Saturday, September 19, 2015

प्रलेसको ६३ औँ प्रलेस स्थापना दिवस

प्रगतिवादी नेपाली साहित्य लेखन र यसका चुनौतीहरू
(बोध तथा अवधारणा पत्र)
— डा. रामप्रसाद ज्ञवाली
१. विषय प्रवेश र सीमा निर्धारण
      प्रस्तुत रचना कार्यपत्र नभएर ‘बोध तथा अवधारणा पत्र’ हो । प्रगतिवादी साहित्य सिद्धान्त र प्रगतिवादी नेपाली साहित्य लेखन सम्बन्धी अध्ययन गर्दा यस लेखकले गरेको बोध र यस अवधारणा पत्रको विषयका सम्बन्धमा यस लेखकलाई लागेका कुराहरूलाई सारभूत रूपमा समेटेर बोध तथा अवधारणाका रूपमा यो रचना प्रस्तुत गरिएको छ । यस ‘बोध तथा अवधारणा पत्र’ को विषय–शीर्षकमा मूलतः तिनोटा पक्ष छन्— 
१) प्रगतिवाद, 
२) प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम, र
३) प्रगतिवादी नेपाली साहित्य लेखनका चुनौतीहरू । 
      
      यी तिनोटा पक्षमध्ये ‘प्रगतिवाद’ साहित्य सिद्धान्तसँग सम्बन्धित पक्ष हो, ‘प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम’ नेपाली साहित्यमा हुँदै आएका प्रगतिवादी सिर्जना र समालोचनासँग सम्बन्धित पक्ष हो भने ‘प्रगतिवादी नेपाली साहित्य लेखनका चुनौतीहरू’ नेपाली भाषामा रचित प्रगतिवादी साहित्य सिर्जना र समालोचनामा देखा परेका चुनौती (समस्या) र समाधानका सम्भावित उपायसँग सम्बन्धित पक्ष हो । 

      उक्त तिन पक्षहरूमध्ये यस लेखमा पहिलो पक्षका बारेमा धेरै चर्चा नगरी सारभूत कुरामा मात्र ध्यान दिनु पर्याप्त ठानिएको छ किनभने प्रगतिवाद के हो भन्ने बारेमा माक्र्स र एङ्गेल्सका आधारभूत मान्यता, लेनिन र माओका विचार, गोर्की र लु सुनका सिर्जनासहितका धारणा, क्रिस्टोफर कडवेल र भिक्टर आफानास्येभका गम्भीर विमर्श र व्याख्या लगायतका विदेशी विचारकहरूका मान्यतादेखि नेपाली विचारकहरू (गोविन्दप्रसाद लोहनी, गोविन्द भट्ट, कृष्णदास श्रेष्ठ, चैतन्य, निनु चापागाईं, मोदनाथ प्रश्रित, घनश्याम ढकाल, ऋषिराज बराल, डा.देवीप्रसाद गौतम, डा.जगदीशचन्द्र भण्डारी, डा.ताराकान्त पाण्डेय, डा.गोपीन्द्र पौडेल, विष्णु प्रभात, अमर गिरी, आहुति, रमेशप्रसाद भट्टराई, हेमनाथ पौडेल, ईश्वरचन्द्र ज्ञवाली लगायतका दर्जनौँ लेखकहरू) का धारणाहरू प्रस्तुत भएका कृतिहरू बजारमा पाइन्छन् । उनीहरूका भनाइलाई उद्धरण गरिरहनु भनेको उनै कुराको पुनरावृत्ति गर्दै बौद्धिक विलास गर्नु र लेखलाई लम्ब्याउनु मात्रै हो । त्यसैले यस पत्रमा प्रगतिवादका बारेमा कस कसले के के भने भन्दै तिनै भनाइहरूको सङ्कलन गर्नु आवश्यक ठानिएको छैन, बरु ती भनाइहरूमा रहेको सारभूत कुरालाई सोलोडोलोमा व्यक्त गर्नु नै पर्याप्त ठानिएको छ । यो यस ‘बोध तथा अवधारणा पत्र’ को पहिलो सीमा हो । 

      प्रस्तुत पत्र शोध वा अनुसन्धानमा आधारित लेख नभएर विषयसित सम्बन्धित विभिन्न पुस्तक तथा लेख–रचना आदिको अध्ययन गर्दा र स्वयं रचनाधर्ममा प्रवृत्त हुँदा यस लेखकले गरेको बोधमा आधारित लेख हो । त्यसैले यसमा बोधगत सार कुरालाई सोलोडोलोमा प्रस्तुत गरिएको छ; तिथिमितिसहितको ऐतिहासिक अध्ययन प्रस्तुत गरिएको छैन । यसो गर्नु अल्छ्याइँ गर्नु वा शोधगत गम्भीर कार्यबाट पलायन गर्नु ठानिन सक्छ तर यो पलायन गरिएको नभई प्राविधिक कुरामा भन्दा गाँठी कुरामा जोड दिने उद्देश्यले गरिएको कार्य हो । यो यस ‘बोध तथा अवधारणा पत्र’ को दोस्रो सीमा हो ।  

      यस पत्रमा ‘नेपाली साहित्य’ भनेर आजसम्म नेपालको सरकारी तहमा र जन मानसमा स्थापित र व्यवहारमा प्रचलित नेपाली भाषामा रचित साहित्यलाई लिइएको छ । यसलाई जनजातिका बौद्धिक विचारकहरूले भन्ने गरेको ‘खस भाषा’मा लेखिएको नेपाली साहित्य भन्दा पनि फरक पर्दैन । त्यसैले नेपालमा प्रचलित सम्पूर्ण भाषाहरूको साहित्य नभई ‘नेपाली भाषा’ मा लेखिएको साहित्यलाई मात्र आधार बनाउनु यस ‘बोध तथा अवधारणा पत्र’ को तेस्रो सीमा हो ।

      प्रगतिवादी नेपाली साहित्यमा योगदान दिनेहरूको सङ्ख्या निकै ठुलो छ । प्रतिनिधिमूलकताका दृष्टिले मात्र हेर्दा पनि प्रत्येक विधा–उपविधाहरूमा दर्जनौँको सङ्ख्यामा रहेका स्रष्टाद्रष्टाहरूले यस दिशामा उल्लेखनीय कार्यहरू गरेको पाइन्छ । तिनका नामहरू तोकेर चर्चा गर्न सक्दा झनै राम्रो हुने हो तर यस पत्रका सन्दर्भमा सबैको नाम उल्लेख गर्नु सम्भव र व्यावहारिक दुवै नभएको र कसैको उल्लेख गर्ने र कसैको उल्लेख नगर्ने गर्दा पक्षपात गरेको जस्तो देखिने भएकाले उल्लेख गर्दा अर्घेलो हुँदैन भन्ने लागेको अवस्थामा बाहेक व्यक्ति व्यक्तिको नाम लिने काम यहाँ गरिएको छैन । यो यस ‘बोध तथा अवधारणा पत्र’ को चौथो सीमा हो । 
      प्रस्तुत पत्रमा प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रमका बारेमा पनि सामान्य उल्लेख गरिएको छ तर शोधमूलक रूपमा अध्ययन–विश्लेषण गरिएको छैन । प्रगतिवादी नेपाली साहित्यमा दर्जनौँ राम्रा कृतिहरू प्रकाशित छन् । सबैको नाम लिनु यस पत्रका सन्दर्भमा सम्भव पनि छैन । त्यसैले साक्ष्य र तथ्यहरू प्रस्तुत गर्दै विश्लेषण गर्ने पद्धति नअँगाली प्रगतिवादी नेपाली साहित्यको विकास क्रमका बारेमा सामान्य सङ्केतका रूपमा मात्र चर्चा गरिएको छ । यो यस ‘बोध तथा अवधारणा पत्र’ को पाँर्चौँ सीमा हो ।

      विषय–शीर्षकमा ‘प्रगतिवादी नेपाली साहित्यका चुनौतीहरू’ नै मुख्य लक्ष्यित पक्ष भएकाले यस पत्रमा चुनौतीका कुराहरूलाई बढी महत्त्वका साथ प्रस्तुत गरिएको छ । चुनौतीबाट पार पाउनका लागि चाहिने समाधानका उपायका बारेमा बेग्लै बहस गरिएको छैन तैपनि चुनौतीका रूपमा प्रस्तुत गरिएका बुँदाको व्याख्याभित्र चुनौतीको समाधानका उपायहरू पनि अन्तर्निहित छन् । समाधानका उपायको बेग्लै चर्चा नगर्नु पनि यस ‘बोध तथा अवधारणा पत्र’ को एक सीमा हो । 

२. प्रगतिवाद  
      ‘प्रगतिवाद’ माक्र्सवादमा आधारित साहित्य–कलासम्बन्धी दार्शनिक दृष्टिकोण हो । माक्र्सवाद विज्ञान र ऐतिहासिक साक्ष्यमा आधारित समाज शास्त्रीय विश्व दृष्टिकोण राख्ने क्रान्ति र न्यायको दर्शन हो । यसले मानव समाजको ऐतिहासिक यात्रा र वर्ग सङ्घर्षका रूपहरूको यथार्थपरक र वस्तुवादी व्याख्या–विश्लेषण गर्दै तिनको कलात्मक प्रतिबिम्बनमा जोड दिन्छ र उत्पीडित जनताको जीवन सङ्घर्षलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्छ । यस वादका अनुसार कला–साहित्यमा जीवन यथार्थ र समाज यथार्थलाई ऐतिहासिक, द्वन्द्वात्मक र भौतिकवादी दृष्टिकोणबाट सूक्ष्म अध्ययन, वस्तुपरक उद्घाटन र वैज्ञानिक विश्लेषण गरिनुपर्दछ । प्रगतिवादी कला साहित्यको सिर्जना गर्दा श्रमजीवी तथा उत्पीडित वर्गको पक्षमा वर्गीय पक्षधरताका साथ गरिनुपर्छ । यस्तो कला साहित्यले सिर्जनाका तहमा मानव जीवन र मानव समाजलाई तिनकै गतिशील यथार्थका साक्ष्यमा प्रतिबिम्बन गर्नुपर्छ भने समालोचनाका तहमा तिनको सापेक्षित र वस्तुपरक मूल्याङ्कन गर्नुपर्छ । 

      प्रगतिवादले कला–साहित्यमा श्रमजीवी मान्छेका सत्कर्म र सङ्घर्षलाई सर्वोपरि महत्त्व दिन्छ र श्रमजीवी जनताका कर्म, आशा, स्वप्न र सङ्कल्पको कलात्मक प्रतिबिम्बन गर्छ । यसले उत्पीडित वर्गको अडान र दृष्टिविन्दुलाई केन्द्रमा राख्छ र साहित्यमा यी कुरालाई उच्च कलामूल्यका साथ अभिव्यञ्जित गर्नुपर्छ भन्ने मान्यता प्रस्तुत गर्छ । यस वादका अनुसार समाज र त्यसअन्तर्गतको व्यक्ति–जीवन कला साहित्यका मुख्य आधारभूमि हुन् भने समाजमा देखिने मानवीय गतिविधिका विभिन्नता, सङ्घर्ष,, व्यवहार र जीवन पद्धति आदि कला साहित्यका मुख्य स्रोत हुन् । स्रष्टाद्रष्टाले यिनै आधार भूमिमा रहेका उत्पीडक वर्ग र उत्पीडक व्यक्तिले गर्ने सबै प्रकारका अन्याय, अत्याचार, भेदभाव र उत्पीडनका विरुद्ध सशक्त आवाज उठाउनुपर्छ र समाज परिवर्तनको गतिलाई आत्मसात् गरी वास्तविक समाज र वास्तविक जीवनका असङ्गति, विसङ्गति र अन्तर्विरोधहरू पहिल्याई वस्तुवादी ढङ्गमा तिनको उद्घाटन गर्नुपर्छ । यसो गर्दा समाजका पतनोन्मुख तथा विकासमान दुवै पक्षको सही तस्बिर उपस्थित गराउन सक्नुपर्छ । प्रगतिवादी स्रष्टाले व्यक्ति, समाज र युगको प्रतिबिम्बन सैद्धान्तिक आधारमा गरेर मात्र पुग्दैन; बोधका तहमा आत्मसात् गर्न पनि सक्नुपर्छ भने प्रगतिवादी समालोचकले यस्ता कृतिको वस्तुवादी विवेचना र वैज्ञानिक मूल्याङ्कन द्वन्द्वात्मक भौतिकवादी सर्वहारा वर्गदृष्टिकोणबाट गर्नुपर्छ । 

      प्रगतिवादले संज्ञान (व्यक्ति, समाज र युगीन यथार्थ÷सत्य), सौन्दर्य (भाषा, शैली र बिम्बालङ्कारादिको सौन्दर्य) र विचार 
(जीवन, समाज र विश्व सम्बन्धी दृष्टिकोण÷अन्तर्वस्तु) को समन्वित र सन्तुलित अभिव्यक्तिमा जोड दिन्छ । यी तिन पक्षमध्ये एक पक्ष पनि कमजोर भयो भने साहित्यले उत्कृष्टता प्राप्त गर्न सक्दैन भन्ने धारणा प्रगतिवादको छ । तर तुलनात्मक रूपमा यसले वैचारिक सशक्तता र त्यसको स्पष्टतामा जोड दिन्छ । साहित्यले मानिसले गर्ने बोधलाई सत्यको अधिकतम नजिक लग्ने, अनुभूतिलाई तीव्र पार्ने, कल्पनाशीलता बढाउने, दृष्टिकोणको क्षितिज वैज्ञानिक र विस्तारित तुल्याउने तथा ज्ञानको मात्रा बढाई सामान्यीकरण गर्ने काममा कलात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने मान्यता यस वादको छ । माक्र्सवादले जीवन जगत्को व्याख्या त गर्छ नै तर यो दर्शन यतिमा मात्र रोकिँदैन । यसले समाज र जीवनलाई न्याय, समानता र स्वतन्त्रताका दिशामा बदल्नका लागि मार्ग दर्शन पनि गराउँछ । प्रगतिवाद यसै दर्शन (माक्र्सवाद) को साहित्यिक मान्यता भएकाले साहित्यले पनि यथार्थको उद्घाटन गरेर मात्र पुग्दैन; जीवनलाई नै न्यायपूर्ण प्रगतितिर उन्मुख गराउने गरी भावकलाई प्रभावित पार्न सक्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । यसले मानव जीवन र मानव समाजका समग्र यथार्थको उद्घाटन गर्नुका साथै साहित्यले व्यक्ति व्यक्तिमा सामाजिक चेतनाको निर्माण गर्दै जीवन र समाजको सकारात्मक परिवर्तनमा कलात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता प्रस्तुत गर्छ ।

      सारतः प्रगतिवाद बहुसङ्ख्यक मानिसको समुन्नति, न्याय, सम्मान र स्वतन्त्रताका पक्षमा वकालत गर्ने साहित्य चिन्तन हो जसको दार्शनिक आधार माक्र्सवादी सौन्दर्य चिन्तन हो भने प्रगतिवादी विचारधाराको आलोकमा गरिने साहित्य लेखन प्रगतिवादी साहित्य लेखन हो । 

