उक्त बहस छलफल कार्यक्रममा ‘पुरस्कार र सम्मानको संस्कृति’ विषयमा साहित्यकार डा.अमर गिरीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । लिखित अवधारणा पत्रलाई छोट्याई मौखिक रुपमा उक्त समारोहमा प्रस्तुत गरिएको थियो । डा. गिरीको अवधारणा पत्रमाथि प्रा. गोबिन्द आचार्य, कवि एवं नेपाल लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र साहित्यकार आहुतिले समालोचना गरेका थिए ।

प्रलेसको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त समारोहमा प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टद्वारा स्थापित प्रलेस प्रतिभा पुरस्कारबाट कवि केशव सिलवाललाई पुरस्कृत गरिएको थियो । दश हजार राशिको उक्त पुरस्कार यसै वर्ष स्थापना गरिएको हो भने कवि केशव सिलवाल सो पुरस्कारबाट पुरस्कृत हुने प्रथम स्रष्टा हुन् । पुरस्कृत कवि सिलवालले समारोहमा उनको चर्चित कविता ‘एक प्रान्त’ वाचन गरी सुनाएका थिए ।

कवि सिलवालका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्दै उक्त समारोहमा साहित्यकार डा. बिन्दु शर्माले कविले आफ्ना रचनाहरुमार्फत् सिमान्तकृत वर्गको पक्षमा आवाज उठाएको टिप्पणी गरिन् । उनले भनिन्, “ चाहे चेपाङ होस्, चाहे बोक्सीका आरोपी महिलाहरु होऊन्, चाहे सडक बालबालिकाहरु होऊन्, चाहे जनता र देशका लागि लाग्दालाग्दै आफ्नो जीवन सिध्याएका शहीदहरु होऊन् ती सबैको आवाज कवि सिलवालको कवितामा पाइन्छ ।”

कार्यक्रममा अवधारणा पत्रभित्र रहेका विषयहरुलाई प्रष्ट्याई साहित्यकार डा. अमर गिरीले भने, “ अहिले प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा बाहिरी र भित्री दुबै तर्फबाट बैचारिक आक्रमण भइरहेको हुुँदा यो चुनौतिपूर्ण अवस्थामा छ । त्यसैले पनि पुरस्कार र सम्मान संस्कृतिबारे हामीले एउटा निश्चित अवधारणा बनाउनु जरुरी छ । यस सम्बन्धमा हामीभित्र पनि निश्चितै रुपमा केही कमजोरीहरु छन् । ती कमजोरीहरुलाई हामीले सच्याउन सकिएन भने यो आन्दोलन कमजोर भएर जान्छ । हामीले हाम्रा कमजोरीहरुलाई त्यतिकै राखिराख्ने हो भने नेपाली प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन सक्दैनौं र नेपाली समाजको रुपान्तरणमा हामीले ठोस योगदान पुर्याउन सक्दैनौं । त्यसैले बैचारिक स्पष्टता सहित नेपाली समाजको परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन, सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन, पुरस्कार र सम्मानको संस्कृतिको सम्बन्धमा पनि ठोस, स्पष्ट र सही दृष्टिकोण निर्माण गर्नु जरुरी हुन्छ ।

पुरस्कार र सम्मानलाई हामीले संस्कृतिकै रुपमा लिनुपर्छ । पुरस्कार र सम्मान आत्मिक यानि कि अभौतिक संस्कृतिसँग जोडिन्छ । आत्मिक संस्कृतिको निर्माणमा पुरस्कार र सम्मान मात्रले पनि भूमिका निर्वाह गरेको हुँदैन । त्यसैले पुरस्कार र सम्मानको संस्कृति भनिएको हो । संस्कृतिका दुईवटा पक्षहरु छन्, एउटा आत्मिक पक्ष र अर्को भौतिक पक्ष । पुरस्कार र सम्मान बढी मात्रामा आत्मिक पक्षमा पर्छन् र यसले मूल्य निर्माणको प्रक्रियामा धेरै महत्वपूर्ण प्रभाव पार्दछ ।”

डा.गिरीले पुरस्कार र सम्मानका कुराहरु वर्गीय चरित्रबाट अलग नहुने बताए । उनी भन्छन्, “ बिचारधारा र वर्गबाट अलग गरी हामी पुरस्कार र सम्मानको कुरा सोच्न सक्दैनौं ।”

प्रगतिशील साहित्यिक सांस्कृतिक अभियन्ताहरुसँग भएका कमजोरीहरुलाई औंल्याउँदै अवधारणा पत्रभित्र भएका बिचारहरु व्यक्त गर्ने क्रममा साहित्यकार डा. अमर गिरीले “ पुरस्कार र सम्मान जहाँबाट जसले दिए पनि ग्रहण गर्दै जाने प्रवृत्तिले हाम्रो आन्दोलनलाई कमजोर बनाउँदछ, त्यसैले यसबारे गम्भीर भई ठोस र स्पष्ट अवधारणा बनाउनु जरुरी छ” भने ।

डा. गिरीको अवधारणा पत्रमाथि समालोचना गर्दै साहित्यकार एवं समालोचक आहुतिले ‘मार्क्सवादीहरुले पुँजीवादबाट आएको अवधारणालाई जस्ताको तस्तै लिनु हुन्न, त्यसलाई परिमार्जन गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ’ भने । उनका अनुसार भौतिक संस्कृतिलाई जस्ताको तस्तै लिन सकिन्छ, तर अवधारणागत औजारलाई सकिन्न । र, पुरस्कार तथा सम्मानको कुरामा पनि यही कुरा लागु हुन्छ ।

उनी भन्छन्, “ मार्क्सवादीहरुले कयौं अवधारणाहरु बुर्जुवा वा पुँजीवादीहरुसँग जस्ताको तस्तै लिने गरेका छन् । यो ठूलो गलत भएको छ । मार्क्सवादहरुले आधारभूत दर्शनमा बिरोध, बिचारमा लडे, राजनीतिमा लडे, वर्ग संघर्षका कयौं विषयमा लडे, तर जीवनका कयौं आयामहरुमा बुर्जुवाहरुले जे गरे त्यसलाई जस्ताको तस्तै ल्याएर लागु गरे । पुरस्कारलाई पनि मार्क्सवादीहरुले त्यसरी नै लागु गरे । बुर्जुवाहरुले आफ्नो उद्देश्यका लागि पुरस्कारलाई प्रयोग गरे, हामीहरुले हाम्रो उद्देश्यका लागि प्रयोग गर्नुपर्छ भन्ने धारणा मार्क्सवादीहरुमा भयो । यो ठीक कि बेठीक भन्ने सवाल उठाइएन । यसमाथि छलफल जरुरी छ ।”

प्रलेसको ६५ औं वार्षिकोत्सवमा सहभागी साहित्यकारहरु ।

त्यसअघि प्रलेसको उक्त समारोहमा चर्चित कवि श्रवण मुकारुङको प्रस्तुतिले रोचकता प्रदान गरेको थियो । सम्वोधनको क्रममा कवि मुकारुङले सन्दर्भ घटनाहरु सुनाई रोचकता प्रदान गरे । एउटा सन्दर्भ प्रस्तुत गर्दै उनले भने, “राईहरुको किरात राई यायोक्खा भन्ने एउटा संस्था छ । म एक राई भएको नातालाई मलाई पनि त्यसको एउटा कार्यक्रममा बोलाइयो । त्यो कार्यक्रम पुरस्कार र सम्मानकै कार्यक्रम थियो । त्यहाँ राईहरुमा एसएलसिमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई पुरस्कार दिने गरियो । त्यस्तै गरी राईहरुबाट डाक्टर इञ्जिनीयर बन्नेहरु र पिएचडि गरेकाहरुलाई सम्मान गरिए । आफ्नो बोल्ने पालामा मैले भनेँ, ‘तपाईंहरुले डाक्टर इञ्जिनीयर बन्नेलाई किन सम्मान गर्नुहुन्छ ? पिएचडि गर्नेहरुलाई किन सम्मान गर्नु हुन्छ ? राईहरु अहिले पनि सुनकोशीको तिरमा अदुवाको भारी बोकिरहेछन् । तिनीहरुका छोराछोरीहरुले पढ्नै पाएका छैनन् । उनीहरुले कहिल्यै अवसर पाउँदैनन् । केहीले अवसर पाए । डाक्टर भए, इञ्जिनीयर बने । उनीहरुलाई सम्मान गर्नु जरुरी छैन । गर्नुहुन्छ भने डाक्टर भएर राष्ट्र र जनताका लागि केही योगदान गरेकाहरुलाई सम्मान गर्नुहोस् । अथवा तपाईंको समुदायलाई के योगदान पुर्याए, त्यसको आधारमा सम्मान गर्नुहोस् । कोही डाक्टर भएर मात्र होइन, उसले देशका गरिबहरु कतिलाई निःशुल्क उपचार गर्यो, त्यसको आधारमा सम्मान गर्नुहोस् न । तपाईं एसएलसिमा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कार दिँदैहुनुहुन्छ, तर पढ्नै नपाएका राईहरु छन्, तपाईं तिनीहरुलाई कुन स्थानमा राख्नुहुन्छ ? तपाईं कस्ंतो संस्कृतिको निर्माण गर्दै हुनुहुन्छ ? मलाई चित्त बुझेन ।’ मेरा यी कुराहरु सुनेपछि त्यसपछाडिका कार्यक्रमहरुमा अहिलेसम्म मलाई फेरि बोलाइएको छैन ।”

कवि मुकारुङले पुरस्कार र सम्मान पनि वर्गीय हुन्छन् भन्ने डा. अमर गिरीको अवधारणालाई समर्थन गरेका छन् ।

प्रलेसको ६५ औं वार्षिकोत्सव समारोहमा डा. गिरीले प्रस्तुत गरेको अवधारणा पत्रमाथि टिप्पणी गर्दै प्रा.गोबिन्द आचार्य भन्छन्, “ पुरस्कार र सम्मानको संस्कृतिले हामीलाई निलीसकेको छ । यो भनेको पुँजीवादी संस्कृति हो । माक्र्सवादका अनुसार संस्कृति श्रमसँग जोडिन्छ । प्रगतिशील लेखक संघले पुरस्कार दिनुको सट्टा एउटा राम्रो कृतिको किताब छापिदिए राम्रो हन्थ्यो । पुरस्कारको संस्कृतिलाई हामीले पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ ।”
प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्ट, समालोचक निनू चापागाइँ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो  । काठमाडौंको प्रदर्शनी मार्गस्थिति नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न प्रलेसको ६५ औं वार्षिकोत्सवको उक्त समारोहमा सयौं साहित्यकारहरुको सहभागिता रहेको थियो ।

http://emulyankan.com बाट साभार

====================================
कार्यक्रमका तस्विरहरू -



























































































====================================

अवधारणापत्र


प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति 

- डा. अमर गिरी

१. विषय प्रवेश
नेपालको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा संस्कृतिका बारेमा महत्वपूर्ण विमर्शहरू भएका छन् । संस्कृतिमै केन्द्रित रहेर दर्जनौँ पुस्तकहरू लेखिएका छन् । सांस्कृतिक विमर्शको विषयगत परिधि पनि फराकिलो रहेको छ । प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनको आरम्भसँगसँगै नेपालमा प्रगतिशील दृष्टिका आधारमा संस्कृतिका बारेमा बहसहरू गर्ने र लेख्ने कार्यको थालनी भएको हो । आफ्नो ६० वर्षभन्दा लामो इतिहासमा प्रगतिशील लेखक सङ्घ स्वयम्ले पनि संस्कृतिका विषयमा बेलाबखत बहसहरू चलाएको छ । अविभाजित होस् वा विभाजित, दुवै अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनमा संस्कृति बहसको महŒवपूर्ण विषय बन्दै आएको छ । 

