Sunday, April 23, 2017

चितवनको भरतपुरमा 'नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता' विषयक गोष्ठी सम्पन्न ।

यही २०७४ साल बैशाख ९ गते प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा चितवनको भरतपुरमा 'नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता' विषयक गोष्ठी सम्पन्न भएको छ ।सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा आयोजित सो कार्यक्रममा समालोचक एवम् कवि डा. रामप्रसाद ज्ञवालीले 'नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि समालोचक प्रा. जगत उपाध्याय 'प्रेक्षित' ले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमाथी साहित्यकारहरु डि.आर.पोखरेल, रविकीरण निर्जीव, एल.बि. क्षेत्री, सरिता तिवारी लगायतले आफ्ना जिज्ञासा र धारणाहरु राख्नुभएको थियो । प्रगतिशील लेखक सङ्घ, चितवनका अध्यक्ष सुमनराज श्रेष्ठको सभापतित्व र संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा  सम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार पारिजातका बारेमा - प्रलेसका केन्द्रीय सचिब एवं कवि सरिता तिवारी मन्तव्य ब्यक्त गर्नुभएको थियो । 

प्रलेसका केन्द्रीय सदस्य मोदनाथ मरहट्ठाले स्वागत मन्तव्य र संघका केन्द्रीय सदस्य प्रकाश चापागाईंले धन्यवाद मन्तव्य राक्नुभएको उक्त गोष्ठीको संचालन प्रलेस चितवनका सचिव विपिन पाठकले गर्नु भएको थियो । 

======================================



कार्यक्रममा 'बाटो' शिर्षकको कविता वाचन गर्दै कवि पुरुषोत्तम आचार्य


=============================================


(अध्ययन–पत्र)
नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता

डा. रामप्रसाद ज्ञवाली


१. विषयप्रवेश र सीमा

प्रगतिशील लेखक सङ्घ, नेपालले ६ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यलेखनमा जीवनवादी, अग्रगामी, प्रगतिशील–प्रगतिवादी साहित्यको विकासका निम्ति संस्थागत रूपमा ऐतिहासिक योगदान दिँदै आएको छ । जनमुखी साहित्यको लेखन, संवर्धन, सम्प्रेषण, प्रसारण र संरक्षण यस संस्थाका मुख्य उद्देश्य रहँदै आएका छन् । यसका लागि यस संस्थाले वैचारिक विमर्श, वैज्ञानिक अध्ययन, लेखनशिल्पका लागि प्रशिक्षण, परम्पराबोधका लागि अनुसन्धानमूलक अध्ययन, मौलिक पहिचानका लागि इतर साहित्यसँगको तुलनात्मक अध्ययन, कार्यपत्रहरूको प्रस्तुति र गम्भीर छलफल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गोष्ठी र गम्भीर बहस, प्रतिनिधिमूलक विशेषाङ्क प्रकाशन आदि गर्दै आएको पाइन्छ । प्रस्तुत कार्यक्रम र यस अध्ययनपत्रलाई पनि यसै अभियानको एक सानो उपक्रमका रूपमा लिन सकिन्छ । 

‘नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता’ शीर्षकले सङ्केत गर्ने क्षेत्र र ओगट्ने आयाम व्यापक छ । प्रगतिशीलता के हो भन्नेदेखि शास्त्रीय छन्दका नेपाली कविताको ऐतिहासिक परम्पराबोध, दीर्घकालीन अन्वेषण, गम्भीर अध्ययन, उपविधागत वर्गीकरण, तुलनात्मक विश्लेषण र वस्तुनिष्ठ मूल्याङ्कन जस्तो व्यापक आयामलाई यस शीर्षकले सङ्केत गर्छ । आयामगत दृष्टिले यो विद्यावारिधिका लागि उपयुक्त विषय हो किनभने यसले नेपाली कविताको इतिहास–अध्ययनको माग गर्छ, छन्दशास्त्रको शास्त्रीय अध्ययनको माग गर्छ, प्रगतिशील विचारधाराको अध्ययनको माग गर्छ र नेपाली कवितापरम्परामा छन्दकविताको लामो यात्राको ऐतिहासिक अध्ययनको माग गर्छ । 

शास्त्रीय छन्दमा कविता लेख्ने नेपाली कविहरूको सङ्ख्या सयौँमा नभई हजारौँमा छ । ती सबै कवि र तिनका कविताको अध्ययन एकै व्यक्तिबाट गर्नु त्यसै पनि सहज छैन भने त्यसमाथि सामान्य र छोटो आकारप्रकारको एउटा अध्ययनपत्रमा यस विषयलाई समग्रमा, वस्तुनिष्ठ बनाई र न्यायपूर्ण हुने गरी प्रस्तुत गर्नु असम्भव नै हुन्छ । त्यसैले प्रस्तुत अध्ययनपत्रलाई निम्नलिखित सीमामा रहेर तयार पारिएको कुरा सुरुमै अनुरोध छः 

१. सम्बन्धित विषयमाव्यापक सर्वेक्षण नगरी अतिसामान्य सर्वेक्षण गरिएको,
२. प्रतिनिधिमूलक रूपमा एकाध कवि र एकाध कवितालाई मात्र उदाहरणका रूपमा प्रस्तुत गरिएको (सबै कवि र कविता समेट्न नसकिएको),
३. प्रगतिवादी कविका कवितालाई मात्र नभर्ई जनपक्षीय समाजरूपान्तरणका पक्षमा अग्रगामी चेतना सम्प्रेषण गर्ने क्रान्तिकारी स्वच्छन्दतावादी र आलोचनात्मक यथार्थवादी कविका कविताहरूलाई पनि प्रगतिशील मानिएको,
४. कवितासङ्ग्रहको नाम र कवितांश आदि दिएर विवेचना गर्नुको सट्टा विषयशीर्षकसँग सम्बद्ध रहेर कविताका सारभूत विशेषताहरूलाई मात्र सङ्केतात्मक रूपमा मात्रसम्बोधन गरिएको,
५. प्रगतिशील कविताले ग्रहण गरेका मोटामोटी प्रवृत्तिको मात्र वर्गीकरण गरिएको । 

२. कविता र छन्द
कविता मूलतः लयमाधुर्य, शब्दसौन्दर्य र अर्थगाम्भीर्यको संश्लिष्ट भाषिक कला हो । कवितामा लयमाधुर्यले साङ्गीतपक्षको, शब्दसौन्दर्यले भाषिक कलापक्षको र अर्थगाम्भीर्यले भाव र विचारपक्षको प्रतिनिधित्व गर्छन् । 
कवितालाई साहित्यको मौलिक र स्वतन्त्र विधाका रूपमा स्वरूपित गर्ने मुख्य आधार भनेकै छन्द (लय) हो । छन्द आधारभूत रूपमा लोक, शास्त्रीय र मुक्त गरी तीन प्रकारका हुन्छन् । यी तीनप्रकारभित्र हजारौँ छन्दहरू रहेका छन् । गण र मात्राका निश्चित मानकहरूमा आबद्ध छन्द शास्त्रीय छन्द हो, लोकजीवनमा प्रचलित र उच्चारणमा आधारित गेय छन्द लोकछन्द हो भने अन्तर्लयको आरोहअवरोहमा आधारित स्वतन्त्र छन्द मुक्त छन्द हो । 

उपर्युक्त छन्दहरूमध्ये शास्त्रीय छन्द गण र मात्राको कठोर अनुशासनमा आधारित हुन्छ । यो छन्द कवितालेखनको प्राचीनतम र विशिष्ट शैली हो । यस शैलीले कविताका शास्त्रीय मानक मानिने लय र सुमधुर सङ्गीततत्त्वको मौलिक प्रतिनिधित्व गर्छ । शास्त्रीय छन्दकवितामा गति र यतिको विशेष भूमिका हुन्छ । गति भनेको प्रवाह हो भने यति भनेको विश्राम हो । गति र यतिले कवितामा लयसौन्दर्य र श्रुतिमाधुर्यको निर्वाह गर्छन् । 

३. शास्त्रीय छन्दका नेपाली कविताको प्रारम्भ र महत्त्व

नेपाली भाषामा संस्कृतशास्त्रीय छन्दमा गरिएका रचनाको औपचारिक परम्परा हेर्दा शक्तिवल्लभ अज्र्यालको तनहूँ भकुन्डो (वि.सं.१८३९) शीर्षकको कविता पहिलो शास्त्रीय छन्दकविता देखिन्छ । स्वागता छन्दमा रचिएको यस कवितामा नेपाल–एकीकरणको  अभियान सुरु गर्ने पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहसँग समेत सँगै रहेर अनुभव आर्जेका शक्तिवल्लभ अज्र्यालले यस कविताको पहिलो श्लोकमा विजित तनहुँराज्य गुमेको सङ्केत गर्दै दोस्रो श्लोकमा तनहुँलाई जितेर स्थायी रूपमै कसरी एकीकरणमा समाहित गर्न सकिन्छ भन्ने रणनीतिक उपाय सुझाएको पाइन्छ  :

धायको छ लमजुंग भकुण्डो
कास्कि बाँध सुनको छ षकुण्डो 
पीउठानिकन देउ सुकुण्डो
मारिलेउ तनहूँ त भकुण्डो ।

महत्त्वका कुरा गर्दा शास्त्रीय छन्दकविता नेपाली कविताको विशिष्ट पहिचान हो । नेपाली कविताका सन्दर्भमा मात्र नभएर नेपाली साहित्यको इतिहास र परम्पराका सन्दर्भमा नै शास्त्रीय छन्दकविताको उपस्थिति ऐतिहासिक महत्त्वको र गुणात्मक मूल्यको रहेको छ । लोकसाहित्यलाई छाडेर भन्दा शास्त्रीय छन्दकविता नेपाली कविताको मात्र नभई समग्र नेपाली साहित्यकै आधारभूत जगका रूपमा रहेको छ । कवित्तलाई छाडेर भन्ने हो भने नेपाली साहित्यको औपचारिक लेखनारम्भ नै शास्त्रीय छन्दबाट भएको देखिन्छ ।सुरुसुरुमा धर्मशास्त्र र नीतिशास्त्र पनि शास्त्रीय छन्दमा लेख्ने प्रचलन रहेको पाइन्छ ।नेपाली शास्त्रीय छन्दकविताको यात्रा यसको सुरुवातदेखि क्रमशः विकसित र स्थापित हुँदै वर्तमान समयमा पनि अस्तित्वशाली उपस्थिति जनाउँदै अगाडि बढिरहेको देखिन्छ । यसबाट नेपाली शास्त्रीय छन्दकविताको सामथ्र्य र महत्त्व स्वतः प्रस्ट हुन्छ । 