३. प्रगतिवादी नेपाली साहित्य लेखनको पृष्ठाधार
      प्रगतिवादी नेपाली साहित्य लेखनको पृष्ठभूमिमा सामन्तवादअन्तर्गतको प्रगतिशील नेपाली साहित्य लेखन, सामाजिक जागरणका प्रारम्भिक प्रयत्नहरू, शैक्षिक विकासका प्रारम्भिक पाइला तथा राजनीतिक चेतनाको क्रमिक विकास मुख्य रहेका छन् । राजस्तुतिवादमा आधारित वीरधाराअन्तर्गतका नेपाली कवितामा देखिने विश्व साम्राज्यवाद विरोधी (तर साम्राज्यवादमै आधारित) राष्ट्रवादले उत्प्रेरित प्राथमिक कालीन राष्ट्रवादका एकाध पक्ष, प्राथमिक कालीन नेपाली कविताका सबैभन्दा शक्तिशाली कवि भानुभक्त आचार्यका केही रचनामा देखिने तत्कालीन समाजबोध (विशेषतः व्यङ्ग्यात्मक रचना) र सन्तकविहरूका सामाजिक यथार्थ–सङ्केतक कविताहरू, माध्यमिक कालीन कविहरूमध्ये मोतीरामको जुवा तथा पण्डितमाथि व्यङ्ग्य गरिएका कविता र लक्ष्मीदत्त पन्तले संस्कृतबाट अनुवाद गरेको श्लोक (राजा भै शेखि तिम्रो......), आधुनिक कालको उठान–चरणका कवि लेखनाथ पौड्यालका समाजबोध, बौद्धिकता र व्यङ्ग्य चेतनाका कविताहरू, कृष्णलाल अधिकारीको ‘मकैको खेती’ र उनको दुखान्त, धरणीधर कोइरालाका जागरण कविताहरू, महानन्द सापकोटाका सुधारवादी कविताहरू, सिद्धिचरण श्रेष्ठका विद्रोही कविताहरू, महाकवि देवकोटाको पहिलो चरणको उत्तरार्धका उत्पीडित वर्गीय पक्षधरता बोकेका कविताहरू, गोपालप्रसाद रिमालका विद्रोह र क्रान्ति–चेतनाका कविताहरू, हृदयचन्द्रसिंह प्रधानका निबन्ध, समालोचना र अभिव्यक्तिहरू आदि प्रगतिवादी नेपाली साहित्य लेखनका मुख्य पृष्ठाधार हुन् । राणा शासन कालको उत्तराद्र्धमा भएको त्रिचन्द्र कलेजको स्थापना, भारतीय भूमिमा गई अध्ययन गर्ने नेपालीहरूले प्राप्त गरेको स्वतन्त्रता–चेत र उत्प्रेरणा, पठित नेपालीहरूबाट लुकिछिपी गरिएको अन्तर्राष्ट्रिय साहित्य र शिक्षासम्बन्धी पुस्तकहरूको अध्ययन र त्यसले उत्पन्न गराएको स्वतन्त्रताको चेतना आदि प्रगतिवादी नेपाली साहित्य लेखनका शैक्षिक पृष्ठाधार हुन् । योगमायाको नेतृत्वमा सामन्तवादका विरुद्ध गरिएको सामूहिक मृत्युवरण, महाकवि देवकोटा र उनका साथीहरूका साथमा घटित पुस्तकालय पर्व, लक्ष्मीनन्दन चालिसेको उत्तर पुस्तिकालाई लिएर उनलाई दिइएको दण्ड र उनको मृत्यु सन्दर्भ आदि प्रगतिवादी नेपाली साहित्य लेखनका सामाजिक जागरणगत मुख्य पृष्ठाधार हुन् । यसै गरी लखन थापाले प्राप्त गरेको सहादत, प्रचण्ड गोर्खाको गठन र राजनीतिक हलचल, चार सहिदहरूको बलिदान (सहिद काण्ड), राष्ट्रिय नेपाली काँगे्रस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना र तिनले गरेका राजनीतिक गतिविधि आदिले उत्पन्न गरेको राजनीतिक हलचल आदि प्रगतिवादी नेपाली साहित्य लेखनका राष्ट्रिय राजनीतिक पृष्ठाधार हुन् भने रुस, चिन र भारत लगायतका विभिन्न देशहरूमा देखा परेका अन्तर्राष्ट्रिय राजनीतिक क्रान्ति र परिवर्तनहरू प्रगतिवादी नेपाली साहित्य लेखनका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक पृष्ठाधार  हुन् । 

४. प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम (सङ्केतमा मात्र)
      प्रगतिवादी नेपाली साहित्य लेखनको यात्रा रमेश विकलको कथा ‘गरिब’ (२००६), कृष्णचन्द्रसिंह प्रधानको कविता सङ्ग्रह ‘भञ्ज्याङनिर’ (२००८) हुँदै सुरु भएको देखिन्छ । त्यसपछिका करिब साढे छ दशकमा प्रगतिवादी नेपाली साहित्यले सैद्धान्तिक विमर्श, सिर्जना र समालोचना गरी तिनोटै क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ । सिर्जनाका तहमा साहित्यका सबैजसो विधा–उपविधाहरूमा (कविताअन्तर्गत फुटकरदेखि महाकाव्यसम्म, आख्यानअन्तर्गत लघुकथादेखि उपन्याससम्म, नाटकअन्तर्गत एकाङ्कीदेखि पूर्णाङ्कीसम्म र निबन्धअन्तर्गत आत्मपरकदेखि वस्तुपरक वा निजात्मकदेखि परात्मकसम्म) तथा समालोचनाका तहमा सैद्धान्तिक र व्यावहारिक (प्रायोगिक) दुवै तहमा प्रगतिवादी नेपाली साहित्यको रचना भएको छ । 

      २००८ सालदेखि २०१६ सालसम्मको अवधिको तुलनात्मक रूपमा खुकुलो परिवेशमा नेपालका प्रगतिशील साहित्यकारहरूले सामन्तवादी प्रगतिशीलता र पुँजीवादी प्रगतिशीलता हुँदै माक्र्सवादमा आधारित प्रगतिवादी साहित्य सिर्जनातिरको लेखन गर्न थालेको पाइन्छ । यस अवधिमा माक्र्सवादी दर्शनको अध्ययनको प्रभाव प्रगतिवादी साहित्यकारमा मात्र नपरी परिष्कारवादी तथा स्वच्छन्दतावादी साहित्यकारहरूमा समेत परेको देखिन्छ । परिष्कारवादी कवि बालकृष्ण समको ‘आगो र पानी’ तथा लेखनाथ पौड्यालको ‘तरुण–तपसी’ (यस काव्यको वर्गीय विभेद सम्बन्धी अभिव्यक्तिमा मात्र) तथा स्वच्छन्दतावादी कवि लक्ष्मीप्रसाद देवकोटाका ‘कृषिबाला’ ‘प्रमिथस’ लगायतका अनेक रचनाहरूमा देखिने प्रगतिशीलता माक्र्सवादी दर्शनको प्रभावकै परिणाम देखिन्छन् । यो अवधि प्रगतिवादी साहित्य लेखनको औपचारिक प्रथम चरण हो । यस चरणमा झिनो स्वरमा राजतन्त्रको विरोध गर्दै किसान र श्रमजीवी तथा उत्पीडित वर्गीय नेपालीहरूको जीवनोत्थानका निम्ति देशभक्तिपूर्ण जागरण र सामन्तवाद विरोधी विचारसहितको प्रगतिवादी साहित्य लेखन भएको देखिन्छ । यस अवधिमा देखा परेका साहित्यकारहरूमध्ये गोविन्द लोहनी, गोविन्द भट्ट, आनन्ददेव भट्ट, गोकुल जोशी, धर्मराज थापा, टीआर विश्वकर्मा लगायतका अनेक द्रष्टा र स्रष्टाहरूका अभिव्यक्तिहरू प्रगतिवादी साहित्य चिन्तनका परिणाम बनेर आएका छन् । 

      २०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनीतिमा ‘कू’ गरेपछि सुरु भएको पञ्चायती शासन कालको पूर्वाद्र्ध (२०३० सम्म) मा प्रगतिवादी नेपाली साहित्य लेखन सेती नदी झैँ भित्रभित्रै सुसाउँदै अगि बढेको देखिन्छ । प्रगतिवादी नै बन्न नसके पनि भूपी शेरचनको प्रगतिशील रचनाधर्मिता र आलोचनात्मक यथार्थवादसम्म पुगेको रमेश विकलको रचनाधर्मिता बाहिरै प्रकट भएर आएको देखिन्छ भने राल्फा विद्रोह र पारिजातको पूर्वाद्र्ध चरणको साहित्य यात्राको पछिल्लो लेखन (मूलतः उपन्यासमा), गोविन्द भट्टको समालोचकीय रचनाधर्मिता, निनु चपागाईंको अध्ययनपूर्ण लेखनको प्रारम्भ, मोदनाथ प्रश्रितको क्रमशः विकसित हुँदो प्रगतिशीलता, विद्रोही चेतना बोकेको राल्फा आन्दोलनका सर्जकहरूको सिर्जन आदिका रूपमा यस अवधिको प्रगतिवादी नेपाली साहित्य लेखन कछुवा गतिमा अगि बढेको देखिन्छ । 

      नेपालको वामपन्थी राजनीतिअन्तर्गत जागृत हुँदै गएको विद्यार्थी राजनीति, शिक्षक राजनीति, झापाकाण्ड लगायतका विद्रोही राजनीति, भूमिगत रूपमा विस्तार हुँदै गरेको किसान सङ्गठन, कम्युनिस्ट पार्टीमा भएको विभाजन र विभाजित राजनीति, २०३५–२०३६ सालको विद्यार्थी आन्दोलन, जनमत सङ्ग्रह र सडक कविता क्रान्ति आदिबाट पञ्चायती शासन कालको उत्तराद्र्ध 
(२०३१–२०४६) मा प्रगतिवादी नेपाली साहित्यलाई विकसित गर्न भरपर्दो मदत मिलेको देखिन्छ । यस अवधिमा कविता र आख्यान विधामा सर्वाधिक सशक्त बनेको प्रगतिवादी नेपाली साहित्यले उपन्यास, कथा, नाटक, गीत, विचारपूर्ण निबन्ध आदि सिर्जनात्मक लेखनका रूपमा, सम्पादन र अनुवादका रूपमा तथा वैचारिक बहस, विचार गोष्ठी आदिका रूपमा महत्त्वपूर्ण विकास प्राप्त गर्न सकेको देखिन्छ । यस अवधिमा पारिजातका उपन्यास र कथा लेखन, मोदनाथ प्रश्रितको महाकाव्य (देवासुर सङ्ग्राम) लेखन, खगेन्द्र सङ्गौलाको कथा लेखन, भवानी घिमिरे र विमल निभा लगायतका अनेक कविहरूको कविता लेखन, निनु चापागाईं, गोविन्द भट्ट, मोहन दुवाल लगायत अनेक आलोचकहरूको आलोचनात्मक लेखन आदि आदि बहुविधात्मक र बहुआयामिक प्रगतिवादी साहित्य लेखन भएको देखिन्छ । यस अवधिमा पनि प्रगतिवादी साहित्य लेखनमा पञ्चायती सामन्तवादको हस्तक्षेप रह्यो नै तर पूर्वाद्र्धका तुलनामा उत्तराद्र्धमा यस्तो हस्तक्षेपको मात्रा केही कम र तुलनात्मक रूपमा केही खुकुलो बन्न पुगेकाले प्रगतिवादी स्रष्टाहरू अलि खुलेर अभिव्यक्त भएका देखिन्छन् । तर पनि सामन्तवादका विरुद्ध ठाडै बोल्नु सहज नभएकाले व्यञ्जना, ध्वनि र प्रतीकका तहमा बोल्ने शैलीको विकास पनि यसै अवधिमा भयो । प्रतिबन्धात्मक अवस्थामा सत्ता विरोधी साहित्यिक अभिव्यक्ति दिँदा ध्वनितत्त्वको आवश्यकता पर्छ । त्यसैले यस अवधिका शक्तिशाली साहत्यकारहरूले सामन्तवाद र पञ्चायती शासन व्यवस्थाका विरुद्धमा रचना गर्दा यही ध्वनितत्त्वको सहारा लिए । परिणामस्वरूप यस अवधिमा प्रगतिवादी नेपाली साहित्य लेखन विचारका दृष्टिले मात्र नभई कलामूल्यका दृष्टिले पनि निकै खारिँदै अगाडि बढ्यो भने प्रगतिवादी स्रष्टाहरू वैचारिक तीक्ष्णताका साथमा कलात्मक सौन्दर्यमा पनि उत्तिकै सशक्त बन्दै आए । कलात्मक सौन्दर्यले छोपेर अभिव्यक्ति दिइएको प्रगतिवादी साहित्य लेखन नै यस अवधिको मुख्य उपलब्धी हो ।  
      २०४६ सालको उत्तराद्र्धमा भएको पञ्चायती राजतन्त्र विरोधी जन आन्दोलनले पाएको सफलताका कारण २०४७ सालदेखि प्रगतिवादी नेपाली साहित्य लेखनले नयाँ मोड लियो । राज्य व्यवस्थामा संवैधानिक राजतन्त्र सुरु भए पनि पुँजीवाद पक्षधर प्रजातन्त्रवादी र साम्यवाद पक्षधर वामपन्थीहरू नेपाली राजनीतिको केन्द्रमा आए । परिणामस्वरूप साहित्य सिर्जनामा प्रतिबन्धात्मक अवस्थाको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको युग प्रारम्भ भयो । २०४७ सालदेखि २०५२ सालसम्मको अवधिमा प्रगतिवादी नेपाली साहित्य लेखन उन्मुक्त रूपमा सुधारवादी सन्देश, विकासवादी सोच, फुक्काफाल अभिव्यक्ति र आलोचनात्मक अभिव्यक्तितर्फ मोडियो । तर यही खुल्लापनका कारण साहित्यलाई आवश्यक पर्ने ध्वनितत्त्व÷व्यञ्जना तत्त्वतिर साधना गर्ने प्रवृत्तिमा कमी आयो र सौन्दर्यात्मक मूल्यमा ह्रास आउन थाल्यो । पञ्चायती शासन कालमा प्रतिबन्धात्मक अवस्थाका कारण प्रगतिवादी साहित्यकारहरू विचारका साथै कलामूल्यतिर पनि सचेत थिए तर यस अवधिमा कलामूल्यतिर त्यति ध्यान दिन सकेनन् । फलतः पञ्चायत कालीन साहित्य सिर्जनामा अनुभूतिको जुन प्रगाढता र सम्प्रेषणको जुन तीक्ष्णता देखिन्थ्यो, त्यो यस अवधिका रचनामा आउन सकेन । अतिवादी आशावादिता, अराजक र अतिसरल भाषाशैली, उदारवादी विचारधारा र कलाविहीन सोझो सपाट अभिव्यक्तिको विस्तारले प्रगतिवादी नेपाली साहित्य लेखनलाई सतही बनायो । यस अवधिमा पार्टी राजनीति र पार्टीनेताको उदात्तीकरण गर्ने स्तुतिवादी लेखन पनि सुरु भयो । सौन्दर्यले छोपेर विचारको शक्तिशाली प्रक्षेपण गर्ने शैली ज्यादै नै खुकुलो भएकाले प्रगतिवादी साहित्य लेखनको सौन्दर्य ह्रासोन्मुख हुन थाल्यो भने विचारधाराका विभिन्न रूपहरू प्रच्छन्न रूपमा प्रकट हुन थाले । यसबिचमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रप्रति असन्तुष्टि जनाउँदै वामपन्थी राजनीतिको एक धार विद्रोहको तयारीमा लाग्यो र २०५२ सालमा यस धारले सामन्तवादी राज्यसत्ता विरुद्ध सशस्त्र विद्रोहको औपचारिक थालनी ग¥यो । विद्रोहको यो थालनी प्रगतिवादी नेपाली साहित्य लेखनको परम्परामा पनि नयाँ मोड बन्न पुग्यो । 