संस्कृतिका विषयमा प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा उल्लेख्य कार्य भए पनि संस्कृतिसँग सम्बन्धित कतिपय विषयहरूमा अझै पनि छलफल हुन सकेको पाइन्न । संस्कृतिको क्षेत्र निरन्तर वैचारिक विमर्शको क्षेत्र हो । विमर्श गरिएका विषयहरूमा समेत निरन्तर विमर्शको आवश्यकता रहन्छ भने नयाँ विषयहरूले अझ बढी प्राज्ञिक बहसको अपेक्षा राख्दछन् । पुरस्कार र सम्मानको संस्कृतिको विषयमा पनि नेपालको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा गम्भीर रूपमा छलफल भएको पाइन्न । बेलाबखत पुरस्कारको विषयलाई लिएर विवादहरू जन्मिएका छन् र त्यसमै आधारित रहेर विचारहरू पनि व्यक्त भएका छन् तर व्यवस्थित र गम्भीर रूपमा पुरस्कार र सम्मानको संस्कृतिका बारेमा छलफल गर्ने कार्य भने हुन सकेको छैन । नेपालमा पुरस्कार र सम्मानको लामो परम्परा छ र यो संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको छ । प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनको आरम्भसँगै प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनभित्र दर्जनौँ महत्वपूर्ण पुरस्कार र सम्मानहरू स्थापित भए । यी पुरस्कार र सम्मानहरू प्रगतिशील सांस्कृतिक आन्दोलनका महत्वपूर्ण अङ्गका रूपमा रहेका छन् । 

वर्तमान समयमा नेपालमा सयौँ पुरस्कार र सम्मानहरू छन् । पुरस्कार र सम्मानहरू विविध प्रकारका छन् । साहित्य र संस्कृतिका क्षेत्रमा मात्र नभएर ज्ञान विज्ञान लगायत विविध क्षेत्रमा पुरस्कार र सम्मानहरू प्रदान गरिन्छन् । पुरस्कार र सम्मान प्रदान गरिने क्षेत्र निकै विस्तृत छ । पुरस्कार र सम्मान अत्यन्त धेरै भएको वर्तमान समयमा पुरस्कार र सम्मानको संस्कृतिका बारेमा प्रगतिशील दृष्टिका आधारमा गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ । यस अवधारणापत्रमा सङ्क्षेपमा पुरस्कार र सम्मानको संस्कृतिका सम्बन्धमा दृष्टिकोण प्रस्तुत गरिएको छ । सर्वप्रथम अवधारणाका तहमै छलफल हुन आवश्यक ठानेर यसलाई कार्यपत्रका रूपमा प्रस्तुत नगरिएको हो । पुरस्कार र सम्मानको संस्कृतिका सम्बन्धमा स्पष्ट धारणाको निर्माण पछि नै पुरस्कार र सम्मानका विषयमा एउटा टुङ्गोमा पुग्न सकिन्छ र त्यस आधारमा यससम्बन्धी आन्दोलनलाई पनि अघि बढाउन सकिन्छ । यस अवधारणापत्रमा अत्यन्त सङ्क्षेपमा पुरस्कार र सम्मानको संस्कृतिका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरिएको छ ।  

२. नेपालमा पुरस्कार र सम्मानको संस्कृतिको ऐतिहासिक र वर्तमान सन्दर्भ

पुरस्कार र सम्मानको संस्कृतिको विकास प्राचीन समयदेखि भएको पाइन्छ । पूर्व र पश्चिम दुवैतिर यसको सुदीर्घ परम्परा रहेको छ । पुरस्कार र सम्मानहरू विविध प्रकारका रहेका छन् । विविध क्षेत्रमा योगदान पु¥याउनेहरूलाई विभिन्न पुरस्कार र सम्मानहरूद्वारा पुरस्कृत र सम्मानित गरिएको पाइन्छ । पुरस्कार र सम्मानहरू राज्य र निजी क्षेत्र दुवैबाट प्रदान गरिएको देखिन्छ । सामाजिक जीवन लगायत कला, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पु¥याउनेहरू, साहसिक कार्य गर्नेहरू, राजा, महाराजा, सामन्त लगायत अभिजात्य वर्गको सेवा गर्नेहरू, प्रतिस्पर्धामा विजयी बन्नेहरू आदिलाई प्राचीन समयमा विभिन्न पुरस्कार र सम्मानहरूद्वारा सम्मानित गरिन्थ्यो । पुरस्कार र सम्मानका रूपमा नगद, भूमि लगायत विभिन्न चिजहरू प्रदान गरिन्थ्यो । सामन्तवादी युगका कयौँ दरबारिया साहित्यकार एवं कलाकारहरूले साहित्य कला मार्फत दरबारको सेवा गरेबापत नगद, भूमि लगायत विभिन्न पुरस्कार र सम्मान पाएका दृष्टान्तहरू प्रशस्त छन् । 

नेपालमा पनि पुरस्कार र सम्मानको संस्कृति प्राचीन समयदेखि नै पाइन्छ । इतिहासकारहरूले लिच्छवी कालदेखि नै पुरस्कार, सम्मान र दण्डको व्यवस्था रहेको उल्लेख गरेका छन् । पुरस्कार, सम्मान र दण्डको व्यवस्था मूलतः राज्यका तर्फबाट गरिएको हुन्थ्यो र यसमा राजा, महाराजा, भाइभारदारहरूको भूमिका नै प्रमुख हुन्थ्यो । पुरस्कार र सम्मान पनि राजपरिवारका सदस्य, भाइभारदार र सामन्तहरूले नै पाउँथे । राज्यको कुनै निकाय वा सामाजिक जीवनका विभिन्न क्षेत्रमा रहेर महŒवपूर्ण योगदान गर्ने सामान्य नागरिकहरूले राज्यद्वारा प्रदान गरिने पुरस्कार, सम्मान लगायत विभिन्न मानपदवीहरू विरलै पाउँथे । निजी स्तरमा स्थापित पुरस्कार र सम्मानहरू प्रायः हुँदैनथे । नेपाली समाजको विकास प्रक्रियासँगै पुरस्कार र सम्मानको संस्कृतिको पनि विकास हुँदै गयो । शाह वंशको शासनकालसम्म आइपुग्दा पुरस्कार र सम्मानको संस्कृतिको अलि विकास भयो । राजा राजेन्द्रले माथवर सिंह थापालाई ‘कला बहादुर’ तक्मा प्रदान गरेका थिए । वि.सं. १९५२ मा राजा पृथ्वीवीरविक्रम शाहद्वारा गोरखा दक्षिणबाहुको स्थापना गरियो । वि.सं. १९७५ मा ‘नेपाल तारा’ मानपदवी स्थापना गरी प्रदान गर्न थालियो । यी केही उदाहरणहरू मात्र हुन् । राणा शासनको पुछारसम्म आइपुग्दा पुरस्कार र सम्मानको संस्कृति अझ बढी फस्टायो । २००७ सालपछि यस संस्कृतिको तिव्र रूपले विकास भयो । २००७ को अन्तरिम शासनविधान, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९ मै अलङ्कार तथा पदकहरूको व्यवस्था गरियो । 

राज्यबाट विभिन्न समयमा विभिन्न पुरस्कार, सम्मान, मानपदवीहरूको व्यवस्था भए पनि नागरिक स्तरबाट सबैभन्दा पहिले स्थापना भएको साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपा’ पुरस्कार हो । नेपाल भाषाका साहित्यकारहरूको योगदानको सम्मान र उनीहरूलाई साहित्य सृजनामा अझ बढी प्रोत्साहित गर्ने दृष्टिले समाजसेवी स्वयम्भूलाल श्रेष्ठले २०१० सालमा यस पुरस्कारको स्थापना गरेका थिए । २०१२ सालमा मदन पुरस्कार गुठीको स्थापना गरियो । २०१४ सालमा प्रज्ञा–प्रतिष्ठानको स्थापना भयो । प्रज्ञा–प्रतिष्ठानले २०१५ सालमा त्रिभुवन पुरस्कार र इन्द्रराज्यलक्ष्मी पुरस्कारको स्थापना ग¥यो । २०२० सालमा रत्नश्री स्वर्ण पदकको स्थापना गरियो भने २०३२ सालदेखि प्रज्ञा–प्रतिष्ठानले कविता महोत्सवको आयोजना गरी प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कार प्रदान गर्न आरम्भ ग¥यो । २०२६ सालमा साझा प्रकाशनद्वारा साझा पुरस्कारको स्थापना गरियो । २०३१ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पृथ्वी प्रज्ञा पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, वीरेन्द्र प्रज्ञालङ्कारको स्थापना गरी प्रदान गर्न थालियो । आज नेपालमा सयौँ पुरस्कार र सम्मानहरू छन् । 

पुरस्कार र सम्मानहरू दुई क्षेत्रबाट स्थापना गरिएका छन् । यी दुई क्षेत्रहरूभित्र राज्यका विभिन्न निकाय, निजीस्तरबाट व्यक्तिगत एवं सामूहिक रूपमा स्थापित संस्थाहरू पर्छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, विज्ञान तथा प्रविधि प्रतिष्ठान, चलचित्र विकास बोर्ड आदि राजकीय निकायहरूभित्र पर्छन् । यस्ता संस्थाहरू दर्जनौँ रहेका छन् । मदन पुरस्कार गुठी जस्ता संस्थाहरूलाई निजी स्तरबाट व्यक्तिगत रूपमा स्थापित संस्थाहरूका रूपमा लिन सकिन्छ । यस्ता संस्थाहरू पनि दर्जनौँ रहेका छन् । प्रगतिशील लेखक सङ्घ जस्ता संस्थाहरूले पनि पुरस्कार र सम्मान प्रदान गर्छन् र यस्ता संस्थाहरू पनि दर्जनौँ छन् । यस्ता संस्थाहरू सामूहिक रूपमा स्थापित संस्थाहरू हुन् । राज्यका विभिन्न निकाय र गैरसरकारी स्तरबाट प्रदान गरिने पुरस्कार र सम्मानहरू विविध क्षेत्रहरूसँग सम्बन्धित रहेका छन् । यस्ता क्षेत्रहरूभित्र साहित्य, कला, सङ्गीत, चलचिल, पत्रकारिता, शिक्षा, खेलकुद, विज्ञान, भाषा, संस्कृति, इतिहास, दर्शन, समाजसेवा, स्वास्थ्य आदि पर्दछन् । पुरस्कार र सम्मान नगद, सम्मानपत्र, पदक आदिका रूपमा प्रदान गरिन्छ । संस्थाहरूले आआफ्ना उद्देश्य अनुरूप सम्बन्धित क्षेत्रमा योगदान पु¥याउने व्यक्ति एवं संस्थाहरूलाई पुरस्कृत र सम्मानित गर्छन् । पुरस्कार र सम्मान प्रदान गर्ने संस्थाहरू निकै भएकाले वर्षेनी पुरस्कृत र सम्मानित हुनेहरूको सङ्ख्या पनि निकै धेरै हुन्छ । साहित्यका क्षेत्रमा स्थापित पुरस्कार र सम्मानको सङ्ख्या मात्र पनि निकै धेरै रहेको छ । राज्यबाट भन्दा निजी क्षेत्रबाट स्थापित साहित्यिक पुरस्कार र सम्मान धेरै रहेका छन् । 