४. कवितामा प्रगतिशीलता

प्रगतिशीलता वैचारिक पक्ष हो । साहित्यमा जसलाई प्रगतिशीलता मानिन्छ; कविताका सन्दर्भमा पनि त्यसैलाई नै प्रगतिशीलता मानिन्छ । कवितामा प्रगतिशीलताको अभिव्यक्ति दिनु भनेको मूलतः जीवनजगत् र समाजको यथार्थबोध, वस्तुपरक विश्लेषण, उत्पीडित वर्गीय पक्षधरता, जनसामान्यमा पनि बोध्य हुने सम्प्रेषणीय भाषाशैली र वर्गीय तथा अन्य उत्पीडनबाट मुक्तिका लागि माक्र्सवादी वैचारिक मार्गदर्शनको अभिव्यक्ति दिनु नै हो । अवैज्ञानिकताका विरुद्ध वैज्ञानिकता, असङ्गतिका विरुद्ध सङ्गति, यथार्थपरक इतिहासबोध, मानवीय सरोकारका समयुगीन ह्रासोन्मुख पक्षहरूको उद्घाटन, आदर्शवाद तथा यथास्थितिवादको विरोध, मानवीय मूल्य, समानता, स्वतन्त्रता, श्रमप्रतिको श्रद्धा र बहुसङ्ख्यक मानवजीनवको पक्षधरता, वर्गविहीन समाजव्यवस्थाको स्वप्न आदि सकारात्मक पक्षको अभिव्यक्तिमा प्रगतिशीलता हुन्छ । समाजमा विद्यमान्वर्गीय अवस्थालाई सूचित गर्नु, समाजमा रहेका विसङ्गत र विकृत पक्षको यथार्थबोध गरी वस्तुपरक ढङ्गले तिनको उद्घाटन गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको अध्ययन र बोध गरी त्यसलाई कवितामा प्रतिबिम्बन गर्नु, समाजसचेत रूपमा वैज्ञानिक दृष्टिकोण प्रस्तुत गर्नु, सबै किसिमका अन्धविश्वास र अवैज्ञानिक दृष्टिकोणको विरोध गर्नु, समतामूलक न्यायप्रणालीको पक्ष लिँदै नकारात्मक यथास्थिति हटाएरसकारात्मक परिवर्तन ल्याउनका लागि अभिप्रेरक अभिव्यक्ति दिनु तथा सबैखाले जीवनविरोधी धारणा र मानवविरोधी रचनामूल्यको बहिष्कार, त्याग अनिउदात्त, आनन्दमयी र जीवनमुखी मूल्यमान्यतालाई प्रश्रय दिँदै यस्ता धारणाको उदात्तीकरण गरेर अभिव्यक्ति दिनु सारभूत रूपमा प्रगतिशीलता हो । 

५. नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलताको पृष्ठाधार

सामान्य रूपमा भन्दा नकारात्मक यथास्थितिप्रतिको असहमति र त्यस असहमतिको अभिव्यक्तिद्वारा अग्रगामी चेतनाको सम्प्रेषण गर्ने काव्यिक भूमिकामा कविताको प्रगतिशीलता निहित हुन्छ । नकारात्मक यथास्थितिप्रतिको बुझाइ केकति वैज्ञानिक र केकति सकारात्मक परिवर्तनको पक्षमा छ भन्ने कुराले त्यस अभिव्यक्तिको प्रगतिशीलताको मापन गर्न सकिन्छ । आजको युगमा र नेपाली कविताको प्रगतिशीलताका सन्दर्भमा हेर्दा आधुनिक कालदेखि प्रगतिशील साहित्यको प्रारम्भ भएको मानिन्छ । सामान्यतया यो मान्यतासही नै हो तापनिआजको मान्यताअनुकूलको प्रगतिशील कविताका लागि लामो समयदेखि असचेत, अल्पसचेत र सचेत रूपमा फरकफरक स्वरूपको अभिव्यक्ति हुँदै आएको परम्परालाई पनि महत्त्व दिनुपर्ने हुन्छ । शास्त्रीय छन्दका कवितामा पाइने तिनै परम्पराप्राप्त अभिव्यक्तिलाई नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलताको पृष्ठाधारका रूपमा लिन सकिन्छ । यस दृष्टिले हेर्दा प्राथमिककालीन कवि भानुभक्त आचार्यदेखि नै केही अभिलक्षणहरूपृष्ठाधारका रूपमा फेला पर्छन् । 

भानुभक्त आचार्यले आफू जेलमा परेको समयमा जेलका कैदीले भोग्नुपर्ने अवस्थालाईतथा तत्कालीन कर्मचारीतन्त्रमा भोलिवादी प्रवृत्ति हावी रहेको कुरालाई शास्त्रीय छन्दको कवितामार्फत सङ्केत गरेका छन् । जस्तै  :

लाम्खुट्टे उपियाँ उडूस् यि सँगि छन् यिन्कै लहड्मा बसी 
लाम्खुट्टेहरू गाउँछन् र उपियाँ नाच्छन् म हेर्छू बसी ।
             ××             ××              ××
‘भोली भोली हुँदैमा सब जुनि बितिगो क्यान भन्छन् यि भोली ?’

यी श्लोकांशहरू त्यस समयको सामयिक यथार्थका कवितात्मक प्रतिबिम्ब हुन् । त्यस समयमा निर्भीकतापूर्वक यस्तो यथास्थितिको उद्घाटन गर्नु र यथास्थितिप्रति असहमति जनाउँदै व्यङ्ग्याभिव्यक्ति दिनु सापेक्षता प्रगतिशील कार्य देखिन्छ । 

नेपाली कविताको माध्यमिक कालमा मोतीराम भट्टले समाजमा फैलिएको कर्मकाण्ड र जुवातासको विकृतिमाथि प्रहार गर्दै कविता लेखेजसमा त्यस समयको सामाजिक विकृतिमाथि व्यङ्ग्य पाइन्छ । माध्यमिक कालमा नै लक्ष्मीदत्त पन्तद्वारा संस्कृत भाषाबाट अनुवादका माध्यमबाटराणाहरूको अहङ्कारका विरुद्ध विद्रोही चेतना यसरी व्यक्त गरिएको पाइन्छ  :

राजा भै शेखि तिम्रो म पनि गुरुकृपा, बुद्धिभै टिम्किएको
धन्ले नामी तिमी छौ चहुँदिशि म इलम्ले सुयश् गाइएको
त्यस् निम्ती हे घमण्डी तिमि र म दुइमा के फरक् आज याहाँ ?
एस्तो मुन्टो बटार्छौ, तिमिसित म पनी राख्छु पर्वाह काहाँ ?

निरङ्कुश तानाशाह राणाहरूको शासनकालमा अनुवादकै रूपमा भए पनि यस्तो प्रस्तुति दिनु जोखिमको काम थियो तर पन्तले गरे । त्यस्तो समयमा स्वाभिमानी श्रमजीवी बौद्धिक जनताको गर्वानुभूतिलाई अभिव्यक्ति दिनु सापेक्षतामा प्रगतिशीलता नै मान्नुपर्छ । 

नेपाली कविताको पूर्वआधुनिक मानिने कालमा लेखनाथ पौड्याल, धरणीधर कोइराला र महानन्द सापकोटाका केही कविता÷कवितांशमा समयुगीन सामाजिक विसङ्गतिलाई सम्बोधन गरिएको पाइन्छ जसमा त्यस समयको सामन्तवादी तानाशाही व्यवस्थाप्रतिको असहमति र साधारण जनताको चेतनाका सापेक्षता प्रगतिशीलता पाइन्छ । त्यस समयको नेपाली समाजमा विद्यमान् वर्गीय विभेदको अवस्थाप्रति सङ्केत गर्दै र परोक्षमा त्यस अवस्थाप्रतिको असहमति जनाउँदै लेखनाथ पौड्यालले ‘सत्यकलि संवाद’मा लेखे  :

काढी तरक्क पसिना दिनरात डोको
बोके पनी उदरगर्त रहन्छ भोको । 

त्यसै समयमा भारतमा रहेका कवि धरणीधर कोइरालाले जागरणधर्मी कविताहरू लेखे । ‘नैवेद्य’ (१९७७) कवितासङ्ग्रहमा सङ्कलित ‘कोदानुनय’, ‘नयपाली ठिटो’ लगायतका केही कवितामा उनले शास्त्रीय छन्दमासमकालीन समाजको नकारात्मक यथास्थितिको उद्घाटन गर्दै जागृति र न्यायपक्षीय कविताहरूरचना गरेको पाइन्छ । उनका यस्ता कविताले त्यस समयको सामाजिक स्थितिको सापेक्षतामा प्रगतिशीलता प्रस्तुत गरेको देखिन्छ । उनले उतिबेलै गणतान्त्रिक चेतना प्रस्तुत गर्दै यस्तो लेखेको पाइन्छ  :

छरितो र छिटो नयपालि ठिटो
गणतन्त्र बनाउन गर्जिउठ्यो ।

वर्गीय विभेद, वर्गीय उत्पीडन र वर्गीय यथास्थितिप्रतिको असन्तुष्टि व्यक्त गर्दै यसै अवधिमा कवि महानन्द सापकोटाले विद्रोह र चुनौतीको स्वरमा यस्तो अभिव्यक्ति दिए  :

दुइचार यहाँ धनिमा गनिनु, 
अरूले तिनको करिया बनिनु, 
विधिको यदि यै छ विधान भने, 
अब त्यो विधिको पनि आयु पुग्यो ।

