Wednesday, July 11, 2012

प्रगतिशील लेखक सङ्घका अध्यक्ष घनश्याम ढकालको निधन



दु:खद खबर -------------------------------------------------------------------------------------- 
प्रगतिशिल लेखक संघका अध्यक्ष घनश्याम ढकालको आज २०६८ साल फाल्गुण् १ गते दुर्घटनामा परेर निधन भयो। बिहान १० बजे तिर बाटोमा हिडिरहेको बेलामा मिलन बस्नेत नामको ब्यक्तिले चलाएको बा ४७ प ३३१९ नम्बरको मोटरसाइकलले भ्रिकुटिमण्डप अघि ठक्कर दिएको थियो । उहालाई वीर अस्पताल ल्याइ पुर्याउने बित्तिकै मृत्‍यु भएको घोषणा गरिएको थियो।
----------------------------------------------  प्रगतिशील लेखक सङ्घको  फेसबुक वाल बाट 
घनश्याम ढकालको  चिनारी 
जन्ममिति– वि.सं २०१० माघ १४ गते
जन्मस्थान– पुतलीबजार नगरपालिका–८, सतौं, ठूलापँधेरा, स्याङ्जा
बसोबास– पोखरा उपमहानगरपालिका–८, सिमलचौर, कास्की
अस्थायी बसोबास– कीर्तिपुर, काठमाडौं (२०६५ देखि)
माता÷पिता– कौशल्या - प्रभाकर ढकाल
श्रीमती– पारु ढकाल
छोरा÷छोरी– विजय ढकाल ‘विश्वास’ (सहिद), सिर्जना ढकाल, वन्दना ढकाल
बुहारी– विरजा अधिकारी ‘नमूना’
शिक्षा– स्नातकोत्तर तथ्यांकशास्त्र, बीएल
प्राध्यापन : पृथ्वीनारायण क्याम्पस, पोखरा (२२ वर्षसम्म)
संस्थापक प्राध्यापक : जनप्रिय क्याम्पस, पोखरा
संलग्नता– पूर्वमहासचिव, पूर्वसल्लाहकार तथा अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल
अध्यक्ष, अखिल नेपाल लेखक सङ्घ, नेपाल
पूर्वउपाध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल
संस्थापक सचिव, पूर्वअध्यक्ष तथा सल्लाहकार– गण्डकी साहित्य संगम, पोखरा
सल्लाहकार – गण्डकी साहित्य परिषद्
संस्थापक – गोकुल साहित्य पुरस्कार
संस्थापक अध्यक्ष तथा संरक्षक, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, पोखरा
पूर्वअध्यक्ष तथा सल्लाहकार, प्रगतिशील लेखक संघ, कास्की
संस्थापक सदस्य, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति
सल्लाहकार, अभिज्ञान आन्दोलन, काठमाडौं
सल्लाहकार, नेपाल साहित्यिक पत्रकार संघ ।
संगठनमा आबद्ध– अनेरास्ववियु, २०३० साल
कम्युनिस्ट पार्टीको निकट रहेर काम गरेको– २०३० सालदेखि
नेकपाको पूर्ण सदस्यता– २०३६ साल
लेखन आरम्भ– २०२६ सालदेखि (नौ कक्षामा पढ्दापढ्दै लेख्न सुरु)
लेखन मुख्य विधा– आख्यान र समालोचना
प्रकाशित कृतिहरू  : 
१. नाम कमाउने रहरमा, निबन्ध संग्रह, २०४२
२. गङ्गा–कावेरी एक्सप्रेस (चिठीलाई जवाफ), काव्य, २०४२
३. फैसला हारजीतको, कविता संग्रह, २०४४
४. अभिवादन गर्छ सगरमाथा पेरुभियाली जनक्रान्तिलाई, काव्य, २०४४
५. दरिद्रताबाट मुक्ति, निबन्ध संग्रह,२०४५
६. भरिया र यात्री, कथासंग्रह, २०४६
७. गाउँभित्र, उपन्यास, २०४७
८. सहिद मानचित्रमा नपरेको सहिद, कथासंग्रह, २०४८
९. समर्पणको बाटोमा, कथासंग्रह, २०५१
१०. माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, समालोचना, २०५४
११. आजको महाभारत, कथासंग्रह, २०५५
१२. रातो आकाश, उपन्यास, २०६०
१३. भावनाका छालहरू, शोकगीतिका, २०६२
१४. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सैद्धान्तिक पुस्तिका
१५. सहिदको सालिक, कथासंग्रह, २०६६
१६. सौन्दर्यशास्त्रको आँखीझ्याल, सौन्दर्यचिन्तन पुस्तिका, २०६६