      २०५२ सालदेखि २०६१ सालसम्मका दस वर्षहरू नेपाली राजनीतिमा राज्यसत्ता विरुद्ध सशस्त्र जनयुद्धका वर्ष रहे । संवैधानिक राजतन्त्र र माओवादी सशस्त्र विद्रोहका बिचमा रक्तपातपूर्ण र क्रूर सत्ता सङ्घर्ष चल्यो । प्रगतिवादी साहित्यकारहरू पनि पक्ष विपक्षमा बाँडिएरै रचनामा प्रवृत्त भए । अस्वस्थ आलोचना र अस्वस्थ प्रत्यालोचनाको क्रम पनि चल्यो । यस अवधिमा विद्रोही पक्षका विचार र भावनासहितका सिर्जनाहरू नयाँ रूपमा आए । विद्रोही पक्षले आफ्ना सिर्जनाहरूलाई नयाँ यथार्थको साहित्यिक प्रतिबिम्बनका रूपमा व्याख्या ग¥यो । उनीहरूबाट नयाँ यथार्थ भनिए पनि यो लेखन मूलतः माक्र्सवादी सौन्दर्य चिन्तनकै विकसित (नेपाली साहित्यको परम्पराका सन्दर्भमा) रूप थियो । प्रगतिवादी कित्ताकै कतिपय समालोचकहरूबाट नयाँ यथार्थ भन्ने पदावलीप्रति प्रश्न पनि उठाइयो र विवाद पनि भयो तर विवादित रूपमा नै भए पनि प्रगतिवादी नेपाली साहित्य लेखनको परम्परामा यो अवधि नयाँ यथार्थको लेखनकै रूपमा बढी चर्चित रह्यो । यस अवधिमा सशस्त्र सङ्घर्षको उदात्तीकरण गरिएका प्रगतिवादी रचनाहरू ठुलो सङ्ख्यामा आएका छन् र अनेक रचनाकारले सशस्त्र सङ्घर्षको नेतृत्वकर्ता प्रचण्डको अतिशय देवत्वकरण र कृष्णसेन इच्छुकलाई केन्द्रीय स्रष्टाका रूपमा स्थापित गर्ने प्रयत्न गरेको देखिन्छ । यस अवधिमा माओवादी खेमाका लेखकहरूबाट गरिएका कतिपय लेखनमा पार्टी र नेताको अतिवादी उदात्तीकरण गर्ने र विरोधी खेमामा रहेका प्रगतिवादी लेखकहरूबाट सशस्त्र सङ्घर्ष गर्ने पार्टी र नेताको अतिवादी विद्रूपीकरण गरी प्रस्तुति दिने अतिवाद पनि देखा प¥यो । यस अतिवादले प्रगतिवादी साहित्य लेखनमा अत्याग्रह र पूर्वाग्रहको निम्न स्तरको स्वरूप ग्रहण गरेको देखिन्छ जुन प्रगतिवादी नेपाली साहित्य लेखनको उच्चतानिम्ति हानिकारक देखिन्छ । तर के कुरामा सन्तोष गर्न सकिन्छ भने यस अवधिमा प्रगतिवादी कलामूल्यका दृष्टिले राम्रा रचनाहरू पनि प्रशस्त मात्रामा आएका छन् । 

      २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप हुने गरी भएको डर लाग्दो ‘दरबार हत्याकाण्ड’ ले नेपालमा राजतन्त्र–अन्त्यको करिब करिब पूर्व सङ्केत गर्दै नेपाली राजनीतिमा नयाँ मोड दियो भने २०६२ सालमा संवैधानिक राजतन्त्रका विरुद्ध तत्कालीन ७ राजनीतिक दलहरूद्वारा शक्तिशाली जन आन्दोलन सुरु भयो र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गरिरहेको माओवादी पार्टी पनि सुरुमा भित्रभित्रै र पछि पूर्ण शक्तिका साथ यस आन्दोलनमा होमियो । परिणामस्वरूप २०६३ सालमा नेपालबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यस आन्दोलनमा प्रगतिवादी नेपाली साहित्य लेखनमा आन्दोलन कविता र आन्दोलन गीतको नयाँ अभियान देखियो । यस अवधिमा राजतन्त्र, सामन्तवाद र साम्राज्यवादका विरुद्धमा ठुलो कवि समूहले सशक्त आवाज मुखरित ग¥यो । राजतन्त्रको पूर्णतः अन्त्य, क्रान्तिचेत, देशभक्ति, राष्ट्रियता, गणतन्त्रात्मक चेत, सीमान्तीकृत वर्गको पहिचान, दलित, जात, क्षेत्र, लिङ्ग तथा शोषित र शासित वर्गको पक्षधरता, उत्पीडित वर्गको हकअधिकारको माग आदि यस अवधिका प्रगतिवादी नेपाली साहित्य लेखनका मुख्य विषय बने भने सीमान्तीकृत वर्गहरूबाट पहिचानसहितको स्वतन्त्रताका लागि अभिव्यक्त मुक्ति चेतना यस अवधिका रचनाहरूको बेग्लै स्वर बनेको पाइन्छ । यस अवधिमा सशस्त्र वर्ग सङ्घर्ष पार गरेर आएका स्रष्टाहरूले उपन्यास, कथा, कविता, निबन्ध र विचार प्रधान रचनाहरूका माध्यमबाट गणतान्त्रिक मुक्ति चेतनालाई सिर्जनाहरूमा रूपान्तरण गरे जुन मात्रात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा पनि सन्तोषजनक नै देखिन्छन् । यसपछिका आठनौ वर्षहरू राजनीतिक दृष्टिले लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको कसरतमा बितिरहेका र प्रगतिवादी स्रष्टाहरूले वर्गीय पक्षधरता र सीमान्तीकृत वर्गका मानिसहरूको मुक्ति चेतनालाई मुख्य स्वर बनाएर रचनाहरू रचिरहेको देखिन्छ । यस अवधिका प्रगतिवादी रचनाकारहरूमध्ये जनजाति, मधेसी, दलित र महिला पक्षधर रचनाकारहरूले वर्गीय मुद्दालाई भन्दा जातीय मुद्दा, सांस्कृतिक पहिचान, लैङ्गिक हक, दलित मुक्ति र क्षेत्रीय पहिचानलाई बढी महत्त्व दिएर रचनाहरू गरेको पाइन्छ । 

      समालोचना वा चिन्तनका दृष्टिकोणले हेर्दा भने प्रगतिवादी नेपाली चिन्तक–समालोचकहरूले साहित्यको वैश्विक इतिहास, यसका मानकहरू, यसको स्वरूप र यसले लिनुपर्ने बाटो लगायतका सैद्धान्तिक पक्षहरूका बारेमा युरोप, रुस, अमेरिका र भारतका चिन्तकहरूकै वैचारिकतालाई प्रकारान्तरले ग्रहण गरेर त्यसमा नेपाली सन्दर्भ पनि जोडी सैद्धान्तिक विमर्श गरेको पाइन्छ । प्रगतिवादी साहित्य लेखनको अविरल यात्रा यतिखेर पनि जारी नै छ । 

५. प्रगतिवादी नेपाली साहित्य लेखनका मुख्य चुनौतीहरू
      प्रगतिवादी नेपाली साहित्य लेखन (सिर्जना तथा समालोचना) का मुख्य चुनौतीहरू निम्न प्रकारका देखिन्छन् ः 

५.१  कमजोर अध्ययन परम्परा 
      यतिखेर खास गरी पछिल्लो पुस्ताका धेरैजसो प्रगतिवादी नेपाली साहित्यकारहरूमा अध्ययनको परम्परा कमजोर बनेको देखिन्छ । पठन संस्कृति ओझेलमा परेको स्थिति छ । नयाँ पुस्ता अध्ययनमा भन्दा चाँडोभन्दा चाँडो समाजमा चिनिन हतारिएको देखिन्छ । भटाभट लेखिहाल्ने, चाँडोभन्दा चाँडो प्रकाशन गराइहाल्ने र हल्लाखल्लाका साथ विमोचन गराउने, पत्र पत्रिका र अन्य प्रचार माध्यममा गइहाल्ने अनि आफूलाई ‘म पनि कम्ताको लेखक होइन’ भनी देखाउनमा कसरत गर्ने प्रवृत्ति बढेको छ । कुनै पनि रचना उत्कृष्ट किन हुन्छ ? कस्तो रचना प्रक्रियाबाट उत्कृष्ट सिर्जना गर्न सकिन्छ ? चर्चामा आएका र उत्कृष्ट भनिएका कृति कस्ता छन् र के कति कारणले उत्कृष्ट मानिएका हुन् ? उत्कृष्ट सिर्जनामा बाधक तत्त्वहरू के के हुन्छन् ? आदि कुराको जानकारीसहित गरिने सिर्जना बढी सुन्दर बन्ने गर्छ । त्यसका लागि प्रगतिवादी साहित्यकारसँग गम्भीर इतिहास–अध्ययन र यथार्थपरक परम्पराबोध हुनुपर्छ । प्रगतिवादी ध्रुवका उत्कृष्ट मानिएका कृृतिहरूको गम्भीर अध्ययन गर्नुका साथै प्रतिध्रुवका अति प्रचारित र उत्कृष्ट भनिएका÷मानिएका÷प्रचारित भएका कृतिहरूको पनि उत्तिकै गम्भीर अध्ययन गरी ती कृतिहरूलाई त्यसरी उदात्तीकरण गरिनुका कारणहरूको खोजी गर्नु, त्यसबाट प्राप्त निष्कर्षमध्ये काम लाग्ने कुरालाई आफ्नो सिर्जनामा प्रयोग गर्नु उत्कृष्ट सिर्जनाका लागि आवश्यक र महत्त्वपूर्ण हुन्छ तर अहिलेको प्रगतिवादी साहित्य लेखनमा यसको अभाव देखिन्छ । आफ्नो परिवेशबाट बाहिर गएर पनि अध्ययन र समालोचना गर्नु जरुरी छ तर यस दिशामा आवश्यक कार्य हुन सकेको स्थिति छैन । यसले गर्दा अध्ययन र समालोचनाको परम्परा एकाङ्गी र अपूर्ण भइरहेको छ । 

५.२  जनताबाट टाढा बसेर जनपक्षीय रचनाको प्रयत्न र जटिल भाषाशैली
      कला साहित्यमा जनताको जीवनसँग सघन रूपमा परिचित भएर मात्रै जीवन यथार्थको सही प्रतिबिम्बन गर्न सकिन्छ तर प्रगतिवादी नेपाली साहित्यको ठुलो भाग नेपाली जनताका सुखदुखसँग राम्ररी परिचित नभई शास्त्रज्ञान र कल्पनाका आधारमा तयार पारिएको देखिन्छ । जनताका माझमा गएर जनताका भोगाइलाई प्रत्यक्ष अनुभूत गरी, आफूले पनि त्यसमा सहभागिता जनाएर तिनका सुखदुखको प्रत्यक्ष बोध गरी जनताको जीवनगत यथार्थलाई प्रस्तुत गर्नु प्रगतिवादी साहित्यकारको जिम्मेवारी हो तर यस्तो कार्य कमै लेखकबाट मात्र भएको पाइन्छ । प्रगतिवादी साहित्यकारले समाज शास्त्रीय अध्ययन गर्नु पनि जरुरी हुन्छ तर यस दिशामा पनि स्रष्टाहरूको ध्यान अपेक्षित रूपमा जान सकेको देखिन्न । लक्ष्यित समूह (जनता) कै भाषाशैलीमा कलात्मकता दिई साहित्य प्रस्तुत गर्नुपर्नेमा विद्वान् वा बौद्धिक वर्गले मात्र बुझ्ने जटिल भाषाशैलीमा अभिव्यक्तिहरू बढी आएका छन् । निश्चय नै दस वर्षको सशस्त्र सङ्घर्षसँग सघन रूपमा जोडिएका प्रगतिवादी केही लेखकहरू जनतासँग बसेर प्राप्त गर्न सकिने अनभूतिहरूसहित लेखनमा आएका छन् तर तिनमा सौन्दर्यात्मक पक्ष दुर्बल हुनाले ती पनि हलुका प्रकृतिका बन्न पुगेका देखिन्छन् । यसले गर्दा पछिल्ला प्रगतिवादी नेपाली रचनाहरूमध्येको ठुलो सङ्ख्या अनुभूतिगत प्रगाढता पाए पनि सौन्दर्यात्मक सम्पन्नता प्राप्त गर्न नसकेको अवस्थामा देखिन्छ । यसरी जनतामा नपुगीकनै जनताको वकालत गर्दै रचना गरिनुले अभिव्यक्तिमा केही मात्रामा सघन सत्यबोधको अभाव र केही मात्रामा विश्वासको सङ्कट उत्पन्न हुने स्थिति बनेको छ । 

      विचारक वा चिन्तक वा समालोचकहरूको काम सम्बन्धित सिद्धान्तलाई उचित रूपमा सहजै बुझिने गरी बताउनु हो ताकि लक्ष्यित वर्गका अस्पष्टता र जिज्ञासा समाप्त होऊन् र सम्बन्धित सिद्धान्तका बारेमा उनीहरू स्पष्ट बनून् । त्यसमाथि अशिक्षित, अर्धशिक्षित, कम शिक्षित र बहुसङ्ख्यक जनतालाई वर्गीय सत्य तथा सामाजिक यथार्थसँग परिचित बनाउँदै वर्गीय मुक्तिका लागि सम्प्रेषणीय भाषाका माध्यमबाट कलात्मक भूमिका निर्वाह गर्नु प्रगतिवादी साहित्यकारको काम हो । जो राम्ररी पढेलेखेबुझेको छ उसलाई सिद्धान्त बुझाइरहनु आवश्यक नै छैन; बुझाउने त नबुझेकालाई हो, बुझ्न चाहनेलाई हो । यसो गर्नका लागि लक्ष्यित वर्गको भाषिक सामथ्र्य, शैक्षिक अवस्था र बोध गर्ने क्षमता केकस्तो र कति छ भन्ने कुरा बुझेर तदनुकूल सहज भाषाको प्रयोग गर्नु आवश्यक छ । तर नेपालका प्रगतिवादी विचारकहरूले प्रगतिवादलाई बुझाउन आफ्नो मौलिक भाषाशिल्पको भन्दा अनुकरणात्मक र प्राविधिक÷पारिभाषिक भाषाशिल्पको प्रयोग आवश्यकताभन्दा बढी मात्रामा गर्दै आएको पाइन्छ । निश्चय नै सैद्धान्तिक ग्रन्थ र बौद्धिक वर्गका मानिसहरू उपस्थित हुने गोष्ठीहरूमा यस्ता पद पदावलीको प्रयोग उचित हुन्छ किनभने अनेक वाक्यले भन्नुपर्ने कुरा यस्ता पारिभाषिक तथा प्राविधिक शब्द र वाक्यहरूले एकाध पद पदावली र थोरै वाक्यमा भन्न सक्छन् तर सामान्य पाठक, जसलाई प्रगतिवादको मर्म बुझाउन र प्रगतिवादी दिशामा उन्मुख गराउन लेख वा रचना गरिएको हो, तिनमा तिनै लक्ष्यित वर्गले नबुझ्ने भाषामा जटिल र पारिभाषिक शब्दको प्रयोग गर्नु उचित होइन । यो चुनौती सम्प्रेषणीयताको समस्यासँग जोडिएको छ । यसको तात्पर्य साहित्य सिर्जना सपाट, सामान्य र हलुका भाषामा लेखिनुपर्छ भन्ने होइन; बरु अभिव्यक्ति सम्प्रेषणीय हुनुपर्छ भन्ने हो । यहाँनिर के कुरामा स्पष्ट हुनु जरुरी छ भने भन्न खोजिएका कुरा बुझिनु मात्र सम्प्रेषणीयता होइन, बरु ग्रहणकर्ता वा भावकको मनलाई छुने हुनु, पाठकको मस्तिष्कलाई झङ्कृत पार्ने हुनु र उसमाथि दीर्घकालीन प्रभाव पार्ने हुनु सम्प्रेषणीयता हो । यस पक्षमा जसरी र जति मात्रामा अभ्यास–साधना हुनुपर्ने हो, प्रगतिवादी नेपाली साहित्य लेखनमा त्यति हुन सकेको देखिँदैन । 