नब्बेको दशकमा नेपाली कवितामा स्वच्छन्दतावादी चेतनाको प्रवेश भएको मानिन्छ । यसअवधिसम्म नेपालमा राणाशासनका विरुद्ध भित्रैभित्र विद्रोह सुरु भइसकेको थियो । ‘मकै पर्व’ घट्यो । ‘प्रचण्ड गोर्खा’ र ‘नेपाल प्रजा परिषद्’ जस्ता राजनीतिक संस्थाको स्थापना भयो, पुस्तकालय पर्व घट्यो । यसै क्रममा १९९७ सालमा सहिदकाण्ड भयो । भारत र चीनमा पनि क्रान्तिको लहर चल्दै थियो । यी सबै कुराले त्यस समयका बौद्धिक वर्ग मानिने कविहरूमा पनि प्रभाव प¥यो र नकारात्मक यथास्थितिप्रतिको उनीहरूको असहमतिले कुनै न कुनै रूपमा काव्यिक वाणी पाउन सुरु ग¥यो । यस किसिमको अभिव्यक्ति दिने केही कविका कविता÷कवितांशमा मानवतावादी, अग्रगामी, समतापक्षीय तथा केही केही कविता÷कवितांशमा अत्याचारविरुद्ध विद्रोही भावको समेत अभिव्यक्ति पाइन्छ । महाकवि देवकोटाले ‘वन’ शीर्षकको कवितामा मानवतावादी तथा जनपक्षीय उदात्त भावको अभिव्यक्तिमार्फत यथास्थितिको विरोध गर्दै प्रगतिशील चेतना प्रस्तुत गरेको पाइन्छ भने कवि सिद्धिचरणश्रेष्ठले क्रान्तिकारी स्वच्छन्दतावादी स्वर सुसेल्दै शास्त्रीय मात्रिक छन्दमा यस्तो लेखेको पाइन्छ  :

डुब्लास् मर्लास् अरू के होलास् यत्ति न हो त्रास तँलाई ?
लाखाँ डुब्छन् लाखाँ मर्छन् जगको रीत चलाउनलाई ।

उपर्युक्त कविहरूले माक्र्सवादबाट प्रभावित तथा अनुप्राणित भएर प्रगतिशील कविताको रचना नगरेका भए पनि आर्थिक भिन्नता, सामाजिक विभेद, वर्गीय उत्पीडन, असमान धार्मिक व्यवहार, छुवाछुत तथा तत्कालीन समयमा भइरहेका दमन र उत्पीडनका विरुद्धमा अप्रत्यक्ष रूपमा आवाज उठाएको देखिन्छ । नेपाली कवितामा अत्यन्त सचेत र जागृत रूपमा प्रगतिशील कविता लेख्न सुरु गरिएको भने राणशासनको अन्तिम अवधिदेखि हो । यसको सुरुवात मुक्त छन्दका कविताबाट भएको देखिन्छ । यस्ता कविता लेख्ने परम्पराको सुरुआत गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कवितासङ्ग्रहबाट गरेका हुन् । उनले गीतिछन्दमा कविता लेखे पनि शास्त्रीय छन्दमाकविता लेखेनन् । त्यसैले भानुभक्तदेखि सिद्धिचरणसम्मको शास्त्रीय छन्दकविताको उपर्युक्त स्वरूप नैनेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलताको पृष्ठाधार हो भन्न सकिन्छ । यसरी हेर्दा अन्य विधाका साहित्यमा जस्तै राणाविरोधी जनजागरणको पृष्ठभूमिमा नै प्रगतिशील नेपाली शास्त्रीय छन्दकविताको पनि प्रारम्भ भएको देखिन्छ ।


५. नेपाली शास्त्रीय छन्दकवितामा प्रगतिशीलता
यद्यपि श्यामप्रसादले २००७ सालमा नै नक्खू जेलमा रहँदा ‘यहाँ समाजवाद छ’ लेखेर वर्गीय दृष्टिकोण लिखित रूपमा प्रस्तुत गरिसकेका थिए तापनि नेपाली कवितामा औपचारिक रूपमा प्रगतिशील÷प्रगतिवादी धाराका बारेमा चर्चा गर्न थालिएको कृष्णचन्द्रसिंह प्रधानको कवितासङ्ग्रह ‘भञ्ज्याङनिरै’ (२००८) देखि हो भन्ने मानिँदै आएको छ । यस सङ्ग्रहको भूमिकामा उनले प्रगतिवादी (प्रगतिशील) साहित्यिक मान्यताका बारेमा जानकारी दिनुका साथै आफ्नो प्रगतिशील वर्गीय दृष्टिकोण प्रस्तुत गरेको पाइन्छ । यस समयमा श्यामप्रसाद र कृष्णचन्द्रसिंहले वैचारिक तहमा प्रगतिशीलताबारे केही विचार प्रस्तुत गरेका भए पनि शास्त्रीय छन्दमा कविताको रचना गरेको पाइन्न । शास्त्रीय छन्दका प्रगतिशील कविताको प्रारम्भका कुरा गर्दा केवलपुरे किसान अग्रपङ्क्तिमा देखा पर्छन् । त्यसपछि आजसम्म कहिले राम्रै उपस्थितिका साथ त कहिले अन्तर्गर्भित बन्दै नेपाली शास्त्रीय छन्दकविताको यात्रा चलिरहेको देखिन्छ ।

५.१ पूर्ववर्ती चरण (२००७–२०४६) का शास्त्रीय छन्दकवितामा प्रगतिशीलता

२००७ देखि २०१७ सालका बिचमा नेपाली राजनीति विश्वराजनीतिको प्रभावमा प्रजातान्त्रिक दिशातिर मोडियो तर यसले स्थिरता प्राप्त गर्न सकेन । नेपाल कम्युनिस्ट पार्टीको स्थापना, प्रगतिशील लेखक सङ्घको स्थापना, किसानआन्दोलन, शिक्षामा भएको विकास, सञ्चारमाध्यमको सुरुवात र त्यसको प्रभाव, कम्युनिस्ट पार्टीका वैचारिक प्रशिक्षण र कम्युनिस्ट विचारधाराप्रति कविहरूको आकर्षण तथा शैक्षिक जागरण आदि कुराको प्रभावमा परी यस अवधिमा शास्त्रीय छन्दमा पनि केही कविताहरू रचिए । यस दिशामा सबैभन्दा बढी भूमिका केवलपुरे किसानको देखिन्छ । उनले २००९ सालमा ‘बाघ आयो’ कवितासङ्ग्रह प्रकाशित गरे । यसपछि उनका ‘नेपाल नछो’ (२०१०), ‘समातेर पछार’ (२०१२), ‘छिःछिः’ (२०१५) र ‘सङ्घर्षको ठीक् गर’ (१०१६) कवितासङ्ग्रहहरू प्रकाशित भए । 

कृतिलेखन र प्रकाशनका दृष्टिले यो अवधि कवि केवालपुरे किसानको उत्कर्षको अवधि थियो । उक्त चार सङ्ग्रहमध्ये ‘सङ्घर्षको ठीक् गर’ शास्त्रीय छन्दका कविताहरू पनि भएको पुस्तक हो । अन्य सङ्ग्रहहरूमा गीतिकविता बढी छन् । केवलपुरे किसानका शास्त्रीय छन्दकवितामा गीतिकवितामा जस्तै जागृतिको स्वर, अन्याय–अत्याचारप्रतिको आक्रोश र विद्रोह, वर्गीय विभेद र वर्गीय उत्पीडनको विरुद्ध क्रान्तिकारी विचार, सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवादको विरोध, अवसरवादको आलोचना, मानवीय मूल्यको पक्षधरता र उत्पीडित वर्गको पक्षमा वर्गीय पक्षधरताको अभिव्यक्तिका रूपमा प्रगतिशीलता मुखरित भएको पाइन्छ । यी कवितामा उनले नेपालमा देखिएको सामाजिक विकृति, अन्धविश्वास, भारतको हेपाहा चरित्र आदिको आलोचना गर्दै प्रगतिशील जागृतिको स्वरसमेत प्रस्तुत गरेको पाइन्छ । गरिबहरू औषधीको अभावमा मरिरहेका तर पैसा हुनेले कुनै सामान्य मानवीय संवेदनासम्म नदेखाएको सामयिक यथास्थितिको उद्घाटन गर्दै उनी लेख्छन्  :

औषध् केही नपाई पटपट मरछन् गाउँले हेर आज 
डाक्टर ती छन् फटाहा अपठित लठुवा के हुने छैन थाह
चूचो टोपी छ डिग्री हुंहुंहुंहुं गरँदै ठग्छ पैसा विधर्मी
केही जान्ने र सुन्ने पठित यि जनता खेल्न थाले कपर्दी । 

त्यस्तै अर्को एक कवितामा वर्गीय विभेद र गरिबहरूको दयनीय अवस्थाको उद्घाटन गर्दै उनी यस्तो अभिव्यक्ति दिन्छन्  :

खेतीवाला तरर पसिना काढि खाई नखाई 
डोको बोकी सतत घुमने वस्त्र आकाशलाई 
तिन्मा झम्ट्यो चरहरू लिई धेर पैसा सँगाली
पोस्यो घोडो कुकुर गणिका हेर कस्तो प्रणाली ।

प्रगतिशील विचारको प्रक्षेपण गर्ने किसानका अब्बल कविता ‘सङ्घर्षको ठीक् गर’ सङ्ग्रहमा पाइन्छन् । उनका अनेक कवितामा उनको आक्रोशित नागरिक र विद्रोही चेतना मुखरित भएको पाइन्छ । सर्वहारावर्गको मुक्तिका लागि आह्वान गर्ने उनका कविताले वर्गसङ्घर्षका लागि आह्वान पनि गर्छन् । उत्पीडत तथा सर्वहारावर्गले एकढिक्को भएर सामन्तवाद र पुँजीवादका विरुद्धमा सङ्घर्ष गर्नै पर्छ भन्ने कुराउनले यसरी प्रस्तुत गरेका छन्  :

चारोंतर्फ छ अन्धकार निमुखामाथी छ त्यै शोषण
गर्ने हुन् कि त मित्रराष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो, नछो अब नछो इन्क्लाबि नारा भर
भिक्षाले हक पाइँदैन गतिलो सङ्घर्षको ठिक् गर । 

स्वच्छन्दतावादबाट प्रभावित भएका युद्धप्रसाद मिश्र यस अवधिमा क्रमशः क्रान्तिकारी स्वच्छन्दतावादतिर मोडिँदै प्रगतिशील धारातर्फ बढिरहेका थिए । जीवनको पछिल्लो काव्ययात्रामा यिनले प्रगतिशील कविताधारामा गहकिला सिर्जना गरेको पाइन्छ । ‘डोका र नाम्ला उठ’ जस्ता शास्त्रीय छन्दकविताकाव्यका माध्यमबाट उनले समाजको आमूलपरिवर्तन र सर्वहारावर्गीय शासनव्यवस्थाका पक्षमा प्रगतिशील कवितालेखन गरे । ‘आएँ’, ‘सन्देश’, ‘युग–महोत्सवको गीत’ लगायतका अनेक छन्दकवितामार्फत उनले क्रान्तिकारी चेतनाका सशक्त प्रगतिशील अभिव्यक्ति दिए । ‘युग महोत्सवको गीत’ शीर्षकको कवितामा उनी लेख्छन्  :

