Saturday, July 23, 2016

'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक बिचारगोष्ठी सम्पन्न


प्रगतिशील लेखक संघ नेपाल , केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा मिति २०७३ साल श्रावण ८ गते शनिवार 'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक बिचारगोष्ठी कबिता बाचन कार्यक्रमको आयोजना गरियो । वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छे ( कमरेड रोहित ) प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । उदघाटन मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छे ( कमरेड रोहित ) ले राजनीति र साहित्यको अन्तर्सम्बन्ध बिचार र दृष्टिकोणका आधारमा रहेको धारणा राख्नुभयो। कार्यक्रमको आरम्भमा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । समालोचक पुरुषोत्तम सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्र 'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक कार्यपत्रमाथि साहित्यकार आहुतिले विचारोत्तेजक टिप्पणी गर्नुभएको थियो । कार्यपत्रको प्रस्तुति र टिप्पणी पश्चात कविहरु बिमल निभा ,मोदनाथ मरहट्ठा,निभा शाह, प्रोल्लास सिन्धुलीय ,केबल बिनाबी , सरस्वती चिमोरिया ,हरिहर तिमिल्सिना, नरेन्द्र नगरकोटी , निर्भिकजंग रायमाझी, दिपक सापकोटा, पुष्पदास स्याउला , लक्ष्मण सापकोटा ,दिपक सापकोटा ,अनिल श्रेष्ठ ,पुरु लम्साल ,नारायण निरासी,मुक्त्तान थेबा ,रामप्रकाश पुरी, राजु स्याङ्तान, निरज लबजु आदि कविहरुले कविता वाचन गर्नुभएको थियो। प्रगतिशील लेखक संघ काभ्रे जिल्ला समितिका उपाध्यक्ष लक्ष्मण सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ , केन्द्रीय समितिका महासचिव आर. एम. डंगोलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा लोक गायक मछेश्वोर सापकोटाले एउटा सुन्दर लोकगीत पनि प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्यकार एवं प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष मोहन दुवालले पनि उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रलेस महिला उपाध्यक्ष डा. विन्दु शर्मा , प्रलेस उपाध्यक्ष खेम थपलिया ,प्रलेस उपाध्यक्ष पुष्करराज भट्ट ,प्रलेस उपाध्यक्ष रामप्रकाश पुरी प्रलेस केन्द्रीय काेषााध्यक्ष बिजयराज आचार्य , पारिजात स्मृति केन्द्रका अध्यक्ष लक्ष्मी माली , वरिष्ठ कवि स्नेह सायमी , वरिष्ठ साहित्यकार गोपीरमण उपाध्याय , कवि बलराम तिमल्सिना , कवि छविरमण सिलवाल आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रगतिशील लेखक संघ, काभ्रे जिल्ला समितिका अध्यक्ष लोक लामाले गर्नुभएको थियो । 

=============================

कार्यपत्र

साहित्य र राजनीतिको अन्तरसम्बन्ध
–पुरूषोत्तम सुवेदी

प्रगतिवादी साहित्यले दार्शनिक तथा राजनैतिक रूपमा मार्क्सवादी दर्शनले अघि सारेका द्वन्द्वात्मक भौतिकवाद, वर्गसङ्घर्षको अवधारणा, इतिहासलाई हेर्ने दृष्टि र शोषण तथा शोषणबाट मुक्ति लगायतका अवधारणा चेतनामा समाहित गरेर सिर्जना गर्छ । मार्क्सवादी  चिन्तनमा वर्गीय दृष्टिबाट नै समाज, उत्पादन सम्बन्ध र विभिन्न पक्षका पक्षधरता र सम्बन्धहरू निर्धारित हुन्छन् । प्रगतिशीलताले मूलतः स्रष्टा र सिर्जनाको पक्षधरता, विचार र व्यवहारमा एकता, स्पष्टता, पारदर्शिता, सादा जीवन उच्च विचारको माग गर्दछ । यसै पृष्ठभूमिमा आजको प्रगतिशील साहित्य र सर्जकहरूका रचनामा कला र विचारको अन्तरसम्बन्ध, सामाजिक यथार्थ र रचनामा राजनैतिक सरोकार आरोपणका व्यवहारिक आन्तरिक र बाह्य कारणबारे संवाद गर्नु यस आलेखको उद्देश्य हो । 

साहित्य र राजनीतिको अन्तर्सम्बन्धबारे आधारभूत विचारहरु

विभिन्न चिन्तकहरुले साहित्य र राजनीतिको अन्तर्सम्बन्धबारे आआफ्ना चिन्तन र धारणा राखेका छन् । आजसम्मको सम्पूर्ण इतिहास वर्गसङ्घर्षको इतिहास हो भनेर वर्ग सङ्घर्षको केन्द्रीय भूमिका रहेको मान्ने माक्र्स र एङ्गेल्सले माक्र्सवादी–प्रगतिवादी साहित्य चिन्तन गर्ने क्रममा साहित्यलाई विचार धाराको एउटा रुपका रुपमा मात्र होइन साहित्यको जन्मको आधार समाजको भौतिक आधारलाई मानेका छन् । भौतिक र आर्थिक परिस्थितिमा परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउँछ तथा आधार र अधिरचना वा उत्पादनको आर्थिक आधार र कलात्मक रुपका बिचमा भिन्नता रहन्छ भन्ने माक्र्स एङ्गेल्सको धारणा रहेको छ । माक्र्स र एङ्गेल्सले साहित्य सम्बन्धी विस्तृत चर्चा नगरे पनि उनीहरुका विभिन्न समयमा व्यक्त विचारले मार्क्सवादी  साहित्यको आधारभूत जगको काम गरेका छन् । 

