Thursday, April 6, 2017

पोखरामा 'समकालीनता र प्रगतिशील कविताका मूल प्रवृत्ति' विषयक गोष्ठी सम्पन्न

प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र कास्की जिल्ला समितिको  संयुक्त आयोजनामा यही २०७३ साल चैत २६ गते  पोखरामा  ‘समकालीन कवितामा प्रगतिशीलता’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ  । प्रा.डा. जगदीश चन्द्र भण्डारीले  कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  प्रा.डा. यदुनन्दन उपाध्याय र कवि एवम् समालोचक सङ्गीत श्रोताले  टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व  प्रगतिशील लेखक सङ्घ कास्की जिल्ला समितिका अध्यक्ष  भीम राना भाटले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला समितिका उपाध्यक्ष परशुराम कोइरालाले राख्नुभएको थियो ।

कार्यक्रम पछि भएको भेलाले केन्द्रीय समितिका उपाध्यक्ष डा. कृष्णराज अधिकारीको संयोजकत्व प्रलेस -४ नम्बर प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ ।


================================

कार्यपत्र 
समकालीनता र प्रगतिशील कविताका मूल प्रवृत्ति

प्रा.डा. जगदीश चन्द्र भण्डारी

१.१ विषय उठान 

नेपाली भाषा साहित्यमा ‘समकालीनता’ र ‘प्रगतिशीलता’ शब्द र त्यसले बुझाउने अर्थका सम्बन्धमा कम बेसी साहित्यकार तथा साहित्य चिन्तकहरुले पृथक् पृथक् धारणा व्यक्त गर्दै आएका छन् । नेपाली समाजको विकास प्रक्रिया र यसको  द्वन्द्वशील अन्तर्यलाई आधार बनाई वास्तविक अर्थमा ‘समकालीनता’ र ‘प्रगतिशीलता’ शब्दको तात्पर्य एवम् यिनले अभिव्यञ्जित गर्ने अर्थ, आशय र प्रवृत्तिको निरुपण भने अांशिकत ः भएको छ । यस आलेखमा ‘समकालीनता’ र ‘प्रगतिशील’ शब्दको आशयलाई देखाई समकालीन प्रगतिशील कविताका मूलभूत केही प्रवृत्तिको पहिचान एवम् तिनको संकेत गर्ने प्रयत्न गरिएको छ । 

१.२ समकालीनता तथा प्रगतिवाद÷प्रगतिशीलताको तात्पर्य

नेपाली साहित्यको आधुनिककालको विगत करिव असी वर्षको इतिहास र त्यससँग प्रगतिशील÷कान्तिकारी परिवर्तनकारी सिर्जन चेतनाको अन्तः द्वन्द्वगत सम्बन्धसँगै नेपाली जीवनमा आएका सङ्घर्षजन्य परिवर्तन÷ सुधारका मित्र झिल्काझिल्कीबाट विकसित ‘समकालीनता’ को खास आरम्भ कहिलेदेखि भएको हो, नेपाली कविताकै परम्परा÷इतिहास को पछिल्लो कालखण्डमा निरुपित परिष्कारवाद र स्वच्छन्दतावादकै अन्तःगर्भबाट उत्पादित / सृजित नवधारा समकालीनता हो वा कालिक अवस्था विशेष मात्र हो ।