५.३  स्कुलिङ र ज्ञानान्तरणको अभाव 
      प्रगतिवादी नेपाली साहित्य लेखनमा स्थापित, प्रगतिवादका सैद्धान्तिक तथा प्रायोगिक मानकहरूसँग राम्ररी परिचित तथा नयाँ पुस्ताहरूबाट विश्वास गरिएका अग्रज स्रष्टाद्रष्टाहरूद्वारा प्रगतिशील तथा प्रगतिवादी धारामा लेखिरहेका र लेख्न चाहने नयाँ पुस्तालाई प्रशिक्षित गर्ने स्कुलिङको सुन्दर परम्परा यतिखेर शिथिल बनेको देखिन्छ । नयाँ पुस्ताका सिर्जनाहरूको अध्ययन गर्ने, तीमाथि वस्तुपरक तर कटु आलोचनात्मक नभई चिकित्सकीय स्नेहपूर्ण टिप्पणी र सकारात्मक मूल्याङ्कन गरिदिएर उत्साह बढाइदिने काम गर्नु र गुणग्राही समालोचनाद्वारा उत्प्रेरित गर्दै उनीहरूलाई सही दिशातिर फर्काउने प्रक्रियामा जानु प्रगतिवादी लेखनमा लाग्न थालिरहेको नयाँ पुस्ताको सबलीकरणका लागि आवश्यक हुन्छ । यसका लागि सिद्धान्तलाई आधार बनाई बढीभन्दा बढी प्रायोगिक समालोचना हुनुपर्छ । तर अग्रज पुस्ताबाट नयाँ पुस्ताका कृतिहरूको प्रायोगिक समालोचना गर्ने काम प्रायः शून्य छ भने अर्कातिर नयाँ पुस्ताको ठुलो हिस्सा व्यक्तिगत अध्ययन र हलुका बुझाइका आधारमा प्रगतिवादी लेखन गरिरहेको र त्यसैमा मख्ख परिरहेको अवस्था छ । नयाँ पुस्तामा स्पष्ट रूपमा सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगको अभ्यास नहुने हो भने भविष्यमा प्रगतिवादी साहित्य लेखन झन् बढी सामान्य बन्दै जाने छ । यस अवस्थालाई पनि प्रगतिवादी नेपाली साहित्य लेखनमा रहेको चुनौती मान्नुपर्छ । त्यसैले स्थापित भएका र आफूलाई प्रगतिवादी साहित्यको ज्ञाता मान्ने अग्रज पुस्ताले नयाँ पुस्तालाई शिक्षित, प्रशिक्षित र दीक्षित बनाउनका लागि नयाँ पुस्ताका बिचबाट विशिष्ट र सम्भाव्य देखिने प्रतिभाहरूलाई सामूहिक रूपमा ज्ञानान्तरणको कार्य गर्दै जानु अत्यावश्यक देखिन्छ । 

५.४  आत्म मूल्याङ्कन÷आत्म समीक्षाको कमी र आत्माभिमानी अहङ्कार
      प्रगतिवादी स्रष्टाद्रष्टाले आफ्ना सिर्जना र समालोचना तथा आफ्नो चिन्तन, चरित्र र कर्मका बारेमा आत्म समीक्षा बारम्बार गरिरहनुपर्छ । आत्म समीक्षाबाट आफूबाट भए÷गरिएका, गर्न बाँकी रहेका र गर्नुपर्ने कार्यहरूको बोध हुन्छ भने आफ्ना दुर्बलता, सीमा तथा सम्भावनाहरूको जानकारी प्राप्त भई आफूलाई सच्याउँदै सबल बनाउँदै अगाडि बढ्नमा सहयोग मिल्छ । चिन्तन, चरित्र र सिर्जनालाई परिष्कृत, मानक, सम्प्रेषणीय र सोद्देश्य तुल्याउन यो प्रक्रिया अँगाल्नु आवश्यक हुन्छ तर हामी यस दिशामा अपेक्षित रूपमा सफल हुन सकेका छैनौँ । हामीले आफूलाई कति हे¥यौँ ? आफ्ना दुर्बलता र अहङ्कार हटाउन कति कसरत ग¥यौँ ? आफ्ना व्यवहारमा कति सुधार ग¥यौँ ? आफूलाई प्रगतिवादी दिशामा कति बदल्याँै ? आफ्नो चरित्रमा कति रूपान्तरण ल्यायौँ ? कति मात्रामा निरन्तर आत्म समीक्षा गर्दै छौँ ? यो गम्भीर प्रश्न हो । मलाई लाग्छ, हामी आत्म समीक्षाको पाटोमा धेरै पछि परेका छौँ । परिणामस्वरूप शब्द र कर्मको एकता हुन सकिरहेको छैन र प्रगतिवादी साहित्य लेखन आवश्यक रूपमा सम्पन्न बन्न सकिरहेको छैन । यो प्रगतिवादी साहित्य लेखनका लागि ठुलो चुनौती हो ।

      यसै गरी स्थापित भनिएका÷मानिएका प्रगतिवादी नेपाली साहित्यका अनेक सर्जक, विचारक, चिन्तक, समालोचकहरूमा रहेको ‘मैले भनेको मात्रै ठिक हो’ भन्ने आत्माभिमानी अहङ्कार पनि प्रगतिवादी नेपाली साहित्य लेखनको ठुलो चुनौती देखिन्छ । आफ्नो भनाइलाई नै माक्र्सवाद मान्ने, आफू मात्र विद्वान् भएको ठान्ने, बोल्दा माक्र्स, लेनिन आदि अग्रजहरूले बोलेका कुराहरू नै बोल्ने तर त्यसलाई आफूले नै आविष्कार गरेको जस्तो गरी प्रस्तुत गर्ने, तथ्यको आविष्कार गर्दै सही मार्ग पहिल्याउनेतिर भन्दा आफूले भनेको कुरा नै तथ्य हो भन्ने कुरामा अड्डी लिने आत्माभिमानी अहङ्कारी प्रवृत्ति धेरैमा देखिन्छ । माक्र्सवादलाई भन्दा पनि आफूलाई विशिष्ट बनाउनमा मरिहत्ते गर्ने दिक्कलाग्दो यो प्रवृत्ति प्रगतिवादी नेपाली साहित्यमा झाँगिएको ऐजेरु हो । अरूलाई मान्छे नगन्ने, अरूलाई केही ज्ञान छैन भन्ठान्ने, अरूको योगदानलाई स्वीकार गर्न कन्जुस्याइँ गर्ने र आफूलाई मात्र आधिकारिक, विद्वान् र पढक्कड मान्ने अहङ्कारले प्रगतिवादी नेपाली साहित्यमा क्षति पु¥याइरहेको देखिन्छ ।

५.५  विषयगत पूर्णताको अभाव 
      सिर्जना र समालोचनाका लागि जुन विषय ग्रहण गरिएको हो त्यसलाई पूर्णतामा पु¥याउनु प्रगतिवादी लेखनको उद्देश्य हुन्छ । तर सिर्जना वा समालोचनाका लागि चयन गरिएको विषयमाथि गहन चिन्तन गर्ने र त्यसलाई टुङ्गोमा पु¥याई छाड्ने कार्यमा कमी भएको देखिन्छ । हामीले सांस्कृतिक वा अन्य सामाजिक विषयलाई लिएर सिर्जना गर्दा त्यसका बहुआयामिक यथार्थको बोध, तिनका कारणहरूको वस्तुवादी निक्र्योल र रूपान्तरणका लागि यथोचित दिशा निर्देश तथा दिशा निर्देशले सही रूप ग्रहण गरे÷नगरेको प्रयोगात्मक पुष्टिको गम्भीर प्रक्रियालाई अँगाल्न सके जस्तो लाग्दैन । त्यसैले यति धेरै लेखन भइसक्दा पनि, यति धेरै राजनीतिक, सामाजिक र साहित्यिक विकास र परिवर्तन भइसक्दा पनि हाम्रो प्रगतिवादी साहित्यले सांस्कृतिक रूपान्तरणका लागि आवश्यक मात्रामा प्रभावपूर्ण भूमिका निर्वाह गर्न सकिरहेको छैन । तात्पर्य के हो भने आज विषयको समग्र ज्ञान, त्यसमाथिको गम्भीर चिन्तन र त्यसलाई सिर्जना र समालोचनाका माध्यमबाट अन्तिम टुङ्गोमा पु¥याएरै विश्राम लिने सङ्कल्प र प्रयत्नको चुनौती हामीसामु छ ।

५.६  पार्टीगत तथा गुटगत विभाजन र सङ्कीर्णता 
      नेपालका वामपन्थी राजनीतिक पार्टीमा बारम्बार र लगातार हुँदै आइरहेको विभाजनले पनि प्रगतिवादी नेपाली साहित्य लेखनमा चुनौती थपिरहेको देखिन्छ । पार्टीफुटको राजनीतिका कारण पार्टीसँगै प्रगतिवादी लेखकहरू पनि पार्टी पार्टीमा छरिन पुगेका छन्, गुट गुटमा विभाजित भएका छन् । परिणामस्वरूप प्रगतिवादी खेमाका लेखकहरूबाटै एकअर्का लेखकप्रति वितृष्णा उत्पन्न गराउने काम पनि नजानिँदो किसिमले भइरहेको छ । धेरै लेखकहरू माक्र्सवादप्रतिको प्रतिबद्धतालाई भन्दा आफू संलग्न भएको पार्टीप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राखेर सङ्कुचित लेखन गरिरहेका देखिन्छन् । यस्ता लेखकहरूले पार्टी प्रतिबद्धताका नाममा कुनै न कुनै कम्युनिस्ट पार्टीको सदस्य भएमा मात्र कुनै लेखक प्रगतिवादी हुन्छ, नत्र जति राम्रो र माक्र्सवादप्रति जति प्रतिबद्ध लेखन गरे पनि ऊ प्रगतिवादी हुँदैन भन्ने किसिमको भ्रामक र यान्त्रिक मान्यतालाई प्रश्रय दिइरहेको देखिन्छ । आफ्नै वर्गका लेखकहरूको उपहास गर्ने, अपमान गर्ने र तेजोबध गर्ने काममा पनि उनीहरू प्रवृत्त भएका देखिन्छन् । सबैभन्दा चिन्ताको विषय त के देखिन्छ भने टुक्रे पार्टीका कार्यकर्ता बनेका लेखकहरूको सङ्ख्या निकै ठुलो देखिन्छ र तिनीहरू माक्र्सवाद, लेनिनवाद र माओवादप्रतिको प्रतिबद्धतामा भन्दा बढी आफू संलग्न भएको राजनीतिक पार्टीप्रतिको प्रतिबद्धतामा केन्द्रित लेखनतिर ढल्कनाले प्रगतिवादी नेपाली साहित्य लेखनको ठुलो अंश धेरै नै सङ्कीर्ण किसिमको बन्न पुगेको छ । यसबाट प्रगतिवादी नेपाली समालोचनालाई पनि ठुलो क्षति पुगेको देखिन्छ । स्थापित भनिएका प्रगतिवादी समालोचकहरूमा पार्टीगत पक्षधरता र पार्टीभित्र पनि गुटगत सङ्कीर्णताका सिकार भएर आफ्नो पार्टीका र गुटका स्रष्टाहरूको मात्र यशोगान गर्ने, अर्को पार्टी पक्षधर लेखकको उपेक्षा गर्ने (अझ उछित्तो नै काढ्ने), प्रगतिवादी सिर्जना र समालोचनामा निरन्तर काम गरिरहेको तर कुनै पनि पार्टीको सदस्यता नलिएको स्रष्टाले उत्कृष्ट प्रगतिवादी सिर्जना गरेको भए पनि समालोचनामा उसलाई महत्त्व नदिने जस्ता प्रवृत्ति बढेको अवस्था छ । कम्युनिस्ट पार्टीको सदस्य हुँदैमा कुनै लेखकको लेखन प्रगतिवादी भइहाल्ने र पार्टीमा नभएकै कारण माक्र्सवादप्रति प्रतिबद्ध भएर गरिएको लेखन पनि प्रगतिवादी नहुने अवस्तुवादी सङ्कीर्ण चिन्तन र त्यसलाई प्रश्रय दिने प्रवृत्तिले नेपाली सिर्जना र समालोचनालाई ठुलो हानि गरिरहेको छ । त्यसैले यो नकारात्मक सङ्कीर्ण गुटगत प्रवृत्ति पनि प्रगतिवादी नेपाली साहित्य लेखनका लागि ज्यादै ठुलो चुनौती बनेको देखिन्छ । 

५.७  भागबन्डा गर्नेे विकृत परम्पराको निरन्तरता
      वामपन्थी राजनीतिमा भइरहने पार्टी विभाजनका कारण साहित्यको विकासका निम्ति भनी बनेका साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रलेसलगायतका साहित्यिक संस्थाहरूको नेतृत्व र प्रतिनिधित्वमा स्वतन्त्र रूपमा प्रगतिवादी लेखन गरिरहेका योग्य, इमानदार र दक्ष लेखकहरूले ठाउँ नपाउने अवस्था सिर्जना भएको छ । राजनीतिक पार्टीहरूले योग्यता, दक्षता र प्रतिभालाई भन्दा पार्टी सदस्यहरूलाई नियुक्ति गर्ने अत्यन्त गलत राजनीतिक परम्पराको विकास गरेका छन् र पद, प्रतिष्ठा र पैसाको लाभको लोभमा प्रगतिवादी साहित्यकारहरूको ठुलो समूह राजनीतिक पार्टीको पिछलग्गु बनेको देखिन्छ । यसले गर्दा पार्टीका पिछलग्गु साहित्यकारहरूमा साहित्य साधनामा समर्पित हुनुभन्दा पार्टी र पार्टीका शक्तिशाली नेताको नजिक हुने, तिनलाई रिझाउने र आफूलाई यस्ता संस्थाका लाभदायक र शक्तिशाली पदहरूमा नियुक्ति गर्न दबाब दिने प्रवृत्ति बढेको छ । परिणामस्वरूप प्रगतिवादी साहित्य साधना दुर्बल बन्न गएको छ । साहित्यलाई भागबन्डाको राजनीतिले निमोठ्ने यो तुच्छ परम्परा घट्नुको ठाउँमा झन् झन् बढ्दै गएको देखिन्छ । यसले गर्दा प्रगतिवादी साहित्यलाई सच्चा मनले समृद्ध पार्ने दिशामा साधना गरिरहेका इमानदार प्रगतिवादी साहित्यकारहरू निराश बन्दै छन् । त्यसैले राजनीतिक पार्टीको सदस्य नभएकै कारण र पार्टीमा भए पनि शक्तिशाली गुटको मतियार नभएकै कारण असल, इमानदार र प्रतिभाशाली प्रतिभाहरू उचित अवसरहरूबाट तथा नेतृत्वको दायित्वबाट वञ्चित भइरहनुपर्ने अवस्था उत्पन्न हुनु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेको देखिन्छ ।  