भी.आइ. लेनिनको विचारमा साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अङ्ग बन्नु पर्छ, समस्त मजदुर वर्गको अभिन्न र महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनु पर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नु पर्छ । 

माओत्सेतुङको विचारमा साहित्य र कला जनताको लागि अर्थात् क्रान्तिकारी सङ्घर्षमा प्रत्यक्ष रुपबाट संलग्न रहेका ज्यामी, किसान र सिपाहीहरुको लागि हुनुपर्छ । यथार्थमा व्यापक जनसमुदायको जीवन नै क्रान्तिकारी कला र साहित्यको एक मात्र स्रोत हो । 

मार्क्सवादी सौन्दर्य चिन्तक निनु चापागाईंको विचारमा प्रगतिवादले साहित्यलाई अनिवार्य आनन्द, आस्वाद र उपभोगको रुपमा मात्र नलिएर समाजको सार्थक एवं आमुल परिवर्तनमा सहभागी हुने एक अङ्गको रुपमा स्वीकार गर्दछ । अर्का माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यको विचारमा सामाजिक चेतनाका अन्य रुपभन्दा साहित्य कलाले दुई रुपमा भूमिका सम्पादन गर्दछ । पहिलो भूमिका विशिष्ट अर्थबोध, भाषा, शब्द, ध्वनि तथा रङ्ग रेखाको अभिव्यक्तिका बीचबाट र दोस्रो सोन्दर्यबोधीय नियमका माध्यमबाट सम्पादन हुन्छ । 
चिन्तक गोविन्द भट्टका विचारमा हामीले माक्र्सवादलाई बौद्धिकताको सीमामा मात्र साँघु¥याई राखेका छौँ, त्यसलाई जनमानसमा भिजाएर सामान्य नरनारीका माझ पु¥याउन प्रगतिवादी रचनाकारहरुकै बढी उत्तरदायित्व रहि आएको छ । 

यसरी विभिन्न चिन्तकहरुले आआफ्ना रचना मार्फत् र राजनीतिमा अन्तर्सम्बन्धबारे व्यक्त गरेका विचारहरुले पनि साहित्य राजनीति विमुख हुन नसक्ने धारणा व्यक्त गर्दछन् । 

नेपाली साहित्यको सृजन यात्रा र विचार परम्परा

नेपाली भाषामा लेखिएको आधुनिक नेपाली साहित्यले नेपाली इतिहासको उथलपुथलपूर्ण समय वि.सं. १९९० देखि २००७ सालसम्मको १७ वर्ष, २००७ सालदेखि २०६२ को ५५ वर्ष र २०६२ पछिको १० वर्षको जम्मा ८२ वर्षे अवधिमा भएका र हुनु पर्ने परिवर्तनको पक्षमा राजनीतिको अघि अघि हिँडेर परिवर्तनको नेतृत्व गरेको छ । कविता, कथा, निबन्ध र उपन्यासमा हात हालेर तथा जन सरोकार र सामान्य मान्छेका आर्थिक सामाजिक सम्बन्धसँग जोडिएर साहित्यमा नयाँ सरोकारको आरोपण र नयाँ परम्पराको सूत्रपात समेत गरेको छ । यस बिच वर्गीय रूपमा पछि पारिएको, थिचिएको वर्गको पक्षधरताको प्रश्न होस् वा जातीय भेदभाव र क्षेत्रीय रूपमा विभेदमा पारिएको समुदायको पक्षधरताको प्रश्न होस् प्रगतिशील वा यथार्थसँग जोडिएको साहित्य अग्रगामी देखिएको छ । 

नेपालमा राजनीति र साहित्यको अन्तर्सम्बन्धबारे नेपाल कम्युनिस्ट पार्टीको स्थापना अघि र पछि नेकपाका संस्थापक महासचिव पुष्पलालले गरेको कम्युनिस्ट घोषणापत्र, माक्र्स लेनिन र माओ आदिका महत्वपूर्ण रचनाहरुको अनुवाद र नेपालको राजनीति र साहित्यबारेका विभिन्न लेख, रचनाहरुबाट लेखन र विमर्श गर्न सुरु गरिएको पाइन्छ । २००९ सालको प्रगतिशील लेखक सङ्घको स्थापना र त्यसकै हाराहारीमा देवीप्रसाद किसान, कृष्णचन्द्र सिंह प्रधान आदिका रचनाहरुको प्रकाशनले सिर्जनात्मक रुपमा राजनीति र साहित्यको अन्तर्सम्बन्धको नयाँ चरणको प्रारम्भ गरेको देखिन्छ ।

साहित्यले राजनीतिसँग मात्र होइन सांस्कृतिक आन्दोलनसँग पनि सहकार्य गरेर लोक परम्परा, गीत, नृत्य र संस्कृतिको सबल जनपक्षीय पक्षलाई सहयोग पु¥याउन र पाखण्डपूर्ण, रूढीवादी र जाति आधारित थिचोमिचोको अवैज्ञानिक पक्ष विरूद्ध जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । मैथिली, भोजपुरी, अवधी, तामाङ, थारु, नेवारी, विभिन्न राई भाषाहरु, गुरुङ, मगर र अन्य नेपाली भाषाहरुमा पनि राजनैतिक र सामाजिक परिवर्तनका पक्षहरु मुखर रुपमा अभिव्यक्त भएका छन् । 