नेपाली समाजको विशिष्टतालाई अगाडि सार्दा राणकाल, संसदीय काल, पंचायती काल, संसदीय काल (पुनस्र्थापित) अनि गणतन्त्रोतर कालरसामन्त÷ राजाविहीन संसदीय कालका महत्वपूर्ण ऐतिहासिक युगीन परिघटना हाम्रा अगाडि छन् । समकालीनताको यथार्थ बोधका निम्ति उक्त परिघटना र तिनीहरुसँग नेपाली जनमानसको समवैषम्य सम्बन्धकै परिप्रेक्ष्यमा समकालीन÷समकालीनताको अर्थबोध गर्न सकिन्छ र त्यससँग सिर्जन परम्पराको सम्बन्ध, प्रभाव र असर एवम् प्रवृत्तिगत वैशिष्ट्यको पहिचान हुन सक्छ । सामान्यत : ‘समकालीनता’ तत्सम शब्द हो र यसले बुझाउने अर्थ एउटै समयमा भएको, उत्पत्ति, स्थिति आदिका दृष्टिमा एउटै अवधिमा भएको भन्ने हुन्छ । अंग्रेजीकोे कन्टेम्पोरेरी (Contemporary)  ले पनि समसामयिक वा समकालीनले दिने अर्थ नै बुझाएको देखिन्छ । समसामयिक र आधुनिक दुवै शब्दले केही अगाडिदेखि अस्तित्वमा आएको ÷वर्तमान कालको विशेषताको प्रभाव परेको अहिलेको भन्ने अर्थलाई नै निरुपित गर्दछन् । यसर्थ नेपाली समाजको वैशिष्ट्य आधार बनाई हेर्ने हो भने अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा पुँजिवादका विरुद्ध विकसित नेपाली जगत् र त्यसले निर्माण गरेको विद्रोहशील चेत तथा  मनोभावसँगै सङ्गठित सशस्त्र आन्दोलन, जनसंघर्ष र वर्गसंघर्षकै  विशिष्टतालाई समकालीन शब्दले प्रतिध्वनित गर्दछ तापनि नेपाली कविताको समकालीन अवस्थाको यथार्थ दर्शन मूलतः पछिल्लो अवधि अर्थात् गणतन्त्रपूर्वको तथा पुँजीवादी संसदीय निरङ्कुश सामन्तवादी÷पुँजीवादी व्यवस्था विरुद्धका जनआन्दोलन, जनसंघर्ष र जनयुद्ध र त्यसपछि स्थापित संसदीय आवरणकै गणतान्त्रिक लोकतन्त्रकै केन्द्रीय प्रभाव र असरलार्ई वर्तमानमा समकालीन र त्यसको भावबोध संज्ञक समकालीनता हो भन्नु उपयुक्त हुन्छ । सार्वभौमिकता र  राष्ट्रियतामाथि हस्तक्षेपकारी नीति अवलम्बन गर्दै आएको विस्तारवाद तथा साम्राज्यवादका विरुद्ध भएका मुक्तिकामी महत् सङ्घर्ष आन्दोलन तथा सशस्त्र युद्धकै सेरोफेरोमा प्रगतिवाद र त्यसका मूल प्रवुत्तिको आकलन गर्नु उपयुक्त र समीचीन हुन्छ । यस सन्दर्भमा वर्गीय विषमताका साथै जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडन, शोषणका कारक र तिनका सत्ताक्रियाकै क्रोडमा प्रगतिशील साहित्य विकसित भएको हो । खासगरी नेपाली समाजको सामाजिक, सांस्कृतिक चेतनाको विस्तार एवम् स्तरीकरणका उन्नत सङ्घर्ष प्रयत्नकै क्रर्ममा प्रगतिशील साहित्यका विविध रुप समृद्ध हुँदै आएका हुन् । 

सर्जकको सामाजिक अवस्था, रचना प्रक्रिया तथा प्रयोजन सन्दर्भकै आधारमा प्रगतिशील साहित्य चिन्न सकिन्छ । सर्जक÷स्रष्टा समकालीन जीवनकै सापेक्षतामा तत्कालीन परिवेशप्रति सचेत हुँदै आमूल परिवर्तनकारी वर्गीय अनुभूति र भावनालाई आफ्ना रचना÷ कृतिमा प्रतिविम्वित गर्दछ । सामाजिक चेतनाकै एक विशिष्ट रुपका स्वरुपमा परिभाषित साहित्य कलाले सामाजिक जीवनका समग्र यथार्थ र तज्जन्य मनोभाव समेतको अभिव्यक्ति गर्दछ । यसमा वर्ग सङ्घर्ष र सम्भावित परिवर्तन अर्थात् समग्र शोषण उत्पीडनबाट मुक्तिको प्रतिविम्बन हुन्छ । यर्थाथ निरपेक्ष, समाज निरपेक्ष तथा विचार निरपेक्ष कला चेतनाका विपरित प्रगतिशील / प्रगतिवादले साहित्य/कलालाई सचेतन प्रक्रियाका रुपमा लिई यथार्थ बोधको साथै कान्तिकारी आशाबादिता एवम् भविष्य दृष्टि र स्वप्नको समेत प्रक्षेपण गर्दछ । ऐतिहासिक भौतिकवादी तथा द्धन्द्धात्मक भौतिकवादी विश्वदृष्टिकोणकै आधारमा  साहित्यसम्बन्धी विचार र सौन्दर्य निर्मितिको मूल दार्शनिक पृष्ठाधार भएकै कारण यर्थाथप्रतिको संज्ञानधर्मी प्रत्यक्षीकरणलाई प्रगतिवादले मूल प्रयोजन बनाउँछ ।  समकालीन यथार्थकै सन्दर्भमा प्रगतिवादी साहित्यका विविध विधाको अन्तर्य पहिचान हुन सक्छ र त्यसको प्रवृत्तिको निर्धारण गर्न सकिन्छ । वर्तमान युग जीवनका जीवन्त्तपक्ष अर्थात् आर्थिक, सामाजिक यथार्थकै परिप्रेक्ष्यमा साहित्यको यथार्थ घटित हुन्छ र स्रष्टाका सिर्जनामा व्यक्त हुन्छ ।