आओस् सन्देश यस्तो, घरघर सबको दुःख दारिद्र्य छुट्ने
हारेको जन्ममाथी मनुज मनुजमा न्यायको बाँध फुट्ने 
      पाओस् तातो नसाको रगत रगतले शक्ति–जञ्जीर टुट्ने
      आगो सल्कोस् दबेको उथलपुथल भै च्यानमा ज्यान उठ्ने । 

त्यस्तै ‘आएँ’ शीर्षकको कवितामा राजतन्त्रविरुद्ध हुँकार गर्दै उनी लेख्छन्  : 

आकाङ्क्षाले नृपतिहरुको लाउने मुण्डमाला
ऐलेलाई बुझ अभयको हूँ म यौटा दिवाला
धावा बोल्दै असह गतिले ढाल्न चट्टान आएँ 
देख्यौ ऐले उपकरणको उग्र बेला उदाएँ । 

यस अवधिमा नेपाली कवितालाई प्रगतिशील धारमा हिँडाउने कविहरूमा हृदयचन्द्रसिंह प्रधान, अनान्ददेव भट्ट, गोविन्द भट्ट, टी.आर.विश्वकर्मा, गोकुल जोशी, भूपी शेरचन र जनकप्रसाद हुमागाईंहरू देखा परेका छन् तर यी कविहरूले लोकछन्दमा गीतिकविता लेखे पनि शास्त्रीय छन्दमा कविता लेखेको भेटिन्न । तर पनि २००७ सालको राजनीतिक परिवर्तन र विश्वराजनीतिमा चीन र रुसको समाजवादोन्मुख राजनीतिक सफलताको प्रभाव नेपालका बुद्धिजीवी साहित्यकारहरूमा परेकाले त्यसको कतै पूर्ण त कतै आंशिक अभिव्यक्ति यस अवधिका शास्त्रीय छन्दका नेपाली कविताहरूमा पाउन सकिन्छ । 

२००७ सालदेखि नै नेपाली कविताका पाठकहरूमुक्त लयका कवितासँग तथा अन्तर्राष्ट्रिय कविताशिल्पसँग पहिलेका तुलनामा बढी परिचित हुन थालेका थिए र प्रगतिवादी साहित्यचिन्तनभित्र ‘शास्त्रीय छन्दमा आधुनिक समाजका जटिलतालाई सम्बोधन गर्न सकिन्न, यो बन्धनमुखी छ र यसले अधिकांशतः पुरातनपन्थी विचारधारालाई संवहन गर्दै आएको हुँदा यस शैलीले प्रगतिशील धारलाई प्रतिनिधित्व गर्न सक्दैन’ भन्ने किसिमको बुझाइ बढ्दै गएको थियो । त्यसैले २००७ सालपूर्व अधिकतम रूपमा शास्त्रीय छन्दमा कविता लेखिँदै आएको परिप्रेक्ष्यमा यस अवधिमा यस शैलीलाई कमै पछ्याउने प्रवृत्ति बढ्यो भने २०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनीतिक कु गरी तानशाही पञ्चायती व्यवस्था लागु गरेपछि नेपाली कविताको अभिव्यक्तिशिल्पमा नयाँ शैलीप्रयोग सुरु भयो । मुक्तछन्दमा दुर्बोध्य शैली अँगाली बिम्बात्मक–प्रतीकात्मक स्वरूपको प्रयोगवादी कवितालेखन गर्ने मोहन कोइरालाको प्रयोगधर्मी धारालेयस अवधिमा प्रश्रय पायो । त्यसैले शास्त्रीय छन्दमा हुँदै आएको कवितालेखनको परम्परा यस अवधिमा शिथिल बन्न पुग्यो । यो अवस्था २०३० सालसम्म बढी मात्रामा र प्रभावका रूपमा २०४६ सम्म नै रहेको देखिन्छ । यस अवधिमा शास्त्रीय छन्दमा लेख्दै आएका पुराना कविहरू पनि शिथिलजस्ता देखिए भने नयाँ कविहरूले पनि यस शैलीलाई अँगालेनन् । मोदनाथ शास्त्री, मोदनाथ प्रश्रित, हरिहर शास्त्रीहरूले शास्त्रीय छन्दमै कविताकाव्य लेख्दै गरे पनि फुटकर कविताका तहमा प्रगतिशीलताका दृष्टिले उल्लेखनीय शास्त्रीयछन्दकविता रचिएनन् । २०३६ सालपछि भने पुनः शास्त्रीय छन्दमा कविता लेख्ने क्रम फाट्टफुट्ट सुरु भयो । यस अवधिमा मोदनाथ प्रश्रित, चूडामणि रेग्मी, रामचन्द्र भट्टराई, रविलाल अधिकारी, निर्मोही व्यास, वासुदेव अधिकारी,श्रीहरि फुयाँल, मित्रलाल पंज्ञानी, नुमराज बराल, ऋषिराम न्यौपाने, नारायणप्रसाद शमालगायतका अनेक कविहरूले फाट्टफुट्ट रूपमा शास्त्रीय छन्दमा प्रगतिशील कविताहरू लेखेको देखिन्छ । 

यस अवधिका छन्दकवितामा २०३६ सालको विद्यार्थीआन्दोलन र वामपन्थी राजनीतिक चेतनाको प्रभाव देख्न सकिन्छ । पञ्चायतकालमा खुला रूपमा व्यवस्थाविरोधी कविता लेख्न सहज नभएकाले यस अवधिका अन्य कविले जस्तै शास्त्रीय छन्दका कविहरूले पनि प्रतीकात्मक तथा लाक्षणिक अभिव्यक्तिशैलीको उपयोग गर्दै समाजरूपान्तरणका पक्षमा प्रगतिशील कविता लेखेको देखिन्छ । मूलतः पञ्चायती राजनीतिक व्यवस्था र सामन्तवादी समाजव्यवस्थाका विरुद्धमा विद्रोही भावना जागृत गराउँदै स्वतन्त्रता, राष्ट्रियता, देशभक्ति र उत्पीडित वर्गको पक्षमा अभिव्यक्ति दिनु यस समयका शास्त्रीय छन्दकविताको प्रगतिशीलता देखिन्छ । 

५.२ उत्तरवर्ती चरण (२०४६ पछि) का शास्त्रीय छन्दकवितामा प्रगतिशीलता

नेपाली शास्त्रीय छन्दकविताका सन्दर्भमा २०४६ सालपछिको अवधि उल्लेखनीय रहेको छ । २०१७ सालदेखि सुस्ताएको छन्दकवितालेखनले यस अवधिमा आएर पुनः गति पाउन थाल्यो । २०४९ सालमा रामप्रसाद ज्ञवालीद्वारा रचिएको प्रगतिशील महाकाव्य ‘औँसीका फूलहरू’तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट२०५३ सालमा प्रकाशित भयो जसको भूमिकामा नेपाली महाकाव्य र शास्त्रीय नेपाली छन्दकविताको पुनर्जागरण सुरु भएको घोषणा गरिएको छ । यसपछि शास्त्रीय छन्दकविताको पुनर्जागरणका लागि व्यक्तिगत तथा संस्थागत प्रयत्नहरू हुन थाले । २०५३ सालमा नैमाधव वियोगीले ‘छन्द बचाऊँ अभियान’ घोषणा गरी पोखरा र त्यसको वरिपरि छन्दअभियान सञ्चालन गरे । २०५४ सालमा रामप्रसाद ज्ञवाली र देवी नेपालले संयुक्त रूपमा ‘काव्य जागरण अभियान’ का माध्यमबाट देशका विभिन्न स्थानमा शास्त्रीय छन्द कवितालेखनका प्रशिक्षणहरू सञ्चालन गर्न थाले । बालकृष्ण लामिछाने र रमेश शुभेच्छुले २०५९ सालमा पूर्व (झापा) बाट ‘छन्द जागरण अभियान’ को घोषणा गर्दै छन्दलेखन अभियान सञ्चालन गरे । यस क्रममा शास्त्रीय छन्दकविताका विशेषाङ्कहरू, सिडी, डिभिडीहरूको प्रकाशन भयो । बुटवल, भैरहवा र कपिलवस्तुका छन्दवादी स्रष्टाहरुले छन्दवादी समाजको स्थापना गरेर अभियान चलाए । शास्त्रीय छन्दका कविताको प्रचारप्रसार र विकासका लागि वाचनप्रतियोगिता, लेखनप्रतियोगिता, रेडियो एफएम आदिबाट प्रचारप्रसारको अभियान, छन्दलेखन प्रशिक्षण आदि अनेक प्रकृतिका जागरण अभियानहरू सञ्चालन हुन थाले र अहिले पनि भइरहेकै छन् । परिणामस्वरूप शास्त्रीय छन्दमा कविता लेख्नेर लेख्न रहर गर्ने कविहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ ।