उत्तर–आधुनिकता र भूमण्डलीकरणले वर्गीयता, विचार र कल्याणकारी राजनीति र साहित्य दुवैलाई निषेध गर्दै जातीय, क्षेत्रीय र लिङ्गीय विषयहरूलाई उत्तेजक रूपमा प्रस्तुत गर्ने माहोल बनाउँदै गरेको देखिन्छ । जातीय, लिङ्गीय र किनारीकृत वर्गको मुक्तिको विषय वर्गीय मुक्तिकै एक पक्ष हुन् भन्ने माक्र्सवादी अवधारणालाई निषेध गर्दै जातिवादी भासमा पु¥याउने र त्यस वर्गसँग माक्र्सवादी शिविरको सम्बन्ध विच्छेद गराउने कुरा उत्तर–आधुनिक संस्कृति र भूमण्डलीकरणको मूल आसयमै परेकोले त्यस दुष्टतापूर्ण हस्तक्षेप विरुद्ध प्रतिरोध गर्नु आवश्यक छ । 

साहित्यमा विचार र तटस्थता

साहित्यमा विचारको आरोपण राजनीतिमा झैँ स्पष्ट नारा वा कार्यक्रमको रूपमा गर्न सकिँदैन । ठाडो नारा आरोपण गरिएको तर कलात्मक बान्की नपुगेको रचनाले साहित्यको रचना संस्कृति, सरोकार र विधागत विशिष्टतालाई स्पष्ट हानी पु¥याउँछ । पाठकलाई ध्रुविकृत गर्दछ । कला र विचारको नाममा दल विशेषको रणनीतिक र कार्यनीतिक विषय रचनामा प्रस्तुत गर्ने रचना संस्कृतिले पनि निश्चित दल वा विचारका व्यक्ति बाहेक आलोचनात्मक चेत, कला र विचारको सन्तुलन मिलेको साहित्यका पारखी, माक्र्सवादी विचारप्रति प्रतिबद्ध, तुलनात्मक रूपमा उदार र सिर्जनाको व्याकरण बुझ्ने समुदायलाई समेत विचार निरपेक्ष बनाउने गरी प्रभाव पार्दछ । यहाँ भन्न खोजिएको तटस्थताको पृष्ठपोषणको कुरो होइन । तटस्थता मात्र एक शब्द र राजनीति हो । कोही पनि वास्तविक रूपमा समाज, वैचारिक राजनैतिक आन्दोलन, इतिहास र भविष्य दृष्टिप्रति तटस्थ रहन सक्दैन । यसको अर्थ हो— साहित्य वर्गीय हुन्छ र यसको इतिहास र विचारसँग नाभि नालबद्ध सम्बन्ध हुन्छ । त्यस्तै जातीय, धार्मिक वा वर्णवादी अभिप्रायले साहित्यिक सिर्जना वा आलोचना गर्न प्रयत्न गरिएमा त्यसले वर्गीय चिन्तन र सोको कल्याणकारी अभिप्रायलाई निवर्गीय बनाउँदै बराल्ने खतरा देखिन्छ । र, वर्गीयतालाई राजनीतिबाट छुट्याएपछि जुन अराजनीतिक र अराजक स्पेशको निर्माण हुन्छ, सोबाट लाभ प्राप्त गर्ने वर्ग स्पष्ट नै छ । 

साहित्यमा कलात्मक स्वतन्त्रता समग्रतामा अभिव्यक्ति स्वतन्त्रताकै अर्को रूप हो । रचनामा रचनाकारको वर्गीय, सांस्कृतिक र जीवनशैली बमोजिमको पक्षधरता स्वतः आउँछ । तर तिनमा स्वस्फूर्तता रहेन, आवेग रहेन, स्वतन्त्रतापूर्वक रचना गर्ने वातावरण रहेन, अभिव्यक्ति स्वतन्त्रतामा अवरोध आयो भने रचनामा पनि शैली र कलाका आवरणमा लुकेर त्यसको विषय प्रस्तुत हुन्छ । रचना आफैँ नै सार्वभौम विषय मानिन्छ । कवि लेखकको वैचारिक पक्षको छनोट, वा वैचारिक राजनैतिक संलग्नता कति र कस्तो हुनुपर्छ भन्ने विषय चाहिँ स्रष्टा स्वयंले निर्धारण गरी अघि बढ्ने कुरा हो । 

व्यवहार, आचरण र पक्षधरता

स्रष्टाको आर्थिक, नैतिक वा व्यक्तिगत व्यवहार र आचरण शङ्कास्पद छ वा पारदर्शी छैन, जीवन शैली विकृत वा विलासी छ, नाफामुखी, सत्तामुखी वा सङ्कीर्ण स्वार्थमा ऊ आकण्ठ डुबेको छ भने त्यस रचनाकारबाट राम्रो रचना लेखिने सम्भावना न्यून रहन्छ । लेखिइ नै हाल्यो भने पनि त्यसको स्वीकार्यता कमजोर हुन्छ । 

नेपाली वामपन्थी राजनीतिक दलका नेताहरू र संस्कृतिकर्मीहरूको ठुलो पङ्क्ति शास्त्रीय द्वैतवादको शिकार रहेको छ । नारा र राजनैतिक तहमा युद्ध प्रसाद मिश्र, गोपाल प्रसाद रिमाल, पारिजात, रमेश विकल, भूपि शेरचन, देवीप्रसाद किसान, रामेश, रायन वा विमल निभाको नाम लिनेहरू नै यथार्थ व्यवहारमा राजा ज्ञानेन्द्रका राष्ट्रकवि माधव घिमिरे तथा तथा त्यही संस्कृतिका अन्य व्यक्तिहरूको गौरवमण्डन गर्न, सम्मान, पद पुरस्कार र पैसा प्रदान गरेर उदार कहलिन र दक्षिणपन्थीहरूसँग घाँटी जोड्न दिलो ज्यानले लागेका छन् । यस्तो कार्यमा सबै वामपन्थी दलको नेतृत्व तम्तयार छ, मात्रा घटबढको कुरा मात्र हो । प्रकारान्तरले भन्दा माक्र्सवाद वा माक्र्सवादी लेनिनवादी वा माक्र्स–लेनिन–माओवादी मान्ने वामपन्थी राजनैतिक दलहरू र सांस्कृतिक नेतृत्व लिनेहरू वर्ग शत्रुको दलाली गर्न र सत्तासँग आस्थाको सौदा गर्न तम्तयार देखिन्छन् । उग्र पार्टी पक्षधर तर वर्गीयचेत कमजोर रहेका इमान्दार रचनाकारहरू पनि यस्तो स्थितिमा विस्तारै निर्वर्गीय, उदार पुँजीवादी हुँदै यस्तै ढुलमुले हुन पुग्छन् । यस्तो अन्योल र अराजक स्थितिमा साहित्य समेत उपयोगितावादी, विचारहीन र भुइँफुट्टा हुँदै सत्ताको दलाली गर्न पुग्ने डरलाग्दो सङ्केतको रूपमा यसलाई लिनुपर्छ । 