प्रगतिशील सङ्घसंस्थाहरूले पनि विभिन्न पुरस्कार र सम्मानहरू स्थापना गरेका छन् । प्रगतिशील साहित्यिक सांस्कृतिक सङ्घसंस्थाहरूबाट स्थापना गरिएका यस्ता पुरस्कार र सम्मानहरू दर्जनाँै छन् । ठुला राशीका पुरस्कारदेखि थोरै राशीका पुरस्कारसम्म यसभित्र रहेका छन् । पुरस्कार र सम्मान स्थापनाको उद्देश्य साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान दिनेहरूको योगदानको सम्मान गर्नु, प्रतिभाहरूलाई प्रोत्साहित र प्रेरित गर्नु, प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनलाई बलियो बनाउनु र नेपाली समाजको समग्र परिवर्तनको प्रक्रियालाई अघि बढाउन भूमिका सम्पादन गर्नु रहेको पाइन्छ । प्रगतिशील पुरस्कार तथा सम्मानहरू जनसंस्कृतिका अभिन्न अङ्ग हुन् । प्रगतिशील लेखक सङ्घ, साहित्य सन्ध्या, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, इच्छुक प्रतिष्ठान, साहित्य सदन नेपाल, पारिजात स्मृति केन्द्र, गण्डकी साहित्य सङ्गम, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, रमेश विकल साहित्य प्रतिष्ठान, प्रलेसका विभिन्न शाखाहरू आदिले प्रगतिशील साहित्य संस्कृतिका क्षेत्रमा योगदान पु¥याउनेहरूलाई पुरस्कृत र सम्मानित गर्ने दृष्टिकोणले विभिन्न पुरस्कार र सम्मानहरूको स्थापना गरेका छन् । दृष्टान्तका निम्ति मात्र यी केही संस्थाहरूको नाम उल्लेख गरिएको हो । 

विभिन्न कम्युनिष्ट पार्टीहरूसँग सम्बन्धित साहित्यिक, सांस्कृतिक सङ्गठनहरूले पनि विभिन्न पुरस्कार र सम्मानहरू प्रदान गर्दै आएको पाइन्छ । हामी माझ नरहेका कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरूका नाममा पनि महŒवपूर्ण पुरस्कार तथा सम्मानहरू स्थापना गरिएका छन् । यसैगरी कम्युनिष्ट आन्दोलन एवं सामाजिक–सांस्कृतिक परिवर्तनका निम्ति गहकिलो योगदान दिएका विभिन्न व्यक्तित्वहरूका नाममा पनि महŒवपूर्ण पुरस्कार तथा सम्मानहरूको स्थापना गरिएको छ । यसरी प्रगतिशील साहित्यिक, सांस्कृतिक क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रबाट पनि निकै पुरस्कारहरू स्थापना गरिएको पाइन्छ । प्रगतिशील साहित्य तथा सांस्कृतिक क्षेत्रमा विभिन्न पुरस्कार तथा सम्मानहरूको स्थापना भए पनि गैरप्रगतिशील क्षेत्रको तुलनामा यस क्षेत्रमा पुरस्कार तथा सम्मानहरू निकै कम छन् । 

३. प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति

संस्कृति वर्ग र विचारधारासँग जोडिन्छ । वर्ग र विचारधारामुक्त संस्कृति हुँदैन । वर्गीय समाजमा वर्ग र विचारधारामुक्त संस्कृति वा त्यसभन्दा माथिको संस्कृतिको कुरा गर्नु या त संस्कृतिको वर्गीय र विचारधारात्मक प्रकृतिलाई नबुझ्नु हो या त वर्ग र विचारधाराभन्दा माथिको संस्कृतिका नाममा राजनीति गर्नु हो । वर्ग र विचारधारामुक्त संस्कृतिका नाममा अहिलेसम्म राजनीति गर्ने कार्य नै सबैभन्दा बढी भएको छ । पुरस्कार तथा सम्मानहरू संस्कृतिका अभिन्न अङ्ग भएकाले यी पनि वर्ग र विचारधारा मुक्त हुँदैनन् । 
पुरस्कार तथा सम्मानको वर्गीय र विचारधारात्मक पक्षलाई ओझेलमा पारेर यसबारे दृष्टिकोणको निर्माण गर्नु वास्तविकतालाई नबुझ्नु वा बुझेर पनि बुझपचाउनु हो । नेपालमा राज्य स्तरबाट विगतमा स्थापना गरिएका पुरस्कार तथा सम्मानहरूको उद्देश्य विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान दिने महŒवपूर्ण व्यक्तित्वहरूको सम्मान मात्र थिएन, आफू अनुकूल परिस्थिति एवं संस्कृतिको निर्माण पनि थियो । यो सूक्ष्म रूपमा सत्ताको संरक्षण र त्यसका निम्ति आवश्यक पर्ने जनशक्तिको निर्माणसँग पनि जोडिएको थियो । शासनसत्ताको आलोचना नगर्ने, त्यसलाई सहयोग पुग्ने गरी सृजनात्मक एवं प्राज्ञिक भूमिका सम्पादन गर्नेहरूलाई नै पुरस्कार तथा सम्मान प्रदान गरिन्थ्यो । पञ्चायतका समयमा राज्यस्तरबाट प्रदान गरिएका पुरस्कार तथा सम्मानहरू यस वास्तविकतालाई स्पष्ट गर्नका निम्ति महŒवपूर्ण आधारका रूपमा रहेका छन् । 
पुरस्कार र सम्मान स्थापनाका पछि निश्चित उद्देश्यहरू हुन्छन् । ती उद्देश्यहरूभित्रै वर्ग र विचारधारा समाविष्ट हुन्छन् । पञ्चायती राजमा राज्यका तहबाट प्रदान गरिने पुरस्कार तथा सम्मानहरू पञ्चायतको आलोचना गर्ने, जनतन्त्रका निम्ति आवाज उठाउने, स्वतन्त्रता, समानता, सामाजिक न्यायका निम्ति सङ्घर्ष गर्नेहरूलाई कहिल्यै प्रदान गरिएन । बरू उनीहरूलाई दमन गरियो, उनीहरूको सृजनामाथि घोषित अघोषित रूपमा प्रतिबन्ध लगाइयो । राज्यस्तरबाट तिनैलाई पुरस्कृत र सम्मानित गरियो जो सत्ता अनुकूल थिए वा जसबाट सत्ताका निम्ति कुनै खतरा थिएन । पुरस्कार र सम्मानका माध्यमबाट पञ्चायती शासकहरू, खासगरी दरबारले भाट संस्कृतिको निर्माण गर्न चाह्यो । त्यस संस्कृतिलाई आफ्नो र पञ्चायतको रक्षाकवचको रूपमा प्रयोग गर्न खोज्यो । चाहे विभिन्न मन्त्रालयहरूबाट प्रदान गरिने पुरस्कार र सम्मानहरू होऊन्, चाहे राज्यका साहित्यिक र सांस्कृतिक निकायहरूबाट प्रदान गरिने पुरस्कार र सम्मानहरू होऊन्, चाहे दरबारले विभिन्न अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणहरू नै होऊन, सबै पञ्चायतलाई सोझो घुमाउरो सहयोग पु¥याउने वा तथाकथित तटस्थ भूमिका सम्पादन गर्नेहरूले नै पाउँथे । दरबारले प्रदान गर्ने सबैभन्दा श्रेष्ठ विभूषणहरू दरबारका सदस्यहरूलाई नै प्रदान गरिन्थ्यो । 

व्यक्तिगत वा सामूहिक रूपमा स्थापित पुरस्कारहरूका पनि वर्गीय र विचारधारात्मक पक्षधरताहरू हुन्छन् । तिनका पनि त्यस अनुरूपका उद्देश्यहरू हुन्छन् । सबैका निम्ति पुरस्कार र सम्मान कहीँ पनि हुन्न । निजी स्तरबाट प्रदान गरिएका पुरस्कार र सम्मानहरू नै यसका दृष्टान्तका रूपमा रहेका छन् । गैरप्रगतिशील क्षेत्रबाट स्थापित ठूल्ठूला पुरस्कार र सम्मानहरू प्रगतिशील क्षेत्रका व्यक्तित्वहरूले प्राप्त गरेको पाइन्न वा विरलै प्रदान गरिएको पाइन्छ । विरलै प्रदान गरिने पुरस्कारका पछि पनि एक किसिमको राजनीतिले काम गरेको हुन्छ । यस कार्यलाई राजनीतिको जटिल र सूक्ष्म संरचनात्मक तन्त्रहरूभित्र खोज्नुपर्छ । नोबेल पुरस्कार नै वर्ग र विचारधारा मुक्त छैन । कहिलेकाहीँ यसको विपरीत जस्तो लाग्ने निर्णय राजनीतिको जटिल र सूक्ष्मतन्त्रसँग जोडिएको हुन्छ । पुरस्कारबारे बेलाबखत उठ्ने गम्भीर आलोचनालाई निस्तेज पार्ने र सर्वस्वीकार्य बनाउने रणनीति यसभित्र देखिन्छ र यो पुरस्कार तथा सम्मानको राजनीतिभित्रै पर्छ । नोबेल कति राजनीति गर्छ भन्ने कुराको सटिक दृष्टान्त नोबेल शान्ति पुरस्कार नै हो । दृष्टान्तका निम्ति नोबेल शान्ति पुरस्कार पाउने बाराक ओबामाले विश्वमा शान्ति स्थापनाका निम्ति के कस्ता महŒवपूर्ण कार्यहरू गरे ? यसको कुनै चित्तबुझ्दो उत्तर नोबेल कमिटीसँग छैन र हुने कुरा पनि भएन । नोबेल पुरस्कार पाउने अहिले पनि युरोपेली र अमेरिकीहरू नै सबैभन्दा धेरै छन् र यसभित्र पनि गम्भीर राजनीति नै देखिन्छ । 

