Friday, December 21, 2018

प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न ।

२०७५ पुस ७ गते शनिबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाकक्षमा प्रगतिशील लेखक सङ्घ, नेपालको तेस्रो केन्द्रीय समितिको वैठक बस्यो । केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकको प्रारम्भमा ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । बैठकको प्रारम्भमा केन्द्रीय अध्यक्ष मातृका पोखरेलबाट समसामयिक विषयमा आफ्नो मन्तव्य प्रस्तुत भएको थियो भने  महासचिव आर.एम्.डङ्गोलले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णहरि भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

वैठक महासचिवको प्रतिवेदनमा प्रस्तुत केन्द्रीय कार्ययोजना अनुरूप सम्पन्न  कार्यक्रमहरूको समीक्षा तथा आगामी राष्ट्रिय सम्मलेनका तयारी सम्बन्धमा छलफल गरिएको थियो । कोषाध्यक्षबाट मौखिक रूपमा प्रस्तुत प्रतिवेदनमाथि पनि छलफल तथा दुबै प्रतिवेदनमाथि उठेका प्रश्न, जिज्ञासाबारे महासचिव र कोषाध्यक्षले जवाफ दिनुभएको थियो । छुटेका विषयहरू समेटी परिष्कार परिमार्जनको सल्लाहा, सुझाव सहित दुबै प्रतिवेदन पारित भएको थियो । 

बैठकले आउँदो २०७५ चैत्र २२ शुक्रबार र २३ गते शनिबार काठमाडौंमा ११ औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय लियो  । त्यस्तै गरी वैठकले राष्ट्रिय सम्मेलनको तयारी सन्दर्भमा विधान मस्यौदा समिति, स्रष्टा सम्मान सिफारिस समिति,  सम्मेलन व्यवस्थापन समिति, अतिथि सत्कार समिति , प्रकाशन समिति, आर्थिक समिति, प्रतिनिधि व्यवस्थापन समिति ,प्रतिवेदन मस्यौदा समिति, राष्ट्रिय सम्मेलन निर्देशक समितिको चयन गरेको छ ।

बैठकले प्रलेस केन्द्रीय मुखपत्र ‘प्रलेस’को २४ औँ अङ्क कार्यपत्र विशेषका रूपमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ । 



------------------------------------------------------------------------------
------------------------------------------------------------------------------


प्रलेस केन्द्रीय समितिको तेस्रो बैठकमा प्रस्तुत साङ्गठनिक प्रतिवेदन 

२०७५ ,पुस ०७ 
इच्छुक सांस्कृतिक प्रतिष्ठान, घट्टेकुलो, काठमाडौं । 

अध्यक्ष, पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यज्यूहरू,
हामी प्रगतिशील लेख संघ, नेपालको दसौँ राष्ट्रिय सम्मलेन (२०७२ चैत्र २६–२७) बाट निर्वाचित केन्द्रीय नेतृत्वको तीन वर्षीय कार्यकालको अन्तिम चरण तथा एघारौँ राष्ट्रिय सम्मेलनको तयारी क्रममा छौँ । यसबिच हामीले दसौँ राष्ट्रिय सम्मेलन समापनको लगत्तै पछि बसेको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठक (२०७२ चैत्र २७) पछि एउटा केन्द्रीय समिति बैठक (२०७३ असोज ४, इच्छुक प्रतिष्ठान, काठमाडौँ) र  दुईवटा राष्ट्रिय परिषद् बैठक (क्रमशः २०७३ फागुन १३–१४ मा  रुम्जाटार, ओखलढुङ्गामा दोस्रो र २०७४  चैत्र १७ गते चित्रे, इलाममा तेस्रो) सम्पन्न गरिसकेका छौँ । अहिले हामी तेस्रो राष्ट्रिय परिषद् बैठक र २०७५ पुस १ गतेको सचिवालय बैठकले गरेको निर्णयअनुसार इच्छुक प्रतिष्ठानको यसै हलमा तेस्रो केन्द्रीय समितिको बैठकमा उपस्थित छौँ । बैठकको प्रारम्भमा समाजको समतामूलक आमूल रूपान्तरणको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने कृष्णसेन इच्छुक लगायतका ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । 

१. पृष्ठभूमि 

प्रगतिशील लेखक संघ, नेपाल देशीय सामन्तवाद तथा अन्तर्राष्ट्रिय साम्राज्यबाद र विस्तारवाद विरोधी साहित्यिक–सांस्कृतिक आन्दोलनमा सङ्गठित साहित्य सर्जकहरूको साझा मञ्च हो । यसले आफ्नो स्थापनाको साँढे ६ दशकभन्दा लामो यात्राक्रममा हालै ६६ आँै स्थापना दिवससमेत मनाइसकेको छ । विचार, सिर्जना र आन्दोलनको तहबाट यसले निर्माण गरेको साङ्गठनिक इतिहास गरिमामयी छ । संसारको सबैभन्दा वैज्ञानिक विश्वदृष्टिकोण सहितको वैचारिक शक्तिबाट चलायमान यस संस्थाले विश्वको राजनीतिक, साहित्यिक, सांस्कृतिक आन्दोलनबाट थप वैचारिक ऊर्जा तथा अनुभव र शिक्षा पनि प्राप्त गर्दै आइरहेको छ । मानवीय जीवनमा थोपरिने कुरूपता, रुढताको ऐँठनबाट मुक्त व्यक्तित्व निर्माण तथा राष्ट्रिय जीवनमा थोपरिने विदेशी प्रभुत्व, छलछाम, षड्यन्त्र वा हस्तक्षेपबाट मुक्त न्याय तथा समतामूलक समाज व्यवस्था स्थापना गरी समृद्ध मुलुकको निर्माणमा बल पु¥याउनु यस संस्थाको मूल अभीष्ट हो । 