सम्पादित ग्रन्थ :
१. यथार्थवादी नेपाली समालोचना, २०६२
२. पोखरेली समालोचना, २०६५
३. माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७ (सम्पादन संयोजक)
सम्पादक : पसिना, कलम, गण्डकी संगम, चन्द्रागिरि लगायतका विभिन्न साहित्यिक पत्रिका ।
प्रधानसम्पादक : क्रमभंग विचारप्रधान द्वैमासिक
प्राप्त पुरस्कार  : 
क) राष्ट्रिय प्रतिभा पुरस्कार–२०५१ (अस्वीकार)
ख) पारिजात सृजन पुरस्कार–२०५५
ग) साहित्य सन्ध्या पुरस्कार– २०६३
घ) मनकुमारी–केदार शर्मा प्रतिभा पुरस्कार– २०६५
मृत्यु : २०६८ फागुन १, काठमाडौं

२०६८ साल फाल्गुण् १ गते मोटरसाइकलको ठक्करबाट निधन हुनुभएका वरिस्ठ साहित्यकार घनश्याम ढकालको आज अर्यघाटमा दाहसस्कार गरियो । पशुपती आर्यघाट लैजानु अघि कोटेश्वरस्थित पेरिसडाँडामा रहेको ए. ने. क. पा .(माओबादी) को केन्द्रीय कार्यालयमा सम्पन्न श्रद्धान्जली समारोहमा क .प्रचन्ड, क. किरण, साहित्यकार मोदनाथ प्रश्रित,साहित्यकार निनु चापागाइ, साहित्यकार गंगाप्रसाद उप्रेती, साहित्यकार जगदीशचन्द्र भण्डारी, साहित्यकार ताराकान्त पाण्डे, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, साहित्यकार गोपाल ठाकुर, लगायतले श्रद्धान्जली मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
----------------------------------------------   प्रगतिशील लेखक सङ्घको  फेसबुक वाल बाट 




घनश्याम ढकालको साँस्कृतिक उचाइ
                                          
मातृका पोखरेल

नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । संगठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको अध्ययनका दृष्टिले हेर्ने हो भने उहाँको यो निधन अपुरणीय क्षति थियो ।
साहित्यकार घनश्याम ढकालसँग मेरो भेटघाट र चिनजान भएको पनि दुई दशकको समय बितिसकेछ । २०४८ सालभन्दा पहिले नै भेट भएको हुनसक्छ । तर मैले एकिन समय सम्झन सकिन । २०४८ सालमा कीर्तिपुरमा अखिल नेपाल जनसांस्कृतिक संघको राष्ट्रिय भेला भएको थियो । उहाँसँग त्यही कार्यक्रममा भेट भएको सम्झना मात्र मसँग छ । कवि कृष्ण सेन ‘इच्छुक’ त्यो भेलाबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यो भेलामा घनश्याम दाइले आफ्ना केही विचारहरु राख्नुभएको मलाई राम्ररी सम्झना छ । त्यो भेलाबाट बनेको कार्यसमितिमा उहाँ पनि रहनुभएको थियो । त्यसयताका समयहरुमा उहाँसँग मेरो नियमित भेटघाट भयो । केही संगठनहरुमा उहाँसँग सँगसँगै काम गर्ने मौका समेत मिल्यो ।
त्यसबेलाको समयमा उहाँको मूल जिम्मेवारी सांस्कृतिक संगठनमा थियो तर मेरो चाहीं युवा संगठनको जिम्मेवारी थियो । हामी दुवैजना एउटै पार्टी अन्तर्गतका जनवर्गीय संगठनमा कार्यरत थियौं । तीनवटा पार्टीहरुको एकता पश्चात त्यसबेला भरखरैमात्र ने.क.पा. (एकता केन्द्र) बनेको थियो । घनश्याम दाई तत्कालिन ने.क.पा. (मशाल) हुँदै एकता प्रकृयामा आउनुभएको थियो । म तत्कालिन ने.क.पा.(चौ.म.) मार्फत आएको थिएँ । साहित्य र संस्कृतिको रुचीको कारण उहाँसँग सम्पर्क नजिकिदै गयो ।
