Saturday, December 21, 2024

प्रलेसको छयहत्तरौँ परिसंवाद सम्पन्न

 



काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “नेपालको प्रगतिवादी आन्दोलनमा सरोज ओलीको योगदान” विषयमा छयहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय बागबजारमा २०८१ पुस ५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विषयवस्तु प्रस्तोता प्राज्ञ नन्दु उप्रेतीले सरोज ओलीको प्रलेसमा आबद्धताले उहाँको लेखन क्षेत्रमा वैचारिक निखारता र जिम्मेवारीबोध अझ गहन हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सरोज ओलीका लेखनले श्रमसँग जोडिएका मानिसको आवाज बोल्दथ्यो ।’

कार्यक्रममा धारणा राख्नै प्राज्ञ उप्रेतीले ओलीका कथालाई राम्रा कथाको रूपमा बुझ्न सकिने भन्दै उहाँका कथा जनताका जीवनसँग जोडिएको र परिवर्तन तथा जनताका जागरणका पक्षमा लेखिएको दावी गर्नुभयो ।

सरोज ओलीका अत्यधिक रचनाहरू प्रगतिशील दृष्टिकोणमा सीमित भए पनि केही रचना प्रगतिवादी दृष्टिकोणको उचाइसम्म पनि पुग्न सकेको प्राज्ञ उप्रेतीको धारणा थियो ।

उहाँको भनाइ थियो– ‘हामी सबैका रचना प्रगतिशील दृष्टिकोणसम्म मात्र सीमित छ कि प्रगतिवादको उचाइसम्म पुगेको छ भनेर विश्लेषण गर्नुपर्दछ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रलेसका सल्लाहकार मातृका पोखरेलले सरोज ओलीको साहित्यिक योगदानका सन्दर्भमा कथा, कविता तथा समालोचनको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘सरोज ओली वैचारिक रूपमा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले प्रलेसलाई ठुलो क्षति भएको छ ।’

प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा अघि बढेको परिसंवादको सञ्चालन सङ्घका उपाध्यक्ष तथा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपिरमण उपाध्याय तथा डा. हरिप्रसाद सिलवाललगायत हुनुहुन्थ्यो ।

000

www.yugdarshan.com बाट साभार 




Friday, November 22, 2024

‘दार्शनिक पद्धति अनुसार पुस्तक लेखन हुनुपर्दछ’ : गोपिरमण



काठमाडौँ । ‘द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिलाई अवलम्बन नगरीकन प्रगतिशील लेखन अगाडि बढ्न नसक्ने’ गोपिरमण उपाध्यायले बताए ।

प्रगतिशील लेखक सङ्घको आयोजनामा समाजवादी ध्येयका निम्ति प्रगतिशील पुस्तक विषयक ७५औँ परिसंवाद कार्यक्रमको सन्दर्भमा उनले सो धारणा राखेका हुन् ।

२०८१ मङ्सिर ६ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा दार्शनिक उपाध्यायले ‘प्रगतिशील लेखनको लागि दर्शनशास्त्र महत्त्वपूर्ण विषय भएको तथा समाज विकासको क्रममा दर्शनशास्त्रको विकास हुने बताए– ‘दर्शनको पद्धति हुन्छ, त्यसको अभावमा राम्रो लेखन सम्भव छैन ।’
कार्यक्रममा आफ्नो धारणा राख्नै दर्शनशास्त्री उपाध्यायले ‘कुनै पनि विचार बन्नको लागि आधार चाहिन्छ’ उनले भने, ‘सङ्घर्ष, आन्दोलन, उत्पादनको लागि सङ्घर्ष सबै भौतिक परिस्थिति हुन र त्यहीबाट चेतनाको निर्माण हुन्छ ।’
दर्शनशास्त्र दिक र काल अनुसार अगाडि बढ्ने बताउँदै दार्शनिक उपाध्यायले भने, ‘दर्शन बन्नको लागि तत्वमिमांसा, ज्ञानमिमांसा र आचारमिमांसा हुनै पर्दछ ।’

मार्क्सवादी दर्शन अनुसार लेखन प्रक्रिया अगाडि बढ्दा श्रमको महत्वप्रति प्रस्ट हुनुपर्ने बताउँदै लेखक उपाध्यायले भने, ‘मानिस कसरी बाच्छ ? तथा मानिस, मानिसद्वारा कसरी ठगिन्छ ? यी दुई प्रश्नहरूका आधारमा मार्क्सवादी लेखन प्रक्रिया अगाडि बढ्छ ।’