मुलुक स्थानीय, प्रदेश तथा संघीय निर्वाचनको चरण पार गर्दै समावेशिता, धर्म निरपेक्षता र संघीयताको मूल मर्मलाई संबोधन गर्ने गणतान्त्रिक संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यतिबेला देशको वाम राजनीतिमा तीव्र धु्रवीकरणको स्थिति देखा परिरहेको छ । सत्तामा र सडकमा परिवर्तनकामी शक्तिहरूको पहुँच विस्तार भएको छ । आमुल रूपान्तरणको एजेन्डा संवोधनको लागि जनताले स्पष्ट म्यान्डेट दिएको छ । तर नेतृत्वको सोच, व्यवहार र संस्कारमा सामन्तवाद झन्झन् झाङ्गििदै गएको स्पष्ट अनुभव हुँदैछ । मुलुकको श्रमशक्ति विदेशी बजारमा छरिएको छ । नेपाली समाज पश्चिमा उपभोक्तावादी संस्कृतिको प्रयोग र परीक्षणस्थल बन्न पुगेको छ । अहिले विश्वमै शक्ति राष्ट्रहरूको आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । यसबाट हामी मुक्त हुन सकिरहेका छैनौँ । सामाजिक सुरक्षा र जनजीविकाको सवालमा अनेकौँ समस्या यथावत् छन् । यस्तो बेला साझा लेखकीय मञ्च हुनुको सीमा र गरिमालाई ख्याल गरी मुलुक र जनताका समस्यामा केन्द्रित हुँदै हामी प्रगतिशील स्रष्टाहरूले उत्तरदायित्वपूर्ण, हस्तक्षेपकारी सिर्जनात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ । यस दृष्टिले यस संस्थाको गरिमा र भूमिका झन्झन् महत्वपूर्ण र उल्लेखनीय बन्न पुगेको छ । 

दसौँ राष्ट्रिय सम्मेलनपछिको नेतृत्वदायी भूमिकामा रहेका हामीले हाम्रो कार्यकालको गम्भीर आत्मसमीक्षा गरी वस्तुगत मूल्याङ्कन गर्न सक्यौँ भने सङ्गठनलाई अझ गति प्रदान गर्न सक्ने छौँ । अबको ३–४ महिनामै एघारौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने गुरुत्तर दायित्वसमेत हाम्रो काँधमा छ । यस दृष्टिले पनि यो बैठक महत्वपूर्ण हुने मैले ठानेको छु । 

२. साङ्गठनिक क्रियाशीलता 

२.१  राष्ट्रिय परिषद्को तेस्रो बैठक तथा त्यसयता बसेको सचिवालय बैठकका निर्णयहरू 

२.१.१ तेस्रो राष्ट्रिय बैठक (२०७४ चैत्र २७, चित्रे, इलाम) का निर्णयहरू तथा इलाम घोषणा-पत्र 

इलाम घोषणा-पत्र, २०७४

इलाम चित्रेस्थित रत्नकुमार वान्तवा स्मृतिहलमा आयोजित तेस्रो राष्ट्रिय परिषद् बैठक (२०७४ चैत्र २७) ले निम्नलिखित  समसामायिक प्रस्तावहरू सहितको पन्ध्र बुँदे इलाम घोषणा –पत्र जारी गरेको छ :

* निर्वाचनमा सहभागी दलहरूले घोषणापत्रमा उल्लेख गरेअनुसार राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी समयसापेक्ष र जनमुखी विकास, वैदेशिक रोजगारलाई निरुत्साहित गर्दै तथा राष्ट्रिय पूँजीको विकासमार्फत् स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत् जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै वैज्ञानिक समाजवादतर्फ मुलुकलाई अगाडि बढाउन आग्रह गर्दछ । 

* मुलुकमा गणतन्त्र स्थापना भए पनि देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादी प्रवृत्ति, असमान सन्धि सम्झौता, चीनको बढ्दो महत्वाकांक्षा, नेपाली सीमानामा हुने अतिक्रमण तथा शक्ति राष्ट्रहरूबाट नेपाललाई रणक्षेत्र बनाउने खतराप्रति सतर्क हुँदै साहित्यिक, सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रूपमा थप गतिशील बनाउन घोषित कार्ययोजना र लक्ष्यहरू पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस रुम्जाटार घोषणापत्र २०७३ को प्रतिवद्धता कार्यान्वयनका लागि पुनः जोड दिन  चाहन्छौँ । 

* राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, भाषिक तथा सूचना साम्राज्यवादी षडयन्त्र र हस्तक्षेपको अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहित सिर्जनात्मक अभियानमार्फत् खबरदारी र प्रतिवाद गर्न सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई एकताबद्ध हुन आव्हान गर्दछौँ । 

* मुलुकलाई सांस्कृतिक रूपान्तरणमा अग्रसर गराउनुपर्ने यस घडीमा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू, राष्ट्रपति, प्रधानमन्त्री र माथिल्लो तहमा रहेको पदाधिकारी र पार्टीका नेताहरूको जीवनशैली तथा विभिन्न कार्यक्रमहरूमा जाँदा आउँदा देखिने भद्दा, बिलासीपूर्ण र विकृति सम्मान तथा स्वागतको व्यवहार तथा शैली र परम्परालाई तत्काल बन्द गर्न माग गर्दछौँ । 

* शक्तिशाली र विकसित मुलुकले साना र विकासशील मुलुकमाथि गर्दै आइरहेको थिचोमिचो अहिलेको एक्काइशौँ शताब्दीमा पनि अन्त्य हुन सकेको छैन । शक्ति राष्ट्रहरूले आ–आफ्ना स्वार्थअनुकूल सिरियामाथि गरिएको अनधिकृत हस्तक्षेप र त्यहाँ चलाइएको नरसंहार यसैको ज्वलन्त उदाहरण हो । हामी त्यसप्रकारको आततायी घटनाको कडा निन्दा गर्दछौँ र पीडित मुलुक र जनताप्रति सहानुभूति व्यक्त गर्दछौँ ।
* राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवं संस्कृतिलाई जनसापेक्ष, जडता र आडम्बरमुक्त एवं प्रगतिशील वैज्ञानिक तथा सांस्कृतिक रूपान्तरण अनुकूलको शिक्षा नीति लागू गरी साामाजक सांस्कृतिक स्खलन र विघठनबाट बचाउन तथा अध्ययन, वहसजस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालनका लागि यो बैठक संकल्प गर्दछ । 