५.८  धनात्मक पक्षमा भन्दा ऋणात्मक पक्षमा ध्यान
      कृति मूल्याङ्कन साहित्यको विकास र साहित्यिक प्रतिभालाई मिल्ने उत्प्रेरणाको महत्त्वपूर्ण आधार हो । कृति मूल्याङ्कन गर्दा प्रगतिवादी समालोचकहरूको ध्यान माक्र्सवादी (वर्गीय पक्षधरतासहितको तथा तुलनात्मक र सापेक्षित) सौन्दर्य चिन्तनअनुरूपको हुनु जरुरी छ । सिर्जनामा स्रष्टाका सबल र दुर्बल दुवै पक्ष हुन सक्छन् । दुवै पक्षको विश्लेषण न्यायपूर्ण रूपमा गरिनुपर्नेमा प्रायः दुर्बल पक्षहरूको खोजी परिश्रमका साथ गर्ने र स्रष्टाको उत्साह नै ध्वस्त पार्ने किसिमले आलोचना गर्ने तर सबल पक्षहरूको प्रशंसा गर्नमा कन्जुस्याइँ गर्ने प्रवृत्ति धेरैजसो प्रगतिवादी समालोचकहरूमा पाइन्छ । समालोचना वा टिप्पणी गर्न भनी दिइएको वा लिइएको सिर्जनामा खोटहरूको मात्र खोजी गरी समालोचना गर्नु अत्यन्त खराब काम हो । कतिपय स्रष्टाहरू भावनामा र नियतमा प्रगतिवादका पक्षधर भए पनि सिद्धान्त राम्ररी नबुझेको कारण, प्रगतिवादी रचनाधर्मितासँग अभ्यस्त र स्पष्ट नभएका कारण तथा अभ्यास र साधनाको कमीका कारण प्रगतिवादी रचना गर्न खोज्दाखोज्दै पनि आलोचनात्मक यथार्थवाद, मानवतावादी आदर्शवाद, स्वच्छन्दतावादी भावुकता आदिको सिकार हुने गर्छन् र तिनका रचनामा केही कमजोरी रहन जान्छ । यस्ता स्रष्टाहरूलाई स्नेहका साथ हेरी उनीहरूका सबल पक्षको प्रशंसा गर्दै कमजोर पक्षमा आत्मीयतापूर्ण सुझाव दिएर उत्साह बढाउने तथा परिमार्जित र परिष्कृत हुन उत्प्रेरित गर्ने किसिमले समालोचना गर्नु जरुरी छ । तर प्रगतिवादी नेपाली साहित्य लेखनमा यस्तो हुन सकिरहेको छैन । यही अभावका कारण प्रगतिवादी साहित्य लेखनमा संलग्न भएर उल्लेखनीय सिर्जना गर्न सक्ने सम्भावना बोकेका अनेक प्रतिभाहरूले प्रतिध्रुवीय कित्तामा पलायन गरेका छन् । प्रगतिवादी समालोचकहरूका असहिष्णु टिप्पणीहरू तथा प्रगतिवादी समालोचकहरूले अभिप्रेरणा र स्नेहपूर्ण सहयोगको आशा गरेका लेखकहरूप्रति अनावश्यक रूपमा गर्ने निर्मम आलोचना र उनीहरूको उपेक्षा गर्दै उनीहरूका सिर्जनामाथि समालोचना नै नगरिदिने गरेकाले पनि प्रतिभाशाली र सम्भाव्य प्रगतिवादी प्रतिभाहरूको पलायन भई नै रहेको देखिन्छ । प्रगतिवादी नेपाली साहित्य लेखनका लागि यो पनि एक विचारणीय चुनौती हो । 

५.९  शास्त्रमा बढी जोड, प्रयोगद्वारा पुष्टिको उपेक्षा र अतिवाद 
      प्रगतिवाद शास्त्र पनि हो, प्रयोग पनि हो र विज्ञान पनि हो । यी तिनै प्रकारका पक्षलाई समान महत्त्व दिएर सिर्जना तथा समालोचना गर्नु जरुरी छ तर प्रगतिवादी नेपाली साहित्य लेखनमा यस्तो सन्तुलनको अभाव देखिन्छ । धेरैजसो समालोचकहरूको ध्यान शास्त्र (सिद्धान्त) मा गएको देखिन्छ तर प्रयोगद्वारा वैज्ञानिक पुष्टि गर्नतिर गएको देखिन्न । सिद्धान्तको मार्ग दर्शनमा हिँड्दै व्यवहार र प्रयोगद्वारा कथ्यको पुष्टि गर्ने रचनाधर्मिता नै वास्तवमा प्रगतिवादी रचनाधर्मिता हो । समालोचक र चिन्तकले सिद्धान्त पक्षलाई आफूले बुझेर मात्र पुग्दैन; पाठकलाई पनि बुझाउन सक्नुपर्छ । स्थापित प्रगतिवादी नेपाली चिन्तक, समालोचक र विचारकहरूका कृति, कार्यपत्र र अवधारणा पत्रहरू पढ्दा कस्तो लाग्छ भने उनीहरूले आफूले त कुरा बुझेका छन् तर अरूलाई बुझाउने सामथ्र्य कमै राख्छन् । ठुला ठुला, बोझिला र जटिल पद पदावलीको प्रयोगले उनीहरूको अभिव्यक्ति उनीहरू जस्ता केही व्यक्तिलाई मात्र बोध्य बन्ने किसिमको बनेको देखिन्छ । स्थापित भनिएका प्रगतिवादी समालोचकहरूले प्रयोगद्वारा सिद्धान्तको पुष्टि गर्ने प्रक्रिया अँगाल्नुपर्नेमा पुस्तकहरूमा लेखिँदै आएका सिद्धान्तको रटान र पूर्वजहरूका भनाइहरूको सङ्कलन÷सङ्ग्रह गर्नुमा नै धेरै परिश्रम खर्च गरिरहेको समालोचकीय अवस्था देखिन्छ । सत्य एउटा हुन्छ । त्यसलाई सोही रूपमा हेर्दै प्रयोगका तहमा वैज्ञानिक भए÷नभएको ठम्याउनु प्रगतिवादी समालोचनाको धर्म हो तर यो काम जिम्मेवारीबोधका साथ भइरहेको अवस्था थोरै छ । तात्पर्य के हो भने प्रगतिवादी नेपाली साहित्य लेखनमा शास्त्र धेरै भेटिन्छ; प्रयोग कम देखिन्छ । यसरी शास्त्रमा बढी जोड दिने र प्रयोगबाट पुष्टि भए÷नभएको कुरामा ध्यान नदिने प्रवृत्ति पनि एउटा चुनौती बनेको छ । 

      यसै गरी सिद्धान्त र प्रयोगमा देखिने अतिवाद पनि प्रगतिवादी नेपाली साहित्य लेखनको विचारणीय चुनौती हो । सिद्धान्तनिष्ठ हुने नाममा जडता र समयानुरूप सिर्जनशील प्रयोग गर्ने नाममा सिद्धान्तहीनता÷अराजकता प्रगतिवादी नेपाली साहित्य लेखनमा लामो समयदेखि देखा परेका अतिवादगत चुनौती हुन् । सिद्धान्तनिष्ठ हुने नाममा देखिने अतिवादले प्रगतिवादी साहित्य लेखनमा नीरसता, अनाकर्षण र विकर्षणको चुनौती थपिदिएको छ भने सिर्जनशीलताको नाममा देखिने अतिवादले माक्र्सवादी सौन्दर्य चिन्तनको मूल मार्गबाट हुने विचलनको चुनौती थपिदिएको छ । माथि भनिए जस्तै माक्र्सवादी सौन्दर्य चिन्तन र रचनाधर्मिताका बारेमा गम्भीर विमर्श र उचित स्कुलिङको अभावमा यो चुनौती प्रगतिवादी नेपाली साहित्य लेखनमा आलोच्य बेथितिका रूपमा चलिरहेकै देखिन्छ । 

५.१०  चिन्तनमा समूहिकतावाद, चरित्रमा व्यक्तिवाद
      प्रगतिवाद सामूहिकतामा जोड दिने साहित्य चिन्तन हो । यसले सामूहिक चेतना, सामूहिक हित, सामूहिक श्रम, सामूहिक सङ्घर्ष, सामूहिक उत्थान, सामूहिक सहकार्य लगायतका सामूहिक उद्देश्य र तदनुकूलका क्रियाकलाप तथा अत्यधिक जनताका पक्षमा सिर्जनात्मक भूमिका खोज्छ भने मुख्य उत्पादक शक्तिका रूपमा रहेको श्रमजीवी जन समूहको उच्च मूल्याङ्कनमा जोड दिन्छ । तर नेपालका प्रगतिवादी केही साहित्यकार (स्रष्टा र द्रष्टा) हरू चिन्तनमा त सामूहिकतावाद प्रस्तुत गरिरहेका देखिन्छन् तर चरित्रमा व्यक्तिवादी देखिन्छन् । चिन्तनमा सामूहिकताको र व्यवहारमा व्यक्तिवादको यस्तो विरोधाभासले प्रगतिवादमाथि संशय बढाएको छ; प्रगतिवादीहरूका बिचको एकतामा भाँजो हालेको छ भने प्रगतिवादतिर उन्मुख भइरहेको र सिक्न खोजिरहेको नयाँ पुस्तामा विश्वासको सङ्कट पनि थपेको छ । सच्चा प्रगतिवादी स्रष्टाद्रष्टाको काम प्रगतिवादी साहित्यप्रतिको प्रतिबद्धता हुनुपर्छ तर अहिले प्रगतिवादी साहित्यकारहरूमा प्रगतिवादी साहित्यप्रतिको प्रतिबद्धता भन्दा बढी आत्म प्रचार, आफ्नो स्थापना, आफ्नो प्रसिद्धि र आफ्नो प्रतिष्ठाप्रतिको प्रतिबद्धता बढी देखिन्छ । यस प्रवृत्तिका लेखकहरू प्रगतिवादी नेपाली सृजना र समालोचनाको विकासका निम्ति आफूलाई समर्पित गर्नेतिर भन्दा आफ्नो नामको स्थापना, आफ्नो नामको प्रचार र आफ्नो प्रतिष्ठाको वृद्धि गर्नका लागि प्रगतिवादलाई हतियार बनाउने दिशामा कसरत गरिरहेका देखिन्छन् । परिणामस्वरूप उनीहरूमा व्यक्तिगत स्वार्थका लागि विरोधी वर्गसँग साँठगाँठ गर्ने, आत्म प्रशंसामा रमाउने, आफ्नो वर्गका लेखकहरूको भन्दा अर्को वर्गका लेखकहरूको बढी प्रशंसा गर्ने, अर्को पार्टीको लेखकलाई समालोचना, विचार गोष्ठी, कार्यशाला गोष्ठी, वैचारिक विमर्शक्षेत्र आदिमा सकेसम्म स्थान नदिने र दिइहाले पनि उपेक्षा र तिरस्कारका दृष्टिले हेर्ने, आफ्नो आलोचना सुन्नै नसक्ने जस्ता व्यक्तिवादी प्रवृत्ति हावी भएका देखिन्छन् । माक्र्सवादी सौन्दर्य चिन्तनका मानकहरूलाई केन्द्रमा राख्नुपर्नेमा आफू (व्यक्ति) लाई केन्द्रमा राखेर सिर्जना र समालोचना गर्ने यो प्रवृत्ति पनि यस क्षेत्रको एक चुनौती हो ।  

५.११  वर्गीय मुद्दाको उपेक्षा र सीमान्तीकृत समूहको मुद्दालाई प्राथमिकता
      प्रगतिवादी रचनाधर्म अँगालिरहेका केही सर्जक तथा समालोचकहरू पछिल्लो समयमा (मूलतः साठीको दशकमा) वर्गीय मुद्दालाई भन्दा जातीय, क्षेत्रीय, लिङ्गीय र दलित समूहका मुद्दालाई केन्द्रमा राखेर साहित्य सिर्जनामा प्रवृत्त हुँदै आएको देखिन्छ । नेपाली समाजमा सीमान्तीकृत समूहका मुद्दाहरू निश्चय नै ठुला र सम्बोधन गर्नै पर्ने किसिमका छन् र तिनलाई सम्बोधन गर्ने सबैभन्दा उचित समय पनि यही अवधि नै हो किनभने जनताका हकहित सुरक्षित पार्ने उद्देश्यले संविधान बन्ने प्रक्रिया यसै अवधिमा चलिरहेको छ । तर फेरि पनि सत्य त के हो भने सीमान्तीकृत समूहका समस्याको सही समाधान वर्गीय समस्याको समाधानकै प्रक्रियाअन्तर्गत हुने हो । वर्गीय समस्याको समाधान नभएसम्म सीमान्तीकृत समूहका सम्पूर्ण समस्या समाधान हुनु सम्भव नै छैन किनभने सीमान्तीकृत समूहका हकहरू प्राप्त भएपछि पनि तिनै वर्गभित्र वर्गीय समस्या बाँकी नै रहन्छन् । अहिले नेपाली राजनीतिमा जुन सकस र जुन डरलाग्दो हिंस्रक आन्दोलन देखा परेको छ, यो एक किसिमले वर्गीय मुद्दाभन्दा जातीय प्रकृतिका सीमान्तीकृत मुद्दालाई प्रमुख मान्ने गलत चिन्तनको परिणाम हो । पछिल्लो समयमा प्रगतिवादी भनिने केही स्रष्टाद्रष्टाहरूबाटै सीमान्तीकृत समूहको मुक्तिका नाममा ‘माक्र्सवादको मूल दर्शन नै गलत हो’ भन्ने तरिकाले र ‘वर्गीय मुद्दाभन्दा सीमान्तीकृत मुुद्दा प्रमुख हो’ भन्ने मान्यतामा आधारित रचना गर्न थालिएको देखिन्छ । यो माक्र्सवाद विरोधी धारणा र प्रयोग हो । त्यसैले यो पनि साठीको दशकदेखि आएको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेर देखा परेको छ । 