पुरस्कार तथा सम्मानको उद्देश्य व्यक्तिको योगदानलाई पुरस्कृत र सम्मानित गर्नु मात्र हुन्न, उसलाई आफ्नो आस्था, आदर्श र प्रतिबद्धताबाट विचलित तुल्याउनु पनि हुन्छ । पुरस्कार र सम्मान विचारधारात्मक निष्ठा र प्रतिबद्धतामाथि प्रहार गर्ने प्रभावकारी हतियार पनि हुन् । नेपालमा निजीस्तरबाट स्थापित कतिपय पुरस्कार तथा सम्मानका माध्यमबाट यस्तो गर्ने प्रयास गरिएको छ । राज्यले पनि विगतमा यस्ता प्रयासहरू गरेको पाइन्छ । पुुरस्कार र सम्मानलाई विचारबाट मुक्त भएर हेर्नु र ग्रहण गर्नुपर्छ भन्नु पुरस्कारका नाममा गरिने सूक्ष्म र जटिल राजनीतिको सिकार हुनु हो । वैचारिक रूपमा वर्तमान समयमा निजीस्तरका कतिपय पुरस्कार तथा सम्मानहरू विस्थापित राजतन्त्रसँग जोडिएका छन् । त्यस्ता संस्थाहरूले नलुकाइकन राजतन्त्रको पुनःस्थापनाका पक्षमा काम पनि गरिरहेका छन् तर तिनैले कतिपय लोकतान्त्रिक गणतन्त्र एवं प्रगतिशीलताका पक्षधर स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिरहेछन् । स्रष्टाहरूले विना सङ्कोच र लज्जा त्यस्तो पुरस्कार ग्रहण पनि गरिरहेका छन् । यस्तो पुरस्कार तथा सम्मानले उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने संस्थाको गतिविधिप्रति मैत्रीपूर्ण बन्न मात्र दबाब दिन्न, उसको सूक्ष्म र जटिल राजनीतिको अङ्ग बन्नका निम्ति पनि प्रेरित गर्छ । पुरस्कार र सम्मानको राजनीति राजनीतिका कतिपय अन्य पक्षहरूभन्दा डरलाग्दो हुन्छ । 

पुरस्कार र सम्मानहरूको वर्गीय र विचारधारात्मक पक्षधरता भए पनि निजीस्तरबाट प्रदान गरिने कतिपय पुरस्कार तथा सम्मानहरू तुलनात्मक रूपले बढी समाजपरक र सम्बन्धित क्षेत्रको विकासका निम्ति योगदान पु¥याउने व्यक्ति वा संस्थाहरूलाई प्रदान गर्ने गरिकन पनि स्थापित गरिएका हुन्छन् । प्रगतिशील दृष्टिबाट यस्ता पुरस्कार तथा सम्मानका कतिपय पक्षहरू आलोच्य भए पनि समग्रमा यस्ता पुरस्कार तथा सम्मानहरूको योगदान सकारात्मक नै रहन्छ । गैरप्रगतिशील क्षेत्रबाट स्थापित सबै पुरस्कार तथा सम्मानलाई एउटै डालोमा हालेर हेर्नु गलत हुन्छ । धर्मनिरपेक्षता, गणतन्त्र लगायत सबै प्रकारका जातीय, लैङ्गिक, क्षेत्रीय उत्पीडनका विरुद्ध उभिँदै परिवर्तनका निम्ति सङ्घर्ष गर्दै गरेका व्यक्ति वा संस्थाहरूबाट पनि आज विभिन्न पुरस्कार तथा सम्मानहरू स्थापना गरिएका छन् । उत्पीडित जातीय समुदायहरूबाट आआफ्नो भाषा, साहित्य, संस्कृतिको विकास एवं पहिचानका निम्ति पनि पुरस्कार तथा सम्मानको स्थापना गरिएका छन् । यतिमात्र होइन पुरस्कार र सम्मानको विस्तृत क्षेत्रभित्र विद्यालय, विश्वविद्यालय लगायत कयौँ यस्ता क्षेत्रहरू छन्, जसबाट प्रदान गरिने पुरस्कार र सम्मानलाई फरक ढङ्गले हेरिनुपर्छ । प्रगतिशील दृष्टि यस्ता पुरस्कार तथा सम्मानप्रति सकारात्मक हुन आवश्यक छ । 

परिवर्तित सन्दर्भमा राज्यबाट प्रदान गरिने पुरस्कार तथा सम्मानलाई परिवर्तित सन्दर्भ अनुरूप हेर्न आवश्यक छ । राज्यबाट प्रदान गरिने पुरस्कार तथा सम्मानहरू अझै पनि परिवर्तनको मर्म अनुरूप बन्न सकेका छैनन् । अतीत त्यस्ता पुरस्कार तथा सम्मानहरूमा अझै पनि गहिरो गरी जरा गाडेर बसेको छ । राज्यबाट प्रदान गरिने पुरस्कार र सम्मानमा पाइने अतीतमुखी चरित्रको विरोधमा सङ्घर्ष गर्न र तिनलाई परिवर्तनको मर्म अनुसार प्रदान गर्ने गरी अघि बढाउन जरूरी छ । आज कयौँ पुरस्कार र सम्मान लेनदेनका विषय बनेका छन् । अन्य वस्तुझैँ पुरस्कार तथा सम्मान पनि किनबेच गरिन्छन् । पुरस्कार तथा सम्मानहरूको डरलाग्दो बजारीकरण भएको छ । विख्यात अर्थशास्त्री गिरिष मिश्र आजको मुक्त बजार अतिवादकै कारण राजनीति, कला, साहित्य, संस्कृति, भोट, लविङ, ठेक्का, करार, नियुक्ति, पुरस्कार, अलङ्करण आदि सबै किनबेचका विषय बनेका छन् भन्छन् । आज पुरस्कार तथा सम्मान कृतिको बजार प्रबद्र्धनलाई ध्यानमा राखेर प्रदान गरिँदैछ र यसमा प्रकाशकहरूको लबिङ सबैभन्दा चर्को छ र लेखकहरू पनि यसमा हेलिएका छन् । लेखक अमीत चौधरी पुरस्कार किताब बिकाउने कुरासँग कसरी जोडिएको छ भन्ने सन्दर्भमा बुकुर पुरस्कारलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दछन् । उनी बुकर पुरस्कारले पुस्तकको सिर्जनशीलतालाई होइन बजारिया शैलीलाई हेर्छ मात्र भन्दैनन्, पुरस्कार आजको खुला बजारबाट नियन्त्रित पनि छ भन्छन् । उनका विचारमा साहित्यिक पुरस्कार प्रदान गर्ने र किताबलाई पुरस्कारको सर्टलिस्टमा पार्ने कुरा किताब बिकाउने धन्दासँग जोडिएको छ । पुरस्कार र सम्मानको बजारीकरण आजको पुँजीवादको देन हो । पुरस्कार र सम्मान मात्र होइन साहित्य, कला सबैको बजारीकरण हुँदैछ । यसको प्रभावलाई हामी नेपालमै नियाल्न सक्छौँ । 

आजका अधिकांश पुरस्कार र सम्मानभित्र पुँजीवादी, सामन्तवादी दृष्टिकोण र मूल्यहरू क्रियाशील छन् र यस सम्बन्धी प्रगतिशील मूल्यलाई नष्ट गर्न चाहन्छन् । निवर्गीय चिन्तनको विकास गर्नु, व्यक्तित्वहरूलाई वैचारिक रूपमा कमजोर बनाउनु, परिवर्तनको प्रक्रियालाई अवरूद्ध गर्नु र यथास्थितिलाई जोगाइ राख्नु यस्ता पुरस्कार एवं सम्मानको उद्देश्य रहेको पाइन्छ । पुरस्कार र सम्मानले व्यक्तिको सिर्जनात्मक जीवन र त्यसको बहुआयामिक पक्षहरूसँग गहिरो सम्बन्ध त राख्छन् नै समाजसँग पनि गहिरो सम्बन्ध राख्छन् । खास गरेर यसको सम्बन्ध मूल्य निर्माणसँग, व्यक्ति तथा समाजको आत्मिक जीवनसँग हुन्छ । यसैकारण पुरस्कार र सम्मानलाई संस्कृतिको अङ्गको रूपमा लिइन्छ र यसलाई महŒवपूर्ण रूपमा हेरिन्छ । सामन्तवादी एवं पुँजीवादी सत्ताहरूले पुरस्कार तथा सम्मानलाई आफ्नो पक्षमा गरिने विचारधारात्मक प्रकार्यकै रूपमा अघि बढाउँछन् । यसबाट निर्मित संस्कृतिले उनीहरूका पक्षमा काम गर्छ र गर्दै आएको छ । 

४. अबको दायित्व

पुरस्कार र सम्मानका बारेमा स्पष्ट दृष्टिकोण निर्माण आजको आवश्यकता हो । वैचारिक रूपमा पुरस्कार र सम्मानको संस्कृतिलाई कसरी हेर्ने भन्ने प्रश्न एकातिर छ भने कुन कुन पुरस्कार र सम्मान ग्रहण गर्न हुने, कुन कुन ग्रहण गर्न नहुने भन्ने प्रश्न अर्कातिर छ । नेपालको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा यस विषयमा समान दृष्टिकोणहरू छैनन् । बेलाबखत पुरस्कार र सम्मानको विषयलाई लिएर गम्भीर विवादहरू जन्मिएका छन् । श्यामप्रसाद शर्मालाई तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रदान गरेको महेन्द्र प्रज्ञा पुरस्कारका कारण गम्भीर विवाद जन्मियो । प्रलेसभित्रै यसले ठूलो विवाद सृजना ग¥यो । श्यामप्रसाद शर्माले प्रलेसको अध्यक्षबाटै राजीनामा दिनुप¥यो । अन्ततः श्यामप्रसाद शर्माले पुरस्कार लिनुभयो । भर्खरै नई प्रकाशनले नेपाली कम्युनिष्ट आन्दोलनका एक शीर्षस्थ नेतालाई प्रदान गर्न लागेको सम्मान प्रलेस लगायत उहाँकै पार्टीसँग सम्बन्धित साहित्यिक स्रष्टा एवं संस्कृतिकर्मीहरूको गम्भीर आलोचनापछि अस्वीकार गरियो । यस्ता अरू पनि दृष्टान्तहरू छन् । 

