Friday, May 19, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - ५ सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने 'प्रलेस परिसम्वाद कार्यक्रम' को पाचौं शृंखला २०७४ साल जेठ ५ गते  प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भयो ।  'प्रगतिशील उपन्यास लेखनका चुनौति ' विषयमा छलफल भएको उक्त कार्यक्रमका प्रमुख वक्ता उपन्यासकार नारायण ढकाल हुनुहुन्थ्यो । 

प्रलेसका महासचिव आर.एम. डंगोल र उपाध्यक्ष डा. पुष्करराज भट्टले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएपछि सुरुभएको उक्त  कार्यक्रममा नेपाली प्रगतिवादी उपन्यासको वर्तमान अवस्थाका बारेमा अतिथि वक्ता वरिष्ठ  उपन्यासकार नारायण ढकालले बिबिध कोणबाट चर्चा गर्नुभयो । छलफल कार्यक्रममा गोपीरमण उपाध्याय, राम विनय, रणेन्द्र बराली, रेशम बिरही, गुरुङ सुशान्त, पुण्य गौतम 'विश्वास', प्रकाश शिलवाल, दीपक सापकोटा लगायतले आफ्ना धारणाहरु राख्नुभएको थियो । अन्तमा प्रलेसका अध्यक्ष मातृका पोखरेलले उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो । 



कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपन्यासकार नारायण ढकाल 

====================================================

‘बढी बिक्ने साहित्य सबै असल हुुँदैनन्’

काठमाडौँ, ५ जेठ । आख्यानकार नारायण ढकालले बजारमा चर्चा पाएका वा बढी बिकेका कृतिका आधारमा मात्र असल साहित्य ठहर गर्न नहुने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घको मासिक परिसंवाद शृङ्खलामा आज विचार प्रस्तुत गर्दै ढकालले बिक्ने मालविरुद्ध कलात्मक हस्तक्षेप गरेर समाजलाई सही सन्देश दिने साहित्य पस्कनु प्रगतिशीलको दायित्य हो भन्नुभयो ।

ढकालका ‘प्रेतकल्प’, वृषभ वध’ लगायत चार उपन्यास र त्यतिकै सङ्ख्यामा कथा सङ्ग्रह प्रकाशित छन् । लेखकको राजनीतिक आस्था हुनसक्ने भए पनि उसले सिर्जनालाई नारा वा सिधा पक्षधरतामा व्यक्त नगरी सामाजिक यथार्थका आधारमा पस्किएमा समाजले पछिसम्म पनि खोजेर अध्ययन गर्ने उहाँको भनाइ छ । समालोचक गोपीरमण उपाध्यायले विश्वस्तरमा लोकप्रिय माक्र्सवादी साहित्यबाट पनि नेपाली स्रष्टाहरु प्रभावित हुँदै आएको बताउनुभयो ।

सङ्घका अध्यक्ष मातृका पोखरेलले नियमित रुपमा समसामयिक विषयमा विज्ञसहित मन्थन गरेर नयाँ पुस्तालाई उत्प्रेरित गर्न खोजिएको जनाउनुभयो । कार्यक्रममा उपन्यासकार रमेश विरही र रणेन्द्र बराइली, सङ्घका उपाध्यक्ष डा पुष्करराज भट्ट, महासचिव आरएम डङ्गोल, वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ लगायतले उपन्यास लेखनका प्रवृत्तिबारे टिप्पणी गर्नुभएको थियो ।

http://trishulikhabar.com बाट साभार 

=================================================











































No comments:

Post a Comment