Wednesday, July 8, 2015

संक्षेपमा प्रलेस रोल्पाको गतिविधि


२०६४ साल साउन ४ गते स्थापना गरिएको प्रगतिशील लेखक संघ रोल्पा शाखा झण्डै आठवर्षे आफ्नो यात्रा पार गर्दै आउने शिलशिलामा २०७१ साल असार २१ गते शनिबारका दिन आफ्नो तेस्रो जिल्ला अधिवेशन भव्य एवम् सानदार रुपमा सम्पन्न गर्न सफल भयो । निस्क्रियजस्तै रहेको रोल्पा शाखा प्रलेस रोल्पाका का.वा. अध्यक्ष नवीन लोचनमगरको अध्यक्षता तथा प्रलेस केन्द्रीय उपाध्यक्ष हिरामणी दुःखीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले नयाँ कार्य समिति निर्माण ग¥यो । नवीन लोचनमगरको अध्यक्षतामा ११ सदस्यीय गठित कार्यसमितिमा उपाध्यक्ष आशिष क्षेत्री, सचिव देवी गुरुङ, सहसचिव खबपु चञ्चलमगर, कोषाध्यक्ष प्रतिज्ञा बुढामगर रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा इन्द्र प्रियासन, अशोक वली, नरेन्द्र प्यासी, नारायणी डाँगी, दर्शना तिरुवा रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा गौरीकिरण डाँगी, खेमराज शर्मा र महेश न्यौपाने रहनुभएको छ । जिल्ला सम्मेलनको अवसरमा जिल्ला व्यापी गद्य कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

त्यसैगरी २०७१ असार २९ गते आइतबार जिल्ला कार्यसमितिको बैठक शाखाका अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न भयो । जसमा प्रलेसका केन्द्रीय सचिव आरएम डंगोल तथा के.स. गौरीकिरण डाँगीको समेत उपस्थिति रहेको थियो । बैठकले निवर्तमान कार्यसमितिबाट सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिनुका साथै शाखाले जिल्लामा गर्ने गतिविधिको बारेमा समेत छलफल भएको थियो । 
त्यस्तै, २०७१ साल साउन १५ गते बिहिबारका दिन प्रलेस रोल्पा शाखाले जिल्लामा लामो समयसम्म प्रगतिवादी साहित्यमा कलम चलाउने साहित्यकार धनराज अविरललाई जिल्लाबाट विदाई गर्नुका साथै सम्मान स्वरुप कदरपत्र समेत प्रदान गरेको थियो । विदाई कार्यक्रमकै अवसरमा अविरलले प्रलेस रोल्पा शाखा मार्फत् प्रदान गरिने गरी पल्लवी गजल साधना पुरस्कारको समेत घोषणा गर्नुभयो । त्यसैगरी २०७१ साउन ३० गते शुक्रबार नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न दोस्रो बैठकले संस्थापक अध्यक्ष खेमराज शर्माद्वारा २०६४ मा स्थापित तिलकराम रिमाल्नी साहित्य पुरस्कार तथा साहित्यकार धनराज अविरलद्वारा स्थापित पल्लवी गजल साधना पुरस्कारलाई प्रलेसको स्थापना दिवसको अवसरमा प्रदान गरिने निर्णय गरिएको थियो । 

त्यस्तै २०७१ भदौ १ गते आइतबार प्रगतिशील लेखक संघ रोल्पा शाखाको आयोजनामा साहित्यकार रामप्रसाद सापकोटा दीपशिखाको कृति रात फुलेको यामको परिचर्चा कार्यक्रम सम्पन्न भयो । शाखाका अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न परिचर्चा कार्यक्रममा लेखक दीपशिखा, प्रलेस दाङका सचिव डिल्ली मल्ल, प्रलेस के.स. गौरीकिरण डाँगी, मणि शर्मा, धनविर चौधरी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, राप्ती साहित्य परिषद् रोल्पाका अध्यक्ष गोकर्ण पुन, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष ओम पन्छी, जलजला क्याम्पस प्रमुख विनोद आचार्य लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । शाखाका सचिव देवी गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रमका सहभागिहरुलाई सहसचिव खबपु चञ्चल मगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रात फुलेको यामको बारेमा सहभागि पत्रकार साहित्यकारहरुले जिज्ञासा राखेका थिए भने लेखक दीपशिखाले आफ्नो अनुभूति सुनाउनुभएको थियो ।

त्यस्तै राप्ती साहित्य परिषद् रोल्पा शाखाले सञ्चालन गर्दै आएको मासिक कार्यक्रम स्रष्टा चौतारीको समन्वय समेत गर्दै आएको छ । हरेक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारीमा उपस्थित नयाँ तथा पूराना साहित्यकारहरुले रचना वाचन गर्ने गर्दछन् भने उक्त वाचित रचनाहरु हवाई पत्रिका मार्फत् प्रकाशित हुने गर्दछ ।

त्यस्तै अखिल नेपाल लेखक संघ रोल्पाका अध्यक्ष पूर्ण केसीको दोस्रो कविता संग्रह ‘देशले हाम्रो उत्साह खोजिरहेछ’को प्रलेस रोल्पा शाखाले प्रकाशकीय भूमिका निर्वाह गर्नुका साथै जिल्लामा क्रियाशील चार ठूला राजनीतिक दलका प्रमुखहरुबाट विमोचन समेत गरिएको छ ।

त्यस्तै प्रलेसका के.स. तथा रोल्पा शाखाका सल्लाहकार गौरीकिरण डाँगीले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेकोले डाँगीप्रति भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । निरन्तर साहित्यिक कार्यमा क्रियाशील हुँदै आएको प्रलेस रोल्पा शाखाले जिल्लामा हुने सबै साहित्यिक संस्थाहरुसँगको सहकार्यलाई तीब्र बनाउँदै आफ्ना गतिविधिलाई विधिवत् बनाइरहेको छ ।











No comments:

Post a Comment