प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा वैचारिक रूपमा विभिन्न कमजोरीहरू देखापरेका बेला पुरस्कार र सम्मानका विषयमा पनि समस्याहरू देखिनु स्वाभाविक छ । पुरस्कार र सम्मानको संस्कृतिलाई हेर्ने विषयमा रहेका त्रुटिहरू गम्भीर विचारधारात्मक सङ्घर्षका विषयहरू हुन् । प्रगतिशील लेखक सङ्घ सबै प्रगतिशील स्रष्टाहरूको साझा सङ्गठन भएकाले यस विषयमा विमर्श र स्पष्ट दृष्टिकोण निर्माणको पहल पनि प्रलेसले नै गर्नुपर्छ । प्रगतिशील स्रष्टाहरूले प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनका उद्देश्यहरूमा आघात पुग्ने गरी कुनै पनि पुरस्कार र सम्मानहरू ग्रहण गर्नु उचित हुँदैन । आस्था, आदर्श र प्रतिबद्धता विपरीत पुरस्कार र सम्मान ग्रहण गर्नु परिवर्तनको विपक्षमा उभिनु हो । यथास्थितिवादी एवं पछिल्तिर फर्कन चाहनेहरूलाई सहयोग पु¥याउनु हो । सामन्तवादी एवं पुँजीवादी संस्कृतिका अङ्गका रूपमा रहेका पुरस्कार र सम्मानहरूको अस्वीकार र प्रगतिशील सांस्कृतिक मूल्यको रक्षा एवं विकास आजको आवश्यकता हो । 
प्रलेसले आफ्नो विधानको प्रस्तावनामा आफ्नो दृष्टिकोण, प्रतिबद्धता र आदर्शलाई स्पष्ट गरेको छ । यस अनुरूप आचारसंहिताको निर्माण पनि गरेको छ । प्रलेसले आफ्नो उद्देश्य र कार्यक्रममा सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका निम्ति सक्रिय रहने भनेर उल्लेख गरेको छ । जनवादी संस्कृतिको योजनाबद्ध निर्माणमा पुरस्कार र सम्मान सम्बन्धी प्रतिध्रुवीय संस्कृति विरुद्धको सङ्घर्ष पनि पर्छ । प्रलेस पुरस्कार र सम्मान सम्बन्धी सुस्पष्ट आचारसंहिता बनाएरै अघि बढ्नुपर्छ र यस सम्बन्धी विचारधारात्मक सङ्घर्षलाई पनि सघन बनाउनुपर्छ । 

५. निष्कर्ष

प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा पुरस्कार र सम्मानको संस्कृतिलाई कसरी हेर्ने भन्ने विषयमा रहेका समस्याकै कारण कुन कुन पुरस्कार र सम्मान ग्रहण गर्न हुने र कुन कुन ग्रहण गर्न नहुने भन्ने विषयमा समस्या देखिएका हुन् । यो विषय पुरस्कार र सम्मानको संस्कृतिलाई विचारधारात्मक रूपमा कसरी हेर्ने र अघि बढ्ने भन्ने विषयसँग जोडिएको छ । यो नेपाली समाजको संरचना, सामन्तवादी, साम्राज्यवादी उत्पीडन, यहाँ विद्यमान वर्ग सङ्घर्ष, परिवर्तनको प्रक्रिया र अघिल्तिरको प्रस्थानसँग गाँसिएको छ । पुरस्कार र सम्मानको संस्कृति हलुको विषय होइन । प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनको दायित्व प्रगतिशील संस्कृतिको निर्माण र प्रतिध्रुवीय संस्कृतिका विरुद्ध सङ्घर्ष पनि हो । यसो नगरी नेपाली समाजको परिवर्तनको प्रक्रियालाई गति दिन सम्भव छैन । पुरस्कार र सम्मानको संस्कृति सम्बन्धी हाम्रो दृष्टिकोण यसै आधारमा निर्माण हुनुपर्छ । सामन्तवादी, पुँजीवादी संस्कृतिका ठाउँमा प्रगतिशील संस्कृतिको निर्माण आजको दायित्व हो । सांस्कृतिक रूपान्तरणका निम्ति सङ्घर्ष आजको हाम्रो गम्भीर अभिभारा हो । यो अभिभारा नयाँ नेपालको निर्माणसँग सम्बन्धित छ । 

सन्दर्भसामग्री

गिरी, अमर (२०६७). समय, समाज र संस्कृति, काठमाडौँ  विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
चापागाईं, निनु (२०५९). सन्दर्भ  संस्कृति र सामाजिक रूपान्तरण, काठमाडौँ  विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
चौधरी, अमित (२०७४). “पुस्तकलाई पुरस्कार  पुँजीवादी पासो” (अनुवाद  सिपी अर्याल), कान्तिपुर (कोसेली, भाद्र ३), काठमाडौँ  कान्तिपुर पब्लिकेसन प्रा.लि. ।
मिश्र, गिरीश (२०११). बजार  अतीत र वर्तमान, दिल्ली  ग्रन्थशिल्पी ।
मिश्र, डिल्लीराम (२०७३). नेपाली पुरस्कार इतिहास, काठमाडौँ  नितिका मिश्र ।
प्रभात, विष्णु (२०६३). प्रलेसको सङ्क्षिप्त इतिहास, काठमाडौँ  विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
किरण (२०६५). नेपाली समाज र संस्कृति : एक सङ्क्षिप्त अध्ययन, काठमाडौँ  विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
पत्रपत्रिका
प्रलेस, समयान्तर (हिन्दी) आदि पत्रपत्रिकाहरू ।




प्रलेसद्वारा आफ्नो स्थापना दिवसका अवसरमा 
आयोजित विचारगोेष्ठीमा प्रस्तुत अवधारणापत्र
मिति : २०७४।६।५

=========================================
अवधारणापत्रमाथि टिप्पणी 

पुरस्कारको प्रचलन पुँजीवादी युग सँगसँगै प्रारम्भ भएको हो

- आहुति
छलफलबाट पुरस्कार एक राजनीति होभन्ने कुरालाई पुष्टि गरेको छ । राजनीति चाहिँ जुनसुकै पनि हुन सक्छ । अवधारणा पत्रको निष्कर्ष पनि त्यही नै हो । नेपाली समाजमा श्रमिकहरुको बिरुद्धमा शासन गर्नेहरुले फैलाउन खोजिएको एउटा गोलचक्र हो भन्ने कुरा आज भण्डाफोर भएको छ ।

पुरस्कार र पुरस्कारको अवधारणाको सुरुवात शोषक वर्गले गरेको हो । नेपाल भनेर बाग्मति उपत्यकालाई मात्र बुझ्दा लिच्छवि कालदेखि यो सुरुवात भयो भन्ने हो । नेपाल भनेको बाग्मति उपत्यका मात्र होइन । लिच्छविभन्दा धेरै पहिलेदेखि बाहुनहरुको सभामा अन्तरक्रिया छलफल गर्ने र जसले राम्रो गर्छ त्यसलाई पुरस्कृत गर्ने परम्परा धेरै पहिलेदेखि सुरु भइसकेको थियो । नेपालमा विविध क्षेत्रमा फैलिएका राज्यहरुमा त्यो चलन थियो । तर, त्यो बक्सिसको रुपमा थियो । दास र सामन्तवादी युगमा बक्सिस दिइन्थ्यो । शासकहरु खुसी भएपछि त्यो दिइन्थ्यो । विर्ताको रुपमा जमिन दिने भनेको पनि बक्सिस नै थियो । त्यतिखेर वक्सिसमा घोडा, घोडी, महिला आदि जेजे त्यतिखेर वस्तु ठानिन्थ्यो ती सबै चीजहरु हुन्थे । बक्सिस इन्कार गर्न पाइन्नथ्यो । बक्सिस र पुरस्कारमा फरक यही नै हो । बक्सिस इन्कार गर्न पाइन्न, तर पुरस्कार लिन्न भन्न पाइन्छ ।

पुरस्कारको प्रचलन पुँजीवादी युग सँगसँगै प्रारम्भ भएको हो । पुँजीवादले व्यक्तिगत स्वतन्त्रताको नारा लिएर आयो । व्यक्तिगत स्वतन्त्रताले दिने अधिकारका साथसाथै लिन्न भन्ने अधिकार पनि दियो । त्यस्तै प्रेम गर्न पाइन्छ भने सम्बन्ध बिच्छेद गर्न पनि पाइन्छ भन्ने कुरा आयो ।

पुरस्कार त्यस्तो बेला दिइन्छ, जुन बेला स्रष्टालाई त्यो आवश्यक नै हुन्न । जस्तो कि आज पुरस्कृत कविलाई जुन बेला उनले दुई तीन कविता लेख्दै थिए, त्यतिखेर उनलाई पुरस्कारको जरुरी थियो । अहिले उनी राष्ट्रकै दश कवि वा तीस कविहरुभित्र पर्छन् भने उनलाई पुरस्कारको जरुरी पर्दैन ।

मार्क्सवादीहरुले कयौं अवधारणाहरु बुर्जुवा वा पुँजीवादीहरुसँग जस्ताको तस्तै लिने गरेका छन् । यो ठूलो गलत भएको छ । मार्क्सवादहरुले आधारभूत दर्शनमा बिरोध, बिचारमा लडे, राजनीतिमा लडे, वर्ग संघर्षका कयौं विषयमा लडे, तर जीवनका कयौं आयामहरुमा बुर्जुवाहरुले जे गरे त्यसलाई जस्ताको तस्तै ल्याएर लागु गरे । पुरस्कारलाई पनि मार्क्सवादीहरुले त्यसरी नै लागु गरे । बुर्जुवाहरुले आफ्नो उद्देश्यका लागि पुरस्कारलाई प्रयोग गरे, हामीहरुले हाम्रो उद्देश्यका लागि प्रयोग गर्नुपर्छ भन्ने धारणा मार्क्सवादीहरुमा भयो । यो ठीक कि बेठीक भन्ने सवाल उठाइएन । यसमाथि छलफलको जरुरी छ ।

एकीकरणबारे सामन्तवादी, पुँजीवादी र मार्क्सवादीहरुको एउटै धारणा रहेको छ । राष्ट्रको एकीकरण कसरी गरेकोलाई मान्ने भन्ने सवालमा लडाईं गरेर हुन्छ कि, धम्क्यार हुन्छ कि, षडयन्त्र गरेर हुन्छ, जसरी भए पनि एउटा देश बनाएपछि त्यो एकीकरण भयो भन्ने धारणा छ । यो धारणालाई सामन्तवादी, पुँजीवादी र मार्क्सवादी सबैले स्विकारे । होइन भने मार्क्सवादीहरुको यस सम्बन्धमा अवधारणा के त ? केही त छैन ।

महिलाहरुको पार्टीमा स्थानबारे संसारका मार्क्सवादी र गैर मार्क्सवादीहरुको एउटै धारणा रहेको छ । कुनै पनि पार्टीभित्रका महिलाहरु जब गर्भवती हुन्छन् पार्टीमा उनीहरुको एक नम्बर घट्छ । महिला कमजोर हुन्छन्, खट्न सक्दैनन्, आदि इत्यादि बिभिन्न बहाना बनाई उनीहरुलाई जिम्मेवारी दिइँदैन । उनीहरुलाई पोजिशनमा घटुवा गरिन्छ । अध्यक्ष हुन लायक भएर पनि बच्चा पाएकै कारणले महिलाहरु कोषाध्यक्षमा थन्किन बाध्य हुन्छन् । त्यस्तो किन गरिन्छ भने सामन्तवाद र पुँजीवादले महिलाहरुलाई जुन आँखाबाट हेर्छन् त्यही आँखाबाट मार्क्सवादीहरुले पनि हेर्छन् ।