परिसंवाद कार्यक्रममा पूरक टिप्पणी गर्दै दार्शनिक श्याम श्रेष्ठले, ‘किताबहरू आफैमा संस्कृति भएको’ बताए – ‘मानिस र उसको दृष्टिकोण परिवर्तन गर्नमा पुस्तकको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसका साथै लेखन प्रक्रियाको अवधिमा मानिस आफै परिवर्तन हुँदै गइरहेको हुन्छ ।’
समाजवादी ध्येय भनेको समाजलाई केन्द्र बनाएर क्रियाशील हुनु हो भन्दै लेखक श्रेष्ठले भने, ‘पुस्तकलाई समाजवादी ध्येयमा लग्नको लागि पुस्तकका राम्रा पक्ष अवलम्बन गर्ने र नराम्रा कुरा फ्याँक्नुपर्दछ’ । उनले अगाडि भने, ‘ द्वन्द्ववादी आँखाबाट ऋग्वेदलाई अध्ययन गर्ने हो भने त्यहाँ पनि धेरै सकारात्मक कुराहरू रहेका छन् ।’

प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सञ्चालन सङ्घकी उपाध्यक्ष नमुना शर्माले गरेकी थिइन ।

कार्यक्रमको विषयवस्तुको बारेका परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पारेका थिए ।

कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा मातृका पोखरेल, समीर सिंह, बालमुकुन्द कार्की, वैरागी जेठा, नानीमैया अधिकारी, शेखर अर्याल, पार्वती राउतलगायत थिए ।

000

www.yugdarshan.com बाट साभार 





Friday, November 1, 2024

वर्तमान सरकारको नेतृत्व दलाल पुँजीवादी राज्यसत्ताले गरेको छ : ज्ञवाली

 


काठमाडौँ । ‘नेपाल सरकारको नेतृत्व दलाल पुँजीवादी राज्यसत्ताले गरेको’ साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा नेपाली समाजको चरित्र र संस्कृति विषयक परिसंवाद कार्यक्रममा वहाँले सो धारणा राख्नुभएको हो । 

सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा फागुन ५ गते प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञवालीले पुँजीवादको चरित्र, ‘राष्ट्रिय अर्थतन्त्र, ज्यालादारी अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र भएको’ बताउँदै वहाँले, ‘नेपालको अर्थतन्त्रमा यी कुनै पनि चरित्र नभएकाले अहिलेको समाज, अर्ध सामन्ती अवस्थामा नै रहेको’ बताउनुभयो । ‘प्रशस्त नाफा, प्रशस्त उत्पादन तथा प्रशस्त वितरण पनि पुँजीवादी अर्थतन्त्रको चरित्र हुने’ बताउँदै वहाँले, ‘नेपालको अर्थतन्त्र उत्पादनमूलक छैन, ओरालो लागेको अर्थतन्त्रका कारण  विदेशबाट २ खरब ऋण ल्याएर कर्मचारीलाई तलब खुवाउने स्थिति सिर्जना भएको र यस्तो प्रणालीलाई पुँजीवादी अर्थ प्रणाली भन्न नमिल्ने’ बताउनुभयो  । 

परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्दै साहित्यकार ज्ञवालीले ‘देशको अर्थतन्त्रमा वित्तीय, सूदखोर तथा दलाल पुँजीको हालीमुहाली बढ्दै जाँदा राष्ट्रिय पुँजीपति, उच्च मध्यम वर्ग तथा पुँजीपति वर्ग माथि उठ्नै नसकिरहेको’ वहाँको तर्क थियो । चितवन लगायतका ठाउँहरूमा किसानहरूले तरकारी सडकमा फाल्नुपर्ने बाध्यताको कारण पनि दलाल पुँजीवादी राज्यसत्ता रहेको साहित्यकार ज्ञवालीको धारणा थियो । वहाँको प्रश्न थियो, ‘जुन देशले ५४ अरबको खाद्यान्न आयात गर्छ, जुन देशमा तरकारी, सागसब्जी, मासु, फलफूल लगायत सबै कुरा बाहिरबाट आयात गर्दछ, जुन देशमा २० खरब व्यापार घाटा तथा १८ खरब विदेशी ऋण छ त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’

‘पुँजीले त रोजगारको सिर्जना गर्दछ तर जुन देशले ८० लाख नेपालीलाई बिदेसिन बाध्य बनाउँछ त्यस्तो देशलाई पुँजीवादी देश भन्न मिल्छ ?’ साहित्यकार ज्ञवालीको प्रश्न थियो । ‘कृषिको न त आधुनिकीकरण भयो, न त यान्त्रिकीकरण भयो, न त बजारीकरण नै भयो । दलाल पुँजीवाद राज्यसत्ताले पुँजीको केन्द्रीकरण मात्र गर्‍यो ।’ यस प्रकारको अर्थतन्त्र भएको देशलाई कुनै पनि अवस्थामा पुँजीवादी मुलुक भन्न नमिल्ने वहाँको तर्क थियो । ‘हिन्दु अति वादले सामन्तवादलाई जीवन्त राख्न सहयोग पुर्याईरहेको’ बताउँदै वहाँले ‘दलाल पुँजीवादी उत्पादन सम्बन्धलाई अन्त गर्नु सांस्कृतिक चुनौती रहेको’ बताउनुभयो । 