३.३ समकालीन प्रगतिशील कविताका मुख्य प्रवृत्ति 

समकालीन प्रगतिशील कवितामा समकालीन यथार्थ अर्थात् आर्थिक, सामाजिक, राजनीतिक यथार्थजन्य आमूल परिवर्तनकारी भावनाको अभिव्यक्ति, राष्ट्रिय स्वाधीनताप्रति प्रेम, वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय उत्पीडन र शोषणको अभिव्यक्ति, सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादको विरोध, जनवादी–समाजवादी व्यवस्था प्राप्तिको कामना, समकालीन यथार्थको प्रतिबिम्बन, वर्गीय आदर्शबाट भएको विचलनको विरोध तथा क्रान्ति र विद्रोहप्रति आस्था र सर्वहारा मानवतावादप्रति प्रेमको अभिव्यक्ति जस्ता मुख्य प्रवृत्ति प्रकट भएका पाइन्छन् । यिनै मुख्य प्रवृत्ति नै समकालीन प्रगतिशील कविताका प्रमुख प्रवृत्ति हुन् । परिवर्तनधर्मी जनआन्दोलन, जनसङ्घर्ष तथा जनयुद्धकै क्रममा विकसित यथार्थले समकालीन कविहरुको रचनाशीलतालाई प्रभाव पारेको छ र त्यसकै अभिव्यक्तिमा प्रगतिवादी कविहरु संलग्न रहदै आएका छन् । सामाजिक यथार्थको व्याख्या÷निरुपण मात्रै नगरी त्यस लाई फेर्ने अभीष्ट राखी प्रगतिशील कविहरु कविता कर्ममा लागेका छन् । सामाजिक जीवन परिवर्तन नै मुख्य ध्ये भएको हुनाले सुधार वा अपूर्ण उपलब्धिप्रति समकालीन कवि सन्तुष्ट भएको पाइदैंन । 

महान् र उदात्त सङघर्षको नेतृत्व गर्नेहरुमा आएको आदर्श तथा वैचारिक विचलनका साथै दक्षिणपन्थता र संसद पथको यात्रालाई कविहरुले तीव्र विरोध गरेका छन् । यिनीहरुले सर्वहारा वर्गीय आन्दोनमा आएका विघटन र विचलनलाई कविताको कथ्य बनाउदैँ सर्वहारा मानवतावादप्रतिको गहन आस्थालाई अभिव्यक्ति दिएका छन् । समग्र उत्पीडन र शोषण बाट मुक्तिको निम्ति गरिएको सङघर्ष लाई पुरानै पुँजीवादी संसदीय चरित्रको लोकतन्त्रमा बिसाइएको÷ रोकिएको हुनाले त्यसप्रतिको असन्तुष्टि भावका साथै वर्ग सङघर्षलाई फरक रुपमा उठाउन पर्ने कुराको बिम्बन कवितामा गरिएको छ । सत्ता परिवर्तनको सङघर्ष नै वर्गसङघर्ष हो र त्यसले सर्वहारा वर्गको अधिनायकत्व स्थापना नभए सम्म निरन्तरताको  अपेक्षा गर्दछ । त्यसो हुन नसकेकाले वर्ग विचलन र राष्ट्रिय आत्मसमर्पणका विरुद्धको भाव कवितामा मुखरित भएको छ । सर्वहारा वर्गीय तथा मुक्तिकामी जनताका उत्कट चाहाना अर्थात् आमूल परिवर्तनप्रतिको अभीप्सालाई छाडी प्रभुत्वशाली पुँजीवादी वर्गकै सत्ता स्वार्थकै आकर्षणमा सर्वहारा वर्गको नेतृत्व परेको हुनाले सर्वहारा आदर्श तथा मूल्य स्थापना हुन नसकेको यथार्थलाई कविताको प्रवृत्ति बनाइएको पाइन्छ । उपर्युक्त प्रवृत्ति मध्ये समकालीन प्रगतिशील कविताका प्रमुख प्रवृत्तिको पहिचान निम्नानुसार गरिएको छ । 