मार्क्सवादीहरुले यो भन्न सकेनन् कि प्रजनन गर्नु समाजको पहिलो क्रान्ति हो । जब समाजमा प्रजनन हुँदैन, क्रान्ति के कामका लागि ? राजनीतिक क्रान्ति केका निम्ति हुन्छ ? जुन कुरो पुरुषले गर्न सक्दैन, त्यो महिलाले गर्छ । बच्चा कति वटा पाउने भन्ने कुरो त्यो छुट्टै कुरो हो । तर, बच्चा जन्माउनु भनेको प्रारम्भिक क्रान्ति गर्नु हो भनेर मान्ने हो भने कोही महिलाले बच्चा जन्माएपछि पार्टीभित्र उसको नम्बर थपिने हुन्छ । तर, बुर्जुवाहरुले महिलाहरुबारे जसरी सोच्छन्, मार्क्सवादीहरु पनि त्यसरी नै सोच्छन् । यही कारणले कुनै पनि पार्टीमा महिलाहरु नेतृत्वको लाइनमै छैनन् । पुरस्कारको बारेमा पनि हाम्रो धारणा यस्तै भएको छ ।

कम्युनिस्ट पार्टीको घोषणा पत्रमा ‘हाय्ब्स र हाय्बस नट’ भन्ने शब्दहरु छन् । अर्थात् हुने र नहुनेहरु । पुरस्कार हुनेले दिने हो । नहुनेले थाप्ने हो । जुन बिचारका बिरुद्ध नै मार्क्सवाद उभिएको छ, त्यही प्रथा हामी अङ्गालिरहेछौं । नहुने कुरो नै यही हो ।

मलाई २०४९ सालमा दिनै नहुने बेलामा एउटा पुरस्कार साथीहरुले दिए । त्यतिबेला दश हजार पाउने कृष्णहरि पुरस्कार थियो त्यो । ‘तपस्वीका गीतहरु’ भन्ने किताबका लागि दिइएको थियो । त्यसले दुईतीनवटा गम्भीर असर गर्यो । एउटा, भर्खर आएको कवि भनेर मलाई दिनु नै हुँदैनथ्यो भन्ने मत राख्ने साथीहरु मदेखि तीनचार वर्षसम्म नै रिसाए । पुरस्कारका लागि मैले कुनै भूमिका खेलेकै होइन । तर, उनीहरु मदेखि रिसाए । बोलचाल नै बन्द हुने गरी उनीहरु रिसाए । बर्र्षाैं लगाएर अनेक उपाय अपनाएपछि बल्ल उनीहरुसँग मेरो सम्बन्ध फेरि बन्यो । अर्को त्यो पुरस्कार पाएपछि मैले एक वर्षसम्म एउटा कविता पनि लेख्न सकिनँ । किनकि, अब कविता लेख्ने भनेपछि त्यस्तै सरहको लेख्नुपर्छ भन्ने दिमागमा बस्यो । र, त्यही आग्रहबाट मैले एक वर्षसम्म अर्को कविता लेख्न सकिनँ । तेश्रो सबभन्दा डरलाग्दो कुरा के हो भने पुरस्कार र सम्मानले चाहिँ शासक वर्गको मान बढ्दै जाँदो रहेछ, वास्तविक उत्पीडितहरुको मान घट्दै जाँदो रहेछ । ईन्द्रराज्य पुरस्कार भन्नुस्, पृथ्वी पुरस्कार भन्नुस् या प्रलेसको पुरस्कार नै भन्नुस्, यिनीहरुले उत्पडितहरुको मान घटाउने नै गर्छन् । जस्तो कि केशव सिलवालले आज पुरस्कार पाउनु भयो । उनको त मान बढ्यो नै । उहाँ कहाँबाट आउनु भयो भनी हेर्दा उहाँ काठबाट आएको देखिन्छ । आज पुरस्कार पाएर उहाँको मान त बढ्यो, तर त्यही काठको प्याङगाउँको एक दस्तकारीसित मूल्यको हिसाबमा उहाँको दूरी त हिजोभन्दा झन बढ्यो अब । त्यसैले पुरस्कारहरुले धेरै दुर्घटनाहरु निम्त्याँछन् भन्ने देखिन्छ ।
शोषक वर्गले पुरस्कार मार्फत् जे गरिरहेको हो, हामी पनि पुरस्कार मार्फत् त्यही नै गरिरहेछौं । यसबारेमा हामीले पुनर्बिचार गर्नैपर्छ ।

म तीन चोटि पुरस्कार दिने कमिटीमा बसिसकेको छु । एकचोटि देवकोटा पुरस्कारमा बसेँ । त्यहाँ बहस कुन पार्टीलाई कति दिने भन्ने हुन्थ्यो । एउटा बूढा मान्छेले मलाई बिराटनगरदेखि फोन गरी ‘ल है मलाई सम्झिनु पर्यो’ भने । मैले भनेँ, मलाई जसले फोन गर्छ उसलाई म सम्झिन्न ।

अर्को चोटि एउटा ठूलै पुरस्कारको छनौट कमिटीमा म परेँ । त्यहाँ ‘हिजोदेखि खाँदै आएकाहरुलाई दिनु हुन्न’ भन्ने कुरा आयो । छलफल गर्दै जाँदा सिनियरका हिसाबले पनि, प्रतिपक्षका हिसाबले पनि निनुदाइलाई दिनुपर्ने कुरा आयो । तर, त्यहाँ पुरस्कार छनौटमा बसेका एकजना पात्र डाक्टर साहेबले के भने भने, ‘तेरो निनुदाइलाई दिनु हुन्न, यदि दिइन्छ भने मेरो कसलाई दिने ?’

पुरस्कारकै सन्दर्भमा अर्को एउटा अनुभव एकेडेमीको छ । त्यहाँ पुरस्कारका लागि नम्बर दिन बस्दा मैले एकजनालाई ८५ दिएँ, तर उही मान्छेलाई अर्कोले १५ दिए । भयो के भने रचना संघीयताको थियो, म परेँ संघीयताका पक्षधर, त्यसैले मैले त्यस रचनालाई ८५ अङ्क दिएँ, तर अर्को संघीयताबिरोधी थिए, उसले १५ अङ्क मात्र दिए । कुरा त मिल्दै मिलेन ।

त्यसकारण पुरस्कारको सन्दर्भमा दुर्इृतीनवटा कुरामा छलफल गन पर्छ । पहिलो कुरो पुरस्कार भनेर नगद दिने प्रणालीको अन्त्य गर्र्नैै पर्छ । नगद दिने भनेको नै पुँजीवादी प्रणाली हो । संस्कृतिको क्षेत्रमा जहाँजहाँ पुँजीवादले समस्या खडा गरेको छ, त्यहाँत्यहाँ हामीले हल निकाल्नैपर्छ । सम्मान गर्ने तर नगद दिने प्रणालीको अन्त्य गर्नै पर्छ । 
सम्बन्ध बिच्छेद भनेको भौतिक चीजबाट गर्नुपर्छ । भावनाबाट होइन । अर्को, विविध विधालाई एकै ठाउँमा राखेर यो पुस्तक राम्रो छ भनी निक्र्यौल गर्नु हुँदैन । त्यसो गर्नु कला क्षेत्रको अपराध हो । कविता सङ्ग्रहलाई पनि राख्ने, उपन्यासलाई पनि राख्ने, नियात्रालाई पनि राख्ने र संस्मरणलाई पनि राख्ने अनि यिनीहरुमध्येबाट उत्कृष्टलाई छान्ने भन्ने । यस्तो कुरा गलत छ । पारिजातको ‘अनिँदो पहाड’सँग भुपि सेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि राख्ने हो भने कुन राम्रो छ भन्ने ? यो त पञ्चायतले लालीगुराँसलाई राष्ट्रिय फूल भन्ने तर चमेलीलाई राष्ट्रिय फूल बनाउन हुन्न भनेजस्तै भयो ।

दाँज्ने भनेको एउटै विषय भित्रकाहरुमा मात्र हुन्छ । विषय नै फरकफरक हुन्छ भने तिनीहरुबीच दाँज्न मिल्दैन ।
अर्को तेश्रो कुरा भनेको भागबण्डामा पुरस्कार वितरण गर्ने, सम्मान गर्ने गरिनु हुन्न । यसलाई बन्द गरिनुपर्छ ।
यति गरियो भने पुरस्कार र सम्मानको सवालमा पुँजीवादीहरुभन्दा हाम्रो भिन्नै अवधारणा बन्न सक्छ । पुँजीवादीहरुले चलाएका भौतिक हतियारहरु जस्ताको तस्तै मार्क्सवादीहरुले पनि चलाउन सक्छन् । तर, उनीहरुले अवधारणागत तहमा निर्माण गरेका चीजहरुलाई भने जस्ताको तस्तै चलाएर सर्वहारा र श्रमिक वर्गको सेवा गर्न सकिँदैन । भौतिक संस्कृति हातमा आउँदा जसरी आएको हो त्यसरी नै हाम्रो वर्गीय हितमा प्रयोग गर्न सक्छौं । तर, पुँजीवादीहरुले निर्माण गरेका अवधारणागत हतियारहरुलाई जस्ताको तस्तै होइन, तिनीहरुलाई परिमार्जन गरी वर्गीय सेवाका लागि लायक बनाएपछि नै चलाउन सकिने हुन्छ ।
मार्क्सवादीहरुले पुरस्कारको प्रणालीलाई छुट्टै किसिमले विकास गर्नुपर्छ ।

                                                                               

                                                                                      ००० 

=========================================

अवधारणापत्रमाथि टिप्पणी 

पुरस्कार वर्गीय हुन्छ भन्नेमा मेरो समर्थन छ

श्रवण मुकारुङ (नेपाल लेखक संघ, अध्यक्ष) 


म अर्कै स्कुलिङको मान्छे हुँ । मलाई मातृकाजीले हार्दिकतासाथ बोलाउनुभयो । म आएँ । नेपाली कम्युनिस्टहरुमा वामपन्थीहरुमा फराकिलोपनको विकास हुँदैछ भन्ने यो एउटा प्रमाण हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एउटा संस्थाले सम्मान गर्ने निर्णय गर्यो । उहाँले स्विकार्नु पनि भयो । पछि प्रलेसका साथीहरुको ठूलो दबाव गयो होला अथवा सल्लाह र सुझाव गए होलान्, उहाँले त्यो सम्मान ग्रहण नगर्ने निर्णय लिनुभयो । यही सन्दर्भबाट नै प्रलेस पुरस्कांर र सम्मान संस्कृतिलाई लिई आजको यो कार्यक्रम गर्ने निष्कर्षमा पुगेको हो भन्ने मलाई लाग्दछ ।