केही समयको सहकार्यपछि हामी फेरि सँगसँगै रहन सकेनौं । २०५० सालमा एकता केन्द्रमा फुट आयो । म एकता केन्द्र तिरै रहें उहाँ माओवादी तिर । एकताकेन्द्रमा काम गर्ने हामी साथीहरुले ने.क.पा. (माओवादी)ले सशस्त्र संघर्ष सुरु गर्दाका आरम्भिक अवस्थामा उहाँ लगायत खुला क्षेत्रमा कार्य गर्ने साथीहरुका लागि खासै कष्टकर नभएको महशुस गथ्र्यौं । घनश्याम ढकालले आफू सहभागी भएका मञ्चहरुबकाट जनयुद्धको पक्षमा बहस गरेको मैले धेरै पटक सुनेको छु । तर उहाँ त्यहाँ भित्र देखिएका गलत पक्षहरुको आलोचना गर्न पनि चुक्नुहुन्न थियो । यो कारणले पनि हुनसक्छ, हाम्रा बीचको भेटघाट र छलफलका लागि कुनै असहजपन सिर्जना हुँदैनथ्यो ।
घनश्याम ढकाल भिन्न विचार भएका मानिसहरुसँग आफ्ना कुराहरु राखेर साझा विषयहरुमा सँगसँगै काम गर्ने क्षमता राख्नुहुन्थ्यो ।  २०५४ सालमा भएको प्रगतिशील लेखक संघको चौथो राष्ट्रिय सम्मेलनमा ने.क.पा. (एमाले) पक्षधरका साहित्यकार साथीहरुले साझा मञ्चको मान्यतालाई लत्याएर संघलाई एकलौटी बनाए । निनु चापागाईं, कृष्ण सेन ‘इच्छुक’ घनश्याम ढकाल लगायतका साथीहरु सहित हामीले उक्त सम्मेलन बहिष्कार गर्न बाध्य भयौं । एमाले निकट साहित्यकार साथीहरुलाई साझा मञ्चको गौरवमय मूल्यबाट टाढिएको प्रलेस चलाउनु र जनसांस्कृतिक मञ्च चलाउनुमा कुनै भिन्नता महशुस गर्ने करा थिएन । आफूले गल्ती गरेको महशुस गर्दै उनिहरु फेरि साझा मञ्चको मान्यताअनुसार  चलाउने आग्रहकासाथ हामीसँग छलफल गर्न आइपुगे । तीन वर्षे कार्यकाल पूरा नभई २०५६ सालमै प्रगतिशील लेखक संघको पाँचौ राष्ट्रिय सम्ेमलन सम्पन्न भयो । निनु चापागाईको अध्यक्षतामा बनेको उक्त कार्य समितिमा घनश्याम ढकाल उपाध्यक्ष र जीवेन्द्रदेव गिरी महासचिब बन्नुभयो । प्रगतिशील लेखक संघलाई साझा मञ्चको मान्यताअनुसार संचालन गर्न उहाँको ठूलो भूमिका रहयो । प्रलेसको छैठौं राष्ट्रिय सम्मेलनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो । त्यो समय हामी परिवर्तनकारी स्रष्टाहरुका लागि सबैभन्दा कष्टकर थियो । राज्य आतङ्क तीब्र थियो । प्रगतिशील लेखक संघका कैयौं सदस्यहरु राज्यद्वारा बेपत्ता बनाइएका थिए । राज्यले परिवर्तनकामी साहित्यकारहरुमाथि क्रुर दमन र हत्याको ऋंखला अघि बढाएको थियो । माओवादी निकट सांसकृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक संघको उपाध्यक्ष भएको कारणले घनश्याम ढकाल राज्यको आँखामा झनै ठूलो बैरी हुनुहुन्थ्यो । एकातिर प्रगतिशील लेखक संघको महासचिव भएर देशभरिका प्रगतिशील साहित्यकारहरुलाई नेतृत्व प्रदान गर्नुपर्ने अर्कोतिर राज्यको गिद्धे दृष्टिबाट बच्नुपर्ने जस्तो त्रासद अवस्थाबाट उहाँले काम गर्नुपर्ने बाध्यता थियो । प्रगतिशील लेखक संघको महासचिव र अखिल नेपाल जनसांस्कृतिक संघको उपाध्यक्ष रहेको कारणले ने.क.पा. (माओवादी)ले पनि उहाँलाई उपत्यकामै रहने गरी पार्टीको जिम्मेवारी दिएको बुझिन्थ्यो । त्यसबेला उपत्यकाको पार्टी काम पटक्कै सहज नभएको हामी जनयुद्धबाट टाढा रहेकाहरु अनुमान गर्ने गथ्र्यौं । एकदिन साँझमा उहाँ मेरो कोठामा आइपुग्नुभयो र सेल्टरको समस्या परेको करा बताउनुभयो । सेल्टरको अपठ्यारोले उहाँ केही दिन मेरो कोठामै बस्न चाहनुहुन्थ्यो । माओवादी जनयुद्धबाट पृथक र जनयुद्धप्रति आलोचनात्मक धारणा राख्ने हामी जस्ता लेखकहरु समेत राज्यका लागि खतरनाक नै थियौं । हामीप्रति पनि एक प्रकारको निगरानी छ भन्ने सूचनाहरु कतै कतैबाट हामीसम्म आइपुग्थ्यो । त्यसैले मेरो कोठा दाइका लागि उपयुक्त नहुनसक्छ भने मैले । त्यस रात उहाँ मेरो कोठामा बसेर टेलिफेनबाटै अस्थायी सेल्टरको व्यवस्था गरेर भोलिपल्ट बिहान हिड्नुभएको थियो ।