पुँजीवादी अन्योल र गैर सरकारी संस्थाको हस्तक्षेप

अहिलेको सबैभन्दा ठुलो वैचारिक सङ्कट पुँजीवादी चिन्तनबाट निसृत भएको छ । धेरै कम्युनिस्ट पार्टीहरूले २०६२÷०६३ को राजनीतिक प्राप्तिलाई नौलो जनवादी क्रान्तिसरह ठानेका छन् । पुँजीवादी क्रान्ति सम्पन्न भएकोले अबको कार्यभार उत्पादनसँग मात्र जोड्दा पुग्छ भन्ने उनको तर्क छ । २०४६ वा २०६२÷०६३ को आन्दोलनमा पुँजीवादी दलहरूको समेत संलग्नता र भारतको नाङ्गो हस्तक्षेपका बीच वामपन्थी दलहरूको समेत भारत परस्तता तथा आत्मसमर्पणको अर्थ खोजिएन भने नेपाली क्रान्ति र वामपन्थी आन्दोलन सन्दर्भहीन त हुन्छ नै, भारत र चीनलाई हेर्ने समदुरीको सिद्धान्त, वैचारिक, राजनीतिक समर्थन र सार्वभौम सत्ता समेत बिस्तारै धरापमा पर्न जाने छ । संसदवादी भासमा निरपेक्ष रूपमा आकण्ठ डुबेका कम्युनिस्ट पार्टीहरूको छद्म राजनीति विचारबाट विचलन र आर्थिक भ्रष्टाचारलाई छोप्न गरिने दलालीले राजनीति, संस्कृति र प्रतिरोध आन्दोलनको नैतिक पक्ष पनि कमजोर हुने भई यसले सिर्जना गर्ने अन्योल ज्यादै गम्भीर हुन पुग्छ । 
अहिलेको प्रगतिशील साहित्यमा एनजीओको उपस्थिति र हस्तक्षेप महारोग सरहको देखिन्छ । निकै नाम कमाएका केही प्रगतिशील लेखकहरूका पुस्तकहरू गैर सरकारी संस्थाको लगानीमा निजहरू तोकिएको ठाउँमा गई पुस्तकको विषय, रकम र उद्देश्य समेत तोकिएका आधारमा करार गरी लेखिएर तामझामका साथ बजारमा आएका छन् । लगानी कर्ताको उद्देश्य र प्रत्यक्ष अप्रत्यक्ष स्वार्थ समेत ती पुस्तकमा स्पष्ट हुन्छ । यस बाहेक धेरै कार्यशाला, गोष्ठी र कार्यक्रमहरूमा पनि एनजिओको लगानी हुने गरेको छ । अनेक विषयमा सहमति निर्माण गर्न विदेशी राजदूतावासहरूका प्रत्यक्ष र अप्रत्यक्ष लगानीमा समेत केही व्यक्ति, प्रकाशन संस्था र फाउन्डेसनहरू चलेका छन् । दीर्घकालमा यसरी भाडामा लेख्ने र लेखाउने कार्यको नतिजा कस्तो होला, खतराको सङ्केत आँखा अगाडि नै छ । त्यस्ता साहित्यकारको वैचारिक आस्था, नैतिक, आर्थिक र सृजनशीलतामा पर्ने प्रभावको पूर्वानुमान गर्नु र त्यसको विरोध गर्नुको विकल्प हामीसँग छैन । 

विधागत विवाद, बजार र सिर्जनशीलता

चिसो भनेकै कोकाकोला भने झैँ साहित्य भनेकै उपन्यासको नारा निकै शक्तिशाली रूपले उछालिएको छ । के कवि, के कथाकार, के निबन्धकार, के नाटककार धेरै जनाको नाम अहिले उपन्यास लेखि राखेको वा लेख्ने सोच राखेको सूचीमा बजारमा आइ राखेको छ । यथार्थ के हो भने अहिलेका केही उपन्यासकारहरूले निकै ठुलो अनुसन्धान, मेहनत, समय र सिर्जनात्मकताको लगानी गरेर उपन्यास लेखेका छन् । र, उनीहरूका उपन्यास ठुलो सङ्ख्यामा नयाँ पाठकहरूको समेत सहभागिता जुटाउँदै विक्री भइ राखेका छन् । कविता, कथा र निबन्ध सङ्ग्रहहरू पूर्व प्रकाशित रचनाहरू सङ्ग्रह गरी प्रकाशित गरिने हुँदा पहिले पढि सकेका पाठकले खरिद गर्ने सम्भावना कमै हुन्छ । उपन्यास आख्यान शृङ्खला, वर्णनात्मकता, विस्तृतता चित्रणको स्वतन्त्र र असीमित सम्भावना र नयाँ रचनाको कारण विश्वव्यापी रूपमा स्वतः पाठकको आकर्षणमा पर्छ र विक्रीका हिसाबले पनि अगाडि छ । अझ सामान्य शैक्षिक योग्यताका पाठकहरू पनि उपन्यास पढेर आनन्द लिन सक्ने हुँदा उपन्यास पहिलेदेखि नै पाठकहरू बढी आकर्षित हुने विधा हो । यता आएर कथा र निबन्ध जस्ता विधाका पाठक पनि प्रशस्तै बढेकोले नयाँ समयमा उपन्यासको एकाधिकार छ भन्न चाहिँ मिल्दैन । कविता चाहिँ छपाइ माध्यममा बढी छापिने, सामाजिक सञ्जालमा बढी प्रकाशन हुने र धेरै सङ्ग्रह प्रकाशित हुने भई छनोटको मौका पाठकहरूलाई ज्यादा हुने भएकोले कम सङ्ख्यामा विक्री भएको जस्तो  देखिने मात्र हो । जिम्मेवारीपूर्वक लेख्ने र आफ्नो सोच अनुसार बजार प्रवर्धन गर्ने स्वतन्त्रता सबैलाई छ । अनावश्यक तडकभडक देखाएर बजारतन्त्रको शरणमा जानेहरु समयक्रममा रचनाको स्तरको कारण नै सडकमा आउने कुरा स्वभाविक देखिन्छ । 