* वर्तमान आधुनिक समाजमा पनि महिलाहिंसा, कथित बोक्सीप्रथा, बलात्कार, जातीय विभेद र मानिस–मानिसबिचको अमानवीय व्यवहारका घटनाहरू हुनु अत्यन्त दुःखद पक्ष हो । यो बैठक त्यस प्रकारका घटना रोक्न सबै तहका सरकारबाट कडा कानुनी र नीतिगत व्यवस्था गर्न तथा यस्ता घटनामा संलग्न आरोपी र अभियुक्तमाथि हुने राजनीतिक संरक्षणको सशक्त विरोध गर्दै सिर्जनात्मक माध्यमबाट त्यस्ता प्रवृत्तिको भण्डाफोर गरी सामाजिक चेतनावृद्धिका लागि पहल गर्ने निर्णय गर्दछ । 

नारी शरीरलाई वस्तुकरण गर्ने बढ्दो  पूँजीवादी तथा उपभोक्तावादी संस्कृतिविरुद्ध सचेत र अभियानमुखी सांस्कृतिक कार्यक्रमहरू गर्ने तथा कथित सुन्दरी प्रतियोगिता, ब्युटी प्याजेन्ट, मिस टिन, लिटल ट्यालेन्टका नाममा महिलाको बौद्धिकता नाप्ने कथित नाफामुखी परियोजनाहरूको भत्सर्नासहित लेख, रचना तथा प्रतिरोधात्मक कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्धता जाहेर गर्दछ । 

* स्वतन्त्र, स्वायत्त र निष्पक्ष हुनुपर्ने न्यायालय पहुँच र पैसाका आधारमा प्रभावित हुने गरेको कतिपय घटनाले देखाएका छन् । यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यायालयमा आम जनताको पहुँच स्थापित गर्न दबाबमूलक कार्यहरू गर्न निर्णय गर्दछ । 

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सरकार बनेपछि पनि स्रष्टाहरूमाथि सिर्जनात्मक कर्म र सङ्गठनात्मक काम गरेका आधारमा दमन, धरपकड गर्ने, विनापूर्जी हिरासतमा लिने र कारवाही गर्ने कार्य अझै अन्त्य भएको छैन । लोकतन्त्र, गणतन्त्र र समाजवाद स्थापनाका लागि कलम र सङ्गठनका माध्यमबाट योगदान दिने स्रष्टाहरूलाई  सम्मान गर्नाको साटो उल्टै गिरफ्तार र यातना दिने प्रकारको गतिविधि तत्काल रोक्न यो बैठक सरकारसँग कडा माग गर्दछ । 

संघीय संरचनाअनुसार सातै प्रदेशमा स्वायत्त प्रज्ञा प्रतिष्ठान गठनको वातावरण मिलाउन यो बैठक माग गर्दछ ।

मुलुकमा आरक्षणका नाममा भइरहेको आलङ्कारिक प्रतिनिधित्वलाई अन्त्य गर्दै वास्तविक भुइँ तहका समुदाय तथा किसान र मजदुरको वर्ग र क्षेत्रको पहुँच  पुग्ने गरी नीति तथा कार्यान्यन गर्न यो बैठक माग गर्दछ ।

प्रलेसको सङ्गठनात्मक पद्धतिमा सुधार र परिवर्तन गर्दै पार्टीमा प्रतिबद्ध मात्र नभएर विधान–बमोजिम समाजवादी यथार्थवादी चिन्तनमा प्रतिबद्ध सबै प्रगतिवादी, प्रगतिशील लेखकहरूलाई समेटेर आन्दोलनलाई थप गति दिन यो बैठक जोड दिन चाहन्छ । प्रलेस सत्तारोहणको भ¥याङ बन्नु हुँदैन । यसलाई प्रतिपक्षी र आलोचनात्मक लेखकहरूको वैचारिक अभियानकेन्द्रका रूपमा क्रियाशील बनाउन यो बैठक निर्देश गर्दछ । 

इलाम जिल्लाको समग्र विकास र यहाँको पर्यटकीय एवं बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सरहाना  गर्दै सहिद रत्नकुमार वान्तवा सुरुङमार्ग निर्माणलगायत जनजीविकाका कामलाई राज्यका तर्फबाट प्राथमिकता दिन माग गर्दछ । 

* राष्ट्रिय परिषद् बैठक आयोजना सफल बनाउन भूमिका खेल्ने केन्द्रीय व्यवस्थापन समिति, न्यानो स्वागत र कुशल व्यवस्थापनसहित स्थानीय आतिथ्यमा अगुवाई गर्ने प्रलेस  इलाम शाखा, रत्न–बम प्रतिष्ठान र स्थानीय समुदायप्रति यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

तेश्रो राष्ट्रिय परिषद्का बैठकका निर्णयहरू 

प्रलेस दोस्रो राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत र अनुमोदित कार्ययोजनाहरूमध्ये सम्पन्न हुन नसकेका कार्यक्रमहरूको आयोजना गर्ने,

२०७५ माघ–फागुनभित्र प्रदेश सम्मेलन, जिल्ला सम्मेलनको आयोजना गरिसक्ने, प्रदेश सम्मेलनमा हरेक प्रदेशले एकएकवटा वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने,

आउँदो प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदेश र जिल्ला समितिसँग समन्वय गरी केन्द्रीय समिति बैठक डाक्ने,

* श्यामप्रसाद शर्माको जन्म दिनको अवसर पारेर देशव्यापी रूपमा श्यामप्रसाद शर्मा स्मृति दिवस मनाउने, 

* हालसम्म आयोजित गोष्ठीहरूमा प्रस्तुत गोष्ठीपत्र सङ्कलन गरी केन्द्रीय मुखपत्र प्रकाशन गर्ने,

* आगामी ११ औँ राष्ट्रिय सम्मेलनको लागि मिति, व्यवस्थापन बारेमा सचिवालय बैठकले निर्णय गर्न सक्ने छ र सोही बमोजिम आवश्यक तयारी गर्ने ।
२.१.२ तेस्रो राष्ट्रिय परिषद् बैठकपछिका सचिवालय बैठकका निर्णयहरू 

२०७५ जेठ २० गतेको बैठकका निर्णयहरू 

* अक्टोबर क्रान्ति शतवार्षिकी अवसर पारेर साउन–भदौ महिनाभित्रमा काठमाडौँमा ‘अक्टुबर क्रान्तिले नेपाली कला, साहित्य, संस्कृतिमा पारेको प्रभाव’ विषयक विचार गोष्ठीको आयोजना गर्ने, गोष्ठीमा मोहनविक्रम सिंह, मोहन वैद्य ‘चैतन्य’ र बेदुराम भुसाललाई कार्यपत्र प्रस्तुतिको लागि निम्त्याउने, 