५.१२  विद्वत्ताको आधिक्य, बुद्धिमानीको कमी
      प्रगतिवाद र माक्र्सवादसित सम्बन्धित कृतिहरू पढेर, घोकेर र ठाउँ ठाउँमा तिनै पढेका घोकेका भनाइहरूको उद्धरण गरेर नेपालका अनेक प्रगतिवादी लेखकहरू विद्वान् बनेका देखिन्छन् तर उनीहरूले नेपाली साहित्यलाई प्रगतिवादी रचनाधर्मिताको उच्चतामा पु¥याउन देखाउनुपर्ने बुद्धिमानी देखाउन सकिरहेको स्थिति छैन । यस्ता विद्वान्हरू माक्र्सले यसो भनेका छन्, एङ्गेल्सले यस्तो भनेका छन्, माओले येनान गोष्ठीमा यो कुरा गरेका छन्, लेनिनका भनाइ यी यी हुन्, आफानास्येभ यस्तो भन्छन्, कडवेल र गोर्कीको धारणा यो छ आदि आदि कुरा गर्न सक्षम छन् तर नेपालका सन्दर्भमा, आजको परिवर्तित विश्वका सन्दर्भमा प्रगतिवादको नयाँ मार्ग यो हुन सक्छ भन्ने ठोस, तथ्यपूर्ण र समयोचित मार्गदर्शन गराउन सक्ने मौलिक विश्लेषण गर्न सकिरहेका छैनन् । हामीमा अरूका भनाइको उद्धरण गरेर विद्वत्ता प्रदर्शन गर्ने र बुद्धिविलास गर्ने प्रवृत्ति प्रशस्त छ तर विश्व सन्दर्भमा नयाँ यथार्थको नयाँ विवेचना र मौलिक मूल्याङ्कन गर्ने बौद्धिकता कम भेटिन्छ । माक्र्स एङ्गेल्सहरूले त्यस समयको सापेक्षतामा जे भने त्यो सही थियो र उनीहरूले आधारभूत रूपमा समाज, त्यसको विकास, वर्ग र वर्गीय पक्षधरता तथा व्यक्ति आदिका बारेमा गरेका विश्लेषण सही नै छन् तर आजको अवस्थामा त्यतिले मात्र समग्र विश्लेषण हुन सक्छ कि सक्दैन भन्ने कुरामा गम्भीर मन्थनको आवश्यकता छ । यस्तो मन्थन गरेर निस्केका निष्कर्षहरूका आधारमा मात्र नयाँ यथार्थको नयाँ विश्लेषण र मौलिक मूल्याङ्कन हुन सक्छ र यस्तो नयाँ विश्लेषण र मौलिक मूल्याङ्कनका आधारमा मात्र नयाँ चुनौतीहरूको सामना गर्न सकिन्छ । विद्वान् हुनु र बुद्धिमान् हुनुमा फरक छ । नेपाली समालोचना विद्वान् त बन्यो तर बुद्धिमान् बन्न सकेको छैन । विद्वत्ता र बुद्धिमानीको संश्लेषण गर्न नसक्दासम्म यो चुनौती रहिरहने निश्चित छ । 

५.१३  मनोवैज्ञानिक उद्घाटन–विश्लेषणतिर कम ध्यान
      प्रगतिवादी नेपाली साहित्यकारहरूले जुन ओज, जुन यथार्थबोध र जुन वैज्ञानिकताका साथ समष्टि (बाह्य) यथार्थलाई प्रस्तुत गर्न सकेका छन्; त्यसको तुलनामा व्यष्टि (आन्तरिक÷वैयक्तिक) मनोविज्ञालाई पक्रेर गम्भीर मनोविश्लेषणका साथ मनोवैज्ञानिक यथार्थको चित्रण गर्न सकेको स्थिति छैन । पक्षधरता समाजकै, सामूहिकताकै र समष्टिकै हुनुपर्छ तर समष्टिको यथार्थमा व्यक्ति मनोविज्ञानको भूमिकालाई पनि महत्त्व दिनु आवश्यक हुन्छ । माक्र्सवादले व्यष्टि र समष्टिको विशेष व्याख्या गरेको छ र सारभूत रूपमा त्यो सही नै छ तर व्यष्टि मनोविज्ञानको उपेक्षा गरिएमा सम्पूर्ण यथार्थ÷सत्यको बोध गर्न सकिन्न भन्ने कुरामा हामी प्रगतिवादी स्रष्टाद्रष्टाहरू केही पछि परेका हौँ कि भन्ने मलाई लाग्छ । मनोविश्लेषणको पक्षलाई पनि उत्तिकै गम्भीर रूपमा ग्रहण गरी सामाजिक यथार्थको वस्तुवादी प्रतिबिम्बन गर्न सकिएमा प्रगतिवादी साहित्यले प्रतिध्रुवीय साहित्यलाई सहजै उछिन्न सक्छ । यस दिशामा गम्भीरतापूर्वक ध्यान दिन नसक्नु पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ । 

५.१४  बजार व्यवस्थान र प्रचारप्रसारको कमी
      प्रगतिवादी नेपाली साहित्य लेखनलाई लक्ष्यित वर्गसम्म पु¥याउन र भावक मनमा प्रगतिवादी कृतिबारेको जानकारी दिन, प्रगतिवादी साहित्यप्रति भावकको उत्सुकता बढाउन तथा यस्ता कृतिहरू पढ्नेतिर उनीहरूलाई अभिप्रेरित गर्नका लागि कृतिहरूको प्रचारप्रसार र उचित बजार व्यवस्थापनको आवश्यकता हुन्छ तर प्रगतिवादी नेपाली साहित्यको प्रचारप्रसार र जनतासम्म पहुँच हुने किसिमको बजार व्यवस्थापनको अभाव छ । कुनै कृति किन्न मन लाग्यो भने पाठकले आफूले चाहेको ठाउँमा किन्न पाउँदैन । देशभरिका कुरा छाडिदिऊँ, राजधानीका एकाध पसलमा बाहेक अन्य पसलमा प्रगतिवादी कृति भेटिन्नन् र ती एकाध ठाउँमा पनि एकाध स्रष्टाका रचनाहरू मात्र भेटिन्छन् । प्रगतिवादी नेपाली साहित्यलाई सही अर्थमा लक्ष्यित वर्गसम्म पु¥याउनै पर्छ किनभने सुविधा सम्पन्न एकाध सहरका एकाध पसलमा राखिएका यस्ता एकाध सामग्री बौद्धिक वर्गका लागि मात्र सहयोगी हुन्छन् । त्यस्तै मिडिया पनि प्रगतिवादी साहित्यका लागि त्यति मैत्रीपूर्ण देखिन्न । प्रतिध्रुवका साहित्यकारहरूका लागि ठुला प्रकाशन गृह र शक्तिशाली मिडिया हाउसहरू सहज छन् तर प्रगतिवादी साहित्यको प्रचारका लागि मिडियाहरूले राम्रो भूमिका खेलेको स्थिति देखिन्न । वापपन्थी राजनीतिक पार्टीहरू लगातार सत्तामा रहँदा पनि सांस्कृतिक रूपान्तरणका लागि आवश्यक मिडिया हाउसहरूको निर्माण गर्नेतिर ध्यान दिन सकेनन् । अहिलेको युग प्रचार प्रसारको युग भएकाले र त्यसको बागडोर मिडियाहरूको हातमा रहेको स्थितिमा प्रगतिवादी नेपाली साहित्यको पहुँच मिडियाहरूमा कम हुनु पनि एक चुनौती नै देखिन्छ । 

५.१५  सीमित घेरामा सङ्कुचन
      प्रगतिवादी साहित्यलाई विस्तारित गर्न यसलाई व्यापक पाठकभूमिमा पु¥याउनुपर्ने हुन्छ । त्यो तब मात्र सम्भव हुन्छ जब प्रगतिवादी पक्षधर र समर्थकबाहेकका पाठकहरूलाई पनि प्रगतिवादी साहित्यतिर आकर्षित गर्न सकिन्छ । यसका लागि त्यस्ता कार्यक्रमहरूको आवश्यकता छ जुन कार्यक्रममा (कविता वाचन, विमर्श गोष्ठी, विचार गोष्ठी आदिमा) प्रगतिवादेतर समूह पनि सहभागी होओस्; दुवै पक्षका रचनाहरू संयुक्त रूपमा सुनियून्, सुनाइयून् र भावकहरूलाई दुवै पक्षका सिर्जनाहरूको उच्चता बुझ्न, तुलना गर्न र मूल्याङ्कन गर्नमा सहयोग मिलोस् । त्यस्ता कार्यक्रमहरूमा उत्कृष्ट प्रगतिवादी रचनाहरू प्रस्तुत गरेर यस धाराको सम्मान, विश्वास, विचारधारा आदिको उदात्तीकरण गर्ने अभियान सञ्चालन गर्नु जरुरी छ तर प्रगतिवादीहरूले गर्ने कार्यक्रमहरूमा प्रायः उनै व्यक्ति, उनै श्रोता, एउटै पारा र उही साँघुरो घेराको उपस्थिति तथा झन्डै उनै उनै अभिव्यक्तिहरूको एकरसता पाइन्छ । यस्तो एकरसता र साँघुरो घेरा तोडेर प्रतिध्रुवसामु चुनौती उपस्थित गर्ने गरी कार्यक्रमहरूको आयोजना गर्नु पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ । 

५.१६  सामन्तवादी संस्कृतिको प्रतिध्रुवमा वैकल्पिक संस्कृतिको अभाव
      सांस्कृतिक रूपान्तरणका लागि कलात्मक भूमिका खेल्नु प्रगतिवादी साहित्यको मुख्य दायित्व हो । दसैँ, तिहार, तिज आदि अनेक संस्कृति सामन्तवादी संस्कृतिका रूप हुन् । प्रगतिवादी साहित्यले लेखनका तहमा लामो समयदेखि यस्ता संस्कृतिको विरोध गर्दै र प्रगतिशील सांस्कृतिक रूपान्तरणका कुरा उठाउँदै आएको पाइन्छ । तर विकल्प के त ? भन्ने प्रश्नको प्रयोगात्मक जवाफ दिन सकेको छैन । दसँै आदि पर्वहरु सामन्तवादी भएकाले मनाउनु हुँदैन भन्नेहरूले यस्ता उत्सव नमनाएका पनि होलान् तर आम जन समूह वा साधारण मानिस दसैँ, तिहार आदि पर्वहरूमा जसरी जम्मा हुन्छन्, जसरी बेग्लै पाराले रमाउँछन्, जसरी आत्मीयता साटासाट गर्छन्, जुन भावना बोकेर टाढा टाढाबाट घर फर्कन्छन् तथा बाआमा र आफन्तलाई भेट्छन्, जसरी आपसी आत्मीयतालाई पुनर्ताजगीकरण गर्छन्, त्यसको विकल्पमा प्रगतिवादी संस्कृतिको स्वरूप कस्तो र के हुन सक्छ ? कसरी हुन सक्छ ? सहिद दिवस वा मई दिवस वा कृषि दिवस वा गणतन्त्र दिवस वा अन्य त्यस्ता दिवसको नाम विकल्पका रूपमा लिन सकिए पनि ती दिनहरूलाई उत्सवमय पार्न के गर्न सकिन्छ ? मानिसहरूमा त्यस दिनप्रति आस्था, श्रद्धा, विश्वास र प्रेम जगाउने आधार के हुन सक्छन् ? भन्ने कुरा बुझाउन सकिएको स्थिति छैन, विश्वास दिलाउनुको कुरा त टाढै छ । यसले गर्दा सिद्धान्तमा प्रगतिवादी संस्कृतिको वकालत गरिए पनि व्यवहारमा सामन्तवादी संस्कृतिमै रङमङिएको समाज यथावत् छ । त्यसैले चिन्तनमा मात्र प्रगतिवादी नभई व्यवहार, प्रयोग र चरित्रमा पनि प्रगतिवादी बनाउन सहयोग पु¥याउने गरी वैकल्पिक संस्कृतिको सिर्जना गर्नु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती बनेको छ । 

५.१७  उत्तर आधुनिकतावादको बढ्दो र फैलँदो प्रभाव 
      उत्तर आधुनिकतावादको बढ्दो र फैलँदो प्रभाव पनि प्रगतिवादी नेपाली साहित्य लेखनका लागि एक चुनौती हो । नित्सेको ‘ईश्वरको मृत्युको घोषणा’ र शून्यवादी दर्शन, ल्योतारको ‘महाआख्यानको अन्त्य’ सम्बन्धी धारणा, ड्यानियल बेलको ‘वर्ग सङ्घर्षको अन्त्य’ को धारणा, फुकियामाको ‘इतिहासको अन्त्य’ को धारणा, मिसेल फुकोको ‘कर्ताको अन्त्य’ को धारणा, रोलाँ बार्थको ‘लेखकको मृत्यु’ को धारणा, डेरिडाको विनिर्माणवाद र साहित्यलाई कुनै पनि विधामा नभई केवल पाठमा सीमित गरी प्रस्तुत गर्ने चिन्तनहरू आदिको प्रभाव नेपाली साहित्यमा र त्यसमा पनि नेपालका युवा साहित्यकारहरूमा बढी नै पर्न थालेको छ । केन्द्र भञ्जन, बहुलता, स्थानिकता, लघुकेन्द्रको स्थापना, पाठको विखण्डन, भाषिक खेल, सामाजिक मूल्यप्रतिको अस्वीकृति, शास्त्रीयताको विनाश आदि मान्यतासहितको उत्तर आधुनिकतावादले प्रगतिवादी नेपाली साहित्यमा नयाँ चुनौती खडा गरेको छ । पछिल्लो अवधिमा देखा परेका केही साहित्यिक अभियानहरू (सिर्जनशील अराजकता, रङ्गवाद, आमूल नारीवाद (¥यारिडकल फेमिनिज्म), जातिवादी रचनाशीलता र उत्तरवर्ती सोचका अभियान र तीअन्तर्गतका रचनाहरू आदि उत्तर आधुनिकतावादी चिन्तनको प्रभावमा आएका देखिन्छन् । लेखक र पाठक दुवैलाई भ्रमित पार्ने गरी उत्तर आधुनिकतावादले प्रस्तुत गर्ने बहुलवादबाट प्रगतिवादोन्मुख लेखनमा लागेका अनेक साहित्यकार भ्रमित बनेका देखिन्छन् । यस्तो स्थितिमा सांस्कृतिक साम्राज्यवाद तथा सांस्कृतिक उपनिवेशवादलाई विस्तारित गर्नका लागि उत्तर आधुनिकतावादले खेलेको भूमिका के हो भन्ने कुरा चित्तबुझ्दो गरी बुझाएर यस वादको नकारात्मक प्रभावबाट मुक्त गर्न प्रगतिवादीहरूका तर्फबाट गरिनुपर्ने काम तथा चाल्नुपर्ने सङ्गठित र योेजनाबद्ध अभियान आवश्यक मात्रामा हुन र चल्न सकेका छैनन् । पछिल्लो अवधिमा प्रगतिवादी साहित्यकारहरूभित्र व्यक्तिवाद हावी हुनमा र सैद्धान्तिक विचलनहरू देखिनुमा उत्तर आधुनिकतावादी चिन्तनको पनि भूमिका देखिन्छ । यो प्रगतिवादी नेपाली साहित्य लेखनमा पछिल्लो अवधिमा देखा परेको ठुलो चुनौती हो भन्ने मलाई लाग्छ ।