क.यथार्थबोध र आमूल परिवर्तनकारी भावनाको अभिव्यक्ति 

समकालीन प्रगतिशील कविहरुले आर्थिक ,सामाजिक, राजनीतिक यथार्थको चित्रणका साथै आमूल परिवर्तनको कामना गरेका छन् । खासगरी विगतका समग्र आन्दोलन, संघर्ष र जनयुद्धको मूल उदेश्य पनि समग्र सामाजिक जीवनमा परिवर्तन अर्थात् फेरबदल गर्नु रहेको थियो । तर परानै पुँजीवादी संसदीय व्यवस्थाकै प्राप्तिमा वर्गसङ्घर्ष लाई सम्झौतामा टुङग्याइएको र वर्गसङ्घर्ष÷जनयुद्धको आदर्श, मूल्य र ध्येयलाई कच्याककुचुक पारिएको हुनाले त्यसप्रतिको तीव्र विरोध भाव व्यक्त भएको छ । हेरौँ, तलका कविताका साक्ष्य :

आफुले बोकेको बन्दुक अरुले नै कासन गरेपछि 
सत्ता आफ्नो हुँदैन मनसरा सत्ता आफ्नो नहुनेको 
दुनियाँ बदलिंदैन मनसरा 
आगो बोलि रहेछ मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा
(निभा शाह, मनसरा)

एउटा घेरामा भने हरपल व्यज्रन बर्षिरहेको छ 
अर्को घेरामा भने उही पुरानो ताप्केमा 
घुन मिसिएको पिठो पानीभित्र छड्किरहेको छ
गाउँमा झिना औँलाहरुले फापरको सागलाई चिमोटि रहेका छन् 
सहरभित्र अवतरित औँलाहरु दिनप्रतिदिन मोटाइ रहेका छन् 
र चाँदीका चम्चाले पाक्दै गरेको च्याउलाई चलाएर जाँचिरहेका छन्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ 
कमिलाहरु मर्न थालेका छन् र अजिङ्गरहरु 
महोत्सव मनाउने तयारीमा आराम गृहमा फरमाइ रहेका छन्
(पूर्णविराम, अलपत्रमा परेको युद्धको नतिजा यस्तै हुन्छ )


जताततै मालिकहरु आसीन छन्
ज्यामी हैन ठेकेदारहरु 
सत्तासीन छन् 
यो सुख्खा याम
कस्ले हाम्रो खरवारीमा 
लगाउँदै छ डढेलो ?
र, कस्को चरन बन्दैँ छ 
यो हाम्रो करेसो ?
(अनिल श्रेष्ठ, फुलमायासँग)


यी कविताका पङ्क्तिले वर्ग संघर्षको उदात्त रुप जनयुद्धद्वारा निर्मित यथार्थ र त्यसको विस्थापन÷विसर्जन अनि पुरानै यथार्थ अर्थात्  संसदीय पुँजीवादी पथतर्फका यात्रालाई देखाएका छन् र उदात्त आदर्शमा आएको स्खलनको अभिव्यञ्जन गरेका छन्  । 