गत चैत्र २७ गते इलामको चित्रेमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठक व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्नुहुने व्यवस्थापन समिति, रत्न्.वम स्मृति प्रतिष्ठान, इलाम नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने, 

* प्रलेस केन्द्रीय सचिव शोभा दुलाल, केन्द्रीय सदस्य विनोदविक्रम के.सी., केन्द्रीय सदस्य मोदनाथ मरहठ्ठा इच्छुक स्मृति प्रतिष्ठानबाट पुरस्कृत र सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गर्ने । 

२०७५ भदौ २१ गतेको बैठकका निर्णयहरू 

२०७५ असोज ५ गते राष्ट्रिय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को सभाकक्षमा ‘अक्टुबर क्रान्तिले नेपाली कला, साहित्य, संस्कृतिमा पारेको प्रभाव’ विषयक विचारगोष्ठीसहित ६७ औँ स्थापना दिवस मनाउने । 

* कार्यक्रममा बेदुराम भुसाल र मोहन वैद्य ‘चैतन्य’ लाई कार्यपत्र प्रस्तोताका रूपमा र श्याम श्रेष्ठ तथा सरला रेग्मीलाई टिप्पणीकर्ताको रूपमा निम्त्याउने, (मोहन विक्रमसिंहबाट कार्यपत्र प्राप्त नभएको)

* कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि प्रलेस उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा उपाध्यक्षहरू डा. पुष्करराज भट्ट, रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्ट र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको व्यवस्थापन समिति गठन गर्ने, 

* प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदान गरिँदै आएको प्रलेस प्रतिभा पुरस्कारको लागि केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरी संयोजक र सचिव शोभा दुलाल तथा सचिवालय सदस्य डा. भागवत आचार्य सदस्य रहनुभएको प्रतिभा पुरस्कार छनौट समिति गठन गर्ने, 

* केही समययता सङ्गठनको साङ्गठनिक तथा वैचारिक विषयमा केन्द्रित रही सङ्गठनको दुर्वलता र सबलताबारे सार्वजनिक रूपमा उठिरहेको प्रश्नबारे सचिवालय, बैठकमा गम्भीर ध्यानाकर्षण भएको र यसबारे आगामी दिनमा स्वस्थ, छलफल, वहस गरी सकारात्मक निष्कर्षमा पुग्ने । 

२०७५ भदौ २९ गतेको बैठकका निर्णयहरू 

२०७५ भदौ २२ गते प्रलेस प्रतिभा पुरस्कार छनोट समितिका संयोजक रामप्रकाश पुरीको अध्यक्षतामा बसेको बैठकले प्रलेस प्रतिभा पुरस्कारको लागि विभिन्न प्रतिभाहरूबिचबाट विधागत योगदान, सिर्जनात्मक र साङ्गठनिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै संस्मरण–निबन्धकार, कवि सीता विकलाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कारको लागि गरेको सिफारिसलाई अनुमोदन गर्ने, 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रलेसका पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा पुरस्कार कोषका संस्थापक आनन्ददेव भट्टलाई निम्त्याउने, 

* कार्यक्रममा ब्यानर तथा सम्मान–पत्रका लागि खेम थपलिया, खाजाको लागि आर.सी. न्यौपाने र प्रचारप्रसारको लागि प्रकाश सिलवाललाई जिम्मेवारी दिने,

कार्यक्रममा स्वागत मन्तव्यका लागि खेम थपलियालाई, पुरस्कृत व्यक्तित्वको चिनारी प्रस्तुतिका लागि रामप्रकाश पुरीलाई र धन्यवाद ज्ञापनको लागि डा. पुष्करराज भट्टलाई जिम्मेवारी दिने । 

२०७५ पुस १ गतेको सचिवालय बैठकका निर्णयहरू 

* केन्द्रीय समितिको बैठक २०७५ पुस ७ गते शनिबार बिहान १० बजेबाट इच्छुक प्रतिष्ठानको सभाकक्ष, घट्टेकुलोमा बस्ने, व्यवस्थापनको लागि सचिवालय सदस्य आर.सी. न्यौपानेलाई जिम्मेवारी दिने, 

* प्रलेस मुखपत्रको २४ औंँ अङ्क प्रकाशनको लागि महासचिव आर.एम्. डङ्गोल प्रधान सम्पादक रहने गरी र कार्यकारी सम्पादक सरिता तिवारीलाई कार्य व्यस्तताको कारण कार्यकारी सम्पादकबाट सम्पादक मण्डल सदस्यमा समावेश गरी सम्पादन मण्डलका सदस्यहरूसंगको समन्वयबाट लेखरचना सङ्कलन, सम्पादन गरी पत्रिका प्रकाशन गर्ने, 

* ११ औँ राष्ट्रिय सम्मेलनअगाडिको तीन महिनाको प्रलेस परिसंवाद कार्यक्रममा विभिन्न सांस्कृतिक घटकका अगुवाहरूलाई आमन्त्रण गरी प्रलेसको साङ्गठनिक जीवनबारे विमर्श गराउने, पुस ६ गतेको कार्यक्रमको लागि जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्टलाई निम्त्याउने । 

* प्रलेसको ११ औँ राष्ट्रिय सम्मेलन आगामी चैत्र २२ –२३ गते  काठमाडौँमा आयोजना गर्ने र यसको आवश्यक तयारी थाल्ने । 

३. वैचारिक सिर्जनात्मक कार्यहरू (बैठकको निर्णयहरू कार्यान्वयनको अवस्था)

३.१ प्रगतिशील लेखक संघ, राजस्थान, भारतका साहित्यकारहरूसँगको  अन्तरक्रिया  कार्यक्रम 