खास गरी कविता सिर्जनामा संलग्न स्रष्टाहरूको अध्ययन, चिन्तन, मनन्, समाजसँगको संलग्नता र अन्तरक्रिया तथा सिर्जनात्मक आवेग र सूत्रात्मकता, सरलता र शैलीगत विशिष्टताको प्रस्तुति जति बढी हुन्छ, रचनामा नयाँपन, जन सरोकार र सिर्जनात्मक उचाइ उति नै बढी हुन्छ । एक किसिमले भन्दा जन आन्दोलन र कविताको चरित्र एउटै हुन्छ । सामूहिकता, वर्गीय दृष्टि, जमिनसँगको जोडाइ र सक्रियताकै आधारमा रचनाको उचाइ पनि विशिष्ट हुने गर्छ । सङ्कीर्ण स्वार्थ राखी फाइदा कमाउने र उपयोगितावादी भेलामा षड्यन्त्रकारी बस उठ जति बढी हुन्छ कविता उति नै शिथिल हुँदै जान्छ । कविको अध्ययन, अन्तरसम्वाद, समाजसँगको अन्तरक्रिया, प्रतिबद्धता अनुरूप नै कविताको सोद्देश्यता र सिर्जनात्मकता तिखारिँदै जान्छ । कविता, कथा र निबन्धमा एकैसाथ सोद्देश्यता, विषयको प्रतिपादन, प्रतिबद्धता र आवेग–इमानदारीको खोजी हुन्छ । रचनाको स्तर, प्रभाव र स्वीकृति बढ्यो भने विक्री लगायतका पक्षहरू स्वतः सकारात्मक हुन आउँछन् । 

लोभी पापी प्रवृत्ति र सत्ता सुखका कुरा

ससाना पराजय, पुरस्कार नपाएर वा अल्पकालीन असफलताबाट तर्सिएर विचलित हुने व्यक्तिवादी चिन्तन र ‘व्यवहारिक’ दौडधुपले रचनामा दीर्घकालीन असर पर्छ । स्रष्टा व्यक्तिको चञ्चलता, सम्झौता परस्त, फाइदा परस्त र पलायनवादी प्रवृत्तिले रचनाकार स्वयं र आन्दोलनलाई पनि ठुलो हानी पुग्छ । गैर सरकारी संस्था, कर्पोरेट घराना र सत्ता प्रतिष्ठानहरूबाट प्राप्त हुने आर्थिक सहयोग, सम्मान र पुरस्कारले पनि स्रष्टाको विचार निष्ठालाई भुत्ते बनाउन र अडानलाई शिथिल पार्न सक्ने सम्भावना रहेको देखिन्छ । सत्तामुखी चिन्तन र सत्ता दलालीमा संलग्न लेखनदासहरूबाट जनताको विषय आउँछ भन्ने भ्रममा पर्नु बेकार छ । प्रगतिशील सोच राख्ने जोसुकैले एउटा निश्चित वैचारिक र व्यवहारिक सीमाभित्र बसेर फरक मत, फरक चिन्तन र बहुलतालाई सम्बोधन गर्ने स्वस्थ दृष्टि निर्माण गर्नु जरूरी छ । 

प्रयोग, सिर्जनशीलता र मार्क्सवाद 

माक्र्सवाद र प्रगतिशीलताले साहित्य, कला र अन्य सिर्जनामा नयाँ प्रयोगलाई कहिल्यै पनि निषेध गर्दैन । माक्र्सवादी सरोकार सिर्जना वा प्रयोगको सारतत्वसँग रहन्छ । विविधता, बहुलता र अनेकताको सन्दर्भमा पनि माक्र्सवादी अपेक्षा त्यही नै हो । कलालाई विचारबाट र स्रष्टालाई राजनीतिबाट पृथक् गर्ने विचार विरूद्धको प्रतिरोध नै माक्र्सवादी प्रगतिशील चिन्तनको अभीष्ट हो । कुनै समयका क्रान्ति नायक र जीवित किंवदन्तीका पात्रहरू अर्को समयमा भ्रस्ट भएर जेलको चिसो कोठामा थुनिने वा जीवन आदर्श, जीवन शैली र आस्था क्षणिक स्वार्थसँग साट्दै सामन्तको श्रेणीमा पुगेको वा पुग्ने कुराले इतिहास मात्र होइन वर्तमान र भविष्यलाई पनि प्रश्न गर्छन् । अतः विचार अनुरूप चिन्तन धारा, विश्वदृष्टि, मूल्यचेत, राजनैतिक संलग्नता र जीवन शैलीले मात्र कुनै पनि स्रष्टा वा चिन्तकको विचार र सिर्जनालाई सही दिशामा डो¥याउन सक्दछ । 