ख. वर्ग विचलन र राष्ट्रिय  आत्मसमर्पणको विरोध र त्यसको अभिव्यक्ति 

वर्गसंघर्षद्वारा स्थापित क्रान्ति आदर्शलाई छाडी वर्ग विचलनतर्फ अग्रसर हुनु, वर्गसमन्वयलाई आत्मसात गर्न चाहानु र वर्ग संघर्ष वाट सर्वहारा वर्गको मूक्ति हुने सम्भावना नदेख्नु नै वर्ग विचलन हो । त्यसैगरी भारतीय विस्तारवादद्वारा अपहरित हुदै गएको राष्ट्रियताको विषयलाई छाडी राष्ट्रिय आत्म समर्पण गर्नु नै राष्ट्रिय आत्म समर्पण हो । वर्गीय राजनीति लाई छाडी वर्ग समन्वयमा आधारित राजनीति अर्थात् दक्षिणपन्थतातर्फको उन्मुखता र राष्ट्रिय आत्म समर्पणताको विरुद्ध प्रगतिशील स्रष्टाहरु उभिएका छन् । तलका कविताका पङक्तिलाई साक्ष्यका रुपमा राख्न सकिन्छः

क्रान्तिमा भूमिगत थियो योद्धा 
खुला थिए उसका परिबन्दहरु 
खुला प्रकट भए जब क्रान्तिमा 
भूमिगत हुन थाले क्रमश : योद्धाका
सम्बन्धहरु 
कवि झस्कियो 
तर निर्माण भयो मिस्टर योद्धा !
(आहुति, मिस्टर योद्धा)

सुन्दर शब्द र धोका 
सनातन सम्बन्ध छ यी दुई बिचमा 
सुन्दर शब्दहरुमा 
अझै जारी छ
धोकको डरलाग्दो सिलसिला
(अमर गिरी, धोका) 


हँसियाहरु खिएपछि 
धेरै चिजहरु 
खोसिंदै जाँदा रै’ छन्
आफैंवाट
उज्यालोहरु खोसिंदा रै’ छन्
निद्राहरु खोसिंदा रै’ छन्
हँसियाहरु खिएपछि 
सबै भन्दा बढी त 
देश दुख्दो रै’ छ
मन दुख्दो रै’ छ
(अनिल श्रेष्ठ, हँसियाहरु खिएपछि)


मान्छेको हत्या भन्दा पनि
धेरै धेरै गुणा खतर्नाक छ
आस्थाको यो हत्या
(मित्रलाल पंज्ञानी, खतर्नाक हत्याराहरु)


र, जसले अँध्यारोलाई नष्ट गर्न 
हजारौँ मसाल जुलुसहरु 
तयार गरिरहे 
अहिले कसरी तिनीहरु 
आगोका विसर्जनका खेलहरु 
खेलिरहेका छन् ?
(अनिल श्रेष्ठ, विसर्जन)


विप्पा राम्रो फुल बन्यो रे
भारतले यो मर्म बुझ्यो रे
बुर्कुसी मार्दै फर्के नेता 
भन्दिनु पर्ने विश्व विजेता
(चेतकान्त चापागार्इँ, छैन सुरक्षा नाम निसाना)


महाराजका जस्तै छन् उसका स्वप्नहरु
महाराजका जस्तै छन् उसका आकांक्षाहरु
महाराजका जस्तै छन् उसका दिनचर्याहरु
महाराजका जस्तै छन् उसका पाइलाका डोवहरु
    जतावाट हेरे पनि 
    श्री श्री श्री श्री श्री
महाराजको जस्तो लाग्छ उसको अनुहार 
            (अमर गिरी, नायक)

केही लिन प्याओहरु
ह्वाइट हाउस र दिल्ली
पुगे होलान् 
केही लेन्डुपहरु
सहिदका सपना कुल्ंिचदै 
कुर्सीमाथि बसे होलान् 
सत्ताको म्याराथुनको 
भाग दौडमा 
निभ्यो होला स्वतन्त्रताको दियो 
लत्रियो होला् आजादीको झन्डा 
क्रान्ति सम्झौतामा टुङग्एिको 
गुुड्डी हाँक्दै होलान 
केही चाटुकारहरु
रगतको हाली खेल्दै 
कोही कोही शीर्ष पदासीन 
पनि भए होलान् 
(प्रसिद्धा शर्मा, साइँल्दाइ !
क्रान्ति कैले टुङगिन्छ् )

यहीँ कतै कुनामा छु
तर राज्यलाई थाहा छैन
रगतको लुगा लगाएर राज्य कहाँ गएको छ ?
चुलाृमा बल्ने आगो अवश्य त्यो राज्य होइन 
पिंढीमा टुक्रुक्क्र बसेर÷कुशल मंगल सोध्न पनि राज्य होइन 
छिया छिया पैतालाप्रति÷ राज्यको के प्रतिक्रिया छ ?
यहीँ कतै कुनामा छु÷राज्य कस्को प्रेममा लीन छ ?
(केशव सिलवाल, राज्यको अनुहार)