२०७५ जेठ १ गते प्रलेस केन्द्रीय कार्यालय, बागबजारमा प्रलेस राजस्थान, भारतका महासचिव इश मधु तलबारको नेतृत्वमा साहित्यकार एवं पत्रकार सुधांशुकुमार सतीश, हरिश गुप्ता, पुनम गुप्तासहितको टोलीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेल, महासचिव आर.एम्. डङ्गोल, पूर्व अध्यक्ष एवं सल्लाहाकार डा. अमर गिरी, पूर्व महासचिव गोपाल ठाकुर, सचिवालय सदस्य आर.सी. न्यौपाने, नेपाली लेखक संघका उपाध्यक्ष गोपाल अश्क, प्रगतिशील आख्यानकार, कवि अभय श्रेष्ठ लगायतले प्रगतिशील, नेपाली साहित्यको बारेमा चर्चा गर्नुभएको थियो भने भारतीय टोलीका तर्फबाट इश मधु तलबारले सांस्कृतिक साम्राज्यवाद विरोधी मोर्चामा सँगै मिलेर काम गर्नुपर्ने कुरा बताउनुभएको थियो । कार्यक्रममा प्रलेस उपाध्यक्ष रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्ट, त्रि.वि. हिन्दी विभाग प्रमुख सञ्जिता वर्माको समेत उपस्थिति रहेको थियो । 

३.२ पुस्तक परिचर्चा कार्यक्रम

संघको, केन्द्रीय कार्यालय बागबजारमा २०७५, साउन ११ गते प्रलेस केन्द्रीय सदस्य एवं प्रगतिशील आख्यानकार इन्द्रकुमारी श्रेष्ठ ‘सरित’ को कथाकृति ‘ऋतु फेरिदै जान्छ’ माथि विमर्श कार्यक्रम आयोजना गरियो । कार्यक्रमा प्रा.डा. गोपीन्द्र पौडेल र केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्टले कृतिमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, तेजविलास अधिकारी, जगत वाशिष्ट र डा. विशेष्य लगायतका स्रष्टाहरुले आ–आफ्नो दृष्टिकोण राख्नुभएको थियो । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष कृष्णहरि भट्टले राख्नुभएको थियो । 

३.३ प्रलेस नेपालको ६६ औँ स्थापना दिवस 

२०७५ असोज ५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को सभाकक्षमा प्रगतिशील लेखक संघको ६६ औँ वार्षिकोत्सव अवसरमा ‘अक्टोबर क्रान्तिले नेपाली कला– साहित्यमा पारेको प्रभाव’ विषयक विचारगोष्ठीसहित प्रलेस प्रतिभा पुरस्कार २०७४ बाट साहित्यकार सीता वि.क.लाई सम्मान गरियो । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व अध्यक्ष एवं केन्द्रीय सल्लाहाकार निनु चापागाईले (प्रमुख अथितिको रूपमा कार्यक्रममा आमन्त्रण गरिनुभएका आनन्ददेव भट्ट स्वास्थ्य समस्याको कारण आउन सक्नुभएन ।) मैनवत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रगतिशील लेखक संघका उपाध्यक्ष खेम थपलियाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रमको पहिलो चरणमा विशिष्ट अतिथि निनु चापागाईं  र अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिका संयोजक सोनाम साथीबाट कवि, निबन्धकार सीता विक प्रलेस प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको थियो । 

कार्यक्रमको दोस्रो चरणमा ‘अक्टोबर क्रान्तिले नेपाली कला साहित्यमा पारेको प्रभाव’ विषयमा माक्र्सवादी सौन्दर्य चिन्तक एवं समीक्षक मोहन वैद्य ‘चैतन्य’ र माक्र्सवादी दर्शनशास्त्रका अध्येता बेदुराम भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि अधिकारकर्मी तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठ र प्रलेस सल्लाहाकार स्रष्टा सरल रेग्मीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि निनु चापागाईँ तथा अर्का अतिथि सोनाम साथीले पनि आ –आफ्नो मन्तव्य राख्नुभएको थियो । प्रलेसका पूर्व अध्यक्ष एवम् सल्लाहाकार डा. अमर गिरीको समेत उपस्थिति रहेको यस कार्यक्रमको प्रारम्भमा केन्द्रीय सदस्य प्रकाश थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा प्रलेस उपाध्यक्ष डा. पुष्करराज भट्टले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो । 

३.४ प्रलेस परिसंवाद कार्यक्रम 

प्रलेस केन्द्रीय कार्यालय बागबजारमा हरेक महिनाको पहिलो शुक्रबार आयोजना गरिँदै आएको प्रलेस परिसंवादको हालसम्म १८  वटा श्रृङखला सम्पन्न भइसकेका छन् । तेस्रो राष्ट्रिय परिषद् बैठकयता पाँचवटा श्रृङ्खला सम्पन्न भएका छन् । 

* २०७५ जेठ ४ गतेको १४ औँ श्रृङ्खलामा ‘कवि इच्छुक ः जीवन र कर्म’ विषयमा अतिथि वक्ता प्रा.डा. गोपीन्द्र पौडेल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा रामप्रकाश पुरी, गोपिरमण उपाध्याय, देविका तिमल्सिना, आर.सी. न्यौपाने, तेजविलास अधिकारी डा. शान्तिमाया गिरी लगायतले आ– आफ्नो पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

* २०७५ असार १ गतेको १५ औँ श्रृङ्खलामा ‘रूपचन्द्र विष्ट र थाहा चिन्तन’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता वाम बुद्धिजीवि एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा शान्ता मानवी, गोपिरमण उपाध्याक्ष, मोहनबहादुर कायस्थ, राम विनय, भारद्वाज मित्र, समीर सिंह, श्याम रिमाल, जगत वाशिष्ट लगायतले आ– आफ्नो पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो । 

* २०७५ साउन ४ गतेको १६ औँ श्रृङ्खलामा ‘प्रगतिशील दृष्टिमा सबाल्टर्न अध्ययन’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता प्रा.डा. ताराकान्त पाण्डेय हुनुहुन्थ्यो । कर्याक्रममा प्रलेस पूर्व अध्यक्ष एवं सल्लाहाकार डा. अमर गिरी, वरिष्ठ समालोचक प्रा.डा बद्रीविशाल पोखरेल, गोपिरमण उपाध्याय, सिर्जना शर्मा, मनोहर लामिछाने लगायतले आ– आफ्ना पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो । 

* २०७५ भदौ १ गतेको १७ औँ श्रृङ्खलामा ‘प्रगतिशील साहित्यमा महिलाको उपस्थिति’ विषयमा अतिथि वक्ताको रूपमा साहित्यकार, समालोचक सीता शर्मालाई निम्त्याइएको थियो । उक्त छलफल कार्यक्रममा कृष्णहरि भट्ट, आर.सी. न्यौपाने, समीर सिंह, तेजविलास अधिकारी, विन्दा मैनाली लगायतले जिज्ञासा एवं आफ्ना पूरक भनाइ राख्नुभएको थियो । 