५.१८  पुँजीवादी भूमण्डलीकरण र पुँँजीवादी अर्थतन्त्र 
      यतिखेर पुँजीवादी भूमण्डलीकरणको बोलबाला छ र यसले पुँजीवादी अर्थतन्त्र र पुँजीवादी बजारीकरणको विश्वव्यापी विस्तार गरेको छ । यसले सांस्कृतिक तथा आर्थिक साम्राज्यवादलाई नयाँ शैलीमा र नयाँ शक्तिका साथ विकसित गरिरहेको देखिन्छ । सूचनाको साम्राज्य, बहुराष्ट्रिय कम्पनीहरूमा एकाधिकार, धार्मिक उपनिवेशवादको सबलीकरण, साइबर संस्कृति, ग्लामर संस्कृति र फेसन संस्कृति लगायतका सांस्कृतिक उद्योगहरूको विस्तार पुँजीवादी भूमण्डलीकरणका मुख्य आधार बनेका देखिन्छन् । यो वाद विश्वभरि आर्थिक र सांस्कृतिक वर्चस्व कायम गर्न सफल पनि भइरहेको छ भने यसको प्रभाव कला साहित्यमा पनि चर्को रूपमा पर्दै गएको देखिन्छ । सञ्चार र यातायातका क्षेत्रमा भएको अद्भुत विकास र शैक्षिक क्षेत्रमा भएको पुँजीवादी विश्वव्यापीकरणका कारण प्रगतिवाद विरोधी भूमण्डलीकरणको प्रभाव ज्यादै नै शक्तिशाली बनेको अवस्था छ । नेपालका वामपन्थी राजनीतिक पार्टी र तिनका सहयोगी संयन्त्रहरूमा भूमण्डलीकरणको पुँजीवादी प्रभाव निरन्तर बढ्दै गएको स्थितिमा प्रगतिवादी नेपाली साहित्यले पुँजीवादी भूमण्डलीकरणले थपिदिएका नयाँ बाधाहरू चिर्दै अगाडि बढ्न थप चुनौतीको सामना गरिरहनुपर्ने देखिन्छ । 

५.१९  पुँजीवादको मूल्याङ्कन र वर्ग विश्लेषणमा रूढता र स्थिरता
      पुँजीवाद मरणासन्न अवस्थामा छ भन्ने माक्र्सवादी विश्लेषणका बारेमा स्पष्ट जानकारी नहुँदा र वर्तमानको भूमण्डलीकरण र उत्तर आधुनिकतावादको प्रभावका कारण प्रगतिवादी नेपाली साहित्य लेखनमा लागेका धेरै प्रतिभाहरु अलमलमा छन् । अमेरिका, युरोप र बेलायततिर गएर आएका तथा त्यहाँको जीवन पद्धति र व्यवस्थाका बारेमा सुनेका प्रतिभामा र सामान्य जनतामा पुँजीवाद मरणासन्न छ भन्ने कुरामा विश्वास उत्पन्न हुन सकेको छैन । त्यसैले उनीहरु फरक बुझाइमा छन् । उनीहरुका अनुसार “माक्र्सवादी वा कम्युनिस्टहरूका लागि पछिल्लो समयमा देखिने सबैभन्दा ठुलो चुनौती भनेको वर्तमान पुँजीवादको मूल्याङ्कन र आजको सन्दर्भमा गर्नुपर्ने वर्ग विश्लेषणमा रहेको कमजोरी हो । माक्र्सवादीहरुमा आजको सन्दर्भलाई सही रूपमा बुझ्ने र वस्तुवादी विश्लेषण गर्नेतिर पद्धतिभन्दा पुरानै ढाँचाले गरिँदै आएको वर्ग विश्लेषण गर्ने पद्धति देखिन्छ । यस पद्धतिमा रूढता र स्थिरता देखिन्छ । माक्र्स, एङ्गेल्स र लेनिनले वर्ग विश्लेषण गर्दाको संसार र आजको संसारमा रूप र सार दुवैतर्फ निकै ठुलो परिवर्तन भएको छ । माक्र्सले देखेका सर्वहारा र आजका सर्वहारामा धेरै फरक आइसकेको छ । माक्र्सको समयमा जर्मन, बेलायत र अमेरिकातिरको सर्वहारा बोल्न पाउन्नथ्यो, सङ्ठगन गर्न स्वतन्त्र थिएन, घरबारविहीन थियो, जीविकाका लागि आयस्रोत थिएन, फाटेका लत्ताकपडामा रहन्थ्यो, बस्ने कोठा बाख्रासुँगुरको खोर जस्तो थियो, बैंक ब्यालेन्स थिएन, पुँजीपतिहरू उनीहरूमाथि दासलाई जस्तो व्यवहार गर्थे, यस्ता अनेक तुच्छताका बिच कारुणिक, निरीह र दयनीय जीवन बाँच्न विवश थियो, ऊसँग बाँच्नका लागि धेरै विकल्पहरू थिएनन् तर आज ती देशको सर्वहारा वर्ग (मजदुर) धेरै बदलिएको छ । ऊसँग निजी कार छ, उसको कोठा नेपाल जस्ता गरिब मुलुकका मध्यम वर्गका मानिसहरूको भन्दा सफा छ । ऊ ट्वाइलेट सफा गर्न जाँदा कारमा जान्छ भने ट्वाइलेट सफा गर्नका लागि ऊसँग बेग्लै जोडी कपडा हुन्छन् । नेपालको पुँजीपतिले लगाएसरहका राम्रा कपडा लगाएर हिँड्छ, जहाँ काम गर्छ त्यहाँ पनि ऊ कामसँग सम्बन्ध राख्छ, अपमानित बन्दैन । अवस्था कतिसम्म बदलिएको छ भने नेपाल जस्ता गरिब मुलुकका मध्यम वर्गका धनी मानिसहरू, उच्च पदस्थ कर्मचारीहरू, चर्चित गायक, अभिनेता र कलाकारहरू तथा प्राध्यापक र साना साना व्यापारीहरूसमेत ती देशमा त्यहाँका सर्वहारा वर्गका मानिसले गर्ने काम गर्नका लागि आफ्नो देश छाडेर गइरहेका छन् । यस्तो किन भएको छ ? के छ त्यहाँको पुँजीवादमा ? गरिब राष्ट्रका पुँजीवालहरू पनि ती देशका सर्वहारा बन्न किन तयार छन् ? यो गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने विषय हो । त्यहाँको पुँजीवादले माक्र्सवादले उठाएका वर्गीय समस्या र वर्गीय विद्रोहका कारणहरूमाथि गम्भीर विमर्श गरेको छ र माक्र्सवादबाट हुन सक्ने आफूमाथिको खतरा बुझेको छ । त्यसैले आफ्नो पुँजीवादमा माक्र्सवादका राम्रा कुराहरूलाई समावेश गर्दै गएको छ । माक्र्सवादले उठाएको गाँस, वास र कपासको समस्याबाट जनतालाई मुक्त गर्ने प्रयास गरेको छ । पैसा नभएका नागरिकले निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ । सन्तानबाट अलग्गिएको वृद्ध पुस्तालाई वृद्धाश्रमको व्यवस्था गरेको छ । बेरोजगारका लागि बेराजगार भत्ताको व्यवस्था गरेको छ । आफ्नो पुँजीवादी मूल धर्मलाई सुरक्षित राख्दै उसले सर्वहारा भनिएका वर्गलाई नामका मात्र सर्वहारा हुने गरी आर्थिक व्यवस्थामा समावेश गराउँदै लगेको छ । सामन्तवादी भेदभावका घिन लाग्दा कुराहरूबाट उनीहरूलाई मुक्त हुन सक्ने वातावरण बनाउँदै गएको छ । क्षमता र योग्यता भएका सर्वहाराहरूलाई विलासी बन्न सक्ने किसिमका अवसरहरू पनि प्रदान गरेको छ ताकि उनीहरू सङ्गठित हुनेतिर भन्दा आफूलाई विलासी र व्यक्तिवादी बनाउनेतिर घोत्लियून् र वर्गीय सङ्घर्षतिर लाग्न नसकून् । उसले मानिसहरूमा व्यक्तिवादका कहिल्यै समाप्त नहुने किसिमका रुचिहरूको निर्माणमा जोड दिँदै यस्तो गरिरहेको छ । यसका लागि सञ्चारको व्यापक सञ्जाल बनाएको छ, साइबर संस्कृतिमा कब्जा जमाएको छ । मानिसहरूमा पुँजीवादी आदतहरूको स्थायीकरण गरिरहेको छ । आज ती देशका सर्वहारा र किसानहरू नेपाल जस्ता गरिब देशको गाउँका सामन्तभन्दा धनी र सुखी बन्दै गएका छन् । उल्टै आज गरिब मुलुकका सामन्तहरू ती देशमा जान र त्यहाँका सर्वहारा वा नोकर बन्न लालायित छन् । नेपालकै कुरा गर्ने हो भने पनि आजको नेपालका सर्वहारा वर्ग माक्र्स कालीन सर्वहारा वर्गभन्दा धेरै विकसित, धेरै सचेत, धेरै पठित र धेरै भिन्न छ । आज नेपालको सर्वहारा वर्ग सङ्गठन गर्न नपाउने स्थितिमा छैन, मालिकको अगाडि बोल्नै नसक्ने अवस्थामा छैन, आफ्ना विचारलाई स्वतन्त्र रूपमा प्रचार गर्न नपाउने अवस्थामा छैन, आफ्नो अवस्था र अधिकारका बारेमा अरूलाई बताउने, प्रशिक्षण दिने र सहमत बनाउने कुरामा ऊ स्वतन्त्र छ । सक्नु र नसक्नु उसको क्षमतामा भर पर्ने कुरा हो तर आज नेपालको सर्वहारा वर्ग वा मजदुर वर्ग मालिकसँग डराउँदैन, बरु केही हदसम्म मालिक वर्ग नै ऊसँग डराउँछ । यी परिवर्तित अवस्था हुन्; बदलिएका कुरा हुन् । आफूलाई माक्र्सवादी विचारक भन्नेहरूका लागि यी यथार्थहरू सामान्य नहुनुपर्ने हो । यो नयाँ कोणबाट गम्भीर बनेर विचार गर्ने विषय हो । भोलिका दिनहरूमा गरिब मुलुकहरूमा पनि पुँजीवादी विकास हुँदै जाने छ र यस क्रममा पुँजीवादले समाजवादका थप गुणहरू आफूमा समावेश गर्दै आफ्नो मूल स्वरूपलाई झन् झन् सबल पार्दै जाने रणनीति लिने छ भने यी मुलुकका सर्वहारा वर्गको स्थिति पनि विकसित पुँजीवादी मुलुकका सर्वहाराको जस्तै बनाउने बाटोमा हिँड्ने छ । यस्तो स्थितिमा माक्र्स कालीन सर्वहारा वर्गीय दृष्टिकोणलाई त्यही कालमा मात्र राखेर समाजवाद र साम्यवादसम्मको बाटो पहिल्याउनु कसरी सम्भव छ ? इतिहासबाट सिक्ने हो; इतिहासले वर्तमानको समस्या समाधान गर्न सक्दैन । वर्तमानको समस्याको समाधान इतिहासले गर्ला भन्ने सोच्नु अवैज्ञानिक र अवस्तुवादी चिन्तन हो । वर्तमानको समस्याको समाधान वर्तमानले नै खोज्ने हो । यसका लागि बदलिँदो संसार, परिवर्तित पुँजीवाद र त्यसका नवीनतम प्रवृत्तिहरूको गम्भीर अध्ययन गरी माक्र्सवादको वर्तमान स्वरूप खोज्नुको विकल्प छैन । माक्र्सवादले सङ्केत गरेका गतिशीलताको मर्म नबुझेर त्यसलाई माक्र्स कालीन रूढता र स्थिरतामा राखी हेरेर मात्र आजका समस्याको समाधान खोज्दा झन् झन् कमजोर भइने र झन् झन् पछि परिने निश्चित छ । यस भयावह समस्यातिर हाम्रो नेतृत्वको ध्यान जान सकेको छैन । नेतृत्व तहमा रहेका माक्र्सवादी विचारकहरू आज पनि उही रूढताको तहमा र माक्र्स कालीन माक्र्सवादी चिन्तनका तहमा वर्तमानको पुँजीवादलाई हेर्ने स्थिरतामुखी चिन्तन गरिरहेका देखिन्छन् । यही स्थितिमा माक्र्सवाद र समाजवादले सिद्धान्त मात्र प्राप्त गर्ने छ; प्रयोगका तहमा समाजवादी विकास प्राप्त गर्नु सम्भव नै छैन । त्यसैले प्रगतिवादी चिन्तक र सर्जक सबैका सामु आजको पुँजीवादको मूल्याङ्कन र आजको वर्ग विश्लेषणमा रूढता र स्थिरताबाट अगाडि बढेर माक्र्सवादलाई आजको सन्दर्भमा विकसित गरेर हेर्ने र हिँडाउने चुनौती सबैभन्दा ठुलो चुनौती हो ।”

      उपर्युक्त किसिमको बुझाइमा सत्य कति छ ? भ्रम कति छ ? यस्तो सोच उत्पन्न हुनुका कारण के के हुन् ? यो चिन्तन भ्रम नै हो भने भ्रमलाई चिर्न के गनुपर्छ ? कसरी चिर्न सकिन्छ ? आदि कुराको जवाफ आवश्यक छ किनभने जनता सङ्घर्ष र बलिदानका लागि तयार हुने मुख्य आधार भनेको ‘लक्ष्यित कुरा सही हो’ भन्ने विश्वास र त्यसप्रतिको श्रद्धा नै हो । जबसम्म उक्त धारणाको चित्तबुझ्दो उत्तर आम जनताले प्राप्त गर्दैनन् तबसम्म आजको पुँजीवादलाई पराजित गर्न कठिन हुन्छ । त्यसैले यो पक्ष पनि प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती देखिन्छ । 

५.२०  अन्य
उपर्युक्तबाहेक अत्याग्रह र पूर्वाग्रहका कारण देखिने समस्यागत चुनौती पनि रहेका छन् । प्रतिध्रुवीय साहित्यका ग्राह्य पक्षहरूबाट शिक्षा लिने गुणग्राही सामथ्र्यको अभाव पनि छँदै छ । प्राविधिक लेखनले निम्त्याएको नीरसता पनि छँदै छ । कथा पढ्न सुरु गरेपछि सुरुमै त्यसको अन्त्य थाहा हुने, शोषक पात्र छ जसलाई शोषित वर्गको पात्रले समाप्त गर्ने छ भन्ने किसिमको अनुमान सुरुमै हुने गरी गरिने प्राविधिक लेखन अझै पनि चलिरहेकै छ । यसले कौतूहलको सौन्दर्य समाप्त पार्छ, भावकमा अरुचि पैदा गर्छ र रचनामा हुने द्वन्द्वलाई कमजोर पार्छ भने अभिव्यक्तिलाई रुखो र नीरस बनाउँछ । यी समस्याबाट जोगिनु पनि आजको प्रगतिवादी नेपाली साहित्य लेखनको चुनौती हो । 