स्तब्ध छ देश 
बाल रेलमा छन् 
अनुहार चिरपरिचित 
फ्यान्सी टोपी लगाएका !
रंगीचंगी बेलुन हातमा लिएका !
आइसक्रिम र चकलेट खाइरहेका 
‘रेलगाडी छुक छुक’ गाइरहेका !
  (विनोदविक्रम केसी, क्रान्ति एक्सप्रेस)


लेन्डुप दोर्जेहरुकै सान सौकत बढेको छ यो देशमा 
यति बेला लेन्डुप दोर्जेहरुकै भजन कीर्तन चलेको छ यो देशमा
प्रभुहरुको रिमोट कन्ट्रोलमा चल्ने लेन्डुप दोर्जेहरु 
(दिल साहनी, लेन्डुप दोर्जेहरु)



ग. वर्गीय, जातीय, लैङ्गिक , दलित,  क्षेत्रीय, उत्पीडन र विभेदको अभिव्यक्ति तथा त्यसको विरोध 

नेपालको सामाजिक संरचना अर्धसामन्ती तथा नव औपनिवेशिक रहेको छ । यस सामाजिक व्यवस्थामा वर्गीय उत्पीडन र शोषण त छर्दै छ, सँगसँगै जातीय, लैङगिक, क्षेत्रीय उत्पीडन, शोषण र दमन कायम नै भएको हुदा त्यसप्रतिको विरोधको स्वर प्रगतिशील कवितामा प्रकट भएको छ ।

हेरौँ, साक्ष्य :
कारण 
म चेपाङ हुँ 
च्यापिंदा च्यापिंदा चेप्टिएको 
मलाई लाज लाग्छ
कि हामी एउटै देशमा छौँ
र तिमी हाम्रो करङको भ¥याङ चढेर 
अझ माथि माथि जाँदै छौ 
तिमीले कुल्चिए पछि बेसरी 
दुखेको मेरो ढाड
अझै ठिक भएको छैन् 
(केशव सिलवाल, ङा चेपाङ)

तिम्रो भद्रपनको 
फाइदा लुट्न पल्केका सौखिनहरु
तिम्रो जरा काटेर कजाउँछन् 
तिम्रो हाँगा छोट्याएर सजाउँछन् 
तिमी चुप चाप खुम्चिरहन्छौँ
काटिइरहन्छौ र सजिइ रहन्छौँ
(गौरी दाहाल, बोन्साई)

हजुर बा छोरी भन्नुहुन्छ 
मामा दिदी भन्नुहुन्छ
म आमा भन्छु 
आमा तिम्रो नाम के हो ?
म जागिरे भएँ
बाबुकै नामबाट 
म बेनाम आमाकी छोरी 
भन आमा तिम्र्रो नाम के हो ?
(लक्ष्मी माली, आमा तिम्रो नाम के हो ?)


खाली छन् जमिनदारको बहिखाताका धमिला पृष्ठ
त्यहाँ भेटिन्न कुनै हिसाब
कुन कुन महाराजको सवारीमा 
मैले मुटु फुट्ने गरी बाटो खनें
कति हल जोतें चौधरीको खेत 
कति दिन फरुवा चलाए
एकधरो लगौटीले कति वर्ष महिना र 
दिनको लाज ढाकें
तर राखेको छु मैले एक एक हिसाव
(सरिता तिवारी, आदिवासी)


यतिखेर फेरि 
एक हुल बादी आइमाईका अर्धनग्न स्तनहरु
मेरा आँखा अघि आएर उभिएका छन् 
र, यो मुलुकका लागि 
आफुले गर्भाधान गर्न पाउनु पर्ने
माग गरिरहेका छन् 
(अनिल श्रेष्ठ, एउटी वादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर)

जातीय पिरामिडको पिंधमा 
पुर्खौंदेखि पिल्सिएकी
छुतहरुकी अछुत 
म हुँ डिक्रा बदिनी
साहेव !
(केवल विनावी, कुमारी आमा र सपनाहरु)

