Wednesday, December 5, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १८ सम्पन्न ।

प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा हरेक महिनाको पहिलो शुत्रवार गरिने प्रलेस परिसम्वादको अठारौँ  श्रृङ्खलामा यही २०७५ मंसीर ७ गते स्रष्टा पदमरत्न तुलाधारको जीवन र सिर्जनाको बारेमा परिचर्चा भयो ।प्रलेस  केन्द्रीय उपाध्यक्ष एवम् परिसम्वाद कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख वक्ता डा. चुन्दा बज्राचार्यले पदमरत्न तुलाधरको जीवनी र लेखनीका विभिन्न आयाम बारेमा प्रकाश पार्नुभयो । उहाँले नेपालको मातृभाषा लेखनको आन्दोलनमा पद्मरत्नले नेतृत्वदायी भूमिका खेल्नुभएको विचार व्यक्त गर्नुभयो । उहाँले पद्मरत्न सामाजिक जागरण, नेपाल भाषा आन्दोलनसँग पहिलेदेखि जोडिनुभएको र उहाँले आफूलाई त्यस आन्दोलनमा समाहित गर्नुभएको प्रसङ्गलाई अघि सार्नुभयो ।

डा. बज्राचार्यले पद्मरत्न तुलाधर भाषिक आन्दोलनको नेता भएको विचार व्यक्त गर्नुभयो । पदमरत्नले नेपाल भाषालाई स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको, नेपाल भाषा साहित्यका स्रष्टालाई संगठित गरेको र उनीहरुलाई सामाजिक जागरणको चेतना भर्नुभएको बताउनुभयो । पदमरत्नले मकाः खल संस्थाको स्थापना र त्यस संस्थाका माध्यमबाट नेपाल भाषा र संस्कृतिका क्षेत्रमा अनेकन कार्य गर्नुभएको थियो । नेपालको जनजाति आन्दोलनको नेतृत्वदायी भूमिकामा रहनुभएका पदमरत्नले जनजातिको अधिकारप्राप्तिको आन्दोलन र उनीहरुको सङ्घर्षलाई माथि उठाउने काम गर्नुभयो । उहाँले एकल भाषा एकल भेष नीतिका विरुद्ध नेपाललाई बहुभाषिक एवम् बहुसांस्कृतिक रुपमा चिनाउनुपर्छ भन्ने चिन्तन राख्नुभयो ।

पदमरत्नले नेपालको राजनीति आन्दोलनको क्रममा निरंकुश पञ्चायतका विरुद्धमा रापस भएर आन्दोलन गरेको, वि.स. २०४६ सालको आन्दोलन र वि.स. २०६२–२०६३ को आन्दोलनका पक्षमा कार्य गरेको प्रसङ्ग उल्लेख गर्नुभयो । नेपालको मानवअधिकार आन्दोलनका क्षेत्रमा पनि पदमरत्नले महत्वपूूर्ण कार्य गरेको, नागरिक अधिकारका पक्षमा आवाज उठाएको, पिछडिएको जाति, क्षेत्र, जातिका विषयमा लेखन र आन्दोलनका माध्यमबाट प्रचारप्रसार गर्दै गरेको सन्दर्भलाई प्रस्तुत गर्नुभयो ।

पदमरत्न तुलाधर विशेषतः नेपाल भाषासाहित्यमा महत्वपूर्ण योगदान दिने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका रचनामा निरंकुशता विरोधी आवाज, भ्रष्टाचारको विरोध, सामाजिक विसंगतिप्रतिको आलोचनात्मक स्वर, जनजाति अधिकारको पक्षमा आवाज उठाइएको पाइन्थ्यो । मानवअधिकार हनन भएको विषयका साथै नेपाली समाजको उन्नति, प्रगतिको विषयमा लेखिएको र गलत चिन्तन एवम् गतिविधि, शासकवर्गका अवाञ्छित कर्मप्रति आलोचना जस्ता विषयलाई उहाँले गम्भीरतापूर्वक लिँदै व्यङ्ग्यात्मक पारामा प्रस्तुत गर्नुहुन्थ्यो । समग्रमा पदमरत्न सामाजिक जीवनमा जे जस्तो हुनुहून्थ्यो, उहाँको लेखनी पनि त्यस्तै रहेको उहाँको निश्कर्ष रहेको थियो ।

कार्यक्रमको अन्त्यमा प्रलेस उपाध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिको चिनारी दिनाका साथै यो कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।


         



























No comments:

Post a Comment