घनश्याम ढकाललाई त्यसबेला काठमाडौंमा रहेर काम गर्नु अत्यन्त चुनौतीपूर्ण थियो । अपठ्यारा र जटिलताहरुसँग सामना गर्न सहज नभएरै होला एक दिन टेलिफोन गरेर उहाँले जनएकता साप्ताहिकको कार्यालयमा भेटेर केही कुरा गर्न चाहेको बताउनुभयो । आफू जनयुद्धभित्रै रहेको तर खुला रुपमा काम गर्न अपठ्यारो भएकाले प्रतिकृयावादीहरुको आँखा छल्नका लागि जनएकता पत्रिकामा आफूले एउटा वक्तव्य प्रकाशन गर्न खोजेको बताउँदै वक्तव्यको ड्राफ्ट देखाउनु भयो । त्यो वक्तव्यका बारेमा उहाँले धेरै साथीहरुसँग सल्लाह गर्नुभएछ । आखिर जनएकतामा त्यो वक्तव्य प्रकाशीत भयो । आन्दोलनको दृष्टिले हेर्दा त्यो वक्तव्य एउटा सानो कमजोरी थियो । जुनसुकै तरिकाले भए पनि घनश्याम ढकाललाई सिध्याएर आफूमाथि उक्लिन सकिहालिन्छ कि भन्ने भ्रम पालेका केही साथीहरुले त्यो वक्तव्यलाई लिएर आकाश खसेकै जस्तो गरेर प्रचार गरे । तर त्यही कमजोरीमा टेकेर उहाँ सिद्धिएको टिप्पणि गर्नु जायज छँदै थिएन । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा कमरेड चैतन्यले भने झैं उहाँ एक महान क्रान्तिकारी हुनुहुन्थ्यो । जनएकता साप्ताहिकमा उहाँको वक्तव्य प्रकाशित भइसकेपछिका कैयौं भेटघाटहरुमा मैले घनश्याम ढकाललाई जनयुद्धप्रति त्यतिकै आस्था र विश्वास भएको एउटा सचेत स्रष्टाका रुपमा पाएको थिएँ । जीवनका कैयौं सांस्कृतिक मूल्यहरुलाई आधारित मानेर उहाँको मूल्याङ्कन गर्ने हो भने उहाँ जनवादी सांस्कृतिक आन्दोलन भित्र बिरलै मात्र पाइने व्यक्तित्व हुनुहुन्थ्यो ।
साहित्यकार घनश्याम ढकाललाई मैले केही साहित्यिक सांस्कृतिक प्रसङ्गहरु मार्फत नजिकैबाट बुझ्ने र अध्ययन गर्ने अवसरहरु प्राप्त गरेको छु । पुरस्कार र सम्मानको विषयलाई लिएर मैले घनश्याम ढकालको उन्नत पक्षका बारेमा नजिकैबाट अध्ययन गर्ने मौका पाएको छु । हाम्रो देशका साहित्यकारहरुले पुरस्कार र सम्मानका लागि मरिहत्ते गर्ने गरेका घटनाहरु हामीले बारम्बार पढ्ने सुन्ने र देख्ने समेत गर्ने गरेका छौं । पुरस्कार दाताहरु कहाँ चाकरी गर्न जाने साहित्यकारहरुको सूची बेलाबेलामा हामीले अखबारहरुमा पढ्ने गरेकै छौं । त्यसो नहुँदा पनि पुरस्कारको आसा गर्नेहरु प्रसस्त हुनेनै भए । तर घनश्याम  यो जमातका बीचमा धेरै पृथक हुनुहुन्थ्यो । यस्तै विषयको एउटा प्रसङ्गमा घनश्याम दाइसँग म पनि जोडिएको छु । २०६४ सालमा साहित्य सन्ध्याले साहित्य सन्ध्या पुरस्कार सिफारिस गर्न एउटा समिति बनाएको थियो । वरिष्ठ साहित्यकार आनन्ददेव भटको संयोजकत्वमा बनेको उक्त छनौट समितिमा कवि अनिल पौडेल र मलाई पनि राखिएको थियो । छनौट समितिको पहिलो बैठकमा हामीले एउटा सूची तयार ग¥यौं । त्यो सूची करिब सात आठ जनाको थियो होला । त्यो सूचीभित्र घनश्याम ढकालको नाम पनि परेको थियो । कवि अनिल पौडेलले भनिहाल्नुभयो–‘यो सूचीमध्ये सबैभन्दा उपयुक्त नाम त घनश्याम ढकाल हो ’ अनिल पौडेलको कुरासँग मैले तुरुन्तै सहमति जनाएँ । आनन्ददेव भटले पनि तुरुन्तै थपिहाल्नु भयो –‘उहाँले पुरस्कार ग्रहण गरिदिनुभयो भने त त्योभन्दा उपयुक्त मात्र अर्को को हुन्छ र ।’