      उत्तरवर्ती कालमा प्रगतिशील स्वरमा शास्त्रीय छन्दकविता लेख्ने प्रतिनिधि कविहरूमा तीसको दशकबाटै छन्दकविता लेख्दै आएका कविहरूमोदनाथ प्रश्रित, चूडामणि रेग्मी, रामचन्द्र भट्टराई, रामबाबु सुवेदी, निर्मोही व्यास, वासुदेव अधिकारी, नुमराज बराल, मित्रलाल पंज्ञानी, पोषराज पौडेल, चेतकान्त चापागाईं, रविकिरण निर्जीवलगायतका कविहरूले आफ्नो लेखनलाई निरन्तरता दिँदै आएको पाइन्छ भने नयाँ पुस्ताका अनेक शक्तिशाली छन्दकविहरूको जन्म भएको पाइन्छ । नयाँ पुस्ताका कविहरूमाटीकाराम पौडेल, रामप्रसाद ज्ञवाली, चन्द्रप्रसाद न्यौपाने, नरेन्द्र पराशर, प्रभात सापकोटा, देवी नेपाल, जगत् उपाध्याय प्रेक्षित्, रुद्र ज्ञवाली, बलभद्र भारती, कृष्णराज डिसी, भीम खतिवडा, बालकृष्ण लामिछाने, रमेश शुभेच्छु, हेमराज अधिकारी, प्रकाश चापागाईं, नारायण पोखरेल, पीताम्बर भण्डारी, जगन्नाथ आचार्य, मोदनाथ मरहट्ठा, हिरण्यलाल ज्ञवाली, कविराज पौडेल, धनेश्वर भट्टराई, गोविन्द आचार्य, रामप्रकाश पुरी,लेखप्रसाद निरौला, भगवानचन्द्र ज्ञवाली, नारायण ज्ञवाली, गोविन्दप्रसाद आचार्य, चन्द्रा थानी, सीता शर्मा, इन्दिरा नेपाल, गौरा दाहाल, भागवत आचार्य, हरिप्रसाद तिमल्सिना, हरिहर सविता, रह शर्मा, लकश पौडेल, राजेन्द्र घायल, हरि गजुरेल, ईश्वरी ओझा, पुरुषोत्तम आचार्य, रत्ननिधि रेग्मी शुक्राचार्य,यदुनाथ वसन्तपुरे, हरि कट्टेल, वासुदेव थापा,काशीनाथ मिश्रित ज्ञवाली लगायतका अनेक प्रतिभाहरूले शास्त्रीय छन्दमा प्रगतिशील कविता लेखिरहेको पाइन्छ । 
२०४६ सालको राजनीतिक परिवर्तनपछि सुरुसुरुमा नेपाली कवितामा मात्र नभएर नेपाली साहित्यमा नै नयाँ उत्साह र आशावादी रचनाहरू देखा पर्न थाले । २०४६ सालको चैत्र महिनामा निरङ्कुश राजतन्त्रका विरुद्धमा जनआन्दोलन सम्पन्न भएको मानियो र सामाजिक सुधारको आन्दोलन सुरु भएको ठानियो । नेपाली जनताले नेपालको इतिहासमा पहिलोपटक खुल्ला रूपमा विचार व्यक्त गर्ने मौका पाए । पञ्चायती व्यवस्थाको तानाशाही समाप्त भएको र प्रजातान्त्रिक संवैधानिक राजतन्त्र स्थापित भएको खुसीमा केही कविहरू हौसिए । यस्ता कविहरूबाट विकास, निर्माणका पक्षमा उज्यालो समाज आउन थालेको र नेपाल अब सुन्दर तथा विकसित हुने छ भन्ने किसिमका कविताहरू लेखिन थाले । यस क्रममा राजनीति गर्ने केही नेताहरूलाई विषय बनाएर तिनको स्तुतिमा पनि केही कविताहरू लेखिएका देखिन्छन् भनेकेही कविहरूप्रजातन्त्र आउनासाथ नेपाली जनताका सबै अप्ठेराहरू, सबै दुःखकष्टहरू र सबै बाधाहरू हट्छन् भन्ने एकाङ्गी वैचारिकताले भ्रमित भएर सम्भावनाभन्दा बढी आशावादी कविता लेख्नमा प्रवृत्त भएका पनि देखिन्छन् । २०५० सालसम्म प्रगतिशील भनिने÷ठानिनेकेही कविहरूले जनताका यिनै आशा र आकाङ्क्षालाई आफ्ना कवितामा उतार्ने काम गरेको देखिन्छ । यस  क्रममा पञ्चायती शासनव्यवस्था र त्यसका हिमायतीहरूप्रति खुला रूपमा घृणा व्यक्त गरिएको पाइन्छ भने सो युगलाई राणाशासन कालपछिको दोस्रो कालरात्रि र चरम शोषणको युगका रूपमा प्रतिबिम्बित गरेको देखिन्छ । 

तर नेपाली कवितामा यस प्रवृत्तिलेप्रगतिशीलताका सन्दर्भमा लामो यात्रा गर्न सकेन । अगुवा र आस्थाका केन्द्र मानिएका राजनीतिक नेतृत्वको चारित्रिक पतन र घिनलाग्दा र स्वार्थलोलुप क्रियाकलाप देखेर जनताका साथै प्रगतिशील कविहरूको आस्था पनि भत्किन थाल्यो । यस्तो स्थिति देखेर क्षुब्ध भएका नेपाली कविहरूमा प्रजातन्त्रप्रतिको समर्थन त रह्यो तर स्वार्थी पार्टी र भ्रष्ट नेताहरूप्रति आस्था रहेन । प्रगतिशील कविहरूले पजेरोमुखी नेताहरूको कटु आलोचना गर्दैर नकारात्मक यथास्थितिको विरोध गर्दै पुनः जनपक्षीय समाजव्यवस्थाका पक्षमा कलम चलाउन थाले । आक्रोश, असन्तुष्टि, विद्रोह र विसङ्गतिबोध व्यक्त गर्दै परिवर्तनमुखी काव्यिक अभिव्यक्ति दिनु यस समयका शास्त्रीय छन्दकविहरूको प्रगतिशीलता देखिन्छ ।

२०५२ सालदेखि नेपाली राजनीतिमा संवैधानिक राजतन्त्रका विरुद्ध माओवादी सशस्त्र सङ्घर्ष सुरु भएपछि प्रगतिशील कविहरूको एक हिस्सा त्यस सङ्घर्षसँग जोडिन पुग्यो र त्यस सङ्घर्षका विचार र त्यसका नायकहरूको उदात्तीकरण गर्दै कवितालेखनमा लाग्यो । माओवादी सशस्त्र सङ्घर्षका १० वर्षहरूमा नेपालका प्रगतिशील कविहरू तीन धारमा विभाजित भएर प्रगतिशील कवितालेखनमा प्रवृत्त भएका देखिन्छन् । एक धारले माओवादी सशस्त्र सङ्घर्षलाई सघाउने गरी कवितारचना गर्न थाल्यो, दोस्रोले संवैधानिक राजतन्त्रको आलोचनात्मक समर्थन गर्दै प्रगतिशील विचारको अभिव्यक्ति दिन थाल्यो भने तेस्रो धारले पार्टीप्रतिबद्धताका यी दुवै धारभन्दा अलग्ग रही माक्र्सवादप्रतिको मात्र प्रतिबद्धताअनुरूपको कवितारचना गर्न थाल्यो । माओवादी सङ्घर्षले लिएको बाटो उत्ताउलो, हिंस्रक र अतिवादी स्वरूपको भएको र एमालेवृत्तको वरिपरि बसेर लेख्ने दोस्रो धार पनि विचारमुखी भन्दा पार्टी र नेतामुखी भएको भन्दै तेस्रो धारले वैचारिक रूपमा माक्र्सवादी पक्षधरता अँगालेर प्रगतिशील कविताहरू लेखेको देखिन्छ । चेतकान्त चापागाईं, पोषराज पौडेल, चन्द्रा थानी, सीता शर्मा, कविराज पौडेल लगायतका केही छन्दकविहरूले पहिलो धारमा रहेर, देवी नेपाल, प्रकाश चापागाईं, पीताम्बर भण्डारी आदि अनेक छन्दकविले दोस्रो धारमा रहेर तथा रामचन्द्र भट्टराई, रामप्रसाद ज्ञवाली, नुमराज बराल, रामप्रकाश पुरी, बालकृष्ण लामिछाने आदि अनेक छन्दकविले तेस्रो धारमा रहेर प्रगतिशील कविता रचेको देखिन्छ ।

२०६२÷०६३ सालको महाजनआन्दोलन, प्रजातन्त्रवादी राजनीतिक पार्टीहरू र माओवादी पार्टीबिचको १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, सङ्घीयतामुखी गणतान्त्रिक संविधाननिर्माण, पहिचानको मुद्दा र समानुपातिक न्यायप्रणालीका पक्षमा भएका प्रयत्न तथा यस क्रममा चलेका अभियान, क्षेत्रीय मुद्दा बोकेर मधेसवादी दलहरूले गरेको मधेसआन्दोलन र भारतद्वारा नेपालमाथि गरिएको नाकाबन्दी आदिका कारण उत्तरवर्ती चरणको पनि उत्तरार्धको नेपाली कवितामा नयाँ नयाँ स्वरहरू मुखरित हुन थालेपछि शास्त्रीय छन्दमा लेख्ने प्रगतिशील कवितहरूले पनि यस्ता विषयलाई सम्बोधन गर्दै छन्दकविताहरू लेख्न थाले । प्रगतिशीलताका दृष्टिले यस्ता छन्दकवितामातानाशाहीको चर्को विरोध, उत्पीडितवर्गीय पक्षधरता, देशभक्ति, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षा, राष्ट्रनिर्माणको चाहना, सामन्तवाद–विस्तारवाद–साम्राज्यवादको विरोध, जातीय पहिचान र जातीय उत्पीडनबाट मुक्तिको आह्वान, परिवर्तनमुखी क्रान्तिस्वर, स्वतन्त्रता र सबै खालका उत्पीडनबाट मुक्तिका स्वरहरू मुखरित भएका पाइन्छन् ।समकालीन सामाजिक यथार्थका बहुल पाटाहरूको उद्घाटन, नकारात्मक यथास्थितिप्रतिको असमहति र असन्तुष्टि, राजतन्त्रको अन्त्य र गणतन्त्रस्थापनाको चाहना, देशको पक्षमा त्याग–बलिदान र समर्पणका लागि आह्वान तथा स्वतन्त्र, न्यायपूर्ण र विकसित राष्ट्रनिर्माणको स्वप्न आदि यस अवधिका शास्त्रीय छन्दकविताका प्रगतिशीलस्वर देखिन्छन् । 

यस अवधिमा शास्त्रीय छन्दकविताको पुनर्जागरण भए पनि मुक्तछन्दका कविहरूको सङ्ख्याकाा तुलनामा शास्त्रीय छन्दका कविहरूको सङ्ख्यासानोछ र त्यसमा पनि प्रगतिशील धारमा लेख्ने शास्त्रीय छन्दकविहरूको उपस्थिति अझ सानो देखिन्छ । तर के कुरा अवश्य हो भने मुक्तछन्दका कविहरूका तुलनामा धेरै कम सङ्ख्यामा रहँदारहँदै पनि वैचारिक दृष्टिले भने यो उपस्थिति प्रतिनिधिमूलक र सशक्त नै रहेको देखिन्छ । उत्तरवर्ती अवधिमा शास्त्रीय छन्दका कविताहरूमा पाइने प्रगतिशीलतालाई प्रतिनिधिमूलक रूपमा तलका केही बुँदाहरूमा समेट्न सकिन्छ ।