* २०७५ मङ्सिर ७ गतेको परिसंवाद कार्यक्रममा ‘पदमरत्न तुलाधरको जीवन र सिर्जना’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता डा. चुन्दा बज्राचार्य हुनुहुन्थ्यो । कार्यक्रममा सरला रेग्मी, कृष्णहरि भट्ट लगायतले आफ्नो भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

प्रलेस परिसंवाद कार्यक्रमको संयोजन सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टले गर्दै आउनुभएको छ । प्रलेस पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय र राष्ट्रिय परिषद सदस्यहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । 

३.५ केन्द्रीय प्रकाशन प्रेस नोट्स (प्रेस वक्तव्य)

* प्रलेस राष्ट्रिय परिषद् सदस्य एवं कवि, संस्कृतिकर्मी कुशल बोगटीलाई २०७५ जेठ १ गते गरिएको पक्राउको विरोध र उहाँको रिहाईको माग गर्दै २०७५ जेठ ६ गते प्रेस वक्तव्य जारी गरिएको थियो ।

* भारतीय सेनापतिबाट नेपाललाई भारतीय प्रभावक्षेत्रबाट मुक्त रहन नसक्ने भनी नेपाली राष्ट्रिय स्वाभिमानमाथि चोट पुग्ने गरी व्यक्त विचार र भारतीय माक्र्सवादी चिन्तक तथा कवि बरबर रावलगायत भारतीय लेखक, बुद्धिजीवि तथा सामाजिक अभियन्ताहरू अधिवक्ता सुधा भारद्वाज, अधिवक्ता अरुण फरेरा, लेखक बरनान गोन्जाल्विज, र वरिष्ठ पत्रकार गौतम नवलखालाई गरिएको पक्राउप्रति विरोध र क्षोम प्रकट गर्दै नेपाली राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको सम्मानमा आँच आउने कुनै पनि गतिविधि नगर्न र पक्राउ परेका भारतीय लेखक, पत्रकार, बुद्धिजीवि एवं सामाजिक अभियन्ताहरूको स–सम्मान रिहाइको लागि २०७५ असोज ७ गते प्रेस वक्तव्य जारी गरिएको थियो । 

४. प्रलेस प्रदेश/जिल्ला सम्मेलन गतिविधि 

प्रलेस दोस्रो राष्ट्रिय परिषद् अगावै प्रदेश नं. १, ३, ४ र ७ को सम्मेलन आयोजक समिति गठन भइसकेको तथा प्रलेस सिन्धुपाल्चोक, सुर्खेत, रूपन्देही, बैतडी, भक्तपुर, इलाम, रुकुम, पाँचथर, ताप्लेजुङ लगायतको जिल्लामा शाखा बिस्तार भइसकेको छ । 

४.१ प्रदेश नं. १ सम्मेलन आयोजक समिति गठन 

* २०७४ चैत २६ गते झापाको दमकमा १ नम्बर प्रदेशको भेलाबाट उपाध्यक्ष मिश्र वैजयन्तीको संयोजकत्वमा २५ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा महासचिव आर.एम् डङ्गोल, केन्द्रीय सदस्यहरू यज्ञबहादुर डाँगी, दीपा धिताल, सरोज ओली, गोपाल निर्भिक लगायतको उपस्थिति रहेको थियो । 

४.२ प्रदेश नं. ५ को प्रथम सम्मेलन 

२०७५ मङ्सिर ७ र ८ गते दाङको लमहीस्थित सहिद नेत्रलाल पौडेल ‘अभागी’ स्मृति प्रतिष्ठानको हलमा प्रदेश नं. ५ को सम्मेलन सम्पन्न भएको छ । प्रलेस उपाध्यक्ष एवं पाँच नं. प्रदेश इन्चार्ज पद्मप्रसाद शर्माको अध्यक्षता तथा प्रलेस पूर्व केन्द्रीय सल्लाहाकार वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराईको प्रमुख आतिथ्य  तथा केन्द्रीय सल्लाहाकार शाशिधर भण्डारीको विशिष्ट आतिथ्य रहेको उक्त सम्मेलनले केशव थापाको अध्यक्षतामा १९ सदस्यीय ५ नम्बर प्रदेश समिति गठन गरेको छ । प्रदेश समिति चयन लगत्तै बसेको प्रदेश समितिको प्रथम बैठकले सात सदस्यीय सचिवालय गठन गरेको छ । 

यसअघि २०७५ वैशाख २९ गते सोही हलमा बसेको भेलाले ५ नं. प्रदेश उपाध्यक्ष एवं प्रदेश इन्चार्ज पद्मप्रसाद शर्माको संयोजकत्वमा २६ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन गरेको थियो । 

४.३ ‘रूपान्तरणको लागि कविता’ कार्यक्रम 

२०७५ मङ्सिर २२ गते, अनामनगरस्थित संवाद डबली सभाकक्षमा प्रदेश नं. ३ प्रादेशिक तदर्थ समितिको आयोजनामा ‘रूपान्तरणको लागि कविता’ विषयक कविगोष्ठी सम्पन्न भएको छ । प्रदेश उपाध्यक्ष एवं प्रदेश सम्मेलन आयोजक समिति संयोजक खेम थपलियाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्थापित तथा नवोदित सिर्जनशील कविहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगतिवादी समालोचक प्राध्यापक डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रलेस महासचिव आर.एम्. डङ्गोल तथा राजनीतिक स्तम्भकार/पत्रकार लेखक नरेन्द्रजङ पिटरले पनि आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिवालय सदस्य आर.सी. न्यौपानेले गर्नुभएको थियो । 

४.४ जिल्ला सम्मेलन / सिर्जनात्मक गतिविधि 

४.४.१  प्रलेस रुकुम, पूर्व शाखाको प्रथम जिल्ला तदर्थ समिति 

रुकुम पूर्व, चुनवाङमा २०७४ चैत्र २६ गते वसन्त पुनको संयोजकत्वमा ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको छ । 