हामी सबै मत सतप्रतिशत मिल्यो । तर हामी सबैमा एउटा शंका बाँकी थियो घनश्याम ढकालले यो पुरस्कार ग्रहण गर्नुहुने हो कि होइन भन्ने विषयमा हामी सबैले शंका गथ्र्यौं । केही वर्ष पहिले उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार अस्वीकार गर्नुभएको थियो । यही शंकाका कारण साथीहरुले घनश्याम ढकालको अनुमती लिएर निर्णय गर्ने जिममा मलाई दिनुभयो ।
साँझमा घर गएर घनश्याम ढकाललाई मेले फोन गरें । उहाा त्यसबेला पोेखरामै हुनुहुन्थ्यो । मैले सबै कुरा भनिसकेपछि निर्णय गर्न मसँग एक दिनको समयावधि माग्नुभयो । उहाँले भनेकै समयमा भोलिपल्ट साँझमा फोन गरेर मसँग पनि साहित्य सन्ध्या पुरस्कार लिन उपयुक्त हुने हो कि होइन भनेर राय माग्नुभयो र मुस्किलैले ल हुन्छ नि त भन्नुभयो ।
यतिबेला पुरस्कार र सम्मान दिने कतिपय संस्थाहरु विकृतिको उद्गमस्थल जस्ता बन्न थालेका छन् । कुन पुरस्कार ठिक र कुन पुरस्कार बेठिक भनेर छुट्याउने धारणा पनि हामीले निर्माण गर्न सकिरहेका छैनौं । बीस हजार चन्दा दिएर दश पुरस्कार हात पार्दै समाचारहरुमा छाउन लोभ गर्नेदेखि लिएर नगद पुरस्कार घोषण गर्दै पुरस्कृतहरुलाई खाली खाम दिने सम्झौता गर्ने दाताहरुको नेपाली साहित्यिक बजारमा उल्लेख्य उपस्थिति छ । यो बजारभित्र घनश्याम ढकाल जस्ता मानिसहरु पनि थिए भन्दा हामीलाई अचम्म लाग्न सक्छ । पुरस्कार र सम्मानका बारेमा चर्चा हुँदा म बारम्बार घनश्याम ढकालको यो प्रसङ्गलाई सम्झने गर्छु । पुरस्कार र सम्मानका बारेको उहाँको धारणालाई हामी सबैले आत्यसात गर्न जरुरी छ ।
मैले घनश्याम ढकाललाई बुझ्न पाएको अर्को पाटो पनि छ । मेरो त्यो बुझाइले उहाँ सांस्कृतिक रुपमा सम्पन्न मानिस हुनुहुन्थ्यो । घनश्याम ढकालका पछिल्ला दिनहरु धेरै अभावमय थिए । उहाँको आर्थिक दुरावस्थाका बारेमा कवि बलराम तिमिल्सिना, कवि गणेश भण्डारी, मलगायतका केही साथीहरु राम्ररी परिचित थियौं । एकातिर उहाा आर्थिक कठिनाइ भोगिरहनुभएको थियो अर्कातिर उहाँलाई प्रस्तावित गरिएको नेपाल टेलिभिजनको अध्यक्ष पद अस्वीकार गरिरहनुभएको थियो । उहाँका अगाडि यस्ता थुप्रै सम्भावनाहरु थिए । आफ्नै विचार अनुकूलको सरकार थियो । सरकारमा बस्नेहरुले उहाँलाइ राम्ररी चिन्दथे । सरकारले नियुक्त गर्ने र घनश्याम दाईलाई अनुकूल हुने अध्यक्ष तथा महाप्रबन्धक आदि पदहरु प्रसस्तै थिए । तर उहाँले त्यतातिर लोभी आँखा लगाएको मैले कहिल्यै सुन्न पाइन । बरु, मैले पछिल्लो समयमा पार्टीमा समावेश भएकाहरु तर आन्दोलनमा कुनै लामो योगदान नभएकाहरुले केही पाइएन भनेर गुनासो गरेको मैले थुपै्र पटक सुनेको छु । तर घनश्याम ढकाल यस्को अपवाद हुनुहुन्थ्यो । तीन वर्षअघि जनयुद्धबाट आएका साहित्यकारहरु मात्र सहभागी बन्ने आन्तरिक नीति बनाएर नेपाल प्रज्ञा प्रतिष्ठान लगायत अन्य दुईवटै प्रतिष्ठानमा प्राज्ञहरुको एउटा सूची घोषणा गरियो । त्यो नियुक्तिमा पनि घनश्याम ढकालको नाम पारिएन । जसरी भए पनि आफू मात्र खाने नाममा जनयुद्धको खोलभित्र जनआन्दोलनका विरोधी मण्डलेहरुलाई अटाइयो । साथीहरको बुद्धि पुगेको भए प्रज्ञा प्रतिष्ठानको त्यो कार्यकाललाई घनश्याम ढकाल जस्ता स्रष्टाहरुको सहभागितामा धेरै सम्भ्रान्त र उन्नत बनाउन सकिन्थ्यो । तर, आफ्नो स्तरको