५.२.१ वर्गीय समस्यालाई सम्बोधन

नेपाली समाजको सबैभन्दा ठुलो समस्या वर्गीय विभेद र वर्गीय उत्पीडन नै हो । प्रगतिशील छन्दकविहरूले यस समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्दै वर्गीय विभेद र उत्पीडनबाट मुक्तिका लागि प्रगतिशील स्वर मुखरित गरेको पाइन्छ । यस प्रकृतिका कविताहरूमा सामन्तवाद र पुँजीवादलाई वर्गीय विभेद र वर्गीय उत्पीडनका मुख्य कारण बताइएको छ भने समाजलाई न्यायपूर्ण बनाउनका लागि वर्गीय विभेद र वर्गीय उत्पीडन समाप्त पार्नुपर्ने कुरामा जोड दिइएको छ । बारम्बार भएका राजनीतिक क्रान्ति र राजनीतिक परिवर्तनले पनि वर्गीय उत्पीडन समाप्त पार्न नसकेकोमा असन्तुष्टि र आक्रोश व्यक्त गर्नुका साथै उत्पीडितवर्गीय जीवनको हक र न्यायका पक्षमा प्रगतिशील चेतनाको सम्प्रेषण गरिएका यस प्रकृतिका कविताहरूमाश्रमजीवी वर्गको पक्षधरता पनि सशक्त बनेर प्रकट भएको देखिन्छ । यस प्रकृतिका कविताहरूको सङ्ख्या ठुलो देखिन्छ ।रामचन्द्र भट्टराईको ‘सेतो हात्ती’, रामप्रसाद ज्ञवालीको ‘सामन्तवाद’ लगायतका दर्जनौँ कविका कविताहरूले यस प्रकृतिका कविताको प्रतिनिधित्व गर्छन् 

५.२.२ स्वतन्त्रता र राजनीतिक परिवर्तनप्रतिको प्रेम 

उत्तरवर्ती अवधिका प्रगतिशील कविताहरूको मूल चेतना भनेको स्वतन्त्रताको, लोकतन्त्रको र गणतन्त्रको चेतना हो ।समयुगीन प्रतिनिधिचेतनाका रूपमा रहेको यस चेतनालाई शास्त्रीय छन्दमा कविता लेख्ने प्रगतिशील कविहरूले महत्त्वका साथ प्रस्तुत गरेका छन् । समाजमा अराजकता, अस्तव्यस्तता तथा विकृतिहरू बढेको देखेर असन्तुष्ट बनेका कविहरू लोकतान्त्रिक अधिकार, जनपक्षीय परिवर्तन र राष्ट्रिय तथा वैयक्तिक स्वतन्त्रताप्रति सजग देखिन्छन् । अनेक प्रगतिशील छन्दकविहरूले यस यथार्थको बोध गरेर स्वतन्त्रता र राजनीतिक परिवर्तनप्रतिको आस्था प्रकट गरेका छन् । यस प्रकृतिका कविताहरूमा विचारको स्वतन्त्रतामा जोड दिइएको छ । दासता र परतन्त्रताका विरुद्ध सशक्त आवाज मुखरित गरिएको छ । तानाशाही अधिनायकवाद, सामन्तवाद र राजतन्त्रको विरोध गरिएको छ । सारमा यस्ता कविताहरूमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रप्रतिको आस्था प्रकट गरिएको छ । जगन्नाथ आचार्यको ‘मोर्चा कसौँ है अब’, मित्रलाल पंज्ञानीको ‘चेतना’ लगायतका अनेक कविका अनकौँ कविताहरूले यस्तो स्वर मुखरित गरेको पाइन्छ । 

५.२.४राष्ट्रिय एकता र पहिचानमा जोड

उत्तरवर्ती अवधिमा शास्त्रीय छन्दकविहरूमध्ये केहीले नेपालको राष्ट्रिय एकतामा जोड दिएका छन् भने केहीले पहिचानको मुद्दालाई सतर्कतापूर्वक उठाएका छन् । साठीको दशकलाई हेर्ने हो भने नेपालमा सबैभन्दा बढी जोडका साथ उठाइएको विषय भनेको पहिचानको मुद्दा र राष्ट्रिय एकताको विषय नै हो । यस अवधिमा एकातिर जाति, जनजाति, दलित, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र, भूगोल आदिको मौलिक पहिचान र अधिकारका कुरा जोडतोडले उठेका छन्, उठाइएका छन् भने अर्कातिर जाति, क्षेत्र, धर्म आदिको पहिचानका नाममा देश टुक्रा पार्ने खेल चलेको छ भन्ने बुझाइअनुरूप कविताहरू लेखिएका देखिन्छन् । शास्त्रीय छन्दमा कविता लेख्ने प्रगतिशील कविहरूले राष्ट्रिय एकतामा जोड दिँदै पहिचानको मुद्दा महत्त्वपूर्ण भए पनि पहिचानकै नाममा देश विखण्डनतिर जाने गरी कुनै काम हुन नहुने धारणा व्यक्त गरेका छन् । देवी नेपालको ‘सुन्दर प्रकृति ः भव्य संस्कृति’ निर्मोही व्यासको ‘नरहे देश नै सग्लो के काम गणतन्त्र यो ?’ नुमराज बरालको ‘आँधीमय मधेस’, रुद्र ज्ञवालीको ‘खरानी बनाए’, कविराज पौडेलको ‘चितामाथिको देश’, बालकृष्ण लामिछानेको ‘फिरङ्गी राष्ट्रवाद’, रामप्रसाद ज्ञवालीको ‘मान्छेको पहिचान र म’ हेमराज अधिकारीको ‘नेपाल हाम्रो घर’ गोविन्द आचार्यको ‘नयाँ मान्छे’ लगायतका अनेक कविका अनेक कविताहरूले यस प्रकृतिको प्रगतिशील चेतनालाई सम्बोधन गरेका छन् । यस प्रकृतिका कविताहरूमा क्षेत्रीय तथा जातीय एकतामा जोड दिँदै क्षेत्रवाद र जातिवादको कडा विरोध गरिएको छ । गणतन्त्रको आडमा र जात, धर्म, लिङ्ग, क्षेत्र आदिका नाममा बढ्दै गएको साँघुरो घेरा र विद्वेषकारी सोचबाट नेपालीहरूले मुक्त हुनु जरुरी रहेको धारणा प्रस्तुत गर्नु यस प्रकृतिका कविताको प्रगतिशीलता देखिन्छ ।

५.२.५ नयाँ नेपालप्रतिको स्वप्नदृष्टि 

शास्त्रीय छन्दमा कविता लेख्ने प्रगतिशील कविहरूले नयाँ नेपाल सुन्दर नेपाल बनोस् भन्ने कामना गर्दै अनेक कविता लेखेको पाइन्छ । यस प्रकृतिका कवितामा राष्ट्रिय जागरणका लागि आह्वान गरिएका छ, आत्मनिर्भरतामा जोड दिइएको छ र विकसित नयाँ नेपालको स्वप्न देखिएको छ । प्रजातन्त्र वा गणतन्त्र जुनसुकै तन्त्र भए पनि न्याय र विकासविनाको तन्त्र अर्थहीन हुन्छ भन्ने बुझाइका साथ कविहरू नेपालको स्वाभिमानमा जोड दिइरहेका देखिन्छन् भने नकारात्मक यथास्थितिमा परिवर्तन हुनु र सकारात्मक यथास्थितको विकास भइरहनु अपरिहार्य छ भन्ने जाग्रत चेतना प्रकट गरिरहेका देखिन्छन् । राष्ट्रनिर्माणमा देशका युवाहरूको नयाँ र नेतृत्वदायी भूमिका हुनुपर्छ भन्दैर अरूको भर परेर नभई स्वयं अगि बढेर मात्र देशको विकास गर्न र जनताका हकअधिकार सुरक्षित पार्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै यस प्रकृतिका कवितामा आत्मनिर्भरतामा जोड दिइएको छ । चूडामणि रेग्मीको ‘कहाँ छ यो आँगनमा प्रकाश ?’, कविराज पौडेलको ‘उन्निद्र देश’, नारायणप्रसाद पोखरेलको ‘सङ्कल्प’, निर्मोही व्यासको ‘अटाओस् सबै विश्व मेरो मुठीमा’, पीताम्बर भण्डारीको ‘नेपाल यो सुन्दर’, प्रभात सापकोटाको ‘यात्राहरू’, भागवत आचार्यको ‘हत्केलामा लिएर समृद्धि’, मित्रलाल पंज्ञानीको ‘मुक्तिको उद्गम स्थल’ हरिप्रसाद तिमिल्सिनाको ‘नयाँ बिहानी’ लगायतका अनेक कविका अनेक कविताहरूमा यस प्रकृतिको प्रगतिशीलता पाइन्छ ।

५.२.६असङ्गत–अराजक लोकतन्त्रको आलोचना

शास्त्रीय छन्दका केही कविहरूले नेपाली समाज अदूरदर्शी राजनीतिको सिकार भएको अनुभूति गर्दै त्यसका विरुद्ध प्रगतिशील चेतना प्रस्तुत गरेको पाइन्छ । नेपालमा बारम्बार आन्दोलन र क्रान्ति भए पनि र राजनीतिक रूपमा ती एक हदसम्म सफल देखिए पनि देश र जनताको अग्रगामी रूपान्तरणका लागि राजनीतिक नेतृत्वले आवश्यक भूमिका निर्वाह गर्न सकेन भन्ने निष्कर्ष यस्ता कवितामा प्रस्तुत गरिएको छ । असफल राजनीतिक नेतृत्व र असङ्गत लोकतन्त्रको कटु आलोचना गर्दै प्रगतिशील धारणा प्रस्तुत गर्ने यस प्रकृतिका कविताहरूमा राजनीतिक तहमा सम्पन्न गरिएको क्रान्ति र स्थापना प्रयोगको तहमा आएर असफल भएको बुझाइ व्यक्त गरिएको पाइन्छ । गणतन्त्र आए पनि मान्छेको सोच नबदलिएकोमा कविहरू असन्तुष्ट देखिन्छन् । राजनीतिक परिवर्तन बारम्बार भए पनि सांस्कृतिक रूपान्तरण हुन नसकेको र नेपालीहरूको जीवन राजनीतिक परिवर्तनपछि पनि उस्तै नै विभेदपीडित र दुःखपूर्ण रहिरहेको बुझाइ व्यक्त गर्ने यस प्रकृतिका कविताहरूमा राजनीतिक भागबन्डा र राष्ट्रिय स्वाभिमान बेचेर विदेशीकै गोटी बन्दै नेपाललाई असफल बनाउन लागिपरेका अदूरदर्शी स्वार्थी नेताहरूको कटु आलोचना गरिएको पाइन्छ । रामचन्द्र भट्टराईको ‘हरियो सर्प’, कविराज पौडेलको ‘चितामाथिकको देश’, चन्द्रप्रसाद न्यौपानेको ‘योग्य नेता’, चेतकान्त चापागाईंको ‘डुँढे झारी’, हिरण्यलाल ज्ञवालीको ‘खै बुद्धको लुम्बिनी ?’ लगायतका अनेक कविका अनेक छन्दकविताहरूमा यस प्रकृतिको प्रगतिशीलता पाइन्छ । 