४.४.२  प्रलेस अर्घाखाँची शाखाको प्रथम जिल्ला तदर्थ समिति 
२०७५ वैशाख १५ गते अर्घाखाँचीको सन्धिखर्कमा आयोजित भेलाले बुद्धिबहादर रायमाझीको संयाजकत्वमा १५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । 

४.४.३  प्रलेस कपिलवस्तु शाखाको प्रथम जिल्ला तदर्थ समिति 

२०७५ वैशाख २२ गते कपिलवस्तुको तौलिहवामा आयोजित भेलाले लालकृष्ण पौड्यालको संयोजकत्वमा ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । 

४.४.४ प्रलेस, दाङ शाखाको दसौँ जिल्ला सम्मेलन 

२०७५ जेठ १२ गते दाङको घोराहीमा प्रलेसको दसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यमा सम्पन्न उक्त सम्मेलनले भुवन देवकोटाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उक्त कार्यक्रममा केन्द्रीय सदस्य यज्ञबहादुर डाँगीको उपस्थिति रहेको थियो । 

४.४.५ प्रलेस नवलपरासी शाखाको प्रथम जिल्ला तदर्थ समिति 

२०७५ असार २ गते नवलपरासीको बर्दघाटमा आयोजित भेलाले रेम रानाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । भेलामा राष्ट्रिय परिषद् सदस्य खोमा तरामु मगर तथा हृदय लेकालीको उपस्थिति रहेको थियो । 

४.४.६ प्रलेस गुल्मी शाखाको प्रथम जिल्ला तदर्थ समिति

२०७५ भदौ २४ गते गुल्मी जिल्लाको तम्घासमा आयोजित भेलाले माधव ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । प्रदेश उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको उक्त भेलामा राष्ट्रिय परिषद् सदस्य खोमा तरामु  मगरको पनि उपस्थिति रहेको थियो ।

४.४.७ प्रलेस उदयपुर शाखाको चौँथो जिल्ला सम्मेलन  

२०७५ असोज २० गते उदयपुरको गाइघाटमा प्रलेसको चौँथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेसका पूर्व केन्द्रीय सदस्य राममणि पोखरेलको प्रमुख आतिथ्यमा रहेको उक्त सम्पन्नले माधव पोखरेल ‘गोज्याङ्ग्रे’ का अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । उक्त कार्यक्रममा साहित्यकार राममणि पोखरेल र पुण्य कार्कीलाई सम्मान गरिएको थियो । 

४.४.८ प्रलेस कैलालीको चौँथो जिल्ला सम्मेलन 

२०७५ कार्तिक ७ गते कैलालीको धनगढीमा प्रलेस कैलालीको चौँथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले तिलक सिंहको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । कार्यक्रममा सचिवालय सदस्य लक्षीराम आचार्य तथा केन्द्रीय सदस्य जनक रसिकको पनि उपस्थिति रहेको थियो । 

४.४.९. प्रलेस दार्चुलाको प्रथम जिल्ला सम्मेलन 

२०७५ कार्तिक ३० गते दार्चुलाको खलङ्गामा आयोजित भेलाले पदम बडालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य मानवबहादुर धामीको प्रमुख आतिथ्य रहेको थियो । 

४.५ जिल्ला गतिविधि

* २०७४ पुस २७ गते मकवानपुरको हेटौँडामा प्रलेस मकवानपुर शाखा र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली कथा र समय चेतना’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख एवं प्रलेस अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य तथा प्रलेस जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले अवधारणा–पत्र प्रस्तुत गर्नुभएको थियो ।

* २०७४ चैत्र २८ गते झापाको बिर्तामोडमा प्रलेस झापा शाखा  र नेपाल प्रज्ञा प्रतिष्ठानको ‘सहकार्यमा समकालीन नेपाली कथामा साइबर संस्कृति’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख एवं प्रलेस अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता प्रलेस जिल्ला अध्यक्ष राजेन्द्र सङ्ग्रौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. भीम खतिवडाको कार्यपत्रलाई हेम अधिकारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रलेस महासचिव आर.एम्. डङ्गोल, केन्द्रीय सदस्य मणिकुमार पोखरेल, साहित्यकार चूडामणि रेग्मीको पनि उपस्थिति रहेको थियो । 

* २०७५ वैशाख १ गते, सोलुखुम्बुको पताले, गौरीटापमा ओखलढुङ्गा प्रलेसको आयोजनामा ‘साहित्य यात्रा सगरमाथा सँगसँगै’ विषयक प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना भएको छ । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा साहित्यकार सीता शर्मा, सीताराम गुरुङलगायतको उपस्थिति रहेको थियो । प्रलेस जिल्ला अध्यक्ष युवराज दाहालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पुरष्कृत स्रष्टाहरूलाई प्रमुख अतिथि मातृका पोखरेलले नगदराशिसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

* २०७५ जेठ २६ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रलेस सिन्धुपाल्चोक शाखा र नेपाल प्रज्ञा प्रतिष्ठान, आख्यान विभागको सहकार्यमा ‘विकास र समृद्धिको लागि साहित्य’ शीर्षकको विचारगोष्ठी तथा ‘स्रष्टा यात्रा –२०७५’ सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख एवं प्रलेस अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमका केन्द्रीय उपाध्यक्ष खेम थपालिया, डा. पुष्करराज भट्ट, महासचिव आर.एम्. डङ्गोल केन्द्रीय सदस्य साधुराम नेपाल, साहित्यकारहरू देविका तिमल्सिना, कृष्ण भारद्वाज, स्नेह साय्मि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रलेस जिल्ला उपाध्यक्ष शाशिनाथ आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि उपाध्यक्ष डा. पुष्करराज भट्टले टिप्पणी गर्नुभएको थियो ।

* कार्यक्रममा प्रमुख अतिथि मातृका पोखरेलले प्रलेस सिन्धुपाल्चोक शाखाको तेस्रो मुखपत्र ‘विहानी’ को लोकार्पण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रलेस सिन्धुपाल्चोकका अध्यक्ष दिनेश दुलालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ– आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । 