अमर गिरीले प्रस्तुत गर्नुभएको अवधारणा पत्र सूत्रात्मक र सैद्धान्तिक छ । उहाँले पुरस्कार र सम्मानका कुराहरु वर्गीय हुन्छ भन्ने कुरालाई पुष्टि गर्नुभएको छ । यो कुरा सुनेपछि हामीहरु चिन्तनको दृष्टिबाट त्यति टाढा छौं भन्ने लाग्न छोडेको छ ।

राईहरुको किरात राई यायोक्खा भन्ने एउटा संस्था छ । म एक राई भएको नातालाई मलाई पनि त्यसको एउटा कार्यक्रममा बोलाइयो । त्यो कार्यक्रम पुरस्कार र सम्मानकै कार्यक्रम थियो । त्यहाँ राईहरुमा एसएलसिमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई पुरस्कार दिने गरियो । त्यस्तै गरी राईहरुबाट डाक्टर इञ्जिनीयर बन्नेहरु र पिएचडि गरेकाहरुलाई सम्मान गरिए । आफ्नो बोल्ने पालामा मैले भनेँ, ‘तपाईंहरुले डाक्टर इञ्जिनीयर बन्नेलाई किन सम्मान गर्नुहुन्छ ? पिएचडि गर्नेहरुलाई किन सम्मान गर्नु हुन्छ ? राईहरु अहिले पनि सुनकोशीको तिरमा अदुवाको भारी बोकिरहेछन् । तिनीहरुका छोराछोरीहरुले पढ्नै पाएका छैनन् । उनीहरुले कहिल्यै अवसर पाउँदैनन् । केहीले अवसर पाए । डाक्टर भए, इञ्जिनीयर बने । उनीहरुलाई सम्मान गर्नु जरुरी छैन । गर्नुहुन्छ भने डाक्टर भएर राष्ट्र र जनताका लागि केही योगदान गरेकाहरुलाई सम्मान गर्नुहोस् । अथवा तपाईंको समुदायलाई के योगदान पुर्याए, त्यसको आधारमा सम्मान गर्नुहोस् । कोही डाक्टर भएर मात्र होइन, उसले देशका गरिबहरु कतिलाई निःशुल्क उपचार गर्यो, त्यसको आधारमा सम्मान गर्नुहोस् न । तपाईं एसएलसिमा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कार दिँदैहुनुहुन्छ, तर पढ्नै नपाएका राईहरु छन्, तपाईं तिनीहरुलाई कुन स्थानमा राख्नुहुन्छ ? तपाईं कस्ंतो संस्कृतिको निर्माण गर्दै हुनुहुन्छ ? मलाई चित्त बुझेन ।’

मेरा यी कुराहरु सुनेपछि त्यसपछाडिका कार्यक्रमहरुमा अहिलेसम्म मलाई फेरि बोलाइएको छैन ।
त्यस्तै अर्को एउटा घटना छ । साहित्य सन्ध्या भन्ने एउटा संस्था थियो र अहिले पनि छ । त्यहाँ एउटा श्रोता पुरस्कार भन्ने हुन्थ्यो । दर्शकहरुबाट वर्षमा न्यूनतम पाँचवटा कविता वाचन गर्नुपर्ने थियो । त्यस्ता श्रोताले वार्षिक पुरस्कार पाउने भन्ने थियो । मैले पाँच चोटि वाचन गरी त्यस पुरस्कार पाउने हैसियत बनाएँ । तर, त्यो पुरस्कार मैले पाइनं । एकजना थिए त्यतिखेर जसले त्यो पुरस्कार सहजै पाए, उनी पुरस्कार पाएको लगतै मण्डले बने । मैले नपाई ती व्यक्तिले किन पाए त त्यो पुरस्कार ? मनमा खुल्दुली थियो । पछि थाहा पाइयो उनी सम्बन्धित संगठनमा आवद्ध भइसकेका रहेछन् ।

मेरो प्रश्न के हो भने यति धेरै प्रगतिशील पुरस्कारहरु छन्, तिनीहरु समाजलाई रुपान्तरण गर्न लामो समयदेखि सिर्जनामा लाग्दै गरे पनि कुनै पनि पार्टीमा नलागेका सर्जकहरुलाई प्रदान गरिए त ? पार्टी, प्रलेस अथवा जनसाँस्कृतिक संगठनसित सम्बन्धमा नरहेका कतिजनालाई पुरस्कार दिइयो त ?

पक्कै पनि पुरस्कार राख्नेहरुको आफ्नो उद्देश्य रहन्छ । प्रणामी संघले पनि राख्दछ पुरस्कार । जसले सबभन्दा कृष्णको बखान गर्न सक्ला त्यसलाई त्यो पुरस्कार दिँदो हो । जग्गा दलाल र मान्छे दलालहरुले पनि आफ्नो व्यावसायिक समुदायबाट पुरस्कार पाउँछन् ।

आआफ्ना स्वार्थ अनुसार पुरस्कारहरु बनाइन्छन् । यो स्वभाविक छ । वामपन्थीहरु आफूलाई सत्ताको विपक्ष भनाउँन चाहन्छन् । तर, सत्ताबाट दिइने पुरस्कारहरु पनि लिइरहेको नै देख्छु ।

मलाई आजको मञ्च यी सवालहरुमा पुनरबिचार गर्नका लागि नै खडा गरिएको भन्ने लाग्छ ।

अहिले पुरस्कारको एउटा छुट्टै मनोविज्ञान बनेको छ । बिभिन्न जाति, धर्म, क्षेत्रले आआफ्ना किसिमका पुरस्कारहरु स्थापना गरेका छन् । डायस्पोरामा पनि त्यस्तै पुरस्कारहरु राखिएका छन् । अहिले मदन पुरस्कार घोषणा भएको लगतै दुईतीन दिनपछि अर्को एउटा पुरस्कारको घोषणा हुने गर्न थालेको छ, पद्माश्री पुरस्कार ।

त्यसलाई म आँसु पुछ्ने पुरस्कार भन्छु । किनकि, त्यो पुरस्कार नपाएकाहरुले पाउने पुरस्कार हो ।
२०४६ को आन्दोलनपछाडि नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्यसअघि राजा महाराजाहरुको नामबाट प्रदान गरिँदै आएका पुरस्कारहरु विषयगत रुपमा प्रदान गर्ने प्रचलन आयो । तर, एउटा पुरस्कार अझै बाँकी छ, त्यो हो पृथ्वी प्रज्ञा पुरस्कार । ०४६ पछिका र अहिलेका प्राज्ञहरु पनि त्यो पुरस्कार हटाउँदा आफूहरु नै समाप्त हुने हो कि भनी भयग्रस्त देखिन्छन् ।
                                                                                  ००० 

==========================================

अवधारणा पत्रमाथिको पुष्ट्याई 

- अमर गिरी 

पुरस्कार र सम्मानको बारेमा सामान्य रुपमा छलफल गर्दा कस्ताकस्ता पुरस्कारहरु स्थापित छन्, तिनीहरुका उद्देश्यहरु के रहेका छन् र प्रगतिशील लेखक संघबाट कस्ता पुरस्कारलाई ग्रहण गर्न हुन्छ या हुँदैन भन्ने बारे बिचार विमर्श गर्न सकिन्छ । तर, पुरस्कार र सम्मानका कार्यक्रमहरु संस्कृतिकै रुपमा रहेकाले त्यस संस्कृतिका बारेमा अवधारणा नै बनाउनु उपयुक्त हुन्छ ।

अहिले प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा बाहिरी र भित्री दुबै तर्फबाट बैचारिक आक्रमण भइरहेको हुुँदा यो चुनौतिपूर्ण अवस्थामा छ । त्यसैले पनि पुरस्कार र सम्मान संस्कृतिबारे हामीले एउटा निश्चित अवधारणा बनाउनु जरुरी छ । यस सम्बन्धमा हामीभित्र पनि निश्चितै रुपमा केही कमजोरीहरु छन् । ती कमजोरीहरुलाई हामीले सच्याउन सकिएन भने यो आन्दोलन कमजोर भएर जान्छ । हामीले हाम्रा कमजोरीहरुलाई त्यतिकै राखिराख्ने हो भने नेपाली प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन सक्दैनौं र नेपाली समाजको रुपान्तरणमा हामीले ठोस योगदान पुर्याउन सक्दैनौं । त्यसैले बैचारिक स्पष्टता सहित नेपाली समाजको परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन, सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन, पुरस्कार र सम्मानको संस्कृतिको सम्बन्धमा पनि ठोस, स्पष्ट र सही दृष्टिकोण निर्माण गर्नु जरुरी हुन्छ ।

पुरस्कार र सम्मानलाई हामीले संस्कृतिकै रुपमा लिनुपर्छ । पुरस्कार र सम्मान आत्मिक यानि कि अभौतिक संस्कृतिसँग जोडिन्छ । आत्मिक संस्कृतिको निर्माणमा पुरस्कार र सम्मान मात्रले पनि भूमिका निर्वाह गरेको हुँदैन । त्यसैले पुरस्कार र सम्मानको संस्कृति भनिएको हो । संस्कृतिका दुईवटा पक्षहरु छन्, एउटा आत्मिक पक्ष र अर्को भौतिक पक्ष । पुरस्कार र सम्मान बढी मात्रामा आत्मिक पक्षमा पर्छन् र यसले मूल्य निर्माणको प्रक्रियामा धेरै महत्वपूर्ण प्रभाव पार्दछ ।
पुरस्कार र सम्मानको संस्कृति पूर्व र पश्चिम दुबैतिर प्राचीन समयदेखि चल्दै आएको देखिन्छ । नेपालमा पनि यसको लामो इतिहास छ । इतिहासकारहरुले लिच्छविकालदेखि यो संस्कृतिको सुरुवात भएको हो भनेर मान्दछन् । पुरस्कार र सम्मानको संस्कृति राजकीय र गैर राजकीय गरी दुईवटै क्षेत्रबाट अभ्यास भएको पाइन्छ । यी दुईवटै क्षेत्रबाट पुरस्कार र सम्मान स्थापना गर्ने, प्रदान गर्ने र पुरस्कार र सम्मानको संस्कृतिलाई अगाडि बढाउने गरेको पाइन्छ ।

प्राचीन समयतर्फ फर्केर हेर्ने हो भने राज्यको तर्फबाट नै पुरस्कार र सम्मानको क्षेत्रमा धेरै काम भएको पाइन्छ । पछाडिपछाडि बिस्तारै यो कार्य निजी क्षेत्र यानि कि नागरिकहरुको तहबाट पनि हुन थालेको देखिन्छ । खास गरी आधुनिक युगको आरम्भपछि यो कार्य नागरिकहरुको तहबाट पनि प्रारम्भ भयो । नेपालमा पनि आधुनिक समयमा आएर नै पुरस्कार र सम्मानको संस्कृतिलाई अगाडि बढाउने सवालमा गैर राजकीय क्षेत्रको असाध्यै महत्वपूर्ण भूमिका रहन आएको छ । अहिलेको समयमा हेर्ने हो भने यो कार्यमा राजकीय क्षेत्रको भन्दा गैर राजकीय क्षेत्रको नै बढी भूमिका रहेको देखिन्छ । साहित्यिक र सांस्कृतिक क्षेत्रमा मात्र होइन ज्ञान विज्ञान र अन्य क्षेत्रमा पनि यस्तै रहेको छ ।