५.२.७उत्पीडित नारी तथा दलितलाई सम्बोधन

नेपाली समाजको जल्दोबल्दो समस्यामा नारी तथा दलितमाथिको उत्पीडन पनि पर्छ । शास्त्रीय छन्दका कविहरूले यस यथार्थलाईसम्बोधन गर्दै नारी र दलितकाहकअधिकार, मुक्ति तथा न्यायका पक्षमा प्रगतिशील कविता लेखेका छन् । पछिल्लो समयमा नारी र दलित समुदायमा आएको जागृति र तिनका पक्षमा उठ्न थालेको र उठाउन थालिएको आवाज सशक्त छ । नारीका दुखहरूप्रतिको संवेदनशीलता र तिनका हकअधिकारप्रतिको समर्थनमा रचिएकायस प्रकृतिका कविताका माध्यमबाट शास्त्रीय छन्दकविहरूले नारीमाथि हुँदै आएका र भइरहेका भेदभाव र अन्यायको विरोध गर्दै नारीका त्याग र समर्पणको उदात्तीकरण गरेका छन् । सन्तानोत्पादनदेखि परिवारको रेखदेखसम्मका मुख्य मुख्य भूमिका निर्वाह गर्नुका साथै ममता, माया, समर्पण र त्यागका अनेक आयाम सम्पन्न गर्ने नेपाली नारीको स्वतन्त्रता र मुक्तिको पक्षमा आवाज मुखरित पारिएको छ । नारीको महिमागान, मातृत्वशक्तिको उदात्तीकरण, जातभातको नाममा दलितमाथि हुँदै आएका भेदभाव, अन्याय, छुवाछुत आदि अमानवताको विरोध यस्ता कविताको मूल विशेषता देखिन्छ । सीता शर्माको ‘अंशमा अधिकार खै ?, पुरुषोत्तम आचार्यको ‘मानसिंह विश्वकर्माको घोषणा’, रत्ननिधि रेग्मी शुक्राचार्यको ‘बोक्सीको बयान’, रामबाबु सुवेदीको ‘झस्किएको सिन्दूर’, रमेश शुभेच्छुको ‘आमा’, देवी नेपालको ‘चेतना फुल्नु पर्छ’ लगायतका अनेक कविका अनेकौँ कविताहरूमा यस प्रकृतिको प्रगतिशीलता पाइन्छ ।

५.२.८  नकारात्मक यथास्थितिको बोध र सकारात्मक परिवर्तनको उद्देश्यसहित भावाभिव्यक्ति

नेपाली समाज आज पनि गाँस, वास र कपासको समस्याबाट मुक्त भएको छैन । एकातिरभ्रष्टाचार, व्यभिचार, आपसी ईष्र्याद्वेष र असहिष्णुता मौलाएका छन् भने अर्कातिर सधैँ सधैँ भइरहने बन्दहडतालहरूले जनजीवन आक्रान्त छ । शिक्षा, स्वास्थ्य, राजनीति, व्यापार, पर्यटन, संस्कृतिलगायतका सबैजसो क्षेत्रमा असङ्गति र विकृति बढिरहेको अवस्था छ । शास्त्रीय छन्दका कविहरूले यस सामाजिक यथार्थलाई पनि नजिकबाट हेर्दै वस्तुगत बोध गरी सचेत रूपमा प्रगतिशील कविता लेखेको पाइन्छ । यी कवितामार्फत विकृतिग्रस्त समाज, विषाक्त सोच र विसङ्गत जीवनको उद्घाटन गरिएको छ भने श्रमजीवी जनतामाथि भइरहेको उपेक्षाप्रति चिन्ता प्रकट गर्दै र सामाजिक विकृतिको उद्घाटन गर्दै वद्रोहको स्वर उरालिएको छ । अभाव र अन्यायले निसास्सिएको नेपाली जीवनका अँध्यारा पक्ष र दुष्प्रवृत्तिविरुद्ध आक्रमण भरिएको छ ।श्रमजीवी नेपाली जनतालेखाद्यान्न, पानी, ग्याँस, मट्टितेल, पेट्रोल र डिजेल आदि आधारभूत कुराहरूबाटै वञ्चित हुनुपरेको तितो पीडानुभूति व्यक्त गर्दै रदेशको बिग्रँदो अवस्थाको निरन्तरताप्रति चिन्ता प्रकट गर्दै राजनेता र सत्ताधारीको जीवनमा परिवर्तन भएको तर जनता र देशको अवस्था यथास्थितिमै अल्मलिइरहेको यथार्थको प्रतिबिम्बन गरिएको छ । यसै गरी भूकम्प जस्ता प्राकृतिक बिपत्तिले निम्त्याएको जीवनसङ्कट र त्यस्तो विपत्तिमा पनि संवेदनशून्य बनेर जनताको नाममा आएको राहत आफै खाने दुष्प्रवृत्ति जस्ता यथार्थलाई पनि केही कविहरूले सम्बोधन गरेका छन् ।यस प्रकृतिका अधिकांश कविताले मान्छेका गलत प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् । यसै गरी चेलीबेटी बेचबिखनलगायतका सामाजिक समस्या र विकृतिलाई पनि केही कविताहरूले सम्बोधन गरेका छन् । यथास्थितिको बोध र आलोचनात्मक दृष्टिले तिनको मूल्याङ्कन गर्दै नकारात्मकताबाट सकारात्मकतातिरको रूपान्तरणका लागि काव्यिक सन्देश प्रवाह गर्नु यस प्रकृतिका कविताको प्रगतिशीलता देखिन्छ ।कविराज पौडेलको ‘घाइते राष्ट्र’, गोविन्द आचार्यको ‘पाऊँ’, रुद्र ज्ञवालीको ‘आज नेपाल बन्द छ’, चूडामणि रेग्मीको ‘कालो रात’, नारायणप्रसाद पोखरेलको ‘अस्ताउने भो रवि’, मित्रलाल पंज्ञानीको ‘भड्केको सपना’, हरिप्रसाद तिमिल्सिनाको ‘परिवर्तन’ र हिरण्यलाल ज्ञवालीको ‘म त्यस्तो कविता लेखूँ’ लगायतका अनेक कविका अनेक कविताहरूलाई यसको उदाहरण मान्न सकिन्छ । 

५.२.९नेपाली श्रमशक्तिको विदेश पलायनप्रतिको चिन्ता

नेपालको श्रमशक्ति दशकौँदेखि विदेशपलायन भएको भयै छ । रोजगारीको अभाव, काम गर्ने वातावरणको अभाव, सधैँको राजनीतिक आन्दोलन, योग्यताको प्रदर्शन गर्ने अवसरको अभाव, अस्तव्यस्त र भ्रष्ट कर्मचारीप्रशासन, गरिबी, अशिक्षा, अन्धविश्वास तथा सुखी जीवनको मोह आदि अनेक कारणले नेपालको श्रमशक्ति बिदेसिँदै छ तर राज्यले यसलाई रोक्न सकेको छैन । शास्त्रीय छन्दकविहरूले यस विषयलाई गम्भीरताका साथ कवितामा उतारेका छन् । यस क्रममा नेपाल र नेपालीको निजी अस्तित्वको मूल्यरक्षामा जोड दिइएको छ भने श्रमजीवी र श्रमको मूल्यबोध गर्दै तिनको उदात्तीकरणमा पनि जोड दिइएको छ । एउटा युग थियो जब नेपालीहरू विश्वमा वीरता, स्वाभिमान, निर्भीकता र स्वतन्त्र चेतनाका लागि चर्चित र आदर्श थिए तर वर्तमान समयमा नेपाली वीरता दासतामा रूपान्तरित हुँदै गएको देखिन्छ । युवाशक्तिको यस्तो विदेशपलायनले नेपालको विकासमा त असर परेकै छ, साथमा नेपालमा रहेका बुढाबुढीको बिजोग हुँदै गएको देखिन्छ । गाउँहरू रित्तिँदै गएका छन् भने बुढाबुढीहरू एक्लिँदै र असुरक्षित बन्दै गएका छन् । देशलाई चाहिने निर्माणका हातहरू छैनन् भने अशक्त बुढाबुढीहरूलाई पानी खान दिने मान्छेसमेत छैन । यस यथार्थलाई सम्बोधन गर्दै यस प्रकृतिका कविताहरूमार्फतयुवायुवती रश्रमशक्तिको विदेशपलायन रोक्ने गरी राष्ट्रिय नीतिनियम बनाउन, उनीहरूलाई यहीँ यथोचित रोजगारीको सिर्जना गर्न, आत्मनिर्भरताको अवस्था विकसित गर्न र भारतसित मात्रै निर्भर हुने इतिहास समाप्त पारेर वर्तमानलाई अग्रगामी दिशामा लग्नका लागि सशक्त आधारहरू खडा गर्न आह्वान गरिएको छ । नेपालप्रतिको प्रेम र श्रमजीवी जनताप्रतिको श्रद्धा व्यक्त गर्नु यस प्रकृतिका कविताको विशेषता देखिन्छ । देवी नेपालको ‘परिवर्तन’, रमेश शुभेच्छुको ‘गधा’, लेखप्रसाद निरौलाको ‘कस्तोसम्म आशा’, प्रकाश चापागाईंको ‘बाँकी सबै बिर्सिएँ’ लगायतका अनेक कविका अनेक कविताहरूमा यस्तो प्रगतिशीलता पाइन्छ । 