वर्ग समन्वयवादी चिन्तन र गुट उपगुट

हाम्रो मूलभुत सांस्कृतिक समस्या वर्ग समन्वयवादी चिन्तनको विकास, वर्ग सङ्घर्ष र वर्गीय पक्षधरताको प्रश्न मसिनुसँग छोड्दै निर्वर्गीयताको भासतर्फ जाने प्रवृत्तिबाट सिर्जना हुँदै आएको छ । भनाइ र गराइको द्वैधता, सिर्जनामा विचारलाई कम तर बौद्धिक कसरतमा जोड दिने प्रवृत्ति, सुधारवादी–व्यक्तिवादी चिन्तन र उदार वा अस्थिर सोच लिने राजनैतिक दलसँग संलग्नता र पलायनवादी व्यवहार बढ्दै गएर वर्गीय पक्षधरतालाई निषेध गर्ने हदमा पुग्ने हो । 
प्रगतिशील साहित्यिक आन्दोलनमा विभिन्न पार्टी आबद्ध र स्वतन्त्र समेतका अत्यन्त धेरै गुट उपगुट रहेका छन् । पार्टी पार्टीका, विधा विधाका र व्यक्ति व्यक्तिका गुटहरू धेरैजसो अन्य शिविरका स्रष्टाहरूलाई निषेध गर्ने, गुटबन्दी गर्ने, प्रत्येक कार्यक्रममा आरक्षण खोज्ने नियतका र सिर्जनालाई सत्ताको तुजुकसँग गड्डमड्ड गर्ने प्रवृत्तिका रहेका कारण धेरै स्रष्टाहरूको उनीहरूसँग असहमति रहेको छ । स्रष्टाहरू बिचका मतभेद न्युन गर्दै लानु वा उनीहरूका बिच संवाद र सहकार्यको स्थितिको सिर्जना गर्ने दायित्व अहिलेको लागि प्रलेसले लिएर सबै प्रगतिशील स्रष्टालाई समेट्नु जरूरी रहेको छ । 

आलोचना, शास्त्रीयता र नया“ स्रष्टाहरूको उत्प्रेरणाको प्रश्न

विचार र सिर्जनाको मसिनुसँग अध्ययन गरी स्वस्थ आलोचना गर्ने, स्रष्टाको सिर्जनाका आलोकमा उसलाई महत्व दिने वा आलोचना गर्ने र उसको सिर्जनात्मक क्षमता बढाउन निरन्तर प्रेरित गर्ने कार्य समालोचकको हो । भाषा र साहित्यको औपचारिक अध्ययन गरी आधिकारिक निकायमा जागिरे शिक्षक वा समानान्तर रूपमा विभिन्न दलहरूका साहित्यिक, सांस्कृतिक निकायमा निर्णायकमै काम गर्ने काव्यशास्त्रवादी आलोचकहरूले प्रगतिशील लेखन आन्दोलनलाई जसरी अनिवार्य रूपले विभिन्न प्रयोजन र वादहरूमा बाँधेर व्याख्या, विश्लेषण गर्ने गरेका छन्, गुट उपगुटलाई उचाल्ने र पछार्ने गरेका छन्, त्यसले प्रगतिशील शिविरको आलोचनालाई धेरै हानी पु¥याएको छ । त्यसले नेपाली स्रष्टाहरू स्वतन्त्र रचनाकार होइनन्, प्रयोजित सरोकार रचनामा टिप्ने सुगा हुन जस्तो देखिने गरी प्रस्तुत गरिएको पाइन्छ । काव्यशास्त्र बाहेक सामाजिक शास्त्र र अन्य अनुशासनका अनेक साहित्यिक र राजनैतिक पुस्तक र रचनाहरू एउटा रचनाकारलाई समग्र दृष्टि निर्माणमा आवश्यक रहेका छन् । प्रकाशित रचनाको मूल्यलाई महत्व नदिएर, भागबण्डामा आलोचना गर्ने, पाठ्यक्रम निर्माण गर्ने र अन्य लाभकारी पक्षमा वकालत गर्दागर्दै यस्ता समालोचकको व्यक्तित्व तिरोहित भइ सकेको हुन्छ । 

विषयवस्तु र रचना

राजनैतिक वा ठुलठुला विषय रचनामा टिप्नु काव्यका हिसाबले निकै जटिल र जोखिमको काम हो । थोरै स्रष्टाहरूले मात्र राजनीति वा सामाजिक÷सांस्कृतिक विषयको नाङ्गो तार जस्तो व्यापक र संवेदनशील विषयलाई कलात्मक बन्धनमा बाँध्न सक्छन् । सामान्यतया यस्ता मुखर र विहङ्गम विषय टिपिएका तर कलात्मक हैसियत प्राप्त नगरेका रचना पर्चा वा नाराजस्ता बन्न पुग्छन् र तिनको सिर्जनात्मक दबाब रहँदैन । यसैले समाजका ससाना विषय र घटनाको कलात्मक प्रस्तुतिबाट नै आम रूपमा राम्रो सिर्जना हुन सक्छ । राजनैतिक विषयमै रचना गर्ने साधक स्रष्टाले भने माहुतेले हात्ती नियन्त्रण गरे झैँ यस्ता विषयलाई नियन्त्रण गरेर सफल सिर्जना गर्न सक्छन् । आम रूपमा स्वीकार्य र धेरैलाई प्रभाव पार्ने आन्दोलन माथि सफल रचना हुन सक्यो भने त्यसको प्रभाव दीर्घजीवी र शक्तिशाली हुन पुग्छ । पार्टीको विश्वास जित्न वा पार्टीमा ठाउँ बनाउन प्रायोजित र निर्देशित रचना गर्नेहरूले भने अल्पकालमा केही भौतिक फाइदा पाए पनि रचनाकारको हैसियत पाउँदैनन् र दीर्घकालमा उनीहरू दुधमा परेको झिँगा झैँ बाहिर फ्याँकिन्छन् । 