६. निष्कर्ष 
      आफूलाई प्रगतिशील÷प्रगतिवादी भन्न रुचाउने स्रष्टाहरू हजारौँ भइसके र उनीहरूका रचनाहरूको सङ्ख्या लाखौँमा पुगिसक्यो तर यति धेरै रचनाहरू हुँदा पनि यी रचनाहरूको प्रभावस्वरूप किन लाखौँ मानिस सांस्कृतिक रूपले परिवर्तन हुन सकेनन् ? यो गम्भीर प्रश्न हो । प्रगतिवादी नेपाली साहित्य स्तरीय, शक्तिशाली र सम्प्रेषणीय हुन नसकेर यस्तो भएको हो कि ? पढ्ने सामग्रीको छनोट र पठनका बिच समन्वय हुन नसकेर यस्तो भएको हो कि ? प्रगतिवादी साहित्यको प्रचारप्रसार राम्ररी हुन नसकेर हो कि ? स्कुलिङको अभाव भएर हो कि ? वैचारिक स्पष्टताको अभावमा रचनामा विरोधाभासहरू उत्पन्न भएर हो कि ? सुन्ने संस्कृति कम र सुनाउने संस्कृति बढी भएर हो कि ? विमर्श गर्ने प्रवृत्ति कम र हतारमा टिप्पणी गर्ने प्रवृत्ति बढी भएर हो कि ? तर्क बढी तर तथ्य कम भएर हो कि ? पार्टी विभाजन र पार्टीभित्र पनि गुट विभाजन अनि गुटअन्तर्गत पनि व्यक्तिवाद हावी भएर हो कि ? उत्पादन र उपभोगका साधनमाथि अधिकार नभएर हो कि ? दृढ सङ्कल्प र दीर्घ साधना नपुगेर हो कि ? यस्ता के के कारण छन् जसले गर्दा प्रगतिवादी नेपाली साहित्यले जनता र व्यापक पाठक समूहमा गम्भीर प्रभाव पार्न सकिरहेको छैन ? उनीहरूको चेतनालाई हल्लाउन सकेको छैन ? उनीहरूमा सांस्कृतिक रूपान्तरणका लागि उत्प्रेरणा जगाउन सकेको छैन ? प्रगतिवादी नेपाली साहित्यका लागि यी र यस्ता अन्य अनेक गम्भीर प्रश्नहरू छन् र यिनै प्रश्नहरूभित्र यसका चुनौती अन्तर्निहित देखिन्छन् । यी प्रश्नहरूका उत्तर सैद्धान्तिक रूपमा पहिल्याई, प्रायोगिक÷व्यावहारिक रूपमा यिनको सही उत्तर खोजेर, प्राप्त भएको उत्तरले गरेको दिशा निर्देशअनुकूल सङ्गठित रूपमा प्रगतिवादी रचनाधर्म सम्पन्न गर्न नसक्दासम्म यी चुनौतीहरू बाँकी नै रहने निश्चित छ । 

      आजको स्थितिमा प्रगतिवादी नेपाली साहित्य लेखनमा साहित्यका सैद्धान्तिक सामग्रीहरूको उपलब्धता सन्तोषजनक नै छ । यस्ता सामग्री दार्शनिक किताब, कार्यपत्रहरू, अनुसन्धानात्मक कृतिहरू, सिर्जनात्मक रचनाहरू तथा इन्टरनेट आदिबाट प्राप्त गर्न सकिन्छन् । परिश्रम गर्न र सामग्री खोज्न अल्छी नमान्नेहरूले यस्ता सामग्रीको अध्ययन गरी आवश्यक ज्ञान हासिल गर्न पनि सक्छन् र प्रगतिवादी रचना–धर्म र रचना–प्रक्रियाका बारेमा जानकार बन्न सक्छन् । त्यसैले प्रगतिवादी साहित्य लेखन के हो भन्ने कुरा प्रगतिवादी नेपाली साहित्य लेखनको मुख्य चुनौती होइन । मुख्य चुनौती हो– सिद्धान्तकै हाराहारीमा पुग्ने गरी व्यावहारिक तथा प्रयोगात्मक रूपमा सिर्जना र समालोचना गर्नु । यस आवश्यकताको पूर्ति गर्न चाहिने सङ्कल्प, प्रतिबद्धता, अध्ययन, श्रम, सिप, साधना र समर्पणको अभाव आजको प्रगतिवादी नेपाली साहित्य लेखनको मुख्य चुनौती हो । माथि उल्लेख गरिएका समस्या र चुनौतीभित्रै समाधानका सङ्केतकहरू छन् । ती सङ्केतकहरूलाई बुझेर चुनौतीको सामना गर्न सकिन्छ ।

थप स्पष्टीकरण 
१)   प्रस्तुत ‘बोध तथा अवधारणा पत्र’ मा ‘कुनै पनि सिद्धान्तलाई प्रयोगद्वारा सिद्ध गरिनुपर्छ’ भन्ने कुरामा बारम्बार जोड दिइएको छ तर चुनौतीहरूका कुरा गर्दा कुनै साक्ष्य, उद्धरण र उदाहरण दिई कथनको पुष्टि गरिएको छैन । यो गर्नै नसकिने काम अवश्य होइन र माथि भनिएका कुरा पुष्टि गर्नका लागि नेपाली साहित्य लेखनमा अनेक साक्ष्यहरू पनि छन् नै तर सारभूत कुरा मात्र प्रस्तुत गर्ने उद्देश्यले लेखिएको बोध तथा अवधारणा पत्र भएकाले यसमा त्यो बाटो समातिएन । 

२)   यस पत्रमा केही कुराको पुनरावृत्ति अलि बढी नै भएको छ । खास गरी प्रगतिवादी चिन्तकहरुमा पाइने ‘सिद्धान्त पक्षमा आवश्यकताभन्दा बढी जोड दिने र व्यवहार र प्रयोगमा आवश्यक ध्यान नदिने’ प्रवृत्तिलाई लिएर गरिएका टिप्पणीहरु पुनरावृत्त भएका छन् । उपशीर्षकका रुपमा रहेका बुँदाहरूका बिचको अन्तर्सम्बन्धका कारण यस्तो भएको हो; थाहा नपाएर होइन । 

३)   यो ‘बोध तथा अवधारणा पत्र’ पढिसक्दा पाठकलाई लाग्न सक्छ— बाफ रे ! प्रगतिवादी साहित्य लेखनमा कति धेरै कमजोरी र चुनौती रहेछन् ! के प्रगतिवादी नेपाली साहित्य यति धेरै दुर्बल छ ? तर यहाँ प्रस्तुत गरिएका कुरा विषयले माग गरेका कुरा हुन् । समस्या वा चुनौतीका पक्षहरुलाई छाडेर जब हामी प्रगतिवादी नेपाली साहित्य लेखनका सबलता र उपलब्धिका कुरा गर्छौं तब गौरव गर्न सकिने परम्परा र छाती फुकाउन सकिने सिर्जनाहरू पनि प्र्रशस्त पाउँछौँ । नेपाली समाजलाई गतिशील बनाउन र प्रगतिशील तुल्याउन नेपाली साहित्यका माध्यमबाट कुनै चिन्तन, स्रष्टा र सिर्जनाले सबैभन्दा बढी भूमिका खेलेका छन् भने प्रगतिवादी साहित्यकार, प्रगतिवादी चिन्तन र प्रगतिवादी सिर्जनाले नै खेलेका छन् । समाज परिवर्तनका लागि जब जब क्रान्तिकारी सिर्जनाको खाँचो प¥यो, प्रगतिवादी सिर्जना अगाडि सारिएको पाइन्छ । क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि जब जब शक्तिशाली आवाज चाहियो, प्रगतिवादी सिर्जनाको भूमिका त्यसमा नेतृत्वदायी रहेको पाइन्छ । नेपाली बुद्धिजीवी तथा नेपालका साधारण जनतामा अन्याय–अत्याचारका विरुद्ध, वर्गीय उत्पीडनका विरुद्ध र सीमान्तीकृत वर्गमाथि भएका शोषण दमनका विरुद्ध सबैभन्दा बढी जन जागरण बढाउने र परिवर्तनका निम्ति सबैभन्दा बढी कलात्मक भूमिका खेल्ने काम कुनै साहित्यले गरेको छ भने प्रगतिवादी साहित्यले नै गरेको छ । इतिहास यसको साक्षी छ । करिब साठी बैसट्ठी वर्षको छोटो अवधिमा प्रगतिवादी नेपाली साहित्य लेखनमा भएको विकास, संवृद्धि, कला र विचारको समन्वयात्मक सिर्जना र मुक्तिकामी चेतनाको सम्प्रेषण साँच्चै गरिमामय छ; गर्व गर्नयोग्य छ । यति हुँदाहुँदै पनि यस ‘बोध तथा अवधारणा पत्र’ मा उल्लेखित नकारात्मक प्रवृत्ति र चुनौतीहरूलाई घटाउन सकिएमा सुनमा सुगन्ध हुने छ । 

     अन्त्यमा, मलाई गरिमामय इतिहास बोकेको र नेपालको सबैभन्दा ठुलो साहित्यक संस्था प्रलेसले यस्तो गम्भीर विषयमा आफ्नो बोध र अवधारणा प्रस्तुत गर्नका लागि योग्य ठानी अवसर दिएकोमा यस संस्था र यसका सम्पूर्ण पदाधिकारीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । 

(‘प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा मिति २०७२÷०६÷०५ गते आयोजना गरिएको
विचार गोष्ठीमा प्रस्तुत ‘बोध तथा अवधारणा पत्र’)

=======================================================
=======================================================

लेखकहरुले वर्तमान लेखनबारे छलफल गरे

प्रगतिशील लेखक संघको विचार गोष्ठी

Pralesa edited
काठमाण्डौं असोज ६ । प्रगतिशील लेखक संघको ६३ औँ स्थापना दिवसका अवसरमा उक्त संघले हिजो “प्रगतिशील साहित्य लेखनका चुनौती“ विषयमा एक विचार गोष्ठीको आयोजना गर्यो । कार्यपत्र पेश गर्दै डा. रामप्रसाद ज्ञवालीले आजको प्रगतिशील लेखनको क्षेत्रमा कतिपय स्थानमा देखिने कमजोर अध्ययन प्रवृत्ति, लक्षित जनतासंग लेखकको दूरी, लेखकहरुमा ज्ञानान्तरणको अभाव, अपूर्णता, नकारात्मकता तथा समूहगत संकीर्णता आदि कमजोरीहरु हटाउनु पर्ने र आत्मसमीक्षामा जोड दिनुपर्ने कुरा व्यक्त गर्नु भयो । समालोचक हेमनाथ पौड्याल र डा. जगदीशचन्द्र भन्डारीले उहाँको कार्य पत्रमाथि टप्पणी गर्नु भएको थियो । अर्का टिप्पणीकार साहित्यकार आहुतिले अव प्रगतिशील क्षेत्रले इतिहासमा सामाजिक राजनीतिक विकासको क्रममा वाहुन वा कुनै एक जातिले गरेका वौद्धिक योगदानको मात्र उल्लेख गर्ने पुरानो ढर्रा त्याग्नु पर्ने र नेपालका अरु भाषासाहित्यको पनि अध्ययन र उल्लेख गर्ने प्रणाली बसाल्न ढीलो भएको बताउँदै नेपालमा जातीय उत्पीडन वर्गीय उत्पीडनकै एक रुप भएको यथार्थलाई स्वीकार्न हिच्किचाहट हुनु नहुने बताउनु भयो ।
Pralesa-2
कार्यक्रममा चितवनका कवि पोषराज पौडेललाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कार प्रदान गरियो । रु. १० हजार राशीको सो पुरस्कार बरिष्ठ साहित्यकार आनन्ददेव भट्टले एक कोष स्थापना गरी खडा गर्नु भएको हो । कवि पौडेलको जीवनी र कृतित्वबारे साहित्यकार मोदनाथ मरहट्ठाले प्रकाश पार्नु भएको सो कार्यक्रमा वरिष्ठ साहित्यकारहरु आनन्ददेव भट्ट, निनु चापागाई, प्रलेसका अध्यक्ष अमर गिरी, उपाध्यक्ष मात्रिका पोखरेलले पनि बोल्नु भएको थियो । ०००
http://emulyankan.com बाट साभार 

================================================================
================================================================


















































======================================================
=======================================================
प्रगतिशील लेखनबारे विचार–गोष्ठी हुने

पोषराज पौडेललाई  प्रतिभा पुरस्कार

असोज २, काठमाडौं । कवि पोषराज पौडेललाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । प्रगतिशील लेखक संघको शुक्रबार बसेको सचिवालयको बैठकले पुरस्कार चयन समितिको सिफारिसका आधारमा कवि पौडेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।PoshRaj Paudel
हरेक वर्ष प्रगतिशील लेखक संघको स्थापना दिवसको अवसरमा प्रगतिशील साहित्य लेखनका क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिन्छ । असोज ५ गते काठमाडौंमा हुने ६३ औँ प्रलेस स्थापना दिवस समारोहमा पौडेललाई पुरस्कारबाट सम्मान गरिने संघका महासचिव मित्रलाल पंज्ञानीले मूल्याङ्कन अनलाइनलाई बताए ।
चितवन निवासी पौडेलका चार खण्डकाव्य– ‘माडी यात्रा’ २०३९), ‘आमा : स्मृतिका छालमा’ (२०४९), ‘पागल प्रलाप’ (२०५५) र ‘आदर्श कोकिल’ (२०५९), एक महाकाव्य– ‘सहिद गाथा’ (२०५७) र एक कविता संग्रह ‘अग्निगर्भका आवाजहरू (२०७१) प्रकाशित छन् । पौडेलले म्याक्सिम गोर्कीको जीवनीलाई पनि कवितात्मक शैलीमा लेखेका छन् ।
२०१८ सालदेखि नै साहित्य लेखन सुरु गरेका कवि पौडेल तत्कालीन अखिल नेपाल जनसांस्कृतिक संघको केन्द्रीय समिति र जिल्ला शाखा चितवनको अध्यक्ष भएर लामो समय सांस्कृतिक संगठनमा पनि सक्रिय रहे । उनी गण्डकी साहित्य संगमले दुई–दुई वर्षमा प्रदान गर्ने गण्डकी वाङ्मय पुरस्कार (२०७२) बाट सम्मानित भइसकेका छन् ।
दश हजार रुपैँया राशि र सम्मानपत्रसहितको प्रलेस प्रतिभा पुरस्कारबाट यसअघि पूर्णविराम, चूडामणि रेग्मी, सत्य पहाडी, शार्दूल भट्टराई, प्रभात सापकोटा सम्मानित भइसकेका छन् । प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा साहित्यकार आनन्ददेव भट्टले आफूले प्राप्त गरेको राष्ट्रिय प्रतिभा पुरस्कारको राशिबाट प्रलेस प्रतिभा पुरस्कार स्थापना गरेका थिए ।Pralesa Logo
यसैबीच प्रगतिशील लेखक संघले आफ्नो स्थापना दिवसकै अवसरमा असोज पाँच गते नै राजधानीमा ‘प्रगतिशील साहित्य लेखनका चुनौती’ विषयक विचार गोष्ठी गर्ने भएको छ । गोष्ठीमा समालोचक डा. रामप्रसाद ज्ञवालीको कार्यपत्रमाथि डा. जगदीशचन्द्र भण्डारी, आहुति र डा. हेमनाथ पौडेलले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा समालोचक निनु चापागाईं पनि वक्ता रहेको संघका अध्यक्ष अमर गिरीले बताए ।
http://emulyankan.com बाट  साभार  


No comments:

Post a Comment