* २०७५ पुस ३ गते २६ औँ स्थापना दिवसको अवसर पारेर प्रलेस दाङ शाखाले विशेष कार्यक्रमको आयोजना गरेको छ । भुवन देवकोटाको अध्यक्षता र नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा प्रलेस वर्ष सम्मानबाट मोहन वैद्य ‘चैतन्य’ लाई सम्मान गरिएको थियो भने शरद अधिकारी, छविलाल कोपिला टिकाराम उदासी, बुलबुल, शारदा शर्मा क्रमशः प्रगतिशील साहित्यिक पुस्कार, अनन्त टिका प्रतिभा पुरस्कार, जमुनादेवी पुरस्कार, गोविन्द श्रीस सर्जक पुरस्कार, गोविन्द ज्ञवाली पुरस्कारबाट सम्मानित हुनुभएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, पूर्व अध्यक्ष एवं केन्द्रीय सल्लाहाकार डा. अमर गिरी केन्द्रीय सल्लाहाकार शाशिघर भण्डारीले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो । 

५. केन्द्रीय कार्ययोजना प्रस्ताव समितिबाट प्रस्तावित कार्यक्रमिक योजना 

२०७५ माघ – फागुन– चैत्र (सम्मेलन अगाडि) सम्ममा जिल्ला शाखा, प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने, प्रदेश सम्मेलनमा एकएकवटा वैचारिक/प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने,

* हालसम्म विभिन्न समयमा विभिन्न ठाउँमा आयोजित गोष्ठीको गोष्ठीपत्र तथा संस्कृति विषयक, अक्टोबर क्रान्ति विषयक लेख रचनाहरू सङ्कलन गरी केन्द्रीय मुखपत्र प्रकाशन गर्ने, 

* विधानको समयसापेक्ष परिमार्जनको लागि प्रलेस सचिवालय, केन्द्रीय समितिबाट अनुमोदन गराई विधान परिमार्जन मस्यौदा समिति गठन गर्ने तथा परिमार्जित विधान सम्मेलनमा प्रस्तुत गर्ने,

* प्रलेसले साङ्गठनिक जीवनबारे आउँदा प्रलेस पसिंवाद कार्यक्रममा प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनका अगुवाहरूबिच विमर्श गराउने । 

६. चुनौती र सम्भावना 

प्रगतिशील लेखनको उद्देश्य र प्रयोजनमा प्रतिबद्धता र विश्वदृष्टिकोण जोडिन आउँछ । सङ्गठनको गतिशीलता र जीवन्तताको सन्दर्भमा नेतृत्वको जिम्मेवारी प्रधान विषय हुन आउँछ । पछिल्लो समय सङ्गठनको औचित्यमाथि नै विभिन्न कोणबाट प्रश्नहरू उठिरहेको देखिन्छ । आवरणमा माक्र्सवादी र सिर्जनामा अराजकतावादी, सिर्जनामा घोर माक्र्सवादी व्यवहारमा आदर्शवादी, सङ्गठनको समूह भावनाभन्दा व्यक्तिवादी अहँको सोचले साङ्गठनिक जीवनमा केही असहज अवस्था पनि देखिँदै छ । सत्ताकेन्द्रको पक्ष÷विपक्षमा विभाजित भएर शङ्कैशङ्का र प्रश्नैप्रश्न उठाउने तथा प्रशंसाको भजन कीर्तनमात्र गाउँने  दुवै सोच प्रगतिशील साहित्यिक आन्दोलनको कमजोरीका रूपमा देखिँदै छ । यी समस्याको हल वैचारिक बहस, विमर्शबाट सम्भव छ । यो चुनौतिलाई अवसरमा परिणत गर्न सकियो भने सङ्गठन अझ प्रभावकारी र गतिशील बन्ने कुरामा कुनै शङ्का छैन । 

सङ्गठनले संघीयताको मूल मर्मअनुसार प्रदेशभित्रको भूगोल, भाषा, जनजीवन, इतिहास, संस्कृतिलाई महत्व दिने गरी सिर्जनात्मक, वैचारिक गतिविधिलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्ने, समकालीन बुर्जुवा साहित्यिक चिन्तनधारा तथा उत्तर आधुनिकतावादी अराजक साहित्यिक चिन्तनका विरुद्ध प्रतिरोधी वैचारिक सिर्जनात्मक अभियानको थालनी गर्नुपर्ने तथा मुलुकको हरेक क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा बढ्दै गइरहेको बाह्य हस्तक्षेप र प्रभावलाई चिर्नका लागि वैचारिक सिर्जनात्मक क्रियाकलापलाई पनि उतिकै महत्व दिइनु आवश्यक छ । 

७. निष्कर्ष

समकालीन लेखनमा प्रगतिवादी धारा केन्द्रीय धारा बन्न पुगेको छ । प्रगतिशील साहित्यिक आन्दोलनको साँढे ६ दशक लामो यात्रामा विचार, सिर्जना र सङ्गठनको माध्यमबाट यसले निर्माण गरेको इतिहास गर्व गर्न लायक छ । दसौँ राष्ट्रिय सम्मेलनपछि संस्थालाई गतिशील बनाउने क्रममा कार्यालय व्यवस्थापनसहित विभिन्न जिल्ला शाखामा सङ्गठन विस्तार, सिर्जनात्मक वैचारिक क्रियाकलापसँगै प्रादेशिक संरचनामा जाँदा यसले अझ गति लिन सकेको छ । दोस्रो र तेस्रो राष्ट्रिय परिषद् बैठकमा जारी गरिएको रुम्जाटार घोषणा–पत्र तथा इलाम घोषणा–पत्रको अन्तरवस्तु, प्रलेस केन्द्रीय समितिका निर्णयहरू तथा प्रलेस केन्द्रीय सल्लाहाकार परिषद् बैठकबाट प्राप्त सुझाव र मार्ग निर्देशनलाई मनन गर्दै केन्द्रीय कार्य योजना प्रस्ताव र निर्णयहरूलाई कार्यान्वयन गर्न सकियो भने साझा  लेखकीय मञ्च हुनको अनेकौँ जोखिमी, चुनौतिका बिच यस सङ्गठनले मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलनमा महत्वपूर्ण योगदान दिन सक्ने कुरामा कुने सन्देह छैन । 


थप जानकारीका लागि 
www.pralesa.blogspot.com मा हेर्न सक्नुहुनेछ।  
पत्राचारका  लागि  pralesa@gmail.com मा सम्पर्क राख्न सक्नुहुने छ । 
आर. एम्.डङ्गोल
महासचिव
==============================================

परिपत्र - ५ 





==============================================================











































No comments:

Post a Comment