व्यवहार र विचारको सङ्कट

राजनैतिक दलहरूसँग आबद्ध र प्रगतिशील साहित्यिक आन्दोलनमा पनि सामेल स्रष्टाहरूले कहिलेकाहीँ उदार भनिने वैचारिक स्पष्टता नभएको राजनैतिक आन्दोलनको पृष्ठपोषण गर्दा मूल माक्र्सवादी चिन्तन विपरितको पनि काम गर्नु परेको छ । २०४६÷०४७ वा २०६२÷०६३ को राजनीतिक आन्दोलनमा प्रगतिशील साहित्यिक आन्दोलनका नेतृत्वदायी स्रष्टाहरूले नेपाली काङ्ग्रेससँग सम्बद्ध साहित्यिक आन्दोलनसँग सहकार्य गर्ने नाममा केही अतिरिक्त उदार र निवर्गीय चिन्तनमा पनि हात हालेका र दीर्घकालमा प्रगतिशील लेखन वैचारिक भन्दा सम्झौतापरस्त र व्यवहारिक हुँदै गएको देखिन्छ । प्रगतिशील लेखन आन्दोलन स्रष्टाहरूको प्रतिरोधी वैचारिक र सिर्जनात्मक आन्दोलन हो, राजनैतिक दलहरुलाई बाटो देखाउने अग्रगामी सृजनात्मक सत्ता हो । राजनैतिक आन्दोलनले बाटो बिराउँदा पनि त्यसको पछि लाग्ने कार्यले आन्दोलनको अग्रगामी, लक्षभेदी र प्रतिरोधी चरित्रलाई भुत्ते बनाउने सम्भावना रहने हुँदा राजनैतिक दलसँग निश्चित दुरी बनाएर आफ्नो बाटो हिँड्नु जरूरी देखिएको छ । एउटाभन्दा बढी कम्युनिस्ट पार्टीको उपस्थिति र प्रतिस्पर्धी स्थिति भएको सन्दर्भमा तटस्थताको एउटा सीमाले सबै स्रष्टालाई जुट्ने मौका दिन्छ । 

लिङ्गीय र जातीय वर्चस्व र प्रतिरोधको प्रश्न

विश्वकै राजनीतिक र सांस्कृतिक आन्दोलन मूलतः पुरूषवादी रहेको कुरा अमेरिकामा १९६५ मा, स्वीजरलैन्डमा १९७१ मा र अस्टे«लियामा १९६२ मा मात्र महिलालाई मताधिकार दिइएको कुराले पुष्टि गर्दछ । भेदभावको यो शृङ्खला राजनीतिमा प्रकट भयो । तर साहित्यमा भने प्रकटमा यस्तो वर्जना नदेखिए पनि व्यवहारिक तहमा भेदभाव गम्भीर रूपमा रहेको छ । प्रगतिशील साहित्यिक आन्दोलनले व्यवहारिक रूपमै नारी सिर्जनाको माहोल निर्माण गर्ने दिशामा काम गर्नु पर्ने देखिन्छ । 

हिन्दू वर्णाश्रम धर्मले स्थापना गरेका छुवाछुतको अवधारणा कानुनी रूपमा नरहे पनि भित्रभित्रै जरो गाडेर बसेको छ । छुवाछुत र जातिभेदलाई दण्डनीय मात्र होइन समाजमै निन्दनीय बनाउने प्रयत्न गर्नु प्रगतिशील साहित्यिक आन्दोलनको कर्तव्य नै हो । छुवाछुत र जातीय भेदभावबाट प्रताडित र आर्थिक सामाजिक रुपले किनारीकृत वर्गको मुक्ति वर्गीय मुक्तिकै कार्यभार भएकोले विचार र व्यवहारका दुवै तहमा प्रतिबद्धता साथ संलग्न रहनुको विकल्प छैन । राजनीति र साहित्यको अन्तरसम्बन्धको कारण साहित्यले राजनीतिलाई प्रभाव पार्ने र राजनीतिले पनि अझ सघनतासाथ साहित्यलाई अग्रगामी र सरोकारमुखी हुन प्रेरित गर्छ । अन्तरसम्बन्धको यो चरित्रले नै प्रगतिशील राजनीति र साहित्यलाई एकीकृत रुपमा अघि बढ्ने वातावरण बनाउँछ । 


अन्तमा

सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिदेखि रूसको वाल्सेभिक क्रान्ति तथा रूसमै कम्युनिस्ट शासन व्यवस्थाको पतनसम्मको सन् १९८९ सम्मको दुई सय वर्ष नै मूलतः प्रगतिशील–माक्र्सवादी चिन्तन, माक्र्सवादी अर्थशास्त्रको सरोकारवादी फलक र माक्र्सवादी राज्य सत्ताका व्यवहारिक उपयोग र साहित्यिक र कलात्मक सृजनको प्रारम्भ, विकास र चरम परिणतिको समय हो । यस अवधिमै दुई ठुला विश्वयुद्ध भए, औद्योगिक क्रान्ति, वैज्ञानिक उन्नति, आर्थिक समृद्धि, देशहरू बीच संवाद, वार्ता र सम्झौता तथा यातायात, सञ्चार र प्रविधिको आविस्कार र अभुतपूर्व उन्नयन भएको छ । वोल्सेभिक क्रान्तिले विश्वकै सभ्यता र राज्यसत्ताको इतिहासमा नयाँ पृष्ठ थप गरेको छ । क्युवा, चीन र दक्षिण अमेरिकाका अन्य कम्युनिस्ट क्रान्तिको दबाब, प्रभाव र हस्तक्षेपको महत्व पनि निर्विवाद छ । विश्व इतिहासको एक ध्रुवीय यात्रामा हस्तक्षेप गरेर दुई ध्रुवीय बनाउने यस समयको विश्वव्यापी राजनैतिक प्राप्ति नै नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको रचना र औचित्यको पनि मूल स्रोत रही आएको छ । 