भेउ नपाएका साथीहरुको लोभले प्रज्ञाको त्यो सानो गाइ जात्रा पर्व आखिर विघटन भएरै छोड्यो । यस्ता विषयहरुमा घनश्याम ढकालले आफू नपरेको गुनासो कहिल्यै गनुभएन । यस प्रकारका विषयहरुभन्दा समग्र सांस्कृतिक आन्दोलनमा देखिएका समस्याहरुमा उहाँ छलफल गर्न रुचाउनुहुन्थ्यो । घनश्याम ढकालबाट हामी र नयाा पुस्ताले सिक्नुपर्ने एउटा महत्वपूर्ण पाटो यो पनि हो । घनश्याम ढकाललाई सम्झदै गर्दा मलाई जहिल्यै पनि अर्को एउटा सानो घटना बारम्बार याद आइरहन्छ । प्रगतिशील लेखक संघको आयोजनमा ५५÷५६ सालतिर इटहरीमा एउटा गोष्ठी भएको थियो । घनश्याम ढकाल त्यसबेला प्रगतिशील लेखक संघको उपाध्यक्ष हुनुहुन्थ्यो । हामी काठमाडौं पन्ध्र बस्जना इटहरी गएका थियौं । इटहरीको कार्यक्रमको व्यवस्थापनामा कवि अनिल पौडेल लाग्नुभएको थियो । अनिलजी त्यसबेला प्रलेसको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । केन्द्रबाट गएका साहित्यकारहरुलाइृ आउने जाने खर्च र खाने बसने प्रवन्ध आयोजक स्थानीय समितिले नै मिलाउने चलन प्रगतिशील लेखक संघमा पाहिले पनि थियो र अहिले पनि छ । कार्यक्रम सकिएपछि साहित्यकार रुद्र खरेल र म झापातिर जाने भयौं । निनु दाई, घनश्याम दाइलगायत अरु साथीहरु काठमाडौं फर्कने हुनुभयो । अनिलजीले सबैलाई बस भाडा र खान खर्च दिनुभयो तर घनश्याम दाईले मसँग पुग्ने पैसा छ किन लिने ? भनेर लिनुभएन । घनश्याम दाईसँगको यो विषयले पनि मलाई कहिले काहीं निकै सोचमग्न बनाउँछ । हेर्दा यो घटना सानो लाग्छ, तर यहाँभित्र जीवन मूल्यको उचाई निकै अग्लो थियो भन्ने मलाई बारम्बार लागिरहन्छ ।
आन्दोलनमा धेरै मानिसहरु लहैलहैमा आएका छन् । नबुझिकन लहैलहैमा लागेकाहरु मध्ये केहीले आफूलाई रुपान्तरण समेत गरेका छन् तर केहीले भने आन्दोलनमा सरिक हुनु पूर्वको सांस्कृतिक अवस्था जस्तो थियो त्यस्ता कुनै परिवर्तन गर्न सकेका छैनन । कतिपय अवस्थामा उनीहरु आफूलाइृ कुनै रुपान्तरण नगरिकन नेतृत्व तहमै पुगेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पहिले पनि यो समस्या थियो । यो समस्या झन बढ्दै गएको छ । घनश्याम ढकालको जीवन पढ्दा उहाा कम्युनिष्ट आन्दोलनमा लहैलहैमा लाग्नुभएको थिएन । उहाँ पहिले नेपाली कांग्रेस निकट तरुण दलमा आबद्ध हुनुहुन्थ्यो । त्यसपछि तत्कालिन के.क.पा. (माले) मा संगठित हुनुभयो । मालेमा रहँदा तत्कालिन सोभियत संघलाई हेर्ने दृष्टिकोणमा उहाँको फरक विचार रह्यो । तत्कालिन सोभियत संघलाई हेर्ने दृष्टिकोमा मालेमाभन्दा उहाँले आफूलाई तत्कालिन ने.क.पा. (चौम) को नजिक रहेको पाउनुभयो र उहाा चौमतिर लाग्नुभयो । अध्ययनकै क्रममा उहाँले आफूलाइृ वैचारिक रुपले रुपान्तरित गर्दै लैजानुभयो । त्यतिमात्र होइन, सिद्धान्त र विचारअनुसार आफू स्वयंलाइृ रुपान्तरणको प्रकृयामा लानुभयो । यस अर्थमा घनश्याम ढकाल आम कम्युनिष्ट कार्यकर्ताभन्दा पृथक हुनुहुन्थ्यो ।
घनश्याम ढकाल साहित्यिक अभियन्ता र स्रष्टा दुवै क्षेत्रमा समान रुपमा सक्रिय हुनुहुन्थ्यो । यी दुईमध्ये कुनैमा पनि उहाँलाई घटिबढि गर्न सकिदैनथ्यो । लेखनमा पनि उहाँ त्यतिकै सक्रिय हुनुहुन्थ्यो । संगठनात्मक काम र सम्पादनमा उहाँको सक्रियता पनि उल्लेखनीय थियो । जहिलेदेखि उहाँ कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभयो, त्यो बेलादेखि नियामित रुपमा आफूले लिएको जिम्मेबारी इमानदारीताका साथ पूरा गर्नुभयो ।