२.५.१०विस्तारवाद र विदेशी हस्तक्षेपको विरोध 

भारत र चीनका बिचमा रहेको नेपालले भारतबाट बारम्बार विस्तारवादी हस्तक्षेपको सामना गर्नु परिरहेको छ । नेपालका सीमास्तम्भ हटाउनेदेखि नेपालभित्रै पसेर नेपाली भूमि कब्जा गर्ने तथा सिमानामा बस्ने नेपालीमाथि बारम्बार अत्याचार गर्नेसम्मका कार्य भारतीय प्रहरीबाट हुँदै आएको लामो समय भइसक्यो । यस विषयलाई नेपालका अधिकांश जागृत स्रष्टाहरूले झैँछन्दकविहरूले पनि सम्बोधन गरेको पाइन्छ । यस प्रकृतिका कवितामार्फत छन्दकविहरूले नेपालको राजनीति र विकासमाथि भारतले गर्दै आएको र गरिरहेको हस्तक्षेपको कडा विरोध गरेका छन् । वर्तमान समयकै कुरा गर्दा पनि मधेस आन्दोलनको निहुँ पारेर भारतले नेपालमाथि लगाएको नाकाबन्दी अमानवीय हुनुका साथै विश्वको प्रजातान्त्रिक मूल्यमान्यता तथा संयुक्त राष्ट्रसङ्घको बडापत्रको विरुद्धमा छ भन्दै छन्दकविहरूले भारतीय विस्तारवाद र भारतीय हस्तक्षेपको विरोध गरेको पाइन्छ । बाहिर बाहिर बडो साखुल्ले र सहयोगी भएको नाटक गर्ने छिमेकी राष्ट्र भारतको मुखमा मित्रता र कोखामा मित्रघातका विषाक्त दाह्राहरू रहेका छन् भन्ने बुझाइ यस प्रकृतिका कवितामा प्रस्तुत गरिएको छ । यस प्रकृतिका कविताले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रगतिशील स्वर मुखरित गर्दै भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाभिमानको र स्वराष्ट्ररक्षाको सङ्कल्पभाव प्रस्तुत गरेका छन् । भारतले नेपालको लुम्बिनी र बुद्धलाई लिएर विश्वभर फैलाइरहेको भ्रम चिर्न आह्वान गर्ने काम पनि यस प्रकृतिका केही कवितामा गरिएको पाइन्छ । पीताम्बर भण्डारीको ‘झुक्दैन हाम्रो शिर’, डा.भीम खतिवडाको ‘अग्निचर्या’ रुद्र ज्ञवालीको ‘जाऊँ पर्खाल लाउन’, लेखप्रसाद निरौलाको ‘नाका सधैँ बन्द होस्’, हिरण्यलाल ज्ञवालीको ‘खै बुद्धको लुम्बिनी ?’ रामप्रसाद ज्ञवालीको ‘देश यो मर्न दिन्नँ म’ लगायतका अनेक कविका अनेक छन्दकविताहरूमा यसप्रकारको प्रगतिशील स्वर व्यक्त गरिएको पाइन्छ ।

५.२.११  सहिदका सपनामाथि भइरहेको खेलबाडप्रति आक्रोश

नेपाली जनताले धेरैपटक धेरै किसिमका आन्दोलन र क्रान्ति गरे र धेरै जनता सहिद पनि भए । राणाकालदेखि पञ्चायतकालीन विद्रोह, दशवर्षीय जनयुद्ध, २०६२÷०६३ को महान् जनआन्दोलन र त्यसपछिको मधेस आन्दोलनसम्मको राजनीतिक इतिहास हेर्ने हो भने सयौँ वीर नेपालीहरूले सहादत प्राप्त गरेको पाइन्छ । सहिदहरूको त्यो बलिदान देशको अनुहार फेर्ने सुन्दर सपना र सम्पूर्ण जनताले न्यायपूर्ण जीवन बाँच्न पाऊन् भन्ने उद्देश्यले भएको थियो । तर तिनका सपना र उद्देश्यमाथि नेपालको राजनीतिक नेतृत्वले पानी फेरिदियो भन्ने किसिमको बोध गरेर शास्त्रीय छन्दका अनेक कविहरूले सहिदका सपनामाथि गरिएको खेलबाडप्रति चर्को असन्तुष्टि र आक्रोश व्यक्त गर्दै प्रगतिशील कविताहरू लेखेको पाइन्छ । यस प्रकृतिका कविताहरूमा सहिदहरूले गरेका त्याग तथा देश र जनताको स्वतन्त्रता, समृद्ध जीवन र अस्तित्वरक्षाको माग गर्नुका साथै परिवर्तनका पक्षमा सहिदहरूले दिएको बलिदानको उच्च मूल्याङ्कन गर्दै मानवीय मूल्यरक्षाका पक्षमा आवाज मुखरित गरिएको छ । चेतकान्त चापागाईंको ‘अब के हुन्छ ?’ बलभद्र भारतीको ‘मृत्युञ्जयी योद्धा’, श्रीहरि फुयाँलको ‘नयाँ बत्ती बाल्ने सहिद’, रामप्रसाद ज्ञवालीको ‘सहिदको सन्देश’ लगायतका अनेक कविका अनेक कविताहरूमा यस प्रकृतिको प्रगतिशीलता पाइन्छ । 

६. निष्कर्ष

प्रगतिशील धारमा उभिएर रचिएका नेपाली शास्त्रीय छन्दकविताहरूमावर्गीय अवस्थाको बोध र वर्गीय पक्षधरताको चेतना, देशमा देखिएको हत्याहिंसाको अवस्थाको बोध र यस्तो स्थितिप्रति चिन्ता र विरोध, समाजको अस्तव्यस्तता र अशान्तिको बोध र शान्तिको कामना, गरिबी, अभाव र अविकासको स्थितिबोध र भाव तथा समृद्धिको कामना, प्रजातन्त्र र स्वतन्त्रताको चेतना र त्यसप्रतिको प्रतिबद्धता, जातीय–क्षेत्रीय–लिङ्गीय पहिचानको मुद्दाको बोध र त्यसलाई सम्बोधन, जातीय–क्षेत्रीय–लिङ्गीय एकतामा जोड, विखण्डनतिर उन्मुख क्षेत्रीयतावादी राजनीतिको बोध र विखण्डनविरुद्ध राष्ट्रिय एकताको स्वर, मौलिक हकअधिकारका लागि राष्ट्रिय जागरणको उद्घोष, आत्मनिर्भरतामा जोड र राष्ट्रनिर्माणको सन्देश, अदूरदर्शी राजनीतिक नेता र नेतृत्व तथा असफल लोकतन्त्रको आलोचना, नारी तथा दलितलगायतका उत्पीडित वर्गका वेदनालाई सम्बोधन तथा नारी र दलितका अधिकारको रक्षा र सम्मानको पक्षधरता, बढ्दै गएको ह्रासोन्मुख मानवता र संवेदनहीनताको बोध, श्रमको उपेक्षा, श्रमजीवीको अपमान र श्रमप्रतिको घट्दो मूल्यबोध तथाश्रमशक्तिको विदेशपलायनप्रति चिन्ता, नेपाल र नेपाली अस्तित्वरक्षाको खोजी, सहिदका सपनामाथि भइरहेको खेलबाडप्रति आक्रोश, अन्तर्राष्ट्रिय अवस्थाको बोध, मधेसआन्दोलन र भारतीय हस्तक्षेपको आशयबोध र भारतीय विस्तारवाद, नाकाबन्दीलगायतका हस्तक्षेपको विरोध, गणतान्त्रिक चेतनाको उदात्तीकरणको प्रगतिशीलता पाइन्छ ।

नेपाली समाजका अन्तरकुन्तरमा पसेर त्यहाँका वर्गीय विभेद, सामाजिक असमानता र जातीय लैङ्गिक आर्थिक विषमताको बोध गर्नु, भेदभावमुखी सामाजिक संरचना र वर्गीय अन्तर्विरोधको उद्घाटन गर्नु, न्यायमुखी सामाजिक र सामूहिक सरोकारलाई सम्बोधन गर्नु, मानवीय मूल्यको उदात्तीकरणमा जोड दिनु, श्रम र श्रमजीवीप्रति श्रद्धाभाव व्यक्त गर्नु, समग्रमा ऊध्र्वगामी मानवचेतनालाई काव्यिक वाणी दिनु आदि शास्त्रीय छन्दमा रचिएका प्रगतिशील नेपाली कविताका मुख्य विशेषता देखिन्छन् ।

समग्रमा भन्दा शास्त्रीय छन्दमा लेखिएका प्रगतिशील नेपाली कविताहरू युगीन समस्यालाई बुझ्न, यस्ता समस्याका कारण पहिल्याउन, ती समस्या र कारणलाई सशक्त रूपमा प्रतिबिम्बन गर्न तथा ती समस्याबाट मुक्तिका लागि वैचारिक सन्देश दिन सक्षम देखिन्छन् । ‘शास्त्रीय छन्द पुरानो शैली हो, यस शैलीका कविताहरूमा आधुनिक युगका जटिलताको सम्बोधन हुन सक्दैन र यस शैलीमा प्रगतिशील कवितालेखन सशक्त हुन सक्दैन’ भन्ने धारणापूर्ण रूपमा गलत हो भन्ने कुराको पुष्टि गर्न शास्त्रीय छन्दका प्रगतिशील नेपाली कविता सक्षम देखिन्छन् । 

सन्दर्भसूची
अधिकारी, रविलाल २०४४, प्रगतिवादी नेपाली कविता, पोखरा : लेकाली प्रकाशन ।
गौतम, देवी २०४१, प्रगतिवाद ः परम्परा र मान्यता, काठमाडौँ  : मुना गौतम ।
चैतन्य, २०६५, समीक्षा र सौन्दर्य, काठमाडौँ  : पाठ्य सामग्री पसल । 
ज्ञवाली, रामप्रसाद २०७०, कविता समालोचना, काठमाडौँ  : भुँडीपुराण प्रकाशन ।
नेपाल, देवी २०७३, छन्दपराग (दो.सं.), काठमाडौँ  : ऐरावती प्रकाशन प्रालि ।
..............२०७३, “नेपाली कवितामा शास्त्रीय छन्दको प्रयोग  : परम्परा, सम्भावना र चुनौतीहरू”, भानु, वर्ष ५२, अङ्क १९८, असोज–कात्तिक, पृ.७–३१ ।
पाण्डेय, ताराकान्त २०५६, प्रगतिवाद र कविता, काठमाडौँ  : शीला योगी ।
पौडेल, हेमनाथ २०६५, प्रगतिवादी दृष्टिमा कवि र कविता, काठमाडौँ  : पैरवी प्रकाशन । 
प्रभात, विष्णु २०६३, प्रलेसको संक्षिप्त इतिहास, काठमाडौँ  : विवेक सिर्जनशील प्रकाशन ।
..............२०७०, (सम्पा.),साहित्यकार–कलाकार परिचय कोश, काठमाडौँ  : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
भण्डारी, डा.जगदीशचन्द्र २०५५, प्रगतिवादी नेपाली कविता  : रेखाङ्कन र विश्लेषण, काठमाडौँ  : मुन्नी भण्डारी ।
शर्मा, तारानाथ, २०३९, नेपाली साहित्यको इतिहास (दो.सं.), काठमाडौँ  : सङ्कल्प प्रकाशन ।


श्रेष्ठ, दयाराम र मोहनराज शर्मा  : २०४९, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (चौ.सं)। काठमाडौँ  : साझा प्रकाशन । 

========================================
































































No comments:

Post a Comment