घ. सामन्तवाद, विस्तारवाद तथा साम्राज्यवादको विरोध र जनवादी–समाजवादी व्यवस्थाको कामना 

आधा शताब्दीभन्दा बढीको संघर्ष र बलिदानपूर्ण जनयुद्ध तथा विविध समयमा भएका जनआन्दोलका परिणामस्वरुप गणतन्त्र स्थापना भएता पनि नवीन आवरणमा पुरानै प्रकृति र स्वरुपको शोषणधर्मी व्यवस्थासंगै क्रान्तिकारी अन्तःस्वरुपी नेतृत्वभन्दा नवमाक्र्सवादी–उत्तरमाक्र्सवादी तथा इतिहासवादी विचार÷चिन्तनबाट प्रभावित नेतृत्वको प्राबल्यका कारण सामन्तवाद, विस्तारवाद र साम्राज्यवादबाट प्रभावित÷कुनै न कुनै रुपमा पालित÷पोषित÷समर्थित हुदँै आएको सन्र्दभमा शेषित,उत्पीडित सर्वहारावर्गको मुक्ति भन्दा अभिजात्य एवम् दलाल वर्गकै हित प्रबद्र्धन÷संवर्धनमा राज्य आकर्षित भएको हुँदा त्यसप्रतिको तीव्र आक्रोश एवम् विरोध भावको अभिव्यञ्जन कवितामा भएको छ । सम्रग उत्पीडनबाट निस्तारका  निम्ति गरिएका सङ्घर्षमा नेपालका क्रान्तिकारी जनताको अनैतिहासिक भूमिका रहेको र त्यसको सत्यतापूर्ण अङ्कन कविहरुले गरेका छन् । हेरौँ - केही साक्ष्य :

घुम्दै छन् जनता अझै पनि यहाँ सामन्तका हातमा
खान्छन् अन्न सुदूर गाउँघरका मान्छे अझै पातमा
पैसावाल छ जो उही छ बलियो शोसेर खाए पनि
गर्छन् निर्धन नित्य आँसु, पसिना खोलो बगाए पनि
(नुमराज बराल, सर्प शासन)

अलिकति पनि हतारो छैन सरकारलाई
किनकि कहीँ पुग्नु छैन उसलाई
(नाकिमा, सरकार)

मैले दिएँ तिमीलाई
यो जमिन, यो महासागर
यो सिङ्गै पृथ्वी
मैले दिएँ तिमीलाई
यो आकाश, यो ब्रहमाण्ड ।
(केशव सिलवाल, वामन अवतार)

आज सबेरैदेखि
कविता लेख्न व्यस्त छु म
थरीथरीका विचारहरु
मभित्र आइरहेका छन्
गइरहेका छन्
र प्रेसिडेन्ट क्लिन्टन
मसँग गर्ने कुराको विषयमा
आफ्ना जासुस, राजनीतिक सल्लाहकार
बमवर्षक सैनिकहरु
खतरनाक भाडाका हत्यारा
र विश्वभरिका दलाल राष्ट्र प्रमुखहरुसँग
निरन्तर विचार विमर्श गरिरहेछ
(विमल निभा, प्रेसिडेन्ट क्लिन्टन)

जनतका लागि,जनताद्धारा, जनताको शासन
साँच्ची, कहाँ होला यतिखेर
त्यो दाह्रीवाल लिङ्कन बुढो
होला कतै
दाह्री कन्याउँदै
बिरामी आमाहरुको देशलाई
बेरोजगार छोराहरुको देशलाई
कुपोषणग्रस्त नानीहरुको देशलाई
लोकतन्त्रको उपदेश दिंदैँ होला
(विनोद विक्रम केसी, लिङ्कनको अटोग्राफ)


मैले गरेकै हुँ
हस्ताक्षर
सालिकका
श्रीपेचहरुमथि
र कोरेको हुँ
यो देशलाई
श्रीपेचहरुको
दासताबाट
मुक्त गर्ने कविता
(अनिल श्रेष्ठ, उपसंहार)

करोडौँका आँखामा फुटेको वसन्त
नयाँ दिनको नयाँ उदात्त
नमुस्कुराउँदा सम्म 
यात्रा पुरा हुँदैन
इतिहासका यस मोडमा 
(ईश्वरचन्द्र ज्ञवाली, जित भएको छैन)