सङ्घकी उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको सो परिसंवाद कार्यक्रमको विषयवस्तुका बारेमा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा डा.कौशिला रिसाल, तेजविलास अधिकारी, गोपिरमण उपाध्याय , मातृका पोखरेल, गोपाल अस्क, धर्मेश पोखरेल, पारस ढकाल, रामचन्द्र श्रेष्ठ, समीर सिंहले पूरक टिप्पणी गर्नुभएको थियो । 

www.adharsheela.com बाट

Friday, October 25, 2024

साहित्यकार प्रा. रामहरि पौडेलको स्मृतिमामा श्रद्धाञ्जलिसभाको आयोजना

यही २०८१ साल कार्तिक ९ गते प्रगतिशील लेखक सङ्घले पूर्व का.वा. अध्यक्ष तथा साहित्यकार प्रा. रामहरि पौडेलको स्मृतिमा एक श्रद्धाञ्जलिसभाको आयोजना गऱ्यो । सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त श्रद्धाञ्जलिसभामा प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्षद्वय मातृका पोखरेल र प्रा.डा. जीवेन्द्रदेव गिरीले पौडेलको व्यक्तित्व र कृतित्वका विभिन्न आयामका बारेमा चर्चा गर्नु भयो । उहाँहरूले साहित्यकार पौडेलको प्रगतिशील साहित्यिक आन्दोलनको अभियान र सिर्जना दुवै क्षेत्रमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीले साहित्यकार पौडेलको सम्मानमा प्रलेसको आगामी अङ्क "रामहरी पौडेल विशेषाङ्क" का रूपमा प्रकाशित गर्ने जानकारी गराउनु भयो । कार्यक्रमको संचालन सङ्घका उपाध्यक्ष नमुना शर्माले गर्नुभएको थियो ।

000























Tuesday, September 24, 2024

प्रगतिशील लेखक सङ्घको ७३ औं स्थापना दिवसमा चार स्रष्टा सम्मानित

 


असोज ५, २०८१ काठमाडौँ ।

प्रगतिशील लेखक सङ्घको ७३ औँ स्थापना दिवसको अवसरमा चार जना स्रष्टा सम्मानित भएका छन् ।

संघको ७३ औं स्थापना दिवसको अवसरमा पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट झापाका साहित्यकार पुण्य खरेल, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार झमक घिमिरे, प्रलेस युवा पुरस्कार–२०८० बाट साहित्यकार समष्टि बूढा र प्रलेस बाल साहित्य पुरस्कारबाट साहित्यकार नानीमैंया अधिकारीलाई प्रदान गरिएको संघले जनाएको छ । चार स्रष्टा मध्ये साहित्यकार झमक घिमिरे अस्वस्थ्यका कारण उपस्थित हुन सकिनन ।

पद्मकन्या क्याम्पसको डेनिस हलमा दिउँसो भएको ७३ औँ स्थापना दिवसको उदघाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यानर पढेर गरेका थिए । उदघाटन पछिको मन्त्व्यलाई सम्वोधन गर्दै नेता खनालले आफ्नो उद्देश्य कम्युनिष्ट एकताको पक्षमा रहेकोले प्रगतिशिल लेखक संघलाई वामपन्थीहरुको साझा संस्थाको रुपमा कायम राखिरहन उनले सुझाब दिए । मुलुकले एमसिसि लगाएत राष्ट्रघाती योजनाहरु भित्र्याएको भन्दै नेपालमा पूँजीवादको नेतृत्व दलाल पूँजीवादले गरिरहेको उल्लेख गरे । सुधारवाद नै कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने हतियार भएको उनले ठोकुवा गरे । पूँजीवादी लोकतन्त्रको चिराफारा गर्न जरूरी रहेको बताउँदै नेता खनालले मदन भण्डारीद्वारा प्रतिवादन गरिएको जनताको बहुुदलीय जनवाद अब निकै पुरानो भईसकेकाे जिकिर गरे । प्रलेसको अभियानमा आफूले सक्दो ञ गर्ने समेत बचन दिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि संघीय सांसद तथा प्रलेसका पूर्व अध्यक्ष रघुजी पन्तले प्रलेसलाई राजनतिक हस्तक्षेपबाट अलग गरेर साझा संस्थाको रुपमा गतिशील बनाउन आग्रह गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल , सङ्घका पूर्व अध्यक्ष अमर गिरी , नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई , सांसद विजुला रायमाझी लगायत पुरस्कृत स्रष्टाहरुले समेत मन्तव्य राखेका थिए ।

वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।

संघका अध्यक्ष मधुसुदन गिरीले प्रलेसले अर्काे सालबाट स्थापना दिवसमा प्रगतिशील साहित्यिक पत्रकारिता पुरस्कार समेत प्रदान गरिने जानकारी दिए ।

कार्यक्रम सफल पार्न देशभरिबाट लेखक तथा साहित्यकारहरूको व्यापक जमघट भएकाे थियाे ।

000