                                                                   000 


======================================

टिप्पणी 

राजनीतिको कमाण्डमा साहित्य हुँदैन

 - आहुति

लेनिनले भनेको पार्टी साहित्यको अवधारणालाई नेपालमा गलत ढंगले बुझिएको छ । अर्को माओले ऐनान गोष्ठीमा बोलेको कुरा ‘पोलिटिक्स इन कमाण्ड’लाई पनि नेपालमा गलत तरिकाले प्रयोग गरिएको छ । राजनीतिको कमाण्डमा साहित्य हुन्छ की हुँदैन ? माक्र्सवादले भनेको के हो ? यो बुझ्नु पर्ने देखिन्छ ।
अाहुति
अाहुति
राजनीतिको कमाण्डमा साहित्य हुँदैन । विचारधाराको कमाण्डमा साहित्य हुन्छ । राजनीतिको कमाण्डमा साहित्य हुन्छ भन्ने वित्तिकै हामी कहाँ पुग्छौं भने आफ्नो पार्टीले ठीक नीति लिइन्जेलसम्म चाँही ठीक कविता जन्मिने, बेठीक राजनीतिक लाइन लिने वित्तिकै बेठीक कविता लेख्नुपर्ने ठाउँमा पुगिन्छ, यो कुरा गड्बड् छ ।
विचारधाराको कमाण्डमा राजनीति पनि हुन्छ, विचारधाराको कमाण्डमा साहित्य पनि हुन्छ । राजनीतिको कमाण्डमा साहित्य हुँदैन, साहित्यको कमाण्डमा पनि राजनीति हुँदैन। उनीहरु एकअर्काका सहयोगी तर अन्तरविरोधी हुन्छन् । नेपालको पुरै प्रगतिवादी आन्दोलनले यो कुरा सच्याउनु पर्छ ।
इतिहासमा यस्तोसम्म दुर्भाग्य देखियो कि मोहनविक्रम सिंहले २०३१ सालमा देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकार भनेर कार्यनीति पास गर्नुभयो, उहाँ नेता । ०३८ सालमा गएर गल्ति भएछ भन्नु भयो, उहाँ नै नेता । तर एउटा कविले एउटा कविता गलत लेखेर तीन वर्षपछि यो कविता गलत भएछ भन्न पाउँछ की पाउँदैन ? पाउँनुप¥यो नी । त्यो स्वतन्त्रता हुने की नहुने ? हुनुपर्छ ।
अमेरिका आफ्नो आलोचक नोम चोम्स्कीलाई तलब दिएर पाल्छ । उनको काम पुँजीवादका छिद्राहरु कहाँ कहाँ छन् भनेर देखाइदिने हो । हामी चाँही हाम्रै पार्टीमा भएको सिर्जनात्मक ढंगले सोच्ने कविलाई अनुशासनको डण्डा लगाइदिन्छौं । अनि हामी कसरी अगाडि बढ्न सक्छौं ?
नेताले महाधिवेशन गरेर भन्न पाउँछ भने कविले किन नपाउँने ? त्यसकारण लेखकहरुमाथि नेपालको राजनैतिक आन्दोलनले जुनप्रकारको ‘खुटकेसो’ लगाइदिएको छ, त्यसबाट लेखकहरुलाई मुक्त गरिदिनु पर्छ । अनन्त सिर्जनामा जान दिनुपर्छ । केही पनि बिग्रदैन । तर सर्जकले माक्र्सवादका आधारभूत प्रस्तावना ख्याल राखोस् र सबै कुरामा स्वतन्त्र भएर लेखोस् ।
अमेरिका आफ्नो आलोचक नोम चोम्स्कीलाई तलब दिएर पाल्छ । उनको काम पुँजीवादका छिद्राहरु कहाँ कहाँ छन् भनेर देखाइदिने हो । हामी चाँही हाम्रै पार्टीमा भएको सिर्जनात्मक ढंगले सोच्ने कविलाई अनुशासनको डण्डा लगाइदिन्छौं । अनि हामी कसरी अगाडि बढ्न सक्छौं ? त्यसकारण नेपालको वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनले जे गरिरहेको छ, त्यसमा परिवर्तन आवश्यकता छ ।
लेनिन र माओले भनेको साहित्य र कला पार्टीको दाँती र पेचकिला बन्नुपर्छ भनेको सर्वहारा आन्दोलनको पेँचकिला बन्नुपर्छ भनेको हो । कुनै एउटा खास पार्टी र राजनैतिक लाइनको भनेको होइन । सिङ्गो आन्दोलनको भनेको हो । त्यो परिभाषामा भएको गडबडीलाई सच्चाउन जरुरी छ ।
(टिप्पणीको सम्पादित अंश )


                                                               000 


















































































































































================================
================================

काभ्रे ,बनेपामाआयोजना गर्न लागिएको राजनीति र साहित्यको अन्तर्सम्बन्ध विषयक कार्यपत्र प्रस्तुति तथा कवि गोष्ठिमा प्रमुख आतिथ्यको भूमिकाका लागि निम्तो दिन जाने क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान विजुक्छेको निवासमा प्रलेस महासचिव आर एम् डङ्गोल तथा कार्यालय सचिव पुण्य घिमिरे ।











No comments:

Post a Comment