सांस्कृतिक संगठनका बैठकहरुमा उहाँ आन्दोलनकै साथीहरुमा कमजोर हुँदै गएको सांस्कृतिक पक्षहरुका बारेमा निकै कुराहरु उठाउनुहुन्थ्यो । आफूलाई समर्थन गरे सबै थोक राम्रो, समर्थन नगरे सबैथोक नराम्रो भन्ने वामपन्थी आन्दोलनभित्र हुर्किएको प्रवृतिप्रति उहाँ निकै आक्रोश व्यक्त गर्नुहुन्थ्यो । राजनैतिक पार्टीका नेताहरु र सांस्कृतिक आन्दोलनका नेताहरुमा आदर्श जीवन बिताउने क्षमता हुनुपर्छ भन्ने उहाँको धारणा थियो । घनश्याम ढकालले सिद्धान्त र विचारलाई गफ गर्ने विषयका रुपमा मात्र लिनुभएन त्यसलाई आफ्नो जीवन र कर्ममा ढाल्न पनि प्रयत्न गर्नुभयो ।
माघ २८ गते बिहानै फोन गरेर घनश्याम दाईले केही कुरा गर्न चाहेको बताउनुभयो । त्यसपछि उहाँ साढे दस बजेतिर म काम गर्ने कार्यालयमा आउनुभएको थियो ।
‘नेताहरुले हामीलाई टुक्राटुक्रा पारेर खाँदैछन् कि भन्ने लाग्न थालेको छ ।’ भेटघाटको सामान्य भलाकुसारी समेत सकिन नपाउँदै उहाँले वर्तमान राजनैतिक दृश्यप्रति चर्को आक्रोश पोख्नुभयो ।
नेतृत्वमा विकसित हुँदै गएको जीवनशैली र कार्यशैलीप्रति पहिले पहिले पनि उहाँ निकै आलोचना गर्नुहुन्थ्यो । तर त्यसदिन उहाँको आलोचना अझ कडा थियो । उहाँको छोरो सहिद विजय ढकाल विश्वासको सहादत पछि त्यो क्रम पहिले पहिलेको भन्दा अझै बढेको महशुस गरेका थियौं हामीले । आन्दोलन र पूर्णकालीनकै नाममा मोजमस्तीपूर्ण जीवन बिताउने साथीहरुको ठूलो हिस्सा झल्झली देख्नुभएको थियो उहाँले । उहाँले अत्यन्तै अभावपूर्ण जीवन बिताइरहनु भएको थियो । प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी बोकेको उहाँ जस्तो एउटा प्राज्ञिक व्यक्तिले कीर्तिपुरको भान्सा पनि सँगसँगै भएको एउटा चिसो छिडिमा जीवन निर्वाह गरेर बस्नुपर्ने बाध्यता थियोे ।
त्यसदिनको भेटमा हाम्रा बीचमा बामपन्थी आन्दोलनभित्र हुर्कदैगएको कमजोर सांस्कृतिक पक्षको बारेमा निकै चर्चाहरु भए । उहाँको निधन हुनभन्दा दुईदिन अघि मात्र सांस्कृतिक विषयहरुमा हामीले धेरैबेर छलफल गरेका थियौं ।
२०६८ सालको फाल्गुण १ गते जनयुद्ध दिवस मनाउने तयारीमा थियौं हामीहरु । पौने एघार बज्न लाग्दै थियो । कार्यालयको टेलिफोनबाट कुनै साथीसँग कुरा गरिरहेको थिएँ । मोवाइलको घण्टी बज्यो । कवि अमर गिरीको रहेछ । कार्यालयको टेलिफोन राखेर अमरजीको फोन रिसिभ गरें ।
‘घनश्यामजीलाई के भएको हो ?’ उहाँले नै यसरी मलाई पहिलो प्रश्न गर्नुभयो ।
‘को घनश्याम ?’ उहाँको कुरालाई मैले अझ पुष्ट्याउन खोजें ।
‘घनश्याम ढकाल क्या घनश्याम ढकाल ।’ उहाा अलि आत्तिएको स्वरमा बोलिरहनुभएको थियो । ‘के भयो र उहाँलाई मलाई केही पनि थाहा छैन ।’
दुर्घटनामा परेर उहाँलाई वीर अस्पतालको इमर्जेन्सीमा ल्याइएको छ रे । ल तपाईं कुदिहाल्नुस त ।’ यसपछि अरु केही थाहा नभएको कुरा गर्नुभयो उहाँले ।
वीर अस्पताल नजिकै थियो मेरो कार्यालय । अस्पतालका लागि कुद्दै गर्दा बाटैबाट मैले पहिलोफोन घनश्याम दाइकै छोरी बन्दनालाई गरें र दोस्रो फोन बलराम तिमिल्सिनालाई । बन्दनाले दुर्घटनाको सूचना पाइसकेकी रहिछन् र ट्याक्सीमा आफू अस्पताल आइपुग्नै लागेको जानकारी दिइन । दुर्घटनाबाट विस्तृत जानकारी उनलाई पनि थाहा रहेनछ ।