चल्न त यो देशमा 
निकै चल्यो आँधी र तुफान
र, बढा¥यो कसिङ्गर पनि 
सफा भएन मेरो घरको चोटा र मझेरी
फोहोरको डुङ्गुर घरको कुना कुनामा 
थुप्रिरहेको छ अझैँसम्म 
(हिरामणि दुःखी, आह्वान) 

देशले गर्भाधान गर्नेछ अर्को तुफान 
र राष्ट्रिय रंगमा थपिने छन् थारुहरु
राष्ट्रिय फूलमा बद्लिने छन् गुरुङहरु 
राष्ट्रिय निसानामा हुने छन् कर्णलीहरु
(राज बहादुर कुँवर, गृहयुद्धको अन्तिम पर्चा)

बाटो छाडेर जाइन्न छिटो धेरै छिटो हुन
सित्तै पाएर खाइन्न अखानु अतिको नुन
काटेकै हो, अझै धेरै धेरै काट्नु छ कण्टक
जाने हो मुक्तिकै बाटो पुग्एिला जहाँतक
(मित्रलाल पंज्ञानी, मुक्तियात्रा)

१.४ निष्कर्ष
नेपाली समाजमा रहेको वर्ग विभेद, असमानता, बैषम्य, शोषण उत्पीडनका विरुद्धमा भएका महान् संघर्ष र तज्जन्य अवस्था एवम् त्यसले पारेको प्रभावकै परिप्रेक्ष्यमा प्रगतिशील कविताका मूलभूत र सहायक प्रवृत्तिको निर्धारण र पहिचान हुदै आएको छ । यसर्थ विगतका मुक्ति आन्दोलन र संघर्षद्वारा प्राप्त भएका उपलब्धिहरु अन्ततः पुरानै सार, मूल्य र सौन्र्दयका हुनाले त्यसप्रति मोह भन्दा विरोधको भाव अभिव्यञ्जित हुनु स्वाभाविक नै देखिन्छ । जनताका मूलभूत जनतान्त्रिक अधिकारको प्राप्ति भन्दा पनि सामन्तवाद, विस्तारवाद र साम्राज्यवादकै केन्द्रियता, दलाल अर्थतन्त्र, उपभोक्तावाद, आत्मसमर्पणमुखी राष्ट्रियता, वर्ग विचलन, विचार स्खलन र संसदपन्थी सत्तागत प्रवृत्ति यथावत् रहेको अनुभूति भएको हुनाले समकालीन प्रगतिशील कविहरुका कविता त्यसै भावमा सङ्केन्द्रित भएका हुन । असंख्य बलिदान र उत्सर्गवाट पनि नेपाली जनताको हित र प्रसन्नतामा खासै फेरबदल नआएको, सत्ताको चरित्र नबदलिएको, नेतृत्व  पङक्तिमा विचार विचलन भएको र विस्तारवाद, साम्राज्यवादप्रति नतमस्तक भएको एवम् जनताका हित विरुद्ध देखा परेको हुँदा परिवर्तनप्रति प्रतिबद्व कविहरुले इमान्दारीका साथ यथार्थको अंकन गरेका छन् र जनताको मुक्ति अभीष्टलाई व्यञ्जकमय, संगीतमय र संवेदनशीलताका साथ बिम्बीकरण गरेका छन् ।

सन्दर्भ सामग्री 

गिरी, अमर(२०७३), समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, ललितपुर  :साझा प्रकाशन ।
पाण्डेय, ताराकान्त,(२०५६) प्रगतिवाद र कविता, काठमाडौं  : शीला योगी ।
पौडेल, हेमनाथ(२०६५), प्रगतिवादी दृष्टिमा कवि र कविता, काठमाडौं  : पैरवी प्रकाशन । 
भण्डारी, जगदीश चन्द्र,(२०५५) प्रगतिवादी नेपाली कविता  : रेखाङ्कन र विश्लेषण, काठमाडौं  : मुन्नी भण्डारी ।
भण्डारी, जगदीश चन्द्र, डा. ताराकान्त पाण्डेय,(२०६७), प्रतिनिधि नेपाली 
समालोचना, काठमाडौं : विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
एवम् बिभिन्न  पत्रपत्रिका ।

===================================

























No comments:

Post a Comment