पुरस्कार र सम्मानको पनि वर्गीय चरित्र हुन्छ । कतिपयलाई लाग्न सक्छ, पुरस्कार र सम्मान दिने कुरा सामान्यतः राम्रो कुरा हो । तर, पुरस्कार र सम्मानको संस्कृतिको इतिहासलाई मसिनोसँग विश्लेषण गर्ने हो भने यो वर्ग र बिचारसँग जोडिएको हुन्छ । बिचारधारा र वर्गबाट अलग गरी हामी पुरस्कार र सम्मानको कुरा सोच्न सक्दैनौं । यदि त्यसो सोचियो भने गलत हुन्छ । प्रगतिशील साहित्यिक एवं सांस्कृतिक क्षेत्रमा कहिलेकाहिँ त्यस्तो दृष्टिकोण अगाडि आएको देखिन्छ । बिचारधारा, वर्ग र पक्षधरतालाई दृष्टिगत नगरी त्यसको पक्षविपक्षमा कुरा गर्नु बेकार हुन्छ । र, यसबाट प्रगतिशील साहित्यिक र सांस्कृतिक क्षेत्रका साथीहरु बच्नुपर्छ भन्ने मलाई लाग्दछ ।

नोबेल पुरस्कार संसारको सबभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार हो । त्यो पुरस्कार पाउनु भनेको ठलो गौरवको विषय हुन्छ । तर, त्यसको पनि बिचारधारात्मक पक्षधरता छ । स्थापनाकालदेखि अहिलेसम्म त्यो पुरस्कार ककसलाई र कस्ताकस्तालाई दिइयो भनी केलाएर हेर्ने हो भने त्यसको बैचारिक पक्षधरता एवं राजनीति के हो भन्ने प्रष्ट हुन्छ । उदाहरणको रुपमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामालाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । तर, बाराक ओवामाले विश्वमा शान्ति स्थापना गर्न कस्तो भूमिका निर्वाह गरे त भनी हेर्दा उनको पालामा स्वयं उनैबाट कयौं युद्ध भड्काउने कामहरु विश्वमा भएको हामी पाउँछौं । त्यसैले बाराक ओवामालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनुमा राजनीतिक उद्देश्य लुकेको हामी पाउँछौं ।

नोबेल पुरस्कारपछि विश्वको अर्को चर्चित पुरस्कार बुकर हो । बुकर पुरस्कार कसैले पाउँछ भने ऊ रातरात विश्वचर्चित हुन्छ । यसबारेमा अमित चौधरीले एउटा सानो लेख लेखेका छन् । उनी लेख्छन्, बुकर पुरस्कारमा कृतिको स्तर हेरिँदैन, कृतिको बजार हेरिन्छ । अथवा बुकर पुरस्कारले त्यस्तो कृतिलाई पुरस्कृत गर्छ, जसको बजार सर्वाधिक उच्च रहन्छ । बुकर पुरस्कारले कृतिको बजारीकरणलाई नै बढी महत्व दिने गरेको अमित चौधरी लेख्छन् । यो भनेको पुँजीवाद हो ।

नोबेल तथा बुकरजस्ता विश्व चर्चित पुरस्कारहरुले केही मात्रामा प्रगतिशील लेखकहरुलाई पनि पुरस्कृत गरेको पाइन्छ । जस्तो पाब्लो निरुदा । तर, यो भनेको उनीहरुले आफ्नो पुरस्कारलाई विश्वमा सर्वस्विकार्य भएको देखाउन गरेको राजनीति मात्र हो । किनकि कति जना विश्वविख्यात प्रगतिशील साहित्यकारहरुले ती पुरस्कारहरु पाए भनी हेर्दा त्यसको आँकडा निराशाजनक हामी पाउँछौं । फाटफुट केहीलाई मात्र दिइएको छ । त्यसैले त्यो देखाउनका लागि मात्र गरिएको राजनीति हो भनी सजिलै बुझ्न सकिन्छ । नोबेल पुरस्कार सबभन्दा बढी अमेरिकीहरुले नै पाएको रेकर्ड छ ।

त्यसैले पुरस्कार र सम्मान भनेको वर्गदेखि, बिचारधारादेखि र राजनीतिदेखि अलग भएको पाइँदैन । नेपालमा लिच्छविकालदेखि पछिल्लो समयसम्मको कुरा गर्दा राज्यबाट नै धेरै पुरस्कार र सम्मान प्रदान गरेको पाइन्छ । पछिल्लो समयको कुरा गर्दा खास गरी पंचायती कालमा राज्यद्वारा नै पुरस्कार र सम्मानका कार्यहरु धेरै भए । तर, ती पुरस्कारहरु कसले पाए त ? मन्त्रालयले, दरबारले र तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने पुरस्कार आखिर कसले पाए ? ती पुरस्कारहरु आलोचनात्मक चेत राख्नेहरुले पाएनन्, पाउँदैनथे पनि । त्यस्तै गरी ती पुरस्कारहरु लोकतन्त्रका लागि संघर्षरत स्रष्टाहरुले पाउँदैनथे । ती पुरस्कारहरु पञ्चायतलाई समर्थन गर्नेहरुले नै पाउँथे, चाहे सोझो रुपमा होस्, चाहे घुमाउरो रुपमा होस् । तर, समाज रुपान्तरणका लागि लेखिरहेका रचनाकारहरुले ती पुरस्कारहरु पाउँदैनथे ।

राज्यले आफू अनुकूलको संस्कृति निर्माणका लागि नै त्यसको लागि रचना गर्ने रचनाकारहरुलाई पुरस्कारको व्यवस्था गरेको हुन्छ ।

पंचायती कालखण्डपछाडि पछिल्लो समय २०४६ सालपछि परिवर्तन त आयो, तर त्यसलाई आत्मसाथ गरी राज्यबाट प्रदान गरिने पुरस्कार प्रणालीलाई लोकतान्त्रीकरण गर्न सकिएको छैन । ०४६ सालपछि नेपाली समाजलाई रुपान्तरण गर्न खास गरी नेपाली संस्कृतिलाई रुपान्तरण गर्ने प्रक्रियालाई जसरी अगाडि बढाउनु पथ्र्यो, त्यसरी गर्न सकिएन । पुरस्कारको सवालमा पनि यो कुरा लागु भयो ।

निजी स्तरबाट स्थापना गरिएका पुरस्कारहरुको पनि वर्गीय पक्षधरता हुन्छ, बिचारधारात्मक पक्षधरता हुन्छ । यो स्थिति अहिले पनि छ । वर्तमानमा पनि कतिपय पुरस्कारहरु राजतन्त्रलाई पुनस्थापना गर्न चाहने, अहिलेका पूर्व राजालाई वर्तमान राजाकै रुपमा व्यवहार र सम्वोधन गर्ने र त्यो अनुकूलको संस्कृतिको निर्माणका निम्ति काम गर्ने र त्यसका लागि राजनीति आधार निर्माणका लागि स्थापना गरिएका छन् । त्यस्ता पुरस्कारहरु ग्रहण गर्दा प्रगतिशील बिचार नै पनि नासिएर जाने खतरा रहन्छ । त्यसैले पुरस्कार र सम्मान भनेको वर्गीय र बैचारिक पक्षधरता सहितको राजनीतिबाट संचालित हुन्छ । हामी नयाँ संस्कृति निर्माण गर्न चाहन्छौं, समाजको प्रगतिशील रुपान्तरण चाहन्छौं भने त्यस्ता पुरस्कार र सम्मानको ग्रहणबाट हाम्रो बाटोमा अवरोध खडा हुन्छ । यो समस्या प्रगतिशील साहित्यिक र सांस्कृतिक आन्दोलनमा छ ।

पुरस्कार र सम्मानपछाडि के कस्ता राजनीतिक उद्देश्यहरु लुकेका छन् भन्ने कुरा हेरिनुपर्छ । यसबारे गम्भीर भएनौं भने हामीले सांस्कृतिक रुपान्तरण गर्न सक्दैनौं । अहिले गणतन्त्रको स्थापना भएको छ । तर, वर्ग संघर्ष अहिले पनि जीवितै छ । हामीले अहिले पनि परिवतृनको प्रक्रियालाई अगाडि बढाउन सक्दैनौं भने स्थिति पुनः उल्टिन सक्छ । त्यसैले पुरस्कार र सम्मानमा वर्गीय तथा बैचारिक पक्षधरता हुन्छ र प्रगतिशील साहित्यिक र सांस्कृतिक आन्दोलनले पुरस्कार र सम्मानबारे बिचार निर्माण गर्नु जरुरी छ । कुन पुरस्कार लिनु हुने र कुन नहुने भन्नेबारे स्पष्टता हुनुपर्छ । यसबारे हामीबीच बहस छलफल हुनु जरुरी छ ।

पुरस्कार र सम्मानको विशाल परिधिभित्र कयौं त्यस्ता पुरस्कार र सम्मानहरु छन्, जसलाई प्रगतिशील साहित्यिक एवं सांस्कृतिक आन्दोलनले स्वभाविक रुपले ग्रहण गर्नुपर्छ । समाज परिवर्तनको लागिको साहित्य र कलाको फाँट, पर्यावरण संरक्षणका लागि विद्यालय र महाविद्यालयले स्थापना गरेकाजस्ता पुरस्कारहरुलाई रचनात्मक रुपले ग्रहण गरिनुपर्छ । तर, ती पुरस्कारहरु ग्रहण गर्दागर्दैको समयमा पनि प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनले पुरस्कार र सम्मानमा वर्गीय पक्षधरता रहन्छ भन्ने हेक्का राख्नुपर्छ ।

अहिलेको समय भनेको संक्रमण अवस्थाको हो र यस अवस्थामा बैचारिक संघर्षलाई सबैभन्दा बलियो ढङ्गले अगाडि लानु जरुरी हुन्छ । नेपालमा कम्युनिस्ट आन्दोलन बलियो छ । यसको समस्या पनि छ । नेपालमा प्रगतिशील बैचारिक आन्दोलन बलियो छ । तर, समस्या पनि छ ।

अहिलेको समय भनेको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनलाई यसमा देखिएका समस्याहरुबारे बहस, छलफल गरी विकसित गरिनुपर्ने हो । यस्तो अवस्थामा पुरस्कार र सम्मान जहाँबाट जसले दिए पनि ग्रहण गर्दै जाने प्रवृत्तिले हाम्रो आन्दोलनलाई कमजोर बनाउँदछ । त्यसैले यसबारे गम्भीर भई ठोस र स्पष्ट अवधारणा बनाउनु जरुरी छ । 

                                                                          ०००