वीर अस्पतालको इमर्जेन्सी दृश्य वार्डमा प्रवेश गर्ने बित्तिकै मैले सोच्दै नसोचेको दृश्य देखें । बन्दना आफ्ना पिता घनश्याम ढकालको मृत शरिरलाई छाँद हालेर रोइरहेकी थिइन् । साथीहरु आउने क्रम शुरु हुँदै थियो ।
मानिस जिवितै रहेको बेलामा उसको अनुपस्थितिले पार्ने प्रभावका बारेमा सोचिंदो रहेनछ । वरिपरिको वातावरणले घनश्याम ढकालको निधन अपुरणीय क्षति हो भन्ने निश्कर्ष निकाल्न झनै हौस्याइरहेको छ । आफैसँग हिडिरहेका साथीहरु हेर्छु । काम र कुराका बचिमा नाघ्नै नसकिने खाडलहरु फाट्दै गएका छन् । केही साथीहरु अभाव र पीडाका बीचमै क्रान्ति र परिवर्तनको क्षितिज नियालिरहनुभएको छ । तर यस्ता साथीहरुको संख्याभन्दा जुनसुकै तरिकाले अवशर हत्याइहालुँ भन्ने साथीहरुको संख्या बढिरहेको छ । घनश्याम ढकालको निधनका दिनहरु जतिजति बित्दै छन् उहाँको अभाव झनै खट्किदो छ ।





















 


घनश्याम ढकाललाई श्रद्धाञ्जली अर्पण
पोखरा, फाल्गुन १३

प्रगतिवादि साहित्यकार घनश्याम ढकालको स्मृतिमा आज ढकालकै निवासमा एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको फाल्गुन एक गते काठमान्डौमा मटरसाइकलको ठक्करले दिवङ्गत हुनु भएका ढकालको कुनैधार्मिक किरिया नबसेको उनको परिवारले आज औपचारीक कार्यक्रम गरिश्रद्धा सुमन अर्पण गरेको हो प्रगतिवादि साहित्य संस्कृतिको क्षेत्रमा जिवन भरक्रियाशिल साहित्यकार ढकालले आफ्नो धार्मिक किरिया नगर्ने निधन पूर्व नैअनुरोध गरेको परिवारले जनाएको सोहि अनुरुप कुनै धार्मिक कर्म काण्डनगरि ढकालको परिवारले सांस्कृतिक रुपमा फरक संस्कतिको अभ्यास गरेको थियो ।परिवारले गरेको उक्त श्रद्धाञ्जली कार्यक्रममा सहभागि भएर पोखराका साहित्यकार,राजनीतिकर्मि तथा सुभेच्छुकहरुले ढकाल प्रति स्मरण रश्रद्धा सुमन अर्पण गरे कार्यक्रममा बोल्नु हुदै एकिकृत ने..पा माओवादिका कास्की जिल्ला इन्चार्ज झलकपाणी तिवारीले ढकालले प्रगतिवादि संस्कृतिको क्षेत्रमा गरेको योगदानलाई मुर्त रुप दिन आफुहरु तयार रहेको बताउनु भयो ढकालका अधुरा सपनाहरुलाई पुरा गर्नेअसल संस्कृतिको निर्माणमा लाग्न समेमा ढकाल प्रति सच्चा श्रद्धाञ्जली हुनेविश्वास ब्यक्त गर्नु भयो समालोचक प्राध्यापक डाक्टर भवानी पाण्डे भाष्करले ढकाललाई निरन्तर स्वाभिमानको यात्रा गर्ने अथक यात्री भएको विश्लेषण गर्नु भयो
उनको विचार जिवन शैलीबाट नेपाली समाजले धेरै कुरा सिक्न सक्ने उहाँको भनाई थियो प्राध्यापक डाक्टर रविलाल अधिकारीले ढकालको अभाव नेपाली साहित्यमा गहिरो गरि पर्ने धारणा राख्नु भयो सहिद विजय ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष विश्वप्रकाश लामिछानेले बाँकि रहेका योजनाहरुको कार्यन्वयन गर्ने अबको आवश्यकता भएको औल्याउनु भयो
घनश्याम ढकालकि कान्छि छोरी बन्दना ढकालले बुबाको स्मरणमा सयौ दुख मनाउ गर्ने मान्छे पाउदाँ आफुलाई राहत मिलेकोबताउनु भयो बुवाको निधन पछि उहाँ द्धारा गर्ने लागिएका अधुरा काम परिवारले सुभेच्छुक सबैको सहयोगमा सम्पन्न गर्ने विश्वास ब्यक्त गर्नुभयो कार्यक्रममा प्राध्यापक रघुनाथ अधिकारी, नारायण परिश्रमी लगाएतका सहभागिहरुले ढकालको स्मृतिमा आफ्ना भनाईहरु राख्नु भएकोथियो


No